राष्ट्रवादको ‘महामारी’ अघि- विचार - कान्तिपुर समाचार

राष्ट्रवादको ‘महामारी’ अघि

राष्ट्रवाद कोरोना भाइरसभन्दा चर्को र खुङ्खार अवतारमा ताण्डवरत छ ।
सरिता तिवारी

राष्ट्रवाद समय–समयको, देश–देशको राजनीतिमा आवश्यकतानुसार खपत हुने ‘रेडिमेड’ भाष्य रहेछ । यो यस्तो साँघुरो तर सुरक्षित आवरण रहेछ, जसले शासकका सबै खाले निकृष्टता र लुटलाई, आलस्य र अकर्मण्यतालाई सर्लक्क छोपिदिँदो रहेछ ।


जुनै तरिका अपनाएर होओस्, जनताको दिमागमा यसको संकथन ‘इन्स्टल’ गर्न सक्दा शासक आफ्ना जस्तासुकै नालायकी पनि तिनको स्मृतिबाट सजिलै गायब गराइदिन सक्दो रहेछ । भोक बिर्साएर, बेरोजगारी र गरिबी बिर्साएर अनि सबैभन्दा बढी त अहिलेको कोरोना महामारीले निम्त्याएका संकटसमेत बिर्साएर एक थरी मानिसहरूलाई केवल राष्ट्रवादी बन्ने घातक म्याराथनमा दगुराउन सफल हुने रहेछ ।

आवश्यकता र अनुकूलताको हिसाबले राष्ट्रवादको मौसमी अभ्यास संसारभर हुने गरेको छ । यस्तो ‘मौसम’ बकाइदा प्रायोजित र निर्धारित नै हुन्छ भन्ने दृष्टान्त साम्राज्य विस्तारदेखि विश्वयुद्धसम्मका इतिहास केलाउँदा थाहा पाइन्छ । त्यसयता पनि आफूलाई श्रेष्ठ र महान् भनाएर अरूलाई हेय देखाउँदै शासन गर्न यसको खुबै उपयोग गरिएको छ । भलै, त्यो ‘मौसम’ कुनै शासकको डगमगाउँदो सिंहासनका लागि काकताली भएर आकस्मिक आइमिलेको होओस् या सत्ताको लिस्नु उक्लिने नियोजित प्रस्तावका रूपमा लामो समय लगाएर जन्माइएको होओस्, यसले त्यस्ता अनेक निकम्मा पात्रको भाग्योदय गराइदिएको छ, जो कदाचित् शासक त के, कारिन्दा बन्नसम्म योग्य थिएनन् ।

यो कुरा इतिहासले लगातार पुष्टि गरिरहेको छ ।

०००

यति बेला विश्वभर कोरोनाको कोप चुलिँदो छ तर राष्ट्रवाद कोरोना भाइरसभन्दा चर्को र खुङ्खार अवतारमा ताण्डवरत छ । लिपुलेक–लिम्पियाधुरामाथि भारतीय अतिक्रमणको पछिल्लो कडी राष्ट्रवादको त्यही मौसमी ‘पत्ता’ बनिदिएको छ । यसको उपयोग गरेर नेपाली शासक वर्गका कुत्सित योजना, संस्थागत लुट, जनस्वास्थ्यमाथिको हदैसम्मका लापरबाही र नागरिकप्रतिको गैरजिम्मेवारीलाई पर्दा हाल्ने र अति जरुरी मुद्दाबाट ध्यान मोड्ने कसरत तीव्र बनिरहेको छ । यसका लागि प्रधानमन्त्री र भूमिसुधारमन्त्रीसहित सुविधा र अनुकूलतानुसार दिन बिराएर कहिले प्रतिपक्षी दलका नेता, कहिले फिल्मकर्मी, कहिले सञ्चारकर्मी, कहिले को, कहिले को— सबैको पालैपालो नायकीकरण गर्ने र तिनका नाममा राष्ट्रवादी कबड्डी भट्याउने क्रम जारी छ ।

यसै क्रममा फिल्मकर्मी वर्षा राउतको नाम पनि चर्चाको टुप्पामै पुग्यो, राष्ट्रविरोधीका रूपमा ! र लगत्तै अर्को दिन तिनले फेसबुकमार्फत माफी माग्दै स्पष्टीकरण दिइन्, ‘बोल्दै जाँदा जिब्रो चिप्लियो होला... तर म देशलाई माया गर्ने मान्छे हुँ ।’ सरिता गिरी, बाबुराम भट्टराई आदि त ‘जन्मसिद्ध र सर्टिफाइड राष्ट्रविरोधी’ नै भइहाले । यिनलाई भारतपरस्त भन्दै क्षेत्रीयतावादी घृणाका भरमा चलाउँदै आएको राष्ट्रवादको खेतीपाती कम्तीमा आगामी अढाई वर्षसम्म अविच्छिन्न चलिरहने निश्चित पनि छ ।

पात्र र प्रवृत्तिको एकैसाथ देवत्वकरण र राक्षसीकरण नगरी राष्ट्रवादको प्रायोजित प्रोपोगान्डा चल्न मुस्किल हुन्छ । निरन्तर ‘प्रोटागोनिस्ट’ र ‘एन्टागोनिस्ट’ अनुहारको रचना गर्न सकेन भने यो फ्लप फिल्मको खोटो कथाजस्तो हुन पुग्छ । त्यसैले यसलाई स्वार्थ र खाँचोअनुसार पृथ्वीनारायण शाह, भानुभक्त आचार्यदेखि जंगबहादुर राणा, महेन्द्र शाह

हुँदै मीनेन्द्र रिजाल, मनीषा कोइराला, रवि लामिछाने आदिको जरुरत परिरहन्छ ।

तत्कालीन आवश्यकताका लागि कसैसँग पनि नाभिनाल जोड्न सक्ने, कसैलाई पनि राष्ट्रवादी साइनो लगाइदिन सक्ने र त्यसको तान बहालवाला प्रधानमन्त्रीको यशोगानमा जोड्ने उद्योगका अगाडि यति बेला महामारीलेवा त्यसले सिर्जेका कठोर परिस्थितिले दुःख पाइरहेका र मरिरहेका मान्छेको जीवनमूल्य शून्यप्रायः छ ।

०००

‘तपाईं आफूलाई जर्मन भन्न रुचाउनुहुन्छ कि यहुदी ?’

एउटा लामो वार्ताका क्रममा अल्बर्ट आइन्स्टाइनसँग सोधियो । उनको उत्तर थियो, ‘हुन सक्छ, दुवै । (तर) म आफूलाई मानवका रूपमा हेर्छु, (किनभने) राष्ट्रवाद मानवजातिका लागि एउटा भयावह रोग हो, महामारी हो’ (द स्याटर्डे इभिनिङ पोस्ट, १९२९) ।

सहस्राब्दीकै कुशाग्र र महान् मानिएका वैज्ञानिक आइन्स्टाइनको यो तर्कसँग सन्तकवि रवीन्द्रनाथ टैगोरको भनाइ जोडेर यसरी विस्तार गर्न सकिन्छ— ‘राष्ट्रवाद काँच हो, मानवतावाद हीरा !’ टैगोर भन्थे— म काँचका लागि कदापि हीरा त्याग्न सक्दिनँ ।

टैगोर ललित साहित्यका लागि मात्रै चर्चित र पठनीय छैनन् । उनी आफ्नो समयका ‘अफ द बिट’ शैलीका विचारक पनि थिए । यसै पनि कवि, लेखक, कलाकार, गायक, दार्शनिक कुनै निश्चित देशका भएर सोच्दैनन् । ती विश्वनागरिक भएर सोच्छन् । टैगोरको एउटा धेरै पढिएको गद्य छ, ‘भारतमा राष्ट्रवाद’ । यसमा उनले स्पष्ट रूपमा भनेका छन्, ‘एक भाषाकेन्द्री, एक जातिकेन्द्री एक मात्र राष्ट्रको कल्पना गर्ने र त्यसका लागि अन्यहरूको नाश या दमन गर्ने हुनाले राष्ट्रवाद मानवताको संहारक हो ।’

सन् १९१३ मा साहित्यतर्फ नोबेल पुरस्कार पाएपछि वैश्विक ख्यातिको चुलीमा पुगेका बेला उनले यसो भनेका थिए । उनी ठान्थे, सांस्कृतिक वैविध्यले भरिएको भारतजस्तो देशका लागि राष्ट्रवाद एउटा घातक संकल्प हो । उनी कति सही थिए भन्ने कुरा ठ्याक्कै सय वर्षपछिको मोदीतन्त्रले प्रमाणित गरिदिएको छ । यस अर्थमा टैगोरको कथ्य नेपालका हकमा पनि हुबहु लागू हुन्छ ।

आर्थिक विस्तारवादसहित उपनिवेशवादी महत्त्वाकांक्षाको उत्कर्षमा शक्तिराष्ट्रहरूबीच पहिलो विश्वयुद्ध चलिरहँदा एउटा महत्त्वपूर्ण व्याख्यान दिन जापान निम्त्याइएका थिए टैगोर । त्यहाँ पुगेपछि जापानीहरूको मानवताद्वेषी राष्ट्रवादमाथि कठोर टिप्पणी गरेकै कारण उनलाई पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनै नदिई फर्काइएको थियो । ‘विश्वकवि’ हुनुको शान र लोकप्रियतालाई धरापमा पारेर मानवताको पुर्पक्षका लागि यति स्पष्ट हुन सक्नु सानो कुरा होइन ।

तर इतिहासको दुर्भाग्य नै भनौं, जर्मनीको नाजी राष्ट्रवाद र भारतको हिन्दुत्ववादी राष्ट्रवादले आइन्स्टाइन र टैगोर दुवैलाई आँखाको कसिंगर देख्यो । आइन्स्टाइनलाई जीवितै हुँदा लखेटिँदै, लुक्दै ज्यान बचाउन हम्मे पर्‍यो भने, टैगोर मरिसकेपछि पनि लखेटिइरहेका छन् । भाजपाको बहुमत सरकार हुनासाथ भारतमा राष्ट्रिय स्वयंसेवक संघले लगातार टैगोरलगायत गालिब, अवतारसिंह पाशजस्ता लेखकका रचना र विचार पाठ्यक्रमबाट हटाउन दबाब दिइरहेको तथ्यले बताउँछ, राष्ट्रवाद कतिसम्म एककेन्द्री र अमानवीय विचारधारा हो ।

अव्यवस्थित क्वारेन्टिनमा अकाल मरिरहेका बिरामी, उपचार नपाएर मर्न बाध्य सुत्केरी, भोकले मारेका निमुखा र खोप पर्खेका बच्चाहरूबारे सोचौं । स्वदेश फर्किने फिराद लिएर रुँदै पर्खिएका श्रमिकहरूबारे सोचौं । पहिले मान्छेबारे सोचौं ।

०००

देशप्रेमी हुनु, आफू जन्मेको वा आफ्नो वय बितेको भूगोल, प्रकृति र माहोललाई माया गर्नु, त्यसको उत्थान र प्रगतिमा समर्पित हुनु, अर्को कुनै देशले विकास र निर्माणका लागि भन्दै सहयोग गर्न तत्पर हुँदा वा सीमा अतिक्रमण गर्दा त्यसप्रति चनाखो हुनु, त्यसको विरोधमा सार्वजनिक अभिव्यक्ति दिनु वा संगठित प्रतिरोध गर्नु एक प्रकारले स्वाभाविक क्रिया हुन् । तर यिनै सन्दर्भलाई उत्ताउलो भड्काव, हिंसा र घृणाको बीउ बनाउनु, शासकका नियतअनुकूल कसैलाई नायक बनाएर पुज्ने र कसैलाई खलनायक बनाएर थुक्ने खेती चलाउनु अनि त्यसैलाई शासकीय अक्षमता र कुरूपता छोप्ने उपकरण बनाउनु देशप्रेमका नाममा गरिएको एउटा परियोजनात्मक राजनीति हो ।

आम मानिसको ध्यान मोडेर विषयान्तर गर्ने यो राजनीतिले सत्ता र शक्तिकेन्द्रको चाप्लुसीबाहेक केही गर्दैन । गर्थ्यो भने, यही कथित ‘राष्ट्रवादी’ पंक्ति यतिका वर्षदेखि तराईका सीमारक्षक जनतालाई बिहारी र भारतीय भन्दै अपमान गर्ने हेपाहा राजनीतिको घोडा बन्ने थिएन ।

‘म किन राष्ट्रवादी होइन ?’ (युट्युबमा पाइन्छ) भन्ने एउटा मन्तव्यमा खगेन्द्र संग्रौला भन्छन्, ‘राष्ट्रवाद नस्लवादी छ । यसले निरन्तर शत्रुको निर्माण गर्छ र त्यसैको बलले सास फेर्दै जीवित हुन्छ । यो गणतन्त्रविरोधी छ, असमावेशी छ । यो समाजवादविरोधी र विभेदपूर्ण छ । परम्पराका सबै रोग यसले बोकेर हिँडेको छ । त्यसकारण म राष्ट्रवादी होइन ।’

संग्रौलाको भनाइमा यसका अरू विशेषता पनि थप्न मिल्छ । जस्तो कि, राष्ट्रवाद पुरुषवादी छ । यसको परिभाषामा मातृभूमि मात्रको महत्त्व छैन ।यसले केवल पितृभूमिको रक्षा र संवर्द्धनको कल्पना गर्छ, त्यस्तै व्यवहार गर्छ । आफूअनुकूल हुने हुँदा सीता, भृकुटी र मनीषा कोइरालालाई नेपालकी छोरी देख्नु एउटा कुरा, तर नहुँदा यसले न छोरीलाई नागरिक देख्छ, न बुहारीलाई । यसलाई सरिता गिरी वा तराई सीमाञ्चलका अरू कुनै पनि बुहारीको संसद्मा हुने उपस्थिति र भाषा बिझाउने कारण यही हो ।

राष्ट्रवादी भाष्यले भन्न त आमालाई देवी भन्छ, सृष्टिकर्ता भन्छ । यसो भनीभनी सम्बन्धको भावनात्मक राजनीति गरेर आजीवन आमा जातिलाई सारा परिवारकी अवैतनिक दासी बनाउँछ तर आमाका नामबाट नागरिकता पाउनुपर्छ भन्ने तर्कलाई राष्ट्रविरोधी, अव्यावहारिक र भावुक माग भन्दै तुच्छ भाषाले अर्कातिर पन्छाउँछ । त्यसकारण राष्ट्रवाद महिलाको आत्मसम्मानविरोधी, पुरुषकेन्द्री अभ्यास पनि हो ।

०००

भारतीय मिडियामा मनीषा कोइरालाको अपमान देखेर हामी उद्वेलित भयौं । सीमा विवाद र नक्सा प्रकाशनका विषयमा नेपालबारे गरिएका कुप्रचार र त्यसलाई प्रस्तुत गर्ने शैलीले हामीलाई आक्रोशित बनायो । यो अस्वाभाविक पनि होइन । तर हामीले बुझ्नुपर्ने के हो भने, भारतीय मिडिया पछिल्ला वर्षहरूमा राष्ट्रवादी महामारीले भयावह रूपले ग्रस्त छन् ।

बिनाप्रमाण चर्कोचर्को चिच्याउनु, अतिशय घृणा वमन गर्नु र निरन्तर काल्पनिक शत्रु रचेर कसै न कसैको हत्या, ‘लिन्चिङ’ या अपमानको परोक्ष कारण बन्नु यिनको दैनिकी हो । सत्तापोषित त्यहाँका उनान्सय प्रतिशत मिडिया कसरी सत्ताको यशोगान र फरक मत राख्नेप्रति हिंसाको कुचक्र बुन्छन्, सन् २०१४ यताका एकएक घटनाक्रमसँग जोडेर हेर्दा थाहा पाइन्छ । त्यहाँ रवीश कुमार, पुण्य प्रसून वाजपेयी, बर्खा दत्ता, राना अयुब लगायतका केही साहसी पत्रकार, स्तम्भकारलाई छोडेर सत्ताले किनेका अधिकांशको बाटो अर्णव गोस्वामीकै जस्तो विषाक्त राष्ट्रवादी बाटो हो । हामीमध्ये धेरैले आफूलाई परेपछि बल्ल त्यहाँको मूलधार मिडियालाई चिन्दै छौं, जसले सुनियोजित राष्ट्रवादी परियोजनाका लागि सत्तासंरक्षित सबै खाले हिंसा र घृणाको गौरवीकरण गरिरहेका छन् । यसले अन्ततः अर्को नाजीवाद निम्त्याउँछ । आफ्नो स्वार्थसँग बाझिने अर्को विचार, अर्को धर्म, अर्को सम्प्रदाय, अर्को देशलाई हेर्ने फासीवादी नजरले केवल बर्बरतातर्फ लैजान्छ, यो निश्चित हो ।

हामीलाई यो बर्बरता सिक्नु छैन । जस्तालाई तस्तै गर्ने नाममा हामीकहाँ अर्को अर्णव गोस्वामीको आवश्यकता छैन । देशको सार्वभौमिकता र अस्मिता हाम्रो प्राथमिकता जरुर हो तर त्यसको युक्तिसंगत बाटोका लागि सरकारी तत्परता कति छ भन्ने कुरामा नागरिक चासो र शान्तिपूर्ण दबाब आजको खाँचो हो ।

राष्ट्रवादको आत्ममुग्ध र विषाक्त चिन्तन अन्यहरूमाथि हिंसा र घृणा थोपरेर मात्रै फल्छ, फुल्छ । कोरोना महामारीले त हामीमध्ये केहीको ज्यान लेला र कुनै दिन यो मत्थर होला तर राष्ट्रवादी महामारी फैलियो भने विविधता र अनेकताले भरिएको यो सुन्दर देशलाई नाजीको भूतले सताएको कंकालतुल्य युरोपजस्तो बनाउन बेर लाग्ने छैन ।

कम्तीमा यति बेला कोरोना र यसले थिलथिल्याएको जनजीवनबारे सोचौं । अव्यवस्थित क्वारेन्टिनमा अकाल मरिरहेका बिरामी, उपचार नपाएर मर्न बाध्य सुत्केरी, भोकले मारेका निमुखा र खोप पर्खेका बच्चाहरूबारे सोचौं । विदेशी भूमिमा संक्रमित भएका, स्वदेश फर्किने फिराद लिएर रुँदै पर्खिएका श्रमिकहरूबारे सोचौं ।

पहिले मान्छेबारे सोचौं ।

प्रकाशित : जेष्ठ १३, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

टिपरको ठक्करले ड्युटीमा खटिएका सईको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक  निमबहादुर घर्ती मगरको मृत्यु भएको छ । मध्यपुर थिमि–४ नयाँथिमीमा सोमबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नम्बरको खाली टिपरले उनलाई ठक्कर दिएको हो ।

पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रहेका सई घर्तीमगर महानगरीय प्रहरी वृत्त थिमीमा कार्यरत थिए । ठक्करबाट सख्त घाइते भएका घर्तीमगरलाई तत्काल मध्यपुर अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेर नर्भिक अस्पताल पुर्‍याइएकोमा राति नै मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए ।

सईलाई ठक्कर दिने टिपरसँगै सोही दिशातर्फ आउँदै गरेको बा४ख ४३१८ नम्बरको मिनी टिपर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सईलाई ठक्कर दिएर फरार भएका टिपर चालक धादिङका राजेन्द्र प्याकुरेललाई कौशलटार र अर्को टिपरका चालक भक्तपुर नगरपालिका–३ का राकेश सैंजूलाई सल्लाघारीबाट नियन्त्रणमा लिइएको डीएसपी कँडेलले बताए ।

४५ वर्षीय सई निमबहादुर घर्तीमगरको स्थायी घर दाङको रामपुर भएको डीएसपी कँडेलले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १३, २०७७ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×