३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मधेसी राजनीतिको आकार

मधेसी जन, एजेन्डा र मधेसी शक्ति सधैं एउटै सरल रेखामा रहँदैनन्, तर मधेसी जन र एजेन्डा भने जहिल्यै सँगै हुन्छन् अनि यो अवस्था रहेसम्म मधेसको आन्दोलित चेत खरानी बन्दैन ।
चन्द्रकिशोर

सम्भवतः पहिलो पटक मधेसी शक्ति सत्ता र विपक्ष दुवैको ‘डार्लिङ’ भएको छ । यस्तो स्थिति मधेसी आन्दोलन विभाजनबाट विघटनतर्फ जान लागेको आशंका गरिरहेका बेला देखा पर्दै छ । हिजो जसको आह्वानमा ज्यानको आहुति दिन तत्पर थिए कार्यकर्ताहरू, यतिखेर तिनकै पुतला दहन गर्दै छन् ।

मधेसी राजनीतिको आकार

जसपामा देखा परेको विकृतिबाट कार्यकर्ता पंक्ति आजित छ । प्रत्यक्ष देखे–भोगेका यथार्थहरूले आमजनतालाई पनि जसपागणको कटु आलोचक बनाएको छ । व्यक्तित्वहरूको द्वन्द्व, भूमिकाको खोजी, अवसरको उपयोग–दुरुपयोग, कुण्ठा–द्वेषको संघर्ष र नेतृत्व लिने होडबाजीले गर्दा जसपा पंक्ति विभाजित छ । मधेसी शक्तिसँग जोडिएको यो विरोधाभास उसको यथार्थ हो । कतिपयले त पानीको फोहोराजस्तै उदाएको यो शक्तिले आफ्नो अन्तिम अध्याय लेखिरहेको दाबी गर्दै छन् ।

सन् १९६० मा बनेको हिन्दी फिल्म ‘मुगल–ए–आजम’ को एउटा दृश्यमा अकबर भन्छन्, ‘अनारकली, हम तुम्हें जीने नहीं देंगे और सलीम तुम्हें मरने नहीं देगा ।’ यो डाइलगले मधेसी राजनीति र मधेसको सम्बन्धलाई पनि बडो सटीक तरिकाले व्यक्त गर्छ । मधेसी शक्तिहरूबीच जतिसुकै घमासान होस्, मिलून् वा विभाजित होऊन्, भर्चुअल मल्लयुद्ध हुँदै वास्तविक धक्कामुक्कीको नौबत नै किन नआओस्, यो शक्ति नेपाली राजनीतिको अनारकली हो । जस्तो हालतमा पनि वर्चस्वशाली शक्तिको राजनीतिले उसलाई बाँच्न दिँदैन अर्थात् सत्ताको सहज स्वाभाविक पार्टी बन्न दिँदैन । र, थाती रहेका एजेन्डाहरूले उसलाई मर्न दिँदैनन् । मधेसको राजनीतिमा दलहरूको गठन–विघटन, अलगअलग मोर्चाबन्दीका चुलाचौका रोज्ने खेल–तमासा नयाँ होइन । निकट अतीतको खोजतलास गर्ने हो भने, यस्तो फेहरिस्त लामो छ । तराई कांग्रेसदेखि जसपासम्मको यात्रामा अनेकचोटि एकअर्कालाई गद्दार देख्ने उपक्रम चलिआएकै छ । तैपनि यस धरतीबाट भावनात्मक जनउभार ऐक्यबद्ध रूपमा देखा पर्ने क्रममा विराम लागेन । एजेन्डा ज्युँदो रहेसम्म त्यसको प्राप्तिका लागि पटकपटक आन्दोलन हुन्छ नै, जसले मधेसी राजनीतिलाई मर्न दिँदैन ।

मधेस राजनीतिमा कौरव को, पाण्डव को भनेर कित्ताकाट गर्न कम्ती गाह्रो छैन । भनिन्छ नि, सत्ताको चास्नी भुइँबाट टिपेर भए पनि एक पटक जिब्रामा लगाएपछि त्यस लतले बाँचुन्जेल छाड्दैन । अहिले मधेसी नेताहरू कोही सत्ताबाट बहिर्गमन भएर विपक्षको रथ ठेल्दै छन्, कोही सत्ताको पुच्छर समातेर कृतकृत्य छन् । कुनै समय मधेसमा आदर्शको राजनीति थियो । त्याग गर्ने प्रवृत्तिले भुइँतहसम्म गहिरो गरी प्रभावित गर्थ्यो । जेल जाने, तारिख धाउने, सम्पत्ति बेच्दै आफ्नो निष्ठा जोगाउने, सादगीपूर्ण जीवनशैली भएका ‘नेताजी’ हरूले जनस्तरबाट साँच्चिकै आदर पाउँथे । यस अर्थमा मधेसी समाजलाई सत्तानिरपेक्ष समाज भन्न सकिन्थ्यो । तर यतिखेर समाजको सोच फेरिएको छ । राजनीतिमा सत्ता सहज र स्वाभाविक विषय बन्यो । ‘सत्तामा जानु हुँदैन’ भन्ने शुद्धतावादी दृष्टि रहेन । हो पनि, मधेसी शक्तिलाई सत्ता वा विपक्ष दुवैतर्फबाट ‘इलु इलु’ भन्ने गरिएको छ । मधेसी शक्तिको सान्दर्भिकता र प्रभावकारिता फैलिएको छ ।

दलहरूको आन्तरिक जीवन लोकतान्त्रिक छैन । दलहरूको संगठनात्मक संरचना र निर्णय प्रक्रियाहरूमा समावेशिताको कल्पना गर्नु भनेको टन्टलापुर घाम लागेका बेला तारा गन्नुजस्तै भएको छ । यस्तो स्थिति मधेसी शक्तिमा पनि छ । झन् मधेसी दलभित्र त, नेता–कार्यकर्ता सम्बन्ध मूलतः संरक्षक र संरक्षितको भावनाबाट निर्देशित छ । यस्ता नेतागणले आफूलाई आलोचनात्मक ढंगले हेर्न तथा कमजोरी–गल्ती सच्याउन खोज्दैनन् । रोचक तथ्य के हो भने, संविधान निर्माण प्रक्रियाप्रति असहमति जनाउँदै आन्दोलन गरिराखेका बखत बाघझैं गर्जिएका नेताहरू अहिले पालैपालो संस्थापनको वरिपरि ‘म्याउँम्याउँ’ गरिराखेका छन् । दुर्योग के छ भने, सत्ता राजनीतिको रोटेपिङ खेल्दै अहिलेसम्म जेजति राजनीतिक उपलब्धि प्राप्त भएको छ, त्यसलाई अर्को फड्कोका लागि सुविधाजनक प्रस्थानविन्दु मान्नुको साटो भत्काउँदै हिँड्ने बाँदरे प्रवृत्ति देखाइँदै छ ।

फगत सत्ताको गोटी बन्नु वा सत्ताका लागि विभिन्न शक्तिको परिक्रमा गर्नु मधेस आन्दोलनको अभीष्ट होइन । मधेसी शक्तिका सामुन्ने अनेक चुनौती छन् । मधेसी दल फुट्ने गरेको, नेताहरूले आफ्नो जातीय आधार निर्माणमा प्राथमिकता दिएको जस्ता आरोप विगतमा समेत लाग्दै आएकै हो तैपनि आन्दोलनका बेला मधेसले आफ्नै इतिहासलाई उछिन्दै उच्चतम प्रदर्शन गर्दै आएको छ । आन्दोलनका बखत मधेस ऐक्यबद्ध भएर प्रकट हुन्छ, बरु निर्वाचनका बखत मतादेश विभाजित हुन्छ । राज्यसँगको संघर्षमा मधेसको सामुदायिक पहिचान देखिन्छ तर त्यसभित्र अनेक विविधता रहेको वास्तविकता देखिँदैन । सरकारमा सहभागी पात्र वा दललाई तिनको भूमिका निर्वहनका हिसाबले जनपरीक्षणका बखत जनताले कठोर फैसलासमेत दिने गरेका छन् । तर आन्दोलनका बखत पत्याउनै नसकिने किसिमले जनसहभागिता हुँदै आएको छ । यस्तो किन सम्भव हुन्छ ?

पहिलो संविधानसभादेखि नै मधेसका कोणबाट ‘नरम र गरम’ धार मुखर छ । सरकारमा सहभागी हुँदा नरम बन्ने, सरकारबाट टाढा रहँदा गरम रहने । हिजोको नरम पक्ष आजको गरम पक्षको अभिनयमा हुन्छ, भने विगतको गरम पक्ष यतिखेर मिस्री घोलिएको वचन बोल्दै गरेको भेटिन्छ । भूमिका फेरिए पनि उनीहरू आफू मधेसमैत्री राज्यसंरचना निर्माणमै लागेको दाबी गर्छन् । यस कोणबाट हेर्दा, जसपा फुट्यो भनेर यतिखेर हर्षबढाइँ गर्नेहरू भोलिको चुनावी राजनीतिमा साझेदार बनेर प्रतिस्पर्धामा आउँदा आश्चर्य मान्नुपर्ने हुन्छ । भुइँतहले चुनावी समरबाट मधेसी आन्दोलनकारी शक्तिहरू मजबुत भएर देखा परून् भन्ने चाहन्छन् । पछिल्लो निर्वाचनको जनसन्देश थियो— प्रदेश २ मा मिलेर प्रादेशिक अभ्यासको उन्नत जग हाल र संघीय संसद्मा संविधान संशोधनको राजनीति गर । यस दिशामा को कहाँ चुके, जगजाहेरै छ ।

मधेसको राजनीति कुनै महानायकको प्रतीक्षामा छैन । यहाँ न कसैको देवत्वकरण न त कसैको मूर्तिभञ्जनकै आवश्यकता छ । टेढोमेढो हिँडे पनि मधेस राजनीतिले आफ्नो औचित्य र आवश्यकता जोगाएको छ । आजको नेतृत्व र दल भोलि नरहन सक्छ तर नेपाली राजनीतिमा मधेस निर्णायक रहिरहन्छ । आफूलाई निर्णायक भूमिकामा पाएर पनि सामाजिक रूपान्तरणका लागि तिनले राज्यबाट कतिको सहयोग–समर्थन पाउँछन् भन्ने अर्को महत्त्वपूर्ण पक्ष हो । मधेस राजनीति कुनै एक व्यक्तिको आह्वानमा भएको हुँदै होइन न त अहिलेका चर्चित अनुहारहरू जहाँबाट हिँड्न सुरु गरे त्यहीँबाट सुरुआत भएको हो । विभिन्न घुम्तीबाट गुज्रिँदै तेजिलो र पोषिलो हुँदै आएको हो यो । नेतृत्वमा जुन दिन ठाकुर, सिंह, यादव, महतो हुँदै सदा, राम, पासवानसम्म पुग्छन् अनि परायण भएको मानिनेछ ।

विगतमा पालैपालो मधेसको मध्यमार्गी शक्तिसँग कांग्रेस, माओवादी वा एमालेले साइनो जोडेकै हुन् । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली जेजस्तो परिस्थिति आइपरेर मधेससँग लचिलो भए पनि, त्यो मधेसको एक खुड्किलोमाथिको गमन हो । संसदीय राजनीतिमा जोडघटाउ त चल्छ नै । कांग्रेस–माओवादी कित्ताले सरकार बनाउने अवसर पाए मधेससँग जोडिएर के गर्ने भन्नेबारे श्याम–श्वेत तस्बिर बाहिर ल्याएको छैन । यसमा किन ढिलाइ हुँदै छ ? जतिखेर मधेसी भनिने शक्तिहरूले एजेन्डा बोक्छन् त्यतिखेर जनताले तिनलाई रगत बगाएर समर्थन जनाउँछन् । मधेसी जन, एजेन्डा र मधेसी शक्ति सधैं एउटै सरल रेखामा रहँदैनन् । तर, मधेसी जन र एजेन्डा भने जहिल्यै सँगै हुन्छन् अनि यो अवस्था रहेसम्म मधेसको आन्दोलित चेत खरानी बन्दैन । मधेसी शक्ति प्रायः काठमाडौं उक्लिएपछि त्यहाँको रेशमी माहोलमा अलमलिन्छ, मधेस झरेपछि बल्ल ब्युँझिने गर्छ । यस पटक सत्ता राजनीतिमा सामेल हुने सुरमा मधेसले मोलमोलाइ गर्न पनि सिकेको छ, जसका कारण ऊ केन्द्रविन्दुमा छ ।

थारूहरूले त्यसै मधेसी शक्तिसँग हातेमालो गरेका होइनन् । पहाडी जनजातिहरू अझै मधेसी शक्तिसँग आफूलाई ‘कम्फर्ट फिल’ गर्दैनन् । थारूहरूले विगतका आफ्नै संघर्ष र जुर्मुराहटलाई राज्यसत्ताले मधेसी शक्तिविरुद्ध भिडाउन खोज्दा तिनकै उदीयमान हैसियतमा गरेको प्रतिघातबाट सिकेका छन् । उनीहरूले मधेसी शक्तिप्रति जुन भरोसा देखाएका छन्, त्यो नेपालको सीमान्तकृत आन्दोलनको ऐतिहासिक नासो हो । यो भरोसा जोगाउन सत्ता वा विपक्ष कित्तामा रहेका मधेसी शक्ति के सोच्दै छन् ? थारू–मधेसी सहकार्यले आकार पायो भने, त्यसमा स्वस्फूर्त सहभागिताका लागि जनजातिहरू तयार हुन्छन् ।

मधेसी शक्तिसँग जोडिन खोजेका जनजाति नेतृत्वहरूभित्र ठूलो उकुसमुकुस छ । मधेस राजनीतिमा नयाँ अवधारणा र चेतना वृद्धि एकसाथ आएका छन् र आज भुइँतहबाट आफ्नो स्वार्थ रक्षाको बहस चलाइएको छ, जुन लोकतन्त्रका दृष्टिले सकारात्मक हो । एकातिर तेस्रो मधेस आन्दोलनले रूपान्तरकारी परिवर्तन ल्याउन तम्सिए पनि आमजन पराजयको मानसमा बाँच्न विवश भएको तथ्य सामुन्ने छ, अर्कातिर ती परिवर्तनका मूलभूत कुरा ओझेलमा छन् । मधेसी नेतृत्वगणको पुरानो आकर्षण घटिरहँदा पनि किन उनीहरूले नै शक्ति र साधनस्रोतमा पहुँच बनाइरहेका छन् ? उनीहरू किन उत्तरदायी हुन सकिरहेका छैनन् ? मधेसी शक्तिको आकार यिनै प्रश्नको सेरोफेरोमा रुमलिइरहेको छ ।

प्रकाशित : असार ३, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?