कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दूर शिक्षा र नेपाल खुला विश्वविद्यालय

पेसागत संलग्नता, आर्थिक विपन्नता, भौगोलिक विकटता वा अन्य कारणले परम्परागत उच्च शिक्षा प्रणालीमा नसमेटिएका र अध्ययनबीचमै छाड्न बाध्य भएका मानिसहरूका लागि दूर शिक्षा निकै उपयोगी हुन्छ ।

दूर (अनलाइन) शिक्षा भन्नाले घरमा बसेर इन्टरनेटका माध्यमबाट पठनपाठन गरिने शैक्षिक क्रियाकलापलाई बुझिन्छ । चलनचल्तीको भाषामा यसलाई डिजिटल शिक्षाका रूपमा पनि बुझ्न सकिन्छ ।

दूर शिक्षा र नेपाल खुला विश्वविद्यालय

परापूर्वकालमा विद्यार्थीहरूलाई गुरुकुलका माध्यमबाट गुरुबाट शिक्षादीक्षा प्रदान गरिन्थ्यो । तर, प्र्रविधिको विकाससँगसँगै शिक्षा तथा प्रविधि सिक्ने–सिकाउने तौरतरिकाहरू विकसित तथा रूपान्तरण हुँदै आए । खुला तथा दूर शिक्षा त्यस्तै एउटा पद्धति हो, जो संरचनात्मक तथा निर्देशित हुन्छ । परम्परागत शिक्षामा जस्तो यसमा पनि सिकारुलाई सबै किसिमका अवसर छनोट गर्ने स्वतन्त्रता हुन्छ । यसरी निश्चित उद्देश्यप्राप्तिका लागि निश्चित माध्यमबाट निश्चित समयमा शिक्षा हासिल गर्ने प्रक्रिया दूर शिक्षा हो ।

दूर शिक्षा एउटा विधि हो भने खुला शिक्षा एक पद्धति तथा स्व–अध्ययन । सामान्यतया खुला सिकाइ भन्नाले स्व–अध्ययन अर्थात् स्व–शिक्षण प्रक्रिया भन्ने बुभिन्छ । दूर शिक्षामा सिक्ने–सिकाउने व्यक्तिहरू स्थान र समयका हिसाबले टाढा हुन्छन् । यसमा पत्राचार, इमेल, टेलिफोन, कन्फरेन्सिङ, ई–लर्निङ, भिडियो, युट्युबजस्ता नवीनतम प्रविधिका माध्यममार्फत भर्चुअल कक्षाकोठा निर्माण गरी विद्यार्थीर्हरूलाई समीपमा ल्याएर शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्ने गरिन्छ । यसमा दूरी र समयबाहेकका अन्य पक्ष नियमित शिक्षा प्रणालीमा जस्तै हुन्छन् । तर, खुला सिकाइ भनेको अलि फरक कुरा हो । खुला सिकाइमा बढी लचकता र स्वतन्त्रता हुन्छÙ साथै यसमा दुवै पक्ष, सिक्ने र सिकाउने, बराबर जिम्मेवार हुन्छन् । सिकारुले कुनै कुरा के कसरी कहाँ कहिले सिक्ने भन्नेबारे खुलाएर आफूलाई पायक पर्ने र सहज हुने गरी पठनपाठन गर्न सक्छन् । खुला सिकाइमा भर्ना हुनका लागि पूर्वनिर्धारित सर्तलाई धेरै महत्त्व दिइँदैन । खुला सिकाइको अवधारणा दूर शिक्षामार्फत कार्यान्वयन गरिन्छ ।

खुला तथा दूर शिक्षाको आधारभूत धारणाको विकास सन् १७२८ मा बोस्टन गजेटको विज्ञापनबाट भएको हो । तर, विकासको क्रमसँगसँगै आधुनिक शिक्षामा दूर शिक्षाको विधिवत् सुरुआत सन् १८४० मा बेलायतबाट चिठीपत्रका माध्यमले दिइने शिक्षा कार्यक्रमबाटै भएको देखिन्छ । सर्वप्रथम खुला विश्वविद्यालयमार्फत शिक्षा प्रदान गर्ने कार्य लन्डन विश्वविद्यालयले सन् १८५८ मा सुरु गर्‍यो । खुला अध्ययन–अध्यापनचाहिँ सन् १८७३ मा संयुक्त राज्य अमेरिकामा घरमा अध्ययन गर्ने समाज (होम स्टडी सोसाइटी) को स्थापनापछि थालियो । यी शैक्षिक क्रियाकलाप नै दूर तथा खुला शिक्षा प्रणालीका प्रारम्भिक पाइला मानिन्छन् ।

यसै क्रममा विद्यार्थीसंख्याका दृष्टिले विश्वकै बृहत् खुला विश्वविद्यालयका रूपमा भारतमा सन् १९८५ मा इन्दिरा गान्धी राष्ट्रिय विश्वविद्यालय खुल्यो । सार्क मुलुकमध्ये बंगलादेश, पाकिस्तान र श्रीलंकाले पनि खुला विश्वविद्यालयमार्फत दूर शिक्षा तथा खुला सिकाइ पद्धतिको विकास र विस्तार गरी डिग्री दिँदै आएका छन् ।

नेपालमा चाहिँ दूर शिक्षाको थालनी युनिसेफ र नेपाल सरकारको पहलमा रेडियो नेपालमार्फत भएको हो । नेपाल सरकारले सन् १९६० को छैटौं योजनाको प्रारम्भिक समयमै खुला तथा दूर शिक्षा अध्ययन–अध्यापन गर्ने योजना गरी बजेट तर्जुमा गर्‍यो । त्रिभुवन विश्वविद्यालयले सन् २००५ मा ओडेक (खुला तथा दूर शिक्षा केन्द्र) स्थापना गरी पठनपाठन सुरु गर्न थाल्यो । नवीनतम प्रविधिको विकाससँगसँगै व्यवस्थापिका–संसद्बाट नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ पारित भएपछि नेपाल खुला विश्वविद्यालय विधिवत् स्थापना भयो ।

नेपाल खुला विश्वविद्यालयको शैक्षिक कार्यक्रम २०७४ जेठ ३० देखि सञ्चालनमा आएको हो । नेपालमा खुला तथा दूर सिकाइका माध्यमबाट उच्च शिक्षा प्रदान गर्ने एक मात्र विश्वविद्यालय यही भएकाले यस्तो शिक्षा प्रणालीका मानक स्थापना गर्ने, यससम्बन्धी विज्ञहरू उत्पादन गर्ने तथा पूर्वाधारको विकास गर्दै राष्ट्रिय स्रोत केन्द्रका रूपमा स्थापित हुने लक्ष्यका साथ काम भइरहेको छ ।

कोभिडकालमा अनलाइन शिक्षाको सान्दर्भिकता

कोभिड–१९ को महामारीसँगै धेरैजसो देशमा विश्वविद्यालय, स्कुल तथा कलेजहरूका विद्यार्थीहरू बन्दको प्रत्यक्ष मारमा परे । नेपालमा पनि ९० लाखभन्दा बढी विद्यार्थीले सिकाइ प्रक्रियामा अवरोध झेल्नुपर्‍यो । भारत र भुटानसहित अन्य सार्क मुलुकले पठनपाठनलाई अनलाइन प्रविधिमा रूपान्तरण गरी औपचारिक सिकाइ सुचारु गरे । नेपाल सरकारले पनि रेडियो र टेलिभिजनमार्फत अनलाइन प्रविधि अपनाई आंशिक रूपमा भए पनि पठनपाठन सञ्चालित गर्‍यो । त्रिभुवन विश्वविद्यालयले २०७७ वैशाख १० देखि अनलाइन कक्षा चलायो ।

नेपालजस्तो भौगोलिक र आर्थिक विविधता भएको देशमा सूचना तथा सञ्चार प्रविधिमार्फत ई–लर्निङ र अनलाइन कक्षाहरू सफलतापूर्वक सञ्चालन गर्नु पक्कै पनि चुनौतीपूर्ण थियो । असम्भव भने थिएन । विश्वविद्यालय तथा महाविद्यालयमा अनलाइनमार्फत अध्ययन–अध्यापन गराउने प्राध्यापकहरूलाई यसको प्रभावकारी प्रयोगसम्बन्धी प्रशिक्षण तथा तालिम आवश्यक हुन्छ । साथै यसको प्रभावकारिताबारे शिक्षक स्वयं नै बढी जानकार तथा जवाफदेह भए अनलाइन शिक्षाको महत्त्व झन् बढ्छ । कोभिडकालमा नेपालमा पनि विद्यार्थीहरूको तहगत कक्षास्तरअनुरूप नवीनतम प्रविधि मुडल, एलएमएस टिम्स, गुगल मिट, गुगल ह्याङआउट, गुगल क्लासरुम, जुमजस्ता विभिन्न प्रविधिको प्रयोग गरी शिक्षा आर्जन गर्न सकियो ।

नेपालको खुला विश्वविद्यालय

नेपाल खुला विश्वविद्यालयले प्राज्ञिक, अनुसन्धानमूलक तथा पेसागत विकाससम्बन्धी बाइस विभिन्न तह र विषयका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । अन्य धेरै कार्यक्रम प्रस्तावित छन् । सूचना तथा सञ्चार प्रविधिको शिक्षा क्षेत्रमा भएको अन्वेषणबाट विकसित प्रविधिको अधिकतम उपयोग र समावेशी शिक्षामार्फत ज्ञानमा आधारित समाज निर्माणका लागि निरन्तर प्रयत्न गर्नु यसको मुख्य लक्ष्य हो ।

यसका लागि नेपाल सरकारले इन्टरनेटको क्षेत्रलाई व्यापक विस्तार गरी दूरदराजसम्म पुर्‍याउनु अत्यावश्यक छ । यसतर्फ सरोकारवाला पक्षहरूको ध्यान पुग्नुपर्छ । अनलाइनसम्बन्धी पठनपाठन इन्टरनेट तथा इन्टरनेट स्पिड (गुणस्तर) मा भर पर्ने हुँदा यसको क्षमतामा अभिवृद्धि गर्नुपर्ने हुन्छ । अनलाइन प्रविधिमार्फत पढ्न चाहने विद्यार्थीहरूका लागि सहुलियत दरमा डाटा प्याक उपलब्ध हुनुपर्छ । नेपाल खुला विश्वविद्यालयलाई स्तरीय र नेपालको श्रम बजारसुहाउँदो बनाउन सरकारबाट उल्लेख्य लगानी हुनुपर्छ ।

नेपाल खुला विश्वविद्यालयको शिक्षण शैली परम्परागत विश्वविद्यालयको भन्दा पृथक् छ । यहाँ इन्टरनेटमा प्रत्यक्ष संवादमा आधारित सिकाइ व्यवस्थापन प्रणाली (मुडल) मार्फत प्रत्येक विषयको उल्लिखित पाठ्यक्रम, पाठ्यवस्तु, पठन स्रोत तथा अन्य स्रोत सामग्री उपलब्ध गराइन्छन्; अनलाइन मेन्टरमार्फत गृहकार्य, परियोजना कार्य, समूहकार्य, प्रत्यक्ष तथा अप्रत्यक्ष अन्तरक्रिया, सहभागिता र साझेदारीका आधारमा सिकाइको व्यवस्था छ ।

नेपाल खुला विश्वविद्यालयमा मूलतः दुई तरिकाले मूल्यांकन गर्ने परिपाटी छ— आन्तरिक मूल्यांकन (४० प्रतिशत) र बाह्य मूल्यांकन (६० प्रतिशत) । आन्तरिक मूल्यांकनअन्तर्गत सम्बन्धित शिक्षकले सिकाइका आधारमा अंक दिने गर्छ । बाह्य मूल्यांकनअन्तर्गत मिड–टर्म एग्जाम, एकाइ परीक्षा, परियोजना, अनुसन्धानसहित तोकिएका विभिन्न कार्यका आधारमा सम्बन्धित विषयशिक्षकले अंक दिने व्यवस्था छ । विभिन्न विषयमा गरिने आन्तरिक मूल्यांकनको अंक विभाजन सम्बन्धित पाठ्यक्रममा व्यवस्था भएअनुरूप सम्बद्ध संकाय परीक्षा समितिले गर्छ र यसको जानकारी विद्यार्थीहरूलाई हुन्छ ।

बाह्य मूल्यांकन सत्रान्त परीक्षा तोकिएको केन्द्रमा विद्यार्थीहरूले स्वयं उपस्थित भएर वा घरमै बसी अनलाइनको वैकल्पिक विधिमार्फत परीक्षा दिएपछि विश्वविद्यालय अनुदान आयोगको पछिल्लो मापदण्ड अपनाई गर्ने गरिन्छ । यसका अतिरिक्त विषय तथा कार्यक्रमको प्रकृतिअनुसार सम्बन्धित पाठ्यक्रमले तोकेबमोजिमका प्रयोगात्मक तथा स्थलगत अध्ययन कार्यहरूको मूल्यांकनको अंश पनि बाह्य मूल्यांकनमा पर्ने गर्छ । नेपाल खुला विश्वविद्यालयले विद्यार्थी मूल्यांकनका लागि अक्षरांकन प्रणाली अवलम्बन गरेको छ ।

नेपाल खुला विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न भर्ना भइसकेपछि विद्यार्थीहरूका लागि विश्वविद्यालयले समयोचित सामग्री उपलब्ध गराउँछ । जस्तो— एनओयू मोबाइल एपमार्फत सिकाइ सामग्री प्रसारण, रिमोट डेस्कटप सपोर्ट, ई–लाइब्रेरी, ई–रिसोर्सेस फर सेल्फ लर्निङ/डाउनलोड, अनलाइन परीक्षाफल तथा महत्त्वपूर्ण सूचना सम्प्रेषण, बल्क एसएमएस अनलाइन शोध प्रस्ताव, प्रतिरक्षा प्रस्तुति, अन्तर्वार्ता, प्राविधिक सहयोग, परामर्श सिकाइ निर्देशन, कन्फरेन्सिङ व्यक्तिगत अनलाइन सिकाइ सहयोग आदि ।

अनलाइन शिक्षा सस्तो, भरपर्दो र प्रविधिमैत्री भएका कारण यसले सामाजिक विभेद वा बहिष्करणमा परेका सीमान्तकृत समाजलाई पनि सम्बोधन गर्दै विकासको मूल प्रवाहमा समेट्न मद्दत गर्छ । प्रविधिमैत्री शिक्षाले एक्लो र नीरस जिन्दगी बिताउनुपर्ने अवस्था हटाई नवप्रतिभाहरूलाई ऊर्जाशील र सिर्जनशील बन्न मद्दत गर्छ । डिजिटल नेपाल बनाउने सरकारको दीर्घकालीन लक्ष्यलाई यस किसिमको शिक्षाले थप टेवा पुर्‍याउँछ ।

परम्परागत शैलीमा गरिने पठनपाठन, सिक्ने–सिकाउने माध्यम ब्लुम टेक्सोनोमी सिद्धान्त हो । यसै सिद्धान्तलाई अनलाइन शिक्षाले अनुसरण गरेको छ । यसले विद्यार्थीहरूलाई जिज्ञासु बनाई सर्वांगीण विकासमा टेवा दिन्छ । युनिसेफको शैक्षिक अध्ययन प्रतिवेदन–२०७७ अनुसार, विश्वभर एकतिहाइ तथा करिब ४८ करोड ३० लाख बालबालिका दूर शिक्षाको पहुँचबाट वञ्चित छन् । नेपालमा पनि इन्टरनेटको पहुँच गाउँगाउँसम्म नपुगेका कारण त्यस्ता विद्यार्थी ठूलो संख्यामा छन् । दूर शिक्षाको पहुँचबाट वञ्चित ठूलो समूहलाई शिक्षाको मूल प्रवाहमा समेट्न नेपाल सरकार, अन्य सरोकारवाला तथा दातृ निकायबीच सहकार्य हुन सके यसको प्रभावकारिता अझै बढ्न सक्छ ।

अनलाइन शिक्षा आधुनिक प्रविधिमैत्री, सीपमूलक र जीवनोपयोगी भएकाले यसको व्यावहारिकता समय सान्दर्भिक छ । अमेरिका, बेलायत, चीनजस्ता मुलुकहरूको उच्च शिक्षामा अध्ययनरत ३० प्रतिशतभन्दा बढी विद्यार्थी अनलाइन कोर्समा आबद्ध रहेको पाइन्छ । अनलाइन शिक्षाप्रति शैक्षिक विज्ञहरू तथा विश्वको आकर्षण र प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । हाम्रोजस्तो बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुकमा अनलाइन शिक्षाको प्रभावकारिता झनै बढ्ने देखिन्छ ।

अनलाइन शिक्षामा शैक्षिक लचकता पाइन्छ । पठनपाठनमा सहजता हुन्छ । विद्यार्थी र शिक्षकहरू मिलेर जुनसुकै समय वा स्थानमा सहजै अध्ययन–अध्यापन गर्न सकिन्छ । सिकाइ कम खर्चिलो हुन्छ । अनलाइन पठनपाठन पूर्णतः निष्पक्ष तथा सबैको पहुँचमा हुन्छ । यसमा धेरैभन्दा धेरै कोर्स छनोट गरी गुणस्तरीय पठनपाठन गर्न सकिन्छ ।

भौगोलिक दूरी निकै भए पनि सहजै अध्ययन–अध्यापन गर्न–गराउन सकिनु अनलाइन शिक्षाको विशेषता हो । पेसागत संलग्नता, आर्थिक विपन्नता, भौगोलिक विकटता वा अन्य कारणले परम्परागत उच्च शिक्षा प्रणालीमा नसमेटिएका र अध्ययन बीचमै छाड्न बाध्य भएका मानिसहरूका लागि दूर शिक्षा निकै उपयोगी हुन्छ । विद्यार्थीलाई अन्तर्मुखी नबनाई बाह्य वा समाजमुखी बनाउनु नै अनलाइन शिक्षाको ध्येय हो ।

(कार्की र पौडेल नेपाल खुला विश्वविद्यालयको विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायमा कार्यरत छन् ।)

प्रकाशित : फाल्गुन १६, २०७७ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?