२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

न्यायपालिकाको शुद्धीकरण, बार र कानुन व्यवसायी

हामी न्यायपालिका स्वतन्त्र हुनुपर्छ अनि न्यायाधीश नियुक्तिमा राजनीतिक हस्तक्षेप भयो भन्छौं, न्यायाधीश नियुक्तिमा प्रधानन्यायाधीश हावी भयो भनेर न्याय परिषद्को संरचना बदल्छौं, फेरि पनि न्यायपालिकामा आफ्नो फाइदाका लागि तिनैलाई गुहार्छौं ।
तेजबहादुर केसी

अदालतभित्रको अनियमितता, विसंगति र विकृतिको कुरा गर्दा त्यसको अर्को पाटो बारलाई पनि समकक्षमा राखेर हेर्नुपर्छ । हरेक कानुन व्यवसायीले फर्ममा मुद्दाको दर्ता, लिखतको मस्यौदा अनि दर्ता र हरेक पेसीमा बहस पैरवी गर्दा लिने पारिश्रमिक कानुनले नै तोक्न जरुरी छ ।

न्यायपालिकाको शुद्धीकरण, बार र कानुन व्यवसायी

हरेक कार्य र चरणमा लिएका शुल्क र पारिश्रमिकको लेजर जस्ताको तस्तै राखी पक्षलाई पनि अनिवार्यतः रसिद दिनुपर्छ, सोअनुसारको मासिक र वार्षिक आयको विवरण पारदर्शी रूपमा हरेक फर्म र कानुन व्यवसायीले प्रत्येक महिना कर कार्यालयमा बुझाउनुपर्छ अनि सोबमोजिमको आयकर तिरेको हुनुपर्छ । न्यायपालिकाको शुद्धीकरण चाहने पक्ष नै आम्दानीको वास्तविक स्रोत र सोबमोजिमको कर तिरे–नतिरेको अन्योलमा रहन हुँदैन ।

हिजोका केही कालखण्डको साँघुरो समयमा न्यायाधीशसँगको नाता र सम्बन्ध भएका कारण व्यवसाय चलाएर कानुन व्यवसायीहरूले प्रगति गर्दै आएको तथ्य हामीमाझ लुकेको छैन । न्याय परिषद्को अहिलेको संरचनाका कारण एकाध अनुकूलताका न्यायाधीशको नियुक्ति गराएर आफ्नो उदीयमान व्यवसाय चलाइरहने सोच रहेको यथार्थलाई बेवास्ता गर्न मिल्दैन । केही खास मुद्दामा अन्तरसम्बन्धका कारण उही कानुन व्यवसायीहरू रहने गर्छन्, जसलाई कानुन र न्यायको वृत्तमा ‘सिन्डिकेट’ प्रणाली भनिन्छ । न्यायपालिका कहिलेकाहीँ यिनै वृत्तमा घुमेको/घुम्न खोजेको आभास पनि भैरहने गर्छ । न्यायिक कार्य प्रणाली सिन्डिकेटकै समीपमा भैरहने अवस्था हुन पनि सक्दैन । सिन्डिकेट प्रणाली र न्यायाधीश नियुक्तिको प्रक्रियाबीच कतै अदृश्य स्वार्थ र सम्बन्ध त हुँदैन भन्ने चासो र जिज्ञासा कानुन र न्याय वृत्तमा रहने गरेको छ । स्वतन्त्रता, समानता र निष्पक्षताका आधारमा न्यायपालिका यस्ता अवस्थाबाट दूरीमै रहनुपर्ने हुन्छ । यी क्षेत्रका अन्तरतत्त्वहरूबीच सन्तुलनको सामञ्जस्य हुन नसके न्यायिक कार्य कमजोर भएको मौकामा न्यायपालिकाको आलोचनासहित केही सुधारका बुँदाहरू उब्जिने गर्छन् ।

न्यायपालिका र न्यायपालिकाका कामकारबाही विश्वास र आस्थायोग्य हुनुपर्छ । यसका लागि सबै तह, तप्का र वर्गका न्याय–याचकबीच समान रूपमा कानुनी व्यवहार र समान ढंगले न्याय पाउने वातावरण बन्नुपर्छ । न्यायपालिका कमजोर, उच्च वर्ग र सरकारी पक्षमध्ये वर्गविशेषको मात्र भएको आभास हुन हुँदैन । न्यायपालिकाको यही अवस्थालाई अक्षुण्ण राख्न बारबाट कानुन व्यवसायीलाई पनि न्यायाधीशमा नियुक्त गर्ने गरिएको छ । न्यायपालिकाबाट समयसमयमा हुने गरेको यससम्बन्धी पुनीत आह्वानमा केही खास वरिष्ठ कानुन व्यवसायीहरूले इन्कार गर्ने गरेका छन् । फेरि, यिनैमध्ये केही वरिष्ठ हस्तीहरू अहिले न्यायपालिका शुद्धीकरण अभियानमा जोडिएका छन् । न्यायपालिकाको सुधार संविधान र कानुनको संशोधनबाट गर्नुपर्ने हुन्छ; न्यायपालिकाको एक्लो विचार, योजना र प्रयासबाट मात्र सम्भव हुन्न । न्यायपालिकाको समग्र सुधारका लागि न्यायपालिका, बार र वरिष्ठ कानुन व्यवसायीहरूबाट खासखास बुँदा पहिल्याएर ठोस सुधार अगाडि बढाउनु नै आजको आवश्यकता हो ।

मन्टेस्क्युको शक्ति पृथकीकरणको सिद्धान्तअनुसार न्यायपालिका राज्यका अन्य दुई अंगबाट स्वतन्त्र हुनुपर्छ । प्रधानन्यायाधीशको सिफारिस संविधानतः कार्यपालिकाको प्रमुख प्रधानमन्त्री, विपक्षी दलको नेता, दुवै सदनका सभामुख र अध्यक्ष एवं प्रतिनिधिसभाको उपाध्यक्ष भएको संवैधानिक परिषद्ले गर्ने अनि संसद्बाट सुनुवाइ हुने व्यवस्था छ, जुन न्यायपालिकाको स्वतन्त्रतालाई चुनौती भैरहेको छ । यस्तो अभ्यासमा रहने राजनीतिक वर्चस्वलाई नकार्न सकिँदैन । त्यसबाट न्याय सम्पादनमा पर्न जाने असरबारे सचेत हुनुपर्छ । अहिले यो पनि आमचासोको विषय भएको छ ।

अन्य न्यायाधीशको नियुक्ति न्याय परिषद्को सिफारिसमा हुने गर्छ । न्याय परिषद् सक्षम र स्वतन्त्र व्यक्तिलाई न्यायाधीशमा नियुक्तिको सिफारिस गर्न पूर्णतः सफल रहेको सरोकार वर्गले मान्न सकेको छैन । संविधानसभाबाट संविधान बन्दा न्यायपालिकाले अहिलेको संरचनाको सट्टा न्यायाधीशहरूकै बाहुल्य भएको न्याय परिषद् हुनुपर्छ भनी दिएको सुझाव मान्य भएन । अहिलेको न्याय परिषद्को संरचना कानुन व्यवसायीहरूले बनाएको २०६३ सालको अन्तरिम संविधानले परिवर्तन गरेको हो । त्यस कारण न्यायाधीश नियुक्ति र त्यसका माध्यमबाट न्यायपालिकामा राजनीतिक प्रभावलाई प्रवेश गराउने कार्य कानुन व्यवसायीबाटै भएको हो । यही संरचनाबाट नियुक्त भएका न्यायाधीशहरूको कार्यमा अहिले कानुन व्यवसायीबाटै आपत्ति आउनु विडम्बना नै हो ।

कानुन व्यवसायी, कानुनको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान गरेको व्यक्तिलाई पनि न्यायाधीशमा नियुक्तिको व्यवस्था संविधानले नै गरे पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हुने गरी बाहिरबाट बढी संख्यामा न्यायाधीश नियुक्त गरिनु कत्ति पनि उपयुक्त होइन । साथै बाहिरबाट न्यायाधीश नियुक्त गरिँदा न्याय सम्पादनमा असन्तुलन हुन्छ र न्यायालय विवादमा पर्न जान्छ भन्ने सोच पनि उपयुक्त होइन । दुवै अवस्थाका दृष्टान्तहरू विगतदेखि हाम्रासामु छन् । यी सब व्यक्तिविशेषको कार्यशैली र चिन्तनमा भर पर्ने विषय हुन् । हिजो बाहिरबाट नियुक्त न्यायाधीशको राम्रो कार्यशैलीलाई सम्झँदा हुन्छ । आगामी दिनमा पनि आशावादी हुने ठाउँ छ ।

पछिल्लो समय न्यायाधीश, कर्मचारी, मुद्दाका पक्ष, सरोकार व्यक्ति, वर्ग र कानुन व्यवसायीहरूको पनि सञ्चारमाध्यम र नागरिक समाजका अगुवासँगको अन्तरसम्बन्ध र उनीहरूबाट हुने स्वार्थ जोडिएको व्याख्यासहितको सूचना प्रवाहका प्रवृत्तिले न्याय सम्पादन गिजोलिन पुगेको हो । यसमा विशेष गरी २०७२ सालयता नेतृत्वमा पुगेकाहरूको कार्यशैली पनि जिम्मेवार देखिन्छ । अनुशासित जनशक्ति, सन्तुलित र समन्वयकारी कार्यशैलीबाट मात्र संस्था पनि अनुशासित बन्ने गर्छ । साधिकार निकायबाट कुनै निश्चित मापदण्ड, सैद्धान्तिक आधारबिना अपनाइएको पद्धति र प्रक्रियाबाट मर्यादा र सम्मानमा प्रतिकूल असर पर्ने गरी भएका न्यायाधीश नियुक्तिबाट पनि न्यायपालिका प्रभावित भएको तथ्यलाई संस्मरण र मनन गर्नुपर्छ ।

कार्यकारिणी, राजनीतिक पार्टी र व्यक्तिमा जस्तै कानुन व्यवसायीमा पनि न्यायपालिकालाई मौकामा आफ्नो प्रभाव, दबाब, कब्जा र नियन्त्रणमा राख्न खोज्ने एक प्रकारको होडबाजी सधैं चलिरहेको हुन्छ । अदालत र न्यायाधीशलाई कसले कसरी बढी भन्छ र भन्न सक्छ भन्ने होडबाजीको पनि आभास भैरहने गर्छ । बार र कानुन व्यवसायीले आफूलाई न्यायपालिकाको स्वतन्त्रताको पहरेदार भन्ने गरे पनि व्यवहारमा, घटनाविशेषका कारण, विश्वस्त र ढुक्क हुन सकिँदैन । राजनीतिक क्षेत्र, कानुन व्यवसायी, निहित स्वार्थ भएका सञ्चारमाध्यम, विभिन्न पृष्ठभूमिका नागरिक समाजका अगुवा एवं न्याय क्षेत्रका केही असन्तुष्ट र महात्त्वाकांक्षा पूरा हुन नसकेका व्यक्तित्वहरूको; साथै कार्यकारिणी शक्ति र राजनीतिक पार्टीबाट कानुन र न्यायका क्षेत्रमा आफूले पद र शक्तिको कुनै भूमिका र स्थान नपाउँदा र संस्थामा समकक्षी र कनिष्ठको न्यायिक सत्ताको रजगजमा आफू याचक र आशावादी हुनुपर्दाको पीडाको चपेटामा पनि न्यायपालिका पर्ने गरेको छ । हामी न्यायाधीश वा कानुन व्यवसायीले उही राजनीतिक पार्टी र व्यक्तिलाई दोष दिन्छौं, ऊप्रति आसक्ति पनि राखी नै रहन्छौं । न्यायपालिका स्वतन्त्र हुनुपर्छ अनि न्यायाधीश नियुक्ति र कामकारबाहीमा राजनीतिक हस्तक्षेप भयो पनि भन्छौं, न्यायाधीश नियुक्तिमा प्रधानन्यायाधीश हावी भयो भनेर न्याय परिषद्को संरचना पनि बदल्छौं, फेरि पनि न्यायपालिकामा आफ्नो फाइदाका लागि उसै/उनैलाई गुहार्छौं, प्रयोग गर्छौं । बार र कानुन व्यवसायीको राजनीतिक पार्टी र क्षेत्रतर्फ आबद्धता र आसक्ति छैन भन्न सकिन्न ।

सर्वोच्च र उच्च अदालतका सम्पूर्ण न्यायाधीश पदको पूर्ति बारका कानुन व्यवसायीबाट गरिए पनि न्यायिक सम्पादन खासै फरक हुँदैन । जनशक्ति, मुद्दाको चाप, विविध प्रकृतिका मुद्दाको व्यवस्थापन र फर्स्योट प्रक्रियाले गर्दा न्यायपालिकाको कार्यक्षेत्र यति जटिल छ, तपस्वी पनि कायापलट हुने गरी सुधार गर्न सायदै सफल हुन्छ । हामी न्यायपालिका सदा स्वतन्त्र, सक्षम, निष्पक्ष र शुद्ध रहनुपर्छ भन्ने मूल मन्त्र समातेर अगाडि बढिरहनुपर्छ । अहिलेकै संवैधानिक प्रावधान र न्याय परिषद्को संरचनाबाट स्वतन्त्र न्यायपालिकाको अवधारणालाई पूर्ण साकार बनाउन कठिनै छ । यसका लागि न्यायाधीश नियुक्तिदेखि अन्य सबै क्षेत्रमा न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाबाट पूर्णतः विच्छेद नै गरी बार, कानुन व्यवसायी र सञ्चारमाध्यमको अपरोक्ष दबाब, प्रभाव र हस्तक्षेपबाट अलग्गै राख्न सके मात्र न्यायपालिकाको स्वतन्त्रता वास्तविक रूपमा व्यवहारमै परिलक्षित हुन पुग्छ ।

अतः स्वतन्त्र रूपमा न्यायाधीश नियुक्त गर्न भरसक न्याय परिषद् संस्था नै नराखी सर्वोच्च अदालतका वरिष्ठ पाँच न्यायाधीशबाट सिफारिस गर्ने व्यवस्था भए उत्तम हुन्छ । न्याय परिषद् संरचना राख्ने हो भने त्यसमा सदस्यका रूपमा सर्वोच्चको न्यायाधीशको संख्या थप गर्नुपर्छ र प्रधानमन्त्रीबाट नियुक्त कानुनविद् सदस्य रहने व्यवस्थालाई संविधानबाट हटाउनुपर्छ । सर्वोच्च अदालतमा बाहिरबाट न्यायाधीश नियुक्त गर्ने प्रचलन अपवाद र नगण्य अवस्थामा बाहेक रोक्नुपर्छ । उच्च अदालतमा बाहिरबाट न्यायाधीश नियुक्त गर्दा परिषद्को संरचना रहे–नरहे पनि लोकसेवा आयोगबाट परीक्षा लिने पद्धति बसाल्नुपर्छ । जिल्ला न्यायाधीशमा पैंसट्ठी प्रतिशत आन्तरिक रूपमा न्यायिक अधिकृतहरूबाट वरिष्ठता र सक्षमताका आधारमा र पैंतीस प्रतिशत लिखित परीक्षामा उत्तीर्ण भएकाबाट नियुक्ति गर्ने संवैधानिक व्यवस्था हुनुपर्छ ।

प्रकाशित : आश्विन २३, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?