कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दार्जिलिङ : इतिहास र निर्माण

बाटो बनाउँदा हाम्रै पहाडे श्रमिकहरूले ढ्वाङ तान्नुपर्ने भयो। अति नै गाह्रो अनि उराठलाग्दो काम थियो रे । र, ढ्वाङ तान्नेहरूकी अगुवाचाहिँ फूलमाया गुरुङ्सेनी थिइन् रे जो ‘ब्ल्याक ब्युटी’ पनि कहलिन्थिन् रे ।
महेन्द्र पी‍. लामा

पहाडकी रानी दार्जिलिङको १८५ औं वर्षगाँठ बारम्बार माया, हर्ष र गर्वसाथ सबैले मनाउँदै छन् । सन् १८३५ मा सिक्किमका राजाले इस्ट इन्डिया कम्पनीलाई भारत सरकारका अधिकारी एवं सेवार्थ सबैका लागि यो शान्त र शीतल पहाड सुम्पिएका थिए । विशेषतः मधेस खण्डमा प्रचलित बिमार–रोगबाट बाँच्न दार्जिलिङलाई एउटा मनले खाएको स्वास्थ्यलाभ केन्द्र बनाउने ध्येयले यहाँ बसोबास सुरु गरियो । पछि गएर दार्जिलिङ विश्वप्रसिद्ध हुन गयो ।

दार्जिलिङ : इतिहास र निर्माण

एउटा छोटो अवधिमा पनि यो पहाड प्राकृतिक सुन्दरता, संसाधन, विभिन्न संस्थान, चिया र सिन्कोना खेती, सानो रेल, तीर्थयात्रा, अन्तर्राष्ट्रिय सिमाना र पर्यटन क्षेत्रमा संसारभरि नै चर्चा–परिचर्चाको विषय बन्न गयो ।

फर्केर हेर्दा, १८५ वर्ष पुगेको यो दार्जिलिङलाई पाँचवटा कालमा विभाजन गर्न सकिने रहेछ । यी पाँचैवटा काल अति नै घतलाग्दा र मर्मस्पर्शी मात्रै नभएर यस कालखण्डमा परेका घटना, स्मरण एवं मुद्दाहरू अध्ययन एवं अन्वेषणका विषय बनेका छन् । सन् १८३५ देखि १९४० सम्मलाई एउटा आधार र निर्माणको काल मान्न सकिन्छ । सन् १९४० देखि १९६९ को अन्तसम्म सुनौलो र सुवर्णमय काल भई अघि आउँछ । सन् १९८० देखि २००० सम्मलाई जागरुक काल मान्नैपर्छ ।

अनि त फेरि सन् २००० देखि २०२० सम्मको अवधिलाई निष्पट्ट अँध्यारो काल भने पनि हुन्छ । र, २०२० देखि आगामी दुई दशकसम्म दार्जिलिङ पुनः जागरुकता र नयाँ दिशानिर्देश कालभित्र पसेको अनुमान गर्न सकिन्छ । यी काल विभाजनमा मतान्तर हुनु, व्यापक चर्चा–परिचर्चा, विवाद हुनु स्वाभाविक कुरो हो । इतिहासकारहरूले वैज्ञानिक तथ्य र तत्त्वलाई खोजेर, थ्योरी र कन्सेप्ट भित्र्याएर दार्जिलिङको यो छोटो ऐतिहासिक यात्राको कुनै समय निर्क्योल गर्ने नै छन् ।

सन् १८३५–१९४० को अवधिमा दार्जिलिङको आधार कसरी बसालियो र निर्माण कहाँ, कसले र कति गरे, यस लेखमा त्यति मात्रै तथ्यहरू संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ । दार्जिलिङमा प्रथम लहरमा बसी काम गर्नेहरूमा हुकर, हडसन, क्याम्पबेल, लोयड, आइटकिसन, एडगर, इडेन आदि थिए । वनस्पति विज्ञानका अग्रज जोसेफ हुकर अप्रिल १८४८ मा दार्जिलिङ पुगेपछि हडसनको ब्रायनस्टोन भन्ने घरमा धेरै समय बिताए ।

हडसनले नेपालमा अंग्रेजको रेसिडेन्ट भएर बस्दा जातजाति, भाषा, संस्कृति, प्रकृति आदिको पर्याप्त ज्ञान बटुलेका थिए । हुकर र हडसनको मित्रता यति गहिरो भयो, हुकरले एउटा इस्कुस–फर्सी प्रजातिजस्तै सब्जीको नाम नै हडसोनिया राखिदिए । इंग्ल्यान्डमा हुकरको अति नै घनिष्ठ सम्बन्ध — कसरी बाँदरबाट बिस्तारै मान्छे भए भन्ने थ्योरीका प्रणेता — चार्ल्स डार्विनसँग थियो । दुईबीच दार्जिलिङ–इंग्ल्यान्डमा पत्राचार हुने गर्थ्यो ।

हुकरले पूर्वीय हिमालय क्षेत्रका झार–जंगल–फूल आदिलाई प्रथमपटक अध्ययन गरी व्यापक रूपमा प्रकाशित गरे । पछि इंग्ल्यान्डको क्यु बोटानिकल गार्डनका निर्देशक भएपछि दार्जिलिङ–सिक्किमका अनेकन् वनस्पति त्यहाँ सजाइए र उमारिए । हुकर र क्याम्पवेललाई सिक्किमका राजा छिगेल नामग्यालले सिक्किममा जंगल पस्न नदिँदा–नदिँदै पनि यी दुई सन् १८४९ मा सिक्किम पुगे । राजाले दुई जनालाई डिसेम्बर महिनाको चिसो मौसममा ४८ दिन कारावासमा थुनिदिए । अंग्रेज सरकारले आक्रमण गर्ने धम्की दिएपछि यी दुईलाई मुक्त गराइयो । यसबीच सिक्किमले आफ्नो दक्षिण भूभागका कतिपय क्षेत्र अंग्रेजलाई सुम्पनुपर्‍यो । यसरी नै तिनताकाका दार्जिलिङ जिल्लाका आयुक्त एडगरलाई अंग्रेज सरकारले व्यापार–वाणिज्य सुरु गर्नुपर्छ भन्दै तिब्बत जाने आदेश दियो ।

सिक्किम राजाको तिब्बतीहरूसँग गहिरो पारिवारिक सम्बन्ध हुँदाहुँदै पनि एडगर सिक्किम–तिब्बतको सिमाना पुगेर फर्के । उनले सन् १८७३ मा सिक्किम–तिब्बत सिमाना क्षेत्र आदिमाथि विस्तृत रिपोर्ट बुझाए । यसैका आधारमा पछि नथुला र जेलेपलाका व्यापारमार्गहरू खोलिए । दार्जिलिङको बुनियादी संरचना अति नै ठूलो सोच लिएर बिछ्याइयो । हिल कार्ट रोड–पंखाबारी रोडले मधेस र पहाडलाई सन् १८६० को दशकमै जोड्न सुरु गरिएपछि दार्जिलिङको सानो रेल सन् १८८१ मा पहाड पुर्‍याइयो । गिलानडर आरबुथनोट कम्पनीले निर्माण गरेको यो सानो रेलका इन्जिनियर फ्र्यांकलिन प्रेस्टिज थिए । सिलिगुडीदेखि अलिक मास्तिरको पहाडी इलाकामा पुग्दा प्रेस्टिज अघि बढ्नै सकेनन् । निराश भएर आफ्नी श्रीमतीसँग अब यो काम हुन सक्दैन, हामी असफल भयौं र इंग्ल्यान्ड फर्कनुपर्छ भन्दै घरभित्रै ओहोरदोहोर गर्न लागे । भनिन्छ, यसै बखत श्रीमतीले प्रेस्टिजलाइै भनिन् रे, ‘तिमी जस्तो प्रकारले ओहोरदोहोर गर्दै छौ, रेललाई पनि त्यसै ढंगमा बिस्तारै मास्तिर लैजानुपर्छ होला ।’ प्रेस्टिज रमाए, अनुहार उज्यालो भयो र नै जिगज्याग गर्दै रेलको लाइन बिछ्याउनमा सफल पनि भए ।

बाटो बनाउँदा हाम्रै पहाडे श्रमिकहरूले ढ्वाङ तान्नुपर्ने भयो । अति नै गाह्रो अनि उराठलाग्दो काम थियो रे । र, ढ्वाङ तान्नेहरूकी अगुवाचाहिँ फूलमाया गुरुङ्सेनी थिइन् रे, जो ‘ब्ल्याक ब्युटी’ पनि कहलिन्थिन् रे । फूलमायाले लोकगीत गाउँदै ढ्वाङ तान्ने र ठेल्नेहरूलाई हौसला दिन्थिन् रे । ‘आकाशमय ज्यानको नौलाखे तारा, एक तारा जूनसित; तिम्रो र हाम्रो हाँसखेल मात्र, युग काट्नु कोसित’ भन्दै गाउँथिन् रे, सबैले दोहोर्‍याउँथे रे । ‘हरर बरर ढ्वाङ तान्नु सरर, जानु छ मलाई दार्जिलिङ सहर’ भन्दै कमरसम्म लच्काउँथे रे । यी मार्गहरू आज पनि जीवित छन्; पहाडेहरूका आँसु, पसिना र रगत विक्षिप्त छन् यहाँ ।

अंग्रेजहरूले आफ्नो साम्राज्य बढाउन दार्जिलिङमा विभिन्न सामाजिक संरचनाहरू निर्माण गर्न लागे । महाकालको मन्दिर, गुम्बा, गिर्जाघरबाहेक विश्वप्रसिद्ध स्कुल र कलेज, अस्पताल र क्लब पनि । सँगसँगै चिया कमान र सिन्कोनाको खेती पनि । दार्जिलिङको चियाले विश्व खायो । दार्जिलिङ र चिया सँगसँगै बाँच्ने भए । चिया कमानहरू अंग्रेज कम्पनीहरूले चलाउँथे । साहेबहरू अति नै अनुशासित थिए । पहाडका श्रमिकहरूलाई छाला काढुन्जेल काममा लगाउँथे । नसुन्ने, अटेरीहरूलाई ‘हट्टा बाहिर’ को नाममा कमानबाटै निकालिदिन्थे ।

काम्ने ज्वरो मलेरियाले विश्व काम्न थालेपछि सबैले दार्जिलिङमा बनाइएको कुइनेन खान थाले । कुइनेन पनि विश्वव्यापी बन्यो । दार्जिलिङको चिया लिलाम गर्नलाई कलकत्ता र लन्डनमा लिलाम केन्द्र बनाइए । सेता मान्छे र पढेकाहरूले व्यवस्थापनको नाममा लिलाम केन्द्रमा अधिकारीको नोकरी पाउँथे । खटी खाने श्रमिकहरूचाहिँ आउँदा चार पुस्तासम्म कुल्ली नै भएर बाँचे । यसैले दार्जिलिङेले जमेर स्वतन्त्रता संग्राममा भाग लियो ।

धेरै धनाढ्य, धार्मिक गुरु, शिक्षक आदि दार्जिलिङ आए । हंगेरीका सोमा डी कोरासझैं धेरै जना दार्जिलिङमै बिते । नोबेल पुरस्कार विजेता सेन्ट मदर टेरेजालाई सानो रेलमा बसी दार्जिलिङ जाँदा नै परमेश्वरले दर्शन दिँदै र गरिब, दुःखी, बिरामीहरूको सेवा गर्न आह्वान गरे । अंग्रेजले तिब्बत पस्ने एउटा घतलाग्दो बेसक्याम्प दार्जिलिङलाई नै बनाए । सन् १९०३–०४ मा तिब्बत आक्रमण गर्ने कर्णेल योङहसब्यान्ड मिसनको योजना पनि दार्जिलिङमै बनाइएको थियो । सन् १८६० मै दार्जिलिङमा म्युनिसिप्यालिटी बन्यो । र नै दार्जिलिङमा प्रशासनिक व्यवस्था अति नै सुदृढ भएर रह्यो, धेरै–धेरै दशकसम्म । नथुला र जेलेपलाका व्यापारमार्गहरू खोलिएपछि विकासको नयाँ मूल फुट्यो ।

कालिम्पोङ त तिब्बती चाँदीको पैसा दियाङले भरिपूर्ण भयो । धेरै नेवार कलाकारहरूले इलम देखाउने मौका पाए । खच्चडका लस्करहरूले तिब्बतबाट ऊन अनि भारतबाट तेल, चिनी, पेन, घडी, गाडी टुक्राटुक्रामा सबै बोकेर ल्याउने र लाने गर्थे । बीसौं शताब्दीको सुरुमै दार्जिलिङका पढे–लेखेका नेता र नागरिक समाजका गण्यमान्य व्यक्तिहरूले यसलाई बंगालदेखि बाहिर राखेर एउटा छुट्टै प्रशासनिक जिल्लाको माग राख्न थाले । सन् १९१७ मा हिलम्यान एसोसिएसनका लेडेनला, खड्ग क्षत्री, डा. सितलिङ आदिले दार्जिलिङमा सन् १८६५ मा भोटाङबाट लिइएका जलपाइगुडी जिल्लाका अंशहरू गाभिनुपर्छ भन्ने माग राखे । र दार्जिलिङ, डुवर्स र असमलाई मिलाई नर्थ–इस्ट फ्रन्टियर प्रुभिन्स बनाइनुपर्छ समेत भने । पछि सन् १९२९ मा साइमन कमिसन र यसअघि सन् १९१५ मा मोन्टागु कमिसनलाई पनि भारतमा रहेका ३० लाख गोर्खाहरूका निम्ति छुट्टै व्यवस्था हुनुपर्छ भन्ने माग राखे । यसरी नै गोवर्धन गुरुङ, एचपी प्रधान, पीएम सुन्दर र एनबी गुरुङले यी मागहरू दोहोर्‍याएपछि भारतीय गोर्खाहरूले छुट्टै राज्य ‘गोर्खाल्यान्ड’ को मागको जग बसाले ।

सन् १९१३ मा खरसाङमा गोर्खा जनपुस्तकालय, सन् १९२४ मा सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा अनि पारसमणि प्रधानद्वारा दार्जिलिङमा नेपाली साहित्य सम्मेलन, सन् १९३२ मा गोर्खा दुःख निवारक सम्मेलन र सन् १९४२ मा प्रथम राजनीतिक दल अल इन्डिया गोर्खा लिगको गठन गरियो । नेपाली भाषा–साहित्यको संवर्द्धन यसरी सुरु भयो दार्जिलिङमा । गोर्खा लिग पार्टी बनेपछि धेरै राजनीतिक चेतना अघि बढ्यो । सन् १८२० मै फोर्ट विलियम कलेजका प्राध्यापक जेए एटनले नेपाली व्याकरणमाथि पुस्तक लेखे र सन् १८२१ मा सेरामपुर मिसनले प्रथमपटक पवित्र बाइबललाई नेपालीमा अनुवाद गरी छाप्यो । सन् १९२७ मा बंगाल सरकारले नेपाली–पहाडिया–खसकुरा भनी वर्णन गर्‍यो । सन् १९०१ मा ‘गोर्खे खबर कागज,’ १९०२ मा ‘उपन्यास तरंगिणी,’ १९०६ मा ‘सुन्दरी,’ १९०७ मा ‘गोर्खा साथी,’ १९०८ मा ‘माधवी,’ १९१४ मा ‘चन्द्र,’ १९१८ मा ‘चन्द्रिका,’ १९२८ मा ‘तरुण गोर्खा’ र १९३५ मा ‘गोर्खा सेवक’ दार्जिलिङकै साहित्यिकहरूसँगको गठबन्धनमा बनारस, कलकत्ता, खरसाङ, शिलाङ र देहरादूनबाट प्रकाशित भए ।

अंग्रेज शासनभित्रै दार्जिलिङले सबै क्षेत्रमा विकास गर्‍यो । ह्याप्पी भ्याली चिया कमानका प्रबन्धकले सन् १९१२ मा अंग्रेजीमा लेखेको ‘दार्जिलिङ पोयम’ पुस्तकमा पर्वतकी रानीको अति सौन्दर्यमय वर्णन गरेका छन् । उनी लेख्छन्– ‘जन्मेपछि दार्जिलिङ हेरेपछि मात्र मर्न पर्छ,’ ‘प्रकृतिले ओढाएको अलौकिक वस्त्रले गौरवान्वित दार्जिलिङ’ अनि ‘ईश्वरको सबैभन्दा उत्तम सृष्टि दार्जिलिङ’ । अचम्मै–अचम्मको कुरो भयो यो निर्माणकालको दार्जिलिङमा । एसियाको सबैभन्दा पहिलो जलविद्युत् कारखाना सिद्रापोङमा सन् १८९६ मै निर्माण गरिएपछि नेपालको फर्पिङमा सन् १९११ मा यस्तो कारखाना बन्यो । कालिम्पोङमा म्याकफार्लानले गिर्जाघरदेखि सिन्कोना क्षेत्रको भव्य डाक बंगला पनि यसै बखत बनाए । नेपालका जंगबहादुर राणाको कोठी, कुचविहारका राजाको कोठीदेखि लिएर त्यति बेला नै आधुनिक ढंगमा बनाइएको गभर्नर हाउस विश्व पर्यटनको सूचीमै परे ।

दार्जिलिङको निर्माणकाल यति ऐतिहासिक छ, ठेलीका ठेली पुस्तकहरू लेखिएका भए पनि अझै लेख्न बाँकी नै छ । भारतीय गोर्खाहरूको जन्मथलो, कर्मथलो र पुस्ताथलो रहेको यो दार्जिलिङलाई फेरि पनि ‘माया छ बारम्बार’ । ‘जोबन गयो, बैंस त गएन’ भनेझैं दार्जिलिङको बैंस सजीव र उर्वर नै छ आज पनि ।

प्रकाशित : भाद्र ३०, २०७७ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?