२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

रित्तो हात फर्किनेहरूको देश

नेपाली सत्ताले न कहिल्यै आफ्ना नागरिकलाई बुझ्न सक्यो, न त आफ्नो भूगोलको विशिष्टतालाई नै ।
चन्द्रकिशोर

महामारीको आगो सल्कियो । सरकार र समाजले पनि कुवा खन्न सुरु गरे । लोकआहानमा त कुवा खनेपछि पानी पनि निस्किन्छ, तर महामारीको डढेलो लागेपछि खनेको कुवाबाट पानी निस्किएन । त्यसैले निकट अतीतमा भोगेको आशंकित र आतंकित कालखण्डबाट हामीले पाठ सिकेनौं । यतिखेर हामी दुई लकडाउनको माझ उभिएका छौं ।

रित्तो हात फर्किनेहरूको देश

देहातमै चलेको अर्को कहावतले भन्छ— घोडालाई कसरी अघि बढाउने भनी थाहा नभएको घोडसवारलाई घोडाले लडाइदिन्छ । महाव्याधि कोरोनाको कहरले दुनियाँ आतंकित छ । यससँंग जुध्ने शैली भने विभिन्न मुलुकको फरकफरक रह्यो । लोकतन्त्र हुनु र नहुनुले जीवन र समाजको प्रकृति र गति फरक हुन्छ । जहाँं लोकतन्त्र संविधानमा त अंकित छ, तर शासकको चरित्र लोकतान्त्रिक छैन, त्यहाँंका निर्वाचित शासक महामारीसँग जुध्न युद्धकै मनोविज्ञानमै रहे । यस्ता शासकहरू युद्धको उन्मादी परिवेश निर्माण गरेर आफ्नो सत्ता तन्काउन खोज्छन् । महामारीको त्रासदीलाई समेत राष्ट्रवाद उमार्ने उर्वर अवसर ठान्छन् । युद्ध–उन्माद खडा गर्न मुलुकभित्र वा बाहिर एउटा कृत्रिम शत्रु खडा गर्छन् । एउटा आवेगलाई लय हालिदियो अनि त्यसबाट सञ्जीवनी पायो !

पछिल्लो लकडाउन सकिनेबित्तिकै उही स्वाभाविक लय समातियो । त्यही जीवनशैली, उही पर्यावरण–नदी–पहाड विरोधी विकास, उस्तै भेदभाव, माटाको विषकरण, श्रमिकहरूको उस्तै शोषण, उही कट्टरता, लैंगिक हिंसा । आज मधेसमा जुड शीतल मनाइँदै छ । प्रकृतिप्रति कृतज्ञताको पर्व हो यो । प्रकृतिसँंग मैत्री सम्बन्ध राखेर जिउने कला सिक्ने पर्व हो यो । यो पर्व मनाइरहँदा फेरि कोरोना संक्रमण फैलिँदै जाने त्रास भुइँतहमा व्याप्त छ । नूतन वर्षलाई अभिनन्दन र आलिंगन गर्नसमेत आमजनमा अन्योल देखिएको छ ।

राज्यमा प्रकृतिका संकेतहरू बुझ्ने थोरै मात्र क्षमता बांँकी रहेको भए पनि विकासको मौलिक शैली अपनाइन्थ्यो होला । दुर्भाग्य, नेपाली सत्ताले कहिल्यै न आफ्ना नागरिकलाई बुझ्न सक्यो, न त आफ्नो भूगोलको विशिष्टतालाई नै । यहाँको जैविक विविधता एवं प्राकृतिक परिवेशबारे सत्तामा अपेक्षित सचेतना पाइएन । नेपालको जनसांख्यिक बनोटमा जुन विविधता र विशिष्टता छ, त्यही अनुसारको जैविक प्रजातिको विविधता छ । भनिन्छ, भैंसीलाई सिङ भारी हुँदैन । प्रकृतिसँग सहवास गरेर बाँच्ने संरचना बनाउनाले नै नेपालीजनको अस्तित्व सुरक्षित रहन सक्छ । तर सरकारी प्रयास त्यस दिशातर्फ लक्षित देखिएन । त्यसैले फर्किएको त्रासदी झन् भयानक देखिँदै छ । फर्किएको कोरोना संक्रमणले राज्य र समाजका एकएक कमजोरी उजागर गर्दै छ ।

महासंकटबाट बाँचेको समाजले फेरि नवीन सपना बुन्न सुरु गर्छ । आर्थिक, राजनीतिक, सांस्कृतिक लगायत जातीय, लैंगिक, वर्गीय सुधारले केही व्यक्ति, तप्का, समूह आदिको ध्यानाकृष्ट गर्छ र सो अनुरूपको कर्म गर्न प्रेरित गर्छ । भुक्तभोगीहरूलाई आफ्नै पीडाले पनि आफूलाई सुधार्न त्यस्तो परिस्थिति र प्रेरणा दिन्छ । असल प्रयत्नहरूबाट बढिया विचारहरू निस्कन्छन् । अनि बढिया विचारबाट बढिया काम । महामारीले हामीलाई कति क्षति पुर्‍यायोभन्दा पनि यसले हामीलाई के सिकायो भन्नेचाहिँ महत्त्वपूर्ण हुन्छ । यसले दिएको पाठ हाम्रा नीतिहरूमा कतिको अनुवाद भयो ? हाम्रै पारम्परिक ज्ञान, वैज्ञानिक दृष्टिप्रतिको विश्वास डग्दा त्यो कतिको खतरनाक सिद्ध भयो ? के हामीले ‘स्वास्थ्य’ को आफ्नै परिभाषा रच्न सक्यौं ? समाजको स्वास्थ्य अवस्था उँभो लाग्दा शिर पनि ठाडो हुन्छ । शिर ठाडो पार्ने व्यवस्थाको गरिमा उच्च बन्छ । तर हाम्रो हिँडाइले वर्तमान र भविष्यलाई व्यंग्य गर्दै छ । स्वास्थ्य त्यो स्थिति हो, जहाँ कुनै पनि व्यक्तिलाई गुणात्मक दृष्टिले राम्रो पर्यावरण, खाद्य सुरक्षा, सीप अनुसारको आजीविका, श्रमको सम्मान, आधारभूत सार्वजनिक स्वास्थ्यसेवा उपलब्ध भएको हुन्छ । उत्तम स्वास्थ्य आफैं पनि मूलतः राज्य र समाजले सञ्चालन गर्ने व्यवस्था हो ।

के राज्यले आफ्नै नागरिकहरूको स्वास्थ्यको उपेक्षा गरिरहेको छ ? कृत्रिम राष्ट्रियताको उभारले हामीलाई कतै पनि पुग्न दिँदैन । त्यसले सत्तारूढ दल–पोषित केही समूहलाई तात्कालिक लाभ त देला, तर त्यो जमात पनि महामारीको लहरबाट अछुतो रहन सक्दैन । महामारीबाट जोगिन सत्याग्रह चाहिन्छ । यहाँं सत्याग्रहलाई नयाँ ढंगले बुझ्नुपर्छ । यस भाइरसबाट मान्छे तब मात्र जोगिन्छ, जब ऊ सग्लो सत्यसँग परिचित हुन्छ । अर्थात्, उसले त्यो प्राकृतिक र राजनीतिक असन्तुलनबारे थाहा पाउँछ, जसका कारण यो भाइरसले सक्रिय हुने मौका पाउँछ । ज्यादा सुरक्षित, ज्यादा शान्तिपूर्ण र व्यवस्थित समाजको निर्माण चटके तौरतरिकाबाट हुनै सक्दैन ।

‘तीन महिनामै रित्तो हात फर्किनुपर्‍यो,’ ‘फेरि बढ्यो जोखिम’ जस्ता समाचार शीर्षकहरूले हाम्रो धरातल देखाउँंछन् । भय र भोक मानव स्वभावको लक्षण हो । यो दुइटैले ऊर्जा र नवनव आविष्कारका लागि प्रेरित गर्छन् । विगतमा लकडाउन एउटा त्रासदी छल्न गरिएको थियो, त्यतिखेर पनि भुइँतहमा अनेकौं समस्या देखिएका थिए । स्थिति फेरि जटिल हुँदै छ । मुलुक बाहिर रोजगारीका लागि गएकाहरूको लर्को सीमानाकाहरूमा देखिँदै छ । संकटका माझ जोखिम मोल्दै कसैले किन सीमा नाघ्यो ? के उसको थातथलोमा अवसरहरू खडा थिए ? सोझो कुरा हो— गाउँले अवसर नदिएकाले कोही पलायन भए । यसपटक फर्किंदा थातथलोमा कस्तो तयारी छ ? संक्रमण सघन भयो भने सुरक्षा र आत्मीयता खोज्न मुलुकभित्रकै एक ठाउँबाट अर्को ठाउँसम्म पैदल मार्चपास हुन्छ कि हुँदैन ? सहरी क्षेत्रको मनोविज्ञान कस्तो छ ? समस्या गहिरिँदै गयो भने भय, भोक र गरिबीले अनेकौं विसंगति खडा गर्न सक्छ । नेपाल असन्तुलित परिस्थितितर्फ लम्किँदै छ । बहुतहका सरकारहरू मूकदर्शक भएर बस्न मिल्दैन ।

ग्रामीण अर्थव्यवस्थाको कुरा चल्दा केवल खेत र खेतीको चित्र खडा हुन्छ । जबकि गाउँमा ठूला उद्योगहरूका तुलनामा ज्यादै विकल्प र विविधताहरू छन् । स्थानीय सरकारहरूको समन्वयमा विगतमा गरिनुपर्ने कामहरू गर्न–गराउन सकिएन । थातथलो छाडेर कमाउन जानेहरूसँग कस्तो श्रम र सीप छ, त्यसलाई त्यहीँ वरिपरिको क्षेत्रमा कसरी संलग्न गराउन सकिन्छ, त्यसतर्फ गम्भीर भइएन । जो जहाँबाट आफ्नो थातथलोमा रित्तो हात फर्किंदै छन्, तिनीहरू फगत समाचारका विषय होइनन् । आगतमा हुन सक्ने भोकमरीको पूर्वसंकेत हो यो । राज्यले आफ्ना संरचनाहरूको मर्मत–सम्भार तथा शैली–सोचमा सुधार गर्न सकेन भने यसपटक हामी उम्किन नसक्ने भुमरीमा पर्छौं ।

एक छन् पूर्वराजा ज्ञानेन्द्र शाह जो मुलुकभित्र त बडा चिन्ताहरू सुनाउने गर्छन्, तर यस्तो बेला शाही स्नान गर्न भारतको हरिद्वार पुग्छन् । राजतन्त्र र जनहित सँगसँगै हिँड्न सक्दैनन् । यो तथ्यलाई उनको विगतको कर्मले पनि स्थापित गरिसकेकै छ । धर्मको आवरणमा शक्ति आर्जन गर्न जहाँ पनि दण्डवत् गर्न पछि नपर्ने तर देशभक्तिको सन्देश पनि दिइरहने, यो कस्तो प्रवृत्ति हो ? उसो त पूर्वराजासँग अपेक्षा गर्नु बेकार हो । तर देशको दोहन गरेर आर्जिएको पैतृक सम्पत्तिको उनले रचनात्मक प्रयोग गर्न सक्थे भन्नेहरू पनि छन् । भारतमा समेत कैयौं पूर्वराजा यस्ता छन् । यो संगीन प्रश्नको उत्तर खोज्ने प्रयत्न भएकै छैन । त्यसै गरी यतिखेर प्रधानमन्त्री कोषको पारदर्शिता आवश्यक छ ।

पछिल्लो पटक सीमाञ्चल सम्बन्धलाई बेवास्ता गरियो । परिणामतः लामो समयसम्म नागरिकहरूलाई स्वदेशभित्र छिर्न निकै मुस्किल पर्‍यो । यसपटक फेरि सीमानाकाहरूको कथा बाहिरिँदै छ । त्यहाँ सीमा सिल गर्नुभन्दा पनि दुई मुलुकका संघीय सरकारहरूले सीमावर्ती प्रादेशिक सरकारहरूबीच समन्वयको नीति लिए आउने वा फर्किने दुवैले राहत पाउन सक्छन् । सीमा सिल गर्नु समाधान होइन, त्यो त संकट खडा गर्ने उद्यम हो । फर्किएको कोरोनाले हामीले केही मौलिक कुराहरूमा ध्यान दिनुपर्ने परिस्थिति निर्माण गर्दै छ । श्रमिक र गरिब मात्र यसको निसानामा छैनन् । यो भाइरसले भेदभाव गर्दैन । यसले मान्छेको जीवनशैली र दैनिक गतिविधिहरूबाट पारिस्थितिकी तन्त्रलाई समेत प्रभावित पारेको छ ।

कोरोनाले एउटा अवसर दिएको छ, जीवनशैली र विकासको परिभाषामा आमूल परिवर्तन ल्याउन । ओली सरकार त राजनीतिक स्थिरता भन्ने नाराको बेसार छर्किनमा यति लिप्त छ, भुइँमान्छेहरूका सुसेली ओझेल परिरहेका छन् । आफैंले आन्तरिक राजनीतिमा ध्रुवीकरण खडा गर्ने, प्रतिपक्षको तेजोवध गर्ने, संसद्लाई संवादको थलो बन्न नदिने, अवैज्ञानिक विचारहरू पस्किने र तिनलाई पूर्ण सत्य मान्ने पालित भक्तहरूको फौज राख्ने निर्वाचित शासक रहिरहेसम्म रित्तो हात फर्किनेहरूको नियति फेरिनेछैन ।

प्रकाशित : वैशाख २, २०७८ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?