कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दल एकीकरणको टुकुटुकु

बंगालको खाडी र अरब सागरबीच संगम भए पनि ती लामो दूरीसम्म आआफ्नै धार र रङमा रहन्छन् ।
चन्द्रकिशोर

नेपालका राजनीतिक दल र एकीकरणबीच नङ–मासुको सम्बन्ध छ । नेकपा, नेपाली कांग्रेस, जसपा, राप्रपाका अंगहरू वा साझा र विवेकशील पार्टी सबै कि एकीकरण गरिसकेका कि त गर्ने तरखरमा छन् ।

दल एकीकरणको टुकुटुकु

दल एकीकरणका लागि गरिने हरेक प्रयत्नले आशा जगाउँछ, तर विश्वासको वातावरण बनाउने ठोस कार्यक्रमको अभावमा त्यस्ता उत्साहहरू केही दिनपछि स्वतः सेलाउँछन् । उद्देश्य, लक्ष्य, रणनीति तथा कार्यनीतिको उपलब्धिमूलक संयोजन हुन नसक्दा एकीकरणको यात्रा कतै पनि गतिशील बन्न सकेको छैन, दिशाहीन भइरहेको छ । चिन्ताको विषय, यतिन्जेलको समय त खेर गयो नै, आउने दिनमा पनि सुस्पष्ट बाटो कोरिने छाँट छैन । यद्यपि कतिपय दलहरू प्रतिस्पर्धात्मक राजनीतिका उपज हुन्, जनसंघर्षबाट अनुमोदित भएका हुन् र निरन्तर निर्वाचनको जनपरीक्षामा होमिँदै आएका पनि छन् । त्यसैले यी दलहरू बिग्रे–भत्के नै पनि बहुदलीय व्यवस्थाका प्रतीकचाहिँ हुन् ।

नेपालमा सिद्धान्ततः बहुदलीय व्यवस्था अपनाइएको भए पनि दलहरूको चरित्र निर्दलीय पाराको छ । सफल राजनीतिकर्मी मिहिनेती विक्रेता मात्र नभएर कुशल विक्रयी हुनु पनि जरुरी छ । दलपतिहरूको विक्रयी क्षमताले गर्दा नेपाली मतदाताले समयसमयमा एकपछि अर्काको जयगान गर्ने गरेका छन् । ‘एकीकरण भाष्य’ को प्रभावबाट यहाँको व्यामोहक समाज झन् मुक्त रहन सक्ने कुरै भएन । एकीकरणको जमर्को गर्ने नेतृत्वको सुरुसुरुमा महिमा मण्डन हुने गर्छ, तर समयान्तरमा त्यसले आफ्नो शक्ति ठम्याउन नसक्नाले रूपान्तरणकारी भूमिका खेल्न पनि सक्दैन । एकीकरणपश्चात् प्रायः रचनात्मक खडेरी पर्दै जान्छ । अनि दलीय जीवनमा परिवर्तनको सम्भावना निस्तेज हुँदै जान्छ ।

नेपालमा दल एकीकरणको इतिहास दलहरूको उदयजत्तिकै पुरानो छ । बृहत्तर उद्देश्यप्राप्ति, अस्तित्वरक्षा, नेतृत्वविशेषको तात्कालिक स्वार्थ वा परिबन्द, बाह्य दबाब, स्थायी प्रतिगामी शक्तिको उत्प्रेरणा, साझा स्वार्थपूर्ति, चुनावी प्रतिस्पर्धामार्फत राज्य र यसका अंगहरूमा नियन्त्रण गरेर राज्यलाई पार्टी र नेता–कार्यकर्ताले भोग गर्न पाउने संगठित स्वार्थ, आर्थिक लेनदेन आदि एकीकरणका स्वार्थ रहने गरेका छन् । त्यसैले एकीकरणपश्चात् दलहरूमा शीर्ष नेतृत्वबीच महत्त्वाकांक्षा र व्यक्तित्वको टक्कर सुरु भइहाल्छ ।

दलपतिहरू शासन गर्ने अभिलाषाको प्रतिमूर्तिका रूपमा मात्र सीमित भएका छन् । दलपतिहरूले बेलाबखत गर्ने असफल प्रयोगबाट पाठ नसिक्ने हो भने मुलुकलाई राजनीतिक भुमरीबाट सुरक्षित बाहिर निकाल्न सकिँदैन । सबभन्दा ठूलो र पहिलो पाठ सत्ताको स्रोतसँग सम्बन्धित छ । दलको शक्ति भनेको सिद्धान्त र कार्यकर्ता हुन् भन्ने गुह्य दलपतिहरूले नबुझे पनि कार्यकर्ताहरूमा बुझपचाइ नहुनुपर्ने हो । दलपतिहरूलाई आखिर वैधानिकताको कित्ताभित्र राख्ने भनेको कार्यकर्ताहरूले अनुमोदन गर्ने मतपत्रले नै हो ।

घरका बर्तनहरू परस्पर जति जुधे पनि त्यसको ध्वनि छिमेकीका घर र गल्लीहरूसम्म नसुनिएकै बेस हुन्छ । नेपालको राजनीतिमा दलहरूमा मात्र होइन, कतिपय मोर्चाहरूमा पनि विघटन र विभाजनको लामै तथा पट्यारलाग्दो इतिहास छ । दलहरूमा किन यो प्रवृत्ति देखिन्छ ?

फेरि किन एकीकरणको राजनीति फस्टाएको छ ? एकीकरणको भुमरीबाट उम्किने बाटो हुँदै नभएको होइन, तर त्यसका लागि दलहरूका ‘लर्ड’ अध्यक्षहरूले महत्त्वाकांक्षा कम र उदारता बढी देखाउनुपर्छ । वैदेशिक हस्तक्षेपका कारण पनि यदाकदा दलहरू जुट्ने वा भटाभट टुक्रिने गरेका छन् । दलहरूलाई ‘फुटाऊ र राज गर’ वा ‘घरझगडा भैरहे पञ्च बन्ने’ को सिकार बनाउन प्रयत्नशील छन् वैदेशिक शक्तिहरू । भनिन्छ, आफ्ना चाहनाहरू सावधानीपूर्वक रोज्नुपर्छ किनभने ती पूरा हुन सक्छन् । तर कम्प्युटरसँग बुद्धिचाल खेल्न माहिर खेलाडीहरू तार्किकता एवं विश्लेषणका आधारमा मात्र चाल चल्दैनन् । चुनावी राजनीति वा सत्ताभोगको लाभ–हानिभन्दा माथि उठेर इतिहासको पथ निर्माताका रूपमा प्रस्तुत हुने जिम्मेवारीबोधले राजनीतिकर्मीलाई राजनेता बनाउँछ । आज जनजाति, दलित, महिला, मधेसी, थारू लगायतका आवाज गुञ्जायमान भइरहेका छन् । दमित अवस्थामा रहेका यी आवाजलाई उठ्ने अवसर प्रजातन्त्र/लोकतन्त्रले नै दिलाएको हो । यस्तोमा दलहरूले पनि यसलाई लिएर छाती फराकिलो बनाउनुपर्ने हो, तर यस्ता मुद्दाहरू उठाएर ‘अर्घेल्याइँ’ गर्नेहरूलाई दलपतिले कालो सूचीमा राख्ने प्रवृत्ति छ । दलपतिबाहेकका नेता–कार्यकर्ताहरूले जब प्रक्रियाभन्दा व्यक्तिको प्रभुत्वले प्राथमिकता पाएको माहोल पाउँछन्, त्यतिखेर मुद्दाभन्दा वफादारीमा आफ्नो भविष्य देख्न थाल्छन् । अहिले एकीकरण यात्रामा रहेका प्रायः दलहरूमा प्रक्रिया होइन, व्यक्तिको वर्चस्वको प्रश्न उठ्न थालेको छ । जब कोही दलपति आफूलाई विजेता र अर्को पक्षलाई युद्धबन्दी ठान्छन्, यस्तोमा एकीकरण नाफाको खेल मात्र रहन जान्छ ।

एकात्मक शासन पद्धति, दलविहीन र एकदलीय राज्य जनताको अभीष्ट होइन । लोकतन्त्रका पक्षमा दलहरूको संघर्षले जनतालाई अहिले पनि उत्प्रेरित गरिरहेको हुन्छ । दलहरूको आन्तरिक लोकतन्त्र, सामाजिक प्रतिनिधित्व र वैचारिक स्पष्टताको प्रक्रियाले दलपतिको व्यक्तिगत अभिलाषालाई नियन्त्रण गर्छ । राजनीतिशास्त्रीहरूको मतमा दल जनताको स्वतन्त्र इच्छा अभिव्यक्त गर्ने निकाय हो, आफैंमा वैधानिकताको स्रोत होइन । संसदीय व्यवस्था मानेको कुनै पनि लोकतान्त्रिक दलमा नेताहरूबीचको असहमतिलाई लिएर दल नै फुट्ने चिन्ता त झनै नहुनुपर्ने हो । घोडा रोज्ने हतारमा घोडेटो नै भत्किसकेको यथार्थलाई स्वीकार नगर्ने हो भने जुन सवारी रोजे पनि कहीँ पुगिँदैन, दौड उही वृत्ताकार सीमाभित्र मात्र घुमिरहन्छ । कुनै पनि दलको भित्री चाहना राष्ट्रिय रंगमञ्चमा आफ्नो उपस्थिति सबल रहोस् भन्ने नै हुन्छ । तर आन्तरिक रूपमा चुलिँदो अन्योल, द्विविधा र अव्यवस्था दलविशेषका लागि मात्र होइन, मुलुकको बहुदलीय राजनीतिक प्रणालीका निम्ति पनि जोखिमपूर्ण छ । समाजमा बहुदलीयताको ‘स्पेस’ खुम्चिन नदिन पनि दलहरू सचेत हुनैपर्छ । भुइँ कार्यकर्ताले ‘शीर्ष नेताहरूले आफ्नो लाभका निम्ति मात्र एकता गरेको’ ठान्न थाल्नु भनेको सिद्धान्त, संगठन र नेतृत्व संक्रमणको लामो यात्रामा धकेलिनु हो ।

एकीकरणको प्रक्रियासँगै हातेमालो गर्न आएका पक्षहरू प्रायः कमजोर र संस्थापन कहलिने पक्ष बलियोको मनोविज्ञानमा हुन्छन् । संस्थापनले आफू संरक्षक रहेको हाउभाउ देखाउँछ । एकीकरणका बेला जतिसुकै ‘हामी मिसिएको होइन, अन्तर्घुलन भएका छौं; हिन्द महासागरमा गएर कहाँको पानी भनेर छुट्याउन सकिन्छ र ?’ भनिए पनि बंगालको खाडी र अरब सागरको संगम हुँदा ती लामो दूरीसम्म आआफ्नै धार र रङमा रहन्छन् । भिन्न विचारका पार्टी सत्ता र शक्तिको स्वार्थ मिल्दा मात्र एकीकरणको तुरूप फालिन्छ । जहाँ बहुअध्यक्ष छन्, त्यहाँ पनि बराबरी हैसियत राख्न खोज्ने तर आपसी दाउपेचमा संलग्न रहने, देखावटी रूपमा एकजुट हुने र भित्रभित्र एकअर्काविरुद्ध षड्यन्त्र बुन्ने कुटिल खेल चल्ने गर्छ । विधि र मापदण्डअनुसार पार्टी एकता कतै हुँदैन, भागबन्डाले प्रश्रय पाउँछ । एकीकरणको संक्रमणकालमा पानी धमिलो पार्ने गुटका नेताहरूले यसैमा आफ्नो फाइदा देख्छन् ।

एकीकरणको प्रयोग सफलै नभएको त होइन तर यसको भविष्य सन्देहरहित छैन र यसका केही कारण छन् । ती हुन्– एकीकरण भएका दलहरूभित्रका सबै पक्षमा स्वामित्वको अभाव, एकीकरणलाई प्रक्रियाभन्दा नेताविशेषको मोलमोलाइमा टुंग्याउने नराम्रो परिपाटी, कार्यकर्ता पंक्तिको अस्वाभाविक अपेक्षा, नेतृत्वको सामन्ती सोच, प्रक्रिया सञ्चालनका आधारभूत अवयवहरूको उपेक्षा, बाह्य शक्तिहरूको अह्रनखटन, बिचौलियाको दबाब । कतिपय अवस्थामा एकीकरण पार्टी भ्रष्टीकरणको आधार बन्न पुग्छ । दलको आन्तरिक लोकतन्त्र संस्थागत नगर्दा र कार्यकर्ता–हितैषी वृत्तलाई आलोचनात्मक नबनाइँदा एकीकरणको सांस्कृतिक मानस तयार हुँदैन ।

दलभित्र प्रक्रियाको विकल्पमा प्राविधिक संरचनाको वकालत गर्नेहरूले के बिर्सिने गरेका छन् भने, दलहरूको आन्तरिक लोकतन्त्रीकरणको प्रक्रिया रोकियो भने यो खतरनाक खेल धेरै दिन चल्न सक्दैन । लोकतन्त्रमा ‘दल’ निकै सुन्दर राजनीतिक उपहार हो । तर यो तबसम्म फगत यान्त्रिक संरचना रहिरहन्छ, जबसम्म स्वतन्त्र जनमतले यसको निगरानी गर्दैन ।

प्रकाशित : कार्तिक २०, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?