निर्नैतिक राजनीतिको प्रकोप- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्नैतिक राजनीतिको प्रकोप

परस्पर विरोधीजस्तो देखिए पनि राष्ट्रवादीहरू देश विकासका सबभन्दा ठूला बाधक हुन् ।
सीके लाल

राजनीतिक मर्यादाका अदृश्य तर अनुल्लंघनीय घेरा भत्काएर शासकीय अनैतिकताको फेदीतर्फको दौडमा हाललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अब्बल ठहरिएका छन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई तत्कालै मन्त्रिमण्डलमा सामेल गर्ने उनको प्रयोग तरल राजनीतिक नैतिकताको ‘उत्कृष्ट’ उदाहरण हो । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली उनका गुरु हुन् ।

हुन त ‘गुरु गुड, चेला चिनी’ भन्ने अवधी भाषाको आहान लुम्बिनी प्रदेशबाहिर पनि प्रचलित छ, तर सर्वेसर्वा शर्मा ओली चानचुने गुरु नभएर साक्षात् गुरुघण्टाल हुन् । उनले पहिले त संसद्को हिउँदे अधिवेशनलाई कार्यसूची नदिएर पंगु बनाए र त्यसपछि आफूविरुद्ध आउन सक्ने अविश्वासको प्रस्तावलाई राजनीतिक दाउपेचद्वारा नष्ट गर्न प्रतिपक्षसँग छलफल वा सभामुखसँग सल्लाह नै नगरी सोझै प्रतिनिधिसभाको अधिवेशन अन्त्य गराइदिए । फेरि पनि अवधी भाषाकै ‘न रहे बाँस, न बजे बाँसुरी’ उखानको हताश प्रयोग ! समसामयिक नेपाली राजनीतिमा ‘उत्कृष्ट’ र ‘निकृष्ट’ बीचको सीमारेखा निरन्तर पातलिँदै गइरहेको छ । आचार्य व्यासको उक्ति छ— ‘धर्मस्य तत्त्वं निहितं गुहायाम् । महाजनो येन गतः सः पन्थाः ।’ भावार्थले भन्छ, धर्मको तत्त्व गहन हुने भएकाले महान् व्यक्तिको उदाहरण पछ्याउनु नै उचित बाटो हो । समसामयिक राजनीतिका ‘महान् व्यक्तिहरू’ द्वारा कोरिएको बाटाले नेपाललाई कता पुर्‍याउने हो, अहिले नै यकिन गर्न कठिन छ । संकेतहरू भने उत्साहवर्धक देखिँदैनन् ।

समर्थकलाई पुलपुल्याउने, विरोधीलाई अलमल्याउने एवं तटस्थलाई फुस्ल्याउने कलामा प्रधानमन्त्री शर्मा ओलीको बराबरी गर्न सक्ने व्यक्ति भेट्टाउन असम्भव नभए पनि गाह्रो भने छ । उनी सिद्धान्तविहीन छन्, त्यसैले कुनै पनि राजनीतिक ‘वाद’ को बन्देज उनलाई लाग्दैन । मान्यतामुक्त भएकाले सामाजिक नैतिकताको बन्धनले उनलाई छेक्दैन । र, नीतिशून्य व्यक्तिलाई सांस्कृतिक रीतिथितिको रोकावट लाग्ने कुरा पनि भएन । अरू मार्क्सवादी–लेनिनवादीहरू ‘वैज्ञानिक राजनीति’ बारे लामालामा प्रवचन दिन्छन्; सर्वेसर्वा शर्मा ओली भने प्रयत्न, प्रक्रिया एवं प्रतिफल (इनपुट, प्रोसेस, आउटपुट) प्रणालीमा आधारित निर्नैतिक (एमोरल) राजनीतिको व्यावहारिक अभ्यास गर्छन् ।

निर्नैतिक राजनीतिमा सत्ता हासिल गर्न एवं शक्तिमा रहिरहन जस्तोसुकै जुक्तिको प्रयोग पनि जायज हुन्छ । आचार्य चाणक्यले सफल शासकका लागि सात सूत्र सुझाएका छन् । लठ्याउने बोलीले सोझासाझालाई सहजै वशमा गर्न सकिन्छ । सर्वेसर्वा शर्मा ओलीका उखानटुक्का, गैंडा, तातोपानी, बेसार र बेलौतीको पातले बुद्धिजीवीहरूको सानो समूहलाई चिढ्याए पनि अधिकांश सामान्यजन भने मक्ख परेर गलल्ल हाँस्छन् । लक्षित समूह प्रसन्न हुनु साम नीतिको सफलता हो । दाम बाँड्न त के गाह्रो भो र, जवाफदेही रसातलमा पुगेको शासन व्यवस्थामा राज्यकोष खर्चेको हिसाब ‘आफ्ना’ बाहेक अरू कसैलाई देखाइराख्नुपर्ने होइन । दण्ड विधिको प्रयोग त स्रोत असीमित भएका सत्तासीनले न्याय प्रणालीलाई समेत परिचालन गरेर गर्न सक्ने नै भए । भेदको तरिकाका लागि सूचनाका स्रोतहरूमा राज्यसत्तामा रहेको व्यक्ति–नियन्त्रण मजबुत हुनु पनि स्वाभाविक हो ।

आचार्य चाणक्यले शासकीय व्यवहारका ‘उपाय–चतुष्टय’ सँगसँगै माया, उपेक्षा एवं इन्द्रजालजस्ता तीन अपेक्षाकृत जटिल कार्यविधि पनि सिफारिस गरेका छन् । मायालाई अर्थ्याउन सहज छैन । छल, कपट र चातुर्यको सूक्ष्म मायाजालमा प्रतिस्पर्धीलाई फसाउने विधि सर्वेसर्वा शर्मा ओलीले १६ बुँदे षड्यन्त्रताका सफलतापूर्वक प्रयोग गरिसकेका छन् । उपेक्षा कार्यविधिले त्रस्त माधवकुमार नेपाल, पुष्पकमल दाहाल एवं महन्थ ठाकुरजस्ता हस्तीहरू अन्ततः थकित भएका छन् । सत्तामा निरन्तरता सुनिश्चित गर्न वा केही गरी बालुवाटारबाट बाहिरिने अवस्था आइलागेमा आफ्नो राजनीतिक विरासत सुरक्षित गर्न अब उनले इन्द्रजाल अर्थात् भ्रम सिर्जना गरेर सामान्यजनलाई भ्रान्तिमा राख्ने अभियानलाई गति दिने सम्भावना बढ्दै गइरहेको छ । जनोत्तेजक उद्घोष, अन्यघृणा बढाउने नारा एवं देशाहंकारको रणहुँकारले मन्त्रमुग्ध सामान्यजन नियमित दैनिकीका कठिनाइ बिर्सेर कसरी एउटा सम्मोहक तारणहारका पछाडि कुद्न तयार हुन्छन् भन्ने प्रवृत्तिको प्रत्यक्ष उदाहरण छिमेकी देशहरूमै देख्न सकिन्छ । लाग्छ, सर्वेसर्वा शर्मा ओलीको राजनीतिक तरकसमा सम्मोहनका वाणहरू अझै सकिएका छैनन् ।

कीर्तिस्तम्भ मनोग्रन्थि

गत वर्ष पुच्छ्रे नक्साले उब्जाएको राष्ट्रवादको उन्मादका बेला सर्वेसर्वा शर्मा ओलीले बिनाकुनै तथ्य र प्रमाण ‘भगवान् राम’ चितवनको माडीमा जन्मेको दाबी अगाडि सारेका थिए । एकपटक फेरि ‘कामकुरो एकातिर, सर्वेसर्वा भने माडीतिर’ भन्दै एउटा पुरानो आहानलाई समयानुकूल संशोधन गर्ने अवसर भने प्रधानमन्त्री शर्मा ओलीले जुटाइदिएका छन् । महाव्याधिको दोस्रो लहर उर्लिएका बेला रामनवमीका दिन राम, सीता तथा लक्ष्मण एवं हनुमानको मूर्ति बालुवाटारबाट माडी लगेर स्थापना गरिने भएको छ । त्यस्तै अर्को एउटा सामान्यजनको ध्यान राष्ट्रिय महत्त्वका मुद्दाहरूबाट अन्यत्र मोड्ने काम धरहराको पुनर्निर्माण हुन गएको छ । काम पूरा हुन कम्तीमा एक वर्ष अरू लाग्ने अनुमान छ, तर भीमसेन स्तम्भको टुप्पोमा गजुर सजाएर उद्घाटन गर्न प्रधानमन्त्री हतारिएका छन् । प्रस्तावित माडी मन्दिर होस् वा सुनधारा ओझेलमा पार्ने धरहरा, दुवै भौतिक संरचनाहरूको उपयोगिता भने प्रतीकात्मकभन्दा बढी छैन ।

काठमाडौंको धरहरालाई एक विदेशी अवलोकनकर्ताले ‘भीमसेन्स फाली’ संज्ञा दिएका थिए । कुनै व्यावहारिक उद्देश्यबिना महँगो एवं सजावटी संरचना, खास गरेर अग्ला स्तम्भ, ठूला बगैंचा वा विशालकाय मूर्ति ठड्याउने कर्मलाई ‘फाली’ अर्थात् मूढता भन्ने गरिन्छ । हुन पनि तत्कालीन परिवेशमा सुगौली सन्धिको अवमानना बिर्साउन निर्माण गराइएको स्तम्भ भीमसेन थापाको कीर्तिभन्दा पनि उनको पतनको प्रस्थानविन्दु बन्न पुगेको थियो । धरहरा ठडिएको केही वर्षभित्रै उनी जेल परे र त्यहीं उनको दारूण अन्त्य भयो । नब्बे सालको महाभूकम्पपछि धरहरा पुनर्निर्माण गराउने जुद्धशमशेरको मृत्यु विदेशी भूमिमा भयो । स्वनिर्वासित राणा प्रधानमन्त्रीको सम्झनालाई बरु जुद्ध सडकले कायम राखेको छ । नवनिर्मित धरहराले गोरखा भुइँचालोका बीच नेपालका राजनीतिकर्मीहरूले देखाएको असंवेदनशीलतालाई युगौंसम्म सम्झाइराख्न भने सक्नेछ । त्यस अर्थमा सर्वेसर्वा शर्मा ओलीले आफ्नोसमेत चौतर्फी असफलतालाई स्वयं अभिनन्दन गर्न लागेका हुन् भन्ने विडम्बनालाई उल्लेख्य मान्नुपर्ने हुन्छ ।

स्थानीय सरकारहरूले संघीय अगुवाहरूकै देखासिकी गर्ने न हो । संखुवासभाको मुडे बजारमा कंक्रिटको चाँपको रूख उभ्याइएको छ । इटहरी उपमहानगरपालिकाले सखुवागाछी चोकमा फाइबरको सखुवा उमारेको छ । देशैभरि जताततै अवलोकन स्तम्भ (भ्युटावर) खडा गर्ने चलन स्थापित भएको छ । कंक्रिटको लालीगुँरास फुलाउने, नक्कली बेल र सुन्तला फलाउने तथा सिमेन्टको लसुन उमार्ने ‘छोटे शर्मा ओलीहरू’ ले आफ्ना सर्वेसर्वाको कीर्तिमोहको भद्दा नक्कल गरेका हुन् भन्दा फरक पर्नेछैन । अचम्म त के भने, राज्यका ‘हन्डीजीवी’ एवं बजारका ‘मन्डीजीवी’ जस्ता बुद्धिजीवीहरू एकताका माओवादीका स्वागतद्वार एवं मधेसवादी योद्धाका स्मारकहरूको घनघोर विरोध गर्ने गर्थे । तर, काठमाडौंको धर्म, संस्कृति, जीवनशैली वा स्थापत्यकलासँग गोरु बेचेको साइनो त परको कुरा भयो, बाख्रा–मोलमोलाइ गरेको चिनजानसमेत नभएको शासकीय अहंकारको स्तम्भको हलुका आलोचनासमेत सार्वजनिक वृत्तमा कतै सुनिएन । सानोतिनो स्मारक निन्दनीय ठहर्छ, विशालकाय एवं ३५० करोडको स्तम्भले भने सबैलाई स्तम्भित तुल्याउन सक्ने रहेछ ।

स्मारक ठड्याउने मानवीय प्रवृत्ति नयाँ भने होइन । मिश्रका फैरौ (दैवी शक्तिसम्पन्न सम्राट्) द्वारा निर्माण गर्न लगाइएका पिरामिड सत्तासीनको शक्तिका कालजयी अभिव्यक्ति हुन् । त्यस कालखण्डका सामान्यजन एवं दासहरूको दयनीय अवस्था भने दुनियाँभरबाट पिरामिड हेर्न इजिप्ट पुग्नेहरूले कल्पना पनि गर्न सक्दैनन् । चीनको विशाल पर्खालले आफ्नो निर्माण अवधिमा कतिवटा अनिकाल बेहोर्‍यो, त्यस संरचनालाई अन्तरिक्षबाट हेर्न सकिने दाबी गर्नेहरूले अडकल गर्न सक्ने कुरा होइन ।

शक्तिशालीहरूको प्रत्येक भव्य स्मारकको पींधमा सामान्यजनको चीत्कार दबिएको हुन्छ । यशप्राप्तिका लागि सडक, बाँध एवं उत्पादक संरचनाहरूमा गरिएको लगानी अर्थहीन होइन । कठिनाइका बेला रोजगारी सिर्जनाका लागि बृहत् निर्माण परियोजना सञ्चालन पनि उपयुक्त कदम हो । तर, फगत शासकीय दम्भको सार्वजनिक प्रदर्शनका लागि आडम्बरपूर्ण संरचना ठड्याइने प्रवृत्तिका लागि कीर्तिस्तम्भ मनोग्रन्थि (एडफिस कम्प्लेक्स) भन्ने पदावली प्रयोग गर्ने गरिन्छ । उत्तर कोरियाको रुङयोङ होटललाई पश्चिमा मुलुकहरूसँंगको प्रतिस्पर्धामा पछाडि परेका साम्यवादी मुलुकहरूको कीर्तिस्तम्भ–मोहको दृष्टान्तका रूपमा लिने गरिन्छ । सधैं खाली रहने एवं अपूरो रहेको संसारको सबभन्दा ठूलो भवन भनिने त्यो संरचना निरन्तर निर्माणाधीन रहने गरेको छ । तर, कीर्तिस्तम्भ मनोग्रन्थिलाई प्रचारतन्त्रको अस्त्र बनाएर प्रयोग गर्ने श्रेय भने राजनीतिशास्त्रीहरू फिलिपिन्सकी प्रथम महिला इमेल्डा मार्कोसलाई दिने गर्छन् । उनले सन् १९७० को दशकमा सार्वजनिक लगानीमा कम प्राथमिकताका भव्य संरचना ठड्याउन अग्रसरता लिएपछि ‘एडफिस कम्प्लेक्स’ अभिव्यक्तिको प्रयोग राजनीतिक अध्ययनमा व्यापक भएको हो ।

भारतमा उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीले ‘प्रेरणास्थल’ नाम दिएर आफ्नो, आफ्ना मार्गदर्शक राजनीतिकर्मी काशीराम एवं दलित मुक्तिका प्रणेता भीमराव अम्बेडकरका साथै आफ्नो दलको चुनाव चिह्न हात्तीका विशालकाय मूर्तिहरू जताततै निर्माण गर्न लगाएकी थिइन् । त्यसले उनको राजनीतिक भविष्य त सुनिश्चित गरेन नै, विरासत पनि स्थापित गर्नेमा शंका छÙ राजकीय फजुलखर्चीको कीर्तिमान भने कायम रहनेछ । चीनमा जोडजाम (फेब्रिकेटेड) गरेर चिनियाँ कामदार एवं प्रविधिको प्रयोगबाट ३००० करोड भारुको लागतमा भारतको गुजरातमा ठड्याइएको सरदार वल्लभ भाइ पटेलको मूर्ति संसारमा सबभन्दा अग्लो त होला, तर त्यसलाई भारतीय कीर्तिस्तम्भभन्दा पनि भविष्यमा ‘मोदिज फाली’ भनेर सम्झिने सम्भावना बढ्दै गइरहेको छ । तात्कालिक राजनीतिमा सामान्यजनलाई विस्मित तुल्याएर चुनावी फाइदा उठाउने कलामा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानक दृष्टान्त कायम गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबद्धता जनाएको मेक्सिकोको सिमानाको पर्खालभन्दा प्रधानमन्त्री मोदीको अयोध्याको राममन्दिरको इन्द्रजाल बढी प्रभावकारी ठहरिन सक्ने सम्भावना कायम छ । सर्वेसर्वा शर्मा ओलीको सुनधाराको धरहरा वा माडीको राम मन्दिरले त्यस्तो चमत्कार देखाउन सक्नेमा भने शंका छ ।

सामूहिक आत्ममुग्धता

शाक्य वंशका राजकुमार सिद्धार्थ अहिलेको नेपाल भन्ने देशको सिमानाभित्र जन्मिएका भए पनि महात्मा बुद्धको पहिचानलाई कुनै एउटा देशको ‘राष्ट्रवाद’ सँंग जोड्नु अनुपयुक्त मात्र होइन, अपराध नै हुनेछ । शान्तिदूत बुद्धका नाममा समेत नृजातीय आतंक मच्चिन सक्ने रहेछ भन्ने जोखिमको उदाहरण श्रीलंकामा तामिल हिन्दु एवं बर्माका रोहिंग्या मुसलमान विरुद्धको हिंसात्मक अभियानका बौद्ध धर्मावलम्बी समर्थकहरूले देखाइसकेका छन् । बुद्ध नेपालमै जन्मिएका भए पनि उनको आदर्श पछ्याउने हो, निर्वाणप्राप्त इतिहास–व्यक्तिको स्मरणमा गौरव गरेर बस्ने होइन । एक थरी राष्ट्रवादीहरू भने राजा पृथ्वीनारायण एवं लडाका जंगबहादुर कुँवरलाई समेत सम्झेर मक्ख पर्ने रहेछन् । वर्तमानका विसंगति एवं भविष्यका चुनौती बिर्साउन चतुर शासकहरू मनगढन्ते इतिहासप्रति आसक्ति फैलाउँछन् । शासकीय इन्द्रजालको अस्त्रागरमा कपोलकल्पित गौरवगाथाजत्तिको असरदार हतियार अर्को हुँदैन ।

नेपाल उपत्यका एकजमानामा सम्पन्न रहेको भए पनि आधुनिक नेपाल गठन भएदेखि नै यो एसिया महादेशको सबभन्दा गरिब मुलुकहरूमध्ये एक रहँदै आएको छ । नेपाल त ‘सुनको टुक्रा हो’ भन्ने सूत्र वाक्य जप्दैमा सामान्यजनको चुलो बल्दैन, राष्ट्रवादीको राजनीतिक रोटी भने मज्जाले सेकिन्छ । यथास्थितिसंँग असन्तुष्ट नभएसम्म परिवर्तनको हुटहुटी जाग्दैन । कपटको राजनीति गर्नेहरू भने इतिहासमा गौरव एवं वर्तमानमा सन्तुष्टि खोज्ने भ्रम बेच्न रुचाउँछन् । झन्डै २५० वर्षसम्म देशका लगभग सबै सार्वजनिक आयाधिक्य (पब्लिक सरप्लस) अभिजात वर्गको उपभोग वा सम्पत्ति बहिर्गमनमा खेर गएको देशमा व्यक्तिगत बचत परिवारको निर्वाहमै लाग्नु नितान्त स्वाभाविक हो । असमानता अत्यधिक व्यापक रहेको समाजमा शासक र शासित समुदायका सामाजिक मूल्य एवं मान्यता पनि फरक–फरक हुने नै भए । वर्चस्वशाली समुदाय स्वतः उत्कृष्ट भएकाले प्रभुत्व कायम राख्न सकेका हुन् भन्ने भ्रम बहुमतीय दम्भ बेच्न सहयोगी हुने रहेछ । नृवंशशास्त्रभित्र कुनै प्रामाणिक आधार नरहेको ‘खस–आर्य’ नृजातीय प्रवर्ग सामूहिक आत्ममुग्धता (कलेक्टिभ नार्सिसिजम) उब्जाउने जनोत्तेजक उद्घोष बन्न पुगेको छ ।

भविष्यप्रति आश्वस्त हुन सकियो भने वर्तमानको प्रयत्नलाई अझ बढी ऊर्जाशील बनाउन सकिन्छ । निर्नैतिक राजनीतिकर्मीहरू भने भयको कारोबार गर्छन् । त्यसले गर्दा सार्वजनिक नैतिकताका मापदण्डहरू पनि क्रमशः कमजोर हुँदै जान्छन् । इमानदारीको उत्प्रेरक शक्ति जीवनमा प्रशंसा एवं मृत्युपछि स्वर्गको आस हुने भएपछि व्यक्ति आफ्नो कर्मप्रति प्रतिबद्ध रहन लालायित हुन्छ । उपेक्षाको भय एवं भविष्यको अनिश्चितताले गाँजेपछि सहज कमाइ उचित एवं डीभी चिट्ठा ‘स्वर्गको टिकट’ लाग्नु अनौठो होइन । परस्पर विरोधीजस्तो देखिए पनि राष्ट्रवादीहरू देश विकासका सबभन्दा ठूला बाधक हुन् । महत्त्वाकांक्षीहरूले पछ्याउने निर्नैतिक शासन व्यवस्था भने त्यसरी पनि चल्दो रहेछ । सर्वेसर्वा शर्मा ओलीको राजनीति जतिजति बलियो हुन्छ, नेपालका अंगभूत समाजहरूको दिगोपना त्यही गतिमा कमजोर हुँदै जाने निश्चित छ । यस तिमिरलाई उजिल्याउन सहज देखिँदैन । आस के मात्र हो भने, सर्वेसर्वा शर्मा ओली मुख्तियार भीमसेन थापा वा प्रधानमन्त्री जुद्धशमशेरभन्दा पनि प्रतापी शासक होइनन् । चामत्कारिक उत्थान एवं अप्रत्याशित पतन प्रायः निर्नैतिक राजनीतिको स्वाभाविक परिणति हुने रहेछ ।

प्रकाशित : वैशाख ८, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

प्रदर्शनीमा ४९६ कलाकृति

सुगमदेखि दुर्गम क्षेत्रसम्मका कलाकारहरु आ–आफ्ना कलाकृतिसँगै सहभागी
सुशीला तामा‌ङ

काठमाडौँ — प्रवेशद्वारबाट सोझै हेर्दा देखिन्छ कलाकृतिका लहर । वरिपरि आ–आफ्नै सुरमा अवलोकन गर्दै मन्त्रमुग्ध सहभागी । कलाकै सेरोफेरोमा रहेर छलफलमा व्यस्त रहेका कलाकारहरू अर्को खेमामा छन् । यतिबेला राजधानीको नक्सालस्थित रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कलामय बनेको छ । 

गत बिहीबारदेखि सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ मा देशभरबाट ४ सय ४४ जना कलाकारका ४ सय ९६ कलाकृति समावेश छन् । विधागत रूपमा नै गठित मूल्यांकन छनोट समितिद्वारा चयन गरिएका कलाकृतिहरू मात्र प्रदर्शनीमा छन् । हस्तकला, शिल्पकला, परम्परागत तथा आधुनिक मूर्तिकला, चित्रकला, लोककला, कार्टुनकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाकृतिहरू प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ । मुलुकभरका कलाकार तथा कलाप्रेमीहरूका लागि प्रदर्शनी राष्ट्रिय कला महोत्सवका रूपमा रहेको चित्रकार सञ्जय बान्तवाले बताए । ‘देशका सुगमदेखि दुर्गम क्षेत्रसम्मका कलाकारहरू आ–आफ्ना कलाकृतिहरूमार्फत सहभागी हुनुभएको छ,’ उनले भने, ‘यो प्रदर्शनी हामी कलाकारहरूको कामको मूल्यांकन गर्न महत्त्वपूर्ण अवसर हो ।’ राष्ट्रिय तथा क्षेत्रीयस्तरमा नै सम्मान र पुरस्कारसमेत वितरण हुने भएकाले कलाकारका लागि विशेष हुने उनको भनाइ छ ।

प्रतिष्ठान परिसरमा नै नवनिर्मित अरनिको प्रदर्शनी कक्ष अझ विशेष छ । प्रतिष्ठानले यसै वर्षदेखि आफ्नै भवनमा प्रदर्शनी सुरु गरिएको चित्रकार तथा चित्रकला विभागका प्रमुख सुष्मा राजभण्डारीले बताइन् । उक्त कक्षमा प्रवेश गर्नेबित्तिकै परफर्मेन्स आर्ट, प्रतिस्थापन कला, मूर्तिकला, कार्टुन, समकालीन तथा आधुनिक चित्रकलाहरू प्रदर्शनमा छन् । जहाँ अग्रजदेखि युवा कलाकारहरूका कलाकृतिहरू अवलोकन गर्न सकिन्छ । कलाकृतिहरूमा प्रकृति, धर्म, समाज, मानव र राजनीतिसम्मका विषयवस्तुहरू इंगित छन् । पछिल्लो समय विश्वलाई नै आतंकित बनाइरहेको कोरोना महामारीलाई समेत कलाकृतिहरूमा देखिन्छ ।

प्रदर्शनीमा परम्परागत तथा लोककलाको दाँजोमा समकालीन तथा आधुनिक कलाहरूको नै प्रभुत्व देख्न सकिन्छ । यसमा पनि वास्तुकला तथा मूर्तिकलाभन्दा चित्रकला नै बढी हावी छ । कार्टुनकलामा भने पछिल्लो राजनीतिक घटनाक्रमलाई चोटिलो व्यंग्य गरेको पाइन्छ ।

केही वर्षदेखि प्रदर्शनीहरूमा समकालीन तथा आधुनिक चित्रकलाहरू अधिकतम सिर्जना भइरहेको चित्रकार बान्तवाले आफ्नो कलाकृतितर्फ इसारा गर्दै सुनाए । उनले घोडालाई शक्ति र संघर्षको प्रमुख बिम्ब बनाई चित्रमा उतारेका छन् । जसमा महिलाको आकृतिलाई केन्द्रित गर्दै उनले सपना र स्वतन्त्रतालाई क्यानभासमा नै तीव्र वेगमा उडिरहेको र दौडिरहेको चित्रण गरेका छन् ।

प्रतिष्ठान परिसरमा प्रवेश गर्दा दायाँतर्फको एक कक्षमा भने सुन्दर परम्परागत पौभा तथा थांका कलाहरू प्रदर्शन गरिएका छन् । जेनेन्द्र राई शाक्य, जुजुकाजी महर्जन, चन्द्र लामालगायतले हिन्दु तथा बौद्ध धर्मशास्त्रका अनेक पक्षहरूलाई कलाकृतिहरू उतारेका छन् । प्रदर्शनीले छायामा परेका कलाकारहरूलाई हौसला तथा कला सिर्जनामा प्रोत्साहन दिने थांका चित्रकार लामाले बताए । साढे दुई दशकभन्दा लामो उनको कला यात्रामा उनले प्रतिष्ठानको राष्ट्रिय प्रदर्शनीमा उनले सहभागिता जनाएको यो दोस्रो पटक हो । औपचारिक कला शिक्षा र ज्ञान नभएकाले सिर्जनामा मात्र तल्लीन रहेको उनले सुनाए । उनले भने, ‘हामी थांका चित्र बनाउन र बेच्नमा नै व्यस्त हुँदै आएका छौं । कलाका रूपमा प्रचार र प्रदर्शनी गर्नुपर्छ नै, खासै थाहा नै छैन ।’ प्रदर्शनीले उनी जस्ता समग्र कलाकारहरूलाई समेटिनुपर्ने लामाको आग्रह छ ।

परिसरकै एक कक्षमा भने लोककला प्रदर्शनीमा छ । मिथिला क्षेत्रको लोकजीवन, धर्म, परम्परा, सौन्दर्य तथा आधुनिकतातिर लम्किरहेको मिथिलावासी, स्वतन्त्रतातिर उन्मुख मिथिलाका नारीहरूलाई मिथिला चित्रकलाहरूमा प्रस्तुत गरिएका छन् । समुदायमा नै प्राप्त गर्न सकिने विभिन्न वस्तुहरूबाट निर्मित हस्तकलाका सामग्रीहरूले प्रदर्शनीको शोभा बढाइएको छ । मिथिला चित्रकलामा पनि परम्परागतसँगै आधुनिकताको प्रवेश भएको चित्रकार तथा लोककला विभागका प्रमुख मिथिलादेवी यादवको मत छ । सप्तरीकी रुविकुमारी कर्णले महामारीबाट जोगिन मास्क लगाउने, साबुनपानीले हात धुने सामाजिक दूरी कायम गर्नेलगायतका सचेतनालार्ई मिथिला चित्रमार्फत प्रस्तुत गरेकी छन् । यादवले भने मैथिल समाजमा पतिको सुस्वास्थ्यका लागि महिलाहरूले मानिने वट् सावित्री व्रत तथा पूजालाई चित्रमा उतारेकी छन् ।

प्रदर्शनीमा नेवारी लोककलालाई समेट्न नसकेकामा राजभण्डारीले दुःख व्यक्त गरिन् । ‘हामी आफ्नो मौलिक कला बिर्सेर आधुनिक कलाका नाममा अरूको सिर्जनालाई सिको गरिरहेका छौं । यो कला विकासमा राम्रो पक्ष हुँदै होइन ।’ देशमा परम्परागत कला सिर्जनामा रहेका थुप्रै कलाकारहरू छायामा परिरहेकाले प्रतिष्ठानले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने उनको धारणा छ । उनले भनिन्, ‘कलाकार र कलालाई पहिचान गरी यसलाई अब सिर्जना मात्र होइन, कला उद्योगका रूपमा व्यवसाय बनाउन जरुरी छ ।’

प्रकाशित : वैशाख ८, २०७८ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×