१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रामायण : कति प्राचीन ?

बालकाण्डमा भारतका कौशाम्बी, वैशाली, मिथिला, गिरिव्रज, अयोध्याजस्ता सहरको वर्णन छ । यी सबै सहर अहिले उत्तर प्रदेश र बिहारमा पर्छन् । सन् १९४७ यता भारतमा गरिएको पुरातात्त्विक उत्खननले यी सहर इसापूर्व ६०० का हुन् भन्ने देखाएको छ ।
भोगीराज चाम्लिङ

‘वाल्मीकि रामायण’ (संस्कृत) को सबैभन्दा प्राचीन हस्तलिखित पाण्डुलिपि नेपालमा सुरक्षित छ । ओरियन्टल इन्स्टिच्युट, भारतले प्रकाशन गरेको ‘द वाल्मीकि रामायण : क्रिटिकल इडिसन’ (सन् १९६०) मा नेपालबाट प्राप्त दुईवटा पाण्डुलिपि समावेश छ ।

रामायण : कति प्राचीन ?

रामायणबारे ‘क्रिटिकल’ अध्ययन गर्न भारत र भारतबाहिर गरेर २००० थान पाण्डुलिपि संकलन गरिएकोमा ‘प्राचीनता, शुद्धता र पूर्णता’ लाई आधार बनाएर नेपालबाट यी पाण्डुलिपि छानिएका हुन् । इतिहासकार बाबुराम आचार्यका अनुसार, ताडपत्रमा प्राचीन नेवारी लिपिमा लेखिएका ती पाण्डुलिपिमध्ये एउटा विक्रम संवत् १०७६ (सन् १०२०) को हो भने अर्कोचाहिँ नेपाल संवत् ७९५ (सन् १६७५) को । यी पाण्डुलिपि हामी काठमाडौंस्थित वीर पुस्तकालय (माइक्रोफिल्म एमएसएस नम्बर ९३४ र ९०५) मा हेर्न, पढ्न सक्छौं (सम्पादक जीएच भट्ट, भोल्युम १, बालकाण्ड, पृष्ठ XXiX) ।

वाल्मीकि रामायण यसरी पाण्डुलिपिमा परिणत हुनअघि लामो समयसम्म मौखिक परम्पराका रूपमा जनस्तरमा लोकप्रिय आख्यान-काव्यका रूपमा प्रचलित थियो । दुई हजार वर्षभन्दा अझ अगाडिको के कुरा ! हाम्रै गाउँघरमा हिजो अस्तिसम्म किरात राई पुर्खाहरूसमेत अहिलेको दोहोरी गीतजस्तै ‘भानुभक्त रामायण’ का ‘सिलोक’ (श्लोक) मा खासखास अवसरमा मुखराल (मौखिक) सवाल-जवाफ गर्थे । एउटा पुर्खाले एउटा सिलोक भन्थ्यो, अर्को पुर्खाले जवाफ दिन्थ्यो । जसले जवाफ पर्काउन सकेन ऊ हारेको ठहरिन्थ्यो । जित्नेको नामसुवास दस गाउँमा फैलिन्थ्यो- ‘ए, फलाना गाउँमा त नसक्नुको (सिद्धहस्त) फलाना सिलोके छ रे ।’

रामायणको उत्तरकाण्डमै उल्लेख भएको यस्ता ‘सिलोकेहरू’ चाहिँ कुश र लव थिए जो ऋषि वाल्मीकिका चेला पनि हुन् । दोस्रो शताब्दी अन्तिमतिरको मानिने संस्कृतग्रन्थ ‘कल्पनामण्डिटिका’ मा समेत रामायण मौखिक पम्परामा थियो भन्ने कुरा उल्लेख छ (एम. विन्टरनित्ज : अ हिस्ट्री अफ् इन्डियन लिटरेचर, जर्मन भाषाबाट अनुवाद सन् १९२७, पृष्ठ ५१३) । त्यस्ता गायकहरू प्रचलित श्लोकमा थपघट गर्न स्वतन्त्र हुन्थे । रामायणका कतिपय अंश पाठ मात्र गरिन्थ्यो, कतिपय अंशचाहिँ संगीतसँगै लयमा गाइन्थ्यो । संस्कृतमा ‘कुशीलव’ को अर्थ नै विशेषगरी मौखिक परम्पराका महाकाव्यहरूका वाचक, गायक र अभिनयकर्ता भन्ने हुन्छ । प्राचीन मौखिक गीत-काव्यहरू यसरी नै वाचकहरू, गायकहरू, अभिनयकर्ताहरूले मौखिक र अभिनयमार्फत जोगाउने र फैलाउने गरेका हुन् । निश्चय नै मौखिक परम्परामा काव्यात्मक दक्षता भएकाहरूले श्रोता, दर्शकहरूको मुड र रुचिअनुसार थप गर्नु स्वाभाविक हो । यसरी थपिँदै जाँदा रामायणको मूलभन्दा पनि थपिएको अंश बढी लोकप्रिय हुन पुग्यो । र, रामायण मूलभन्दा मोटाउँदै गएर अहिलेको स्वरूपमा आइपुग्यो (हर्मन ज्याकोबी : द रामायण, ओरियन्टल इन्स्टिच्युट अफ् बरोडा, जर्मन भाषाबाट अनुवाद सन् १९६०, पृष्ठ ४९) ।

यदि श्रोताहरूलाई सीता, दशरथ या कौसल्याको कथाले मन छुन्थ्यो भने उनीहरू त्यसमा अझ बढी फूलबुट्टा भर्थे, जसले गर्दा श्रोताहरू मख्ख पर्थे । यदि स्रोताहरू युद्धको कथाबाट रोमाञ्चित हुने खालका भेटिए भने गायकहरू युद्धका कथामा बाँदर सैनिकहरूको संख्या दसौं हजार पुर्‍याउँथे, राक्षसहरूको धेरैभन्दा धेरै विनाश भएको कुरा थपिदिन्थे । यदि हाँसोठट्टाबाट प्रभावित हुने खालका श्रोताहरू हुन्थे भने त्यस्तै कथाका श्लोकहरू थपिदिन्थे । यदि श्रोताहरू पढालिखा ब्राह्मण हुन्थे भने नैतिकताका कुरा, नीतिका कुराहरू थप गर्थे (एम. विन्टरनित्ज, पृष्ठ ४९७) । समयको लामो दौरानमा विभिन्न व्यक्तिबाट थपिए पनि रामायणलाई पछिल्लो समयमा प्रतिभाशाली कविले निश्चित अनुशासनमा रहेर अन्तिम रूप दिएको हो भन्ने कुरा रामायणका रचनाशैलीबाट प्रस्ट हुन्छ । वाल्मीकिको कला हुबहु अनुकरण गर्न सक्ने ती व्यक्ति को थिए ? यसै भन्न सकिन्न (हर्मन ज्याकोबी, पृष्ठ ५१) ।

रामायण (राम+अयण) को अर्थ हुन्छ- रामको कार्य अथवा प्रस्थान (मोनियर विलियम्स, इन्डियन विज्डम अर् एक्जाम्पल्स् अफ् द रिलिजियस्, फिलसफिकल एन्ड इथिकल डक्ट्रिन्स अफ् द हिन्दुज, सन् १८७५, पृष्ठ ३३७-३८) । यद्यपि रामायणका कथावस्तुबारे चाहिँ बहस बाँकी नै छ । हर्मन ज्याकोबीका अनुसार, रामायण खासमा अलगअलग दुईवटा मूलकथाहरूको जोड हो- पहिलो, अयोध्याका राजा दशरथसम्बन्धी मूल कथा हो जहाँ दशरथ मूल नायक छन् । दोस्रो हो, रामको वनयात्रा र रावणमाथिको विजय । यी दुई स्वतन्त्र मूलकथामध्ये पहिलो भागले इक्ष्वाकु वंशका राजकुमारको रंगीन जीवनको कथा भन्छ भने दोस्रो भाग पूरै मिथकीय छ (हर्मन ज्याकोबी, पृष्ठ ६६) । तर, दिनेशचन्द्र सेनचाहिँ ज्याकोबीभन्दा अलि फरक मत राख्छन् । उनी के भन्छन् भने राम र रावणको कथाचाहिँ भिन्दाभिन्दै भनिँदै आएका भारतका लोकगाथा हुन् । त्यसलाई वाल्मीकिले जोडेर रामायण बनाएका हुन् (द बङ्गाली रामायन्स्, सन् १९२०, पृष्ठ iX) । दशरथ र रामका स्वतन्त्र कथालाई जोडेको हो या राम र रावणका स्वतन्त्र कथालाई जोडेको हो भन्ने अझै खोजीका विषय हुन् । आउँदा दिनमा यसबारे टुङ्गो लाग्ला नै ।

अहिलेसम्म टुङ्गो लागिसकेको कुराचाहिँ के भने रामायणको मूल स्वरूप (पाठ) इसापूर्व तेस्रो शताब्दीमा वाल्मीकिले तयार गरेका थिए, जुन प्राचीन लोकगाथामा आधारित थियो (एम. विन्टरनित्ज, पृष्ठ ५१७) । वाल्मीकि जसले त्यति सुगठित काव्य परिष्कृत छन्दमा रचना गरे, त्यसलाई उनीभन्दा पछाडिका महाकाव्यका वाचक, गायकहरूले नयाँ स्वाद र समय सुहाउँदो बनाएर अझ बढी लोकप्रिय बनाए (हर्मन ज्याकोबी, पृष्ठ ६२) । तर, परम्परामा विश्वास गर्नेहरू रामायणलाई ५००० वर्ष पुरानो मान्छन् । वैज्ञानिक अध्ययन गर्नेहरूमध्ये प्रख्यात अंग्रेज विद्वान् एफई पार्जिटरले रामको युगलाई इसापूर्व १४०० को ठहर गरेका छन् । जर्मन र भारतीय विद्वान्हरूचाहिँ इसापूर्व ८०० सम्म मान्ने गर्छन् । एउटा आम सहमतिचाहिँ केमा देखिन्छ भने रामायणको वर्तमान स्वरूप इसापूर्व ४०० देखि इसाको २०० का बीचमा तयार भएको हो । त्यस्तै रामायणको कथा इसापूर्व १००० भन्दा पुरानो होइन भन्ने कुरामा पनि विद्वान्बीच खासै विवाद छैन । त्यसका केही मान्य आधारहरू छन् :

एक : प्राचीन सहरहरू

रामायणको पहिलो अध्याय बालकाण्डमा भारतका थुप्रै सहरको वर्णन छ । ती हुन् कौशाम्बी, वैशाली, मिथिला, गिरिव्रज, अयोध्या इत्यादि । यी सबै सहर अहिले उत्तर प्रदेश र बिहारमा पर्छन् । सन् १९४७ यता भारतमा गरिएको पुरातात्त्विक उत्खननले यी सबै सहर इसापूर्व ६०० का हुन् भन्ने देखाएको छ । सी-कार्बन डेटिङले कतिपय सहरको सर्वप्राचीन जग इसापूर्व १००० मा खडा भएको देखिन्छ । यसकारण निर्धक्क भएर के भन्न सकिन्छ भने रामायणको जुन कथा छ, त्यो इसापूर्व १००० भन्दा कुनै हालतमा पनि पुरानो होइन । त्योभन्दा पहिले गंगाको मैदानमा संगठित सहरहरू नै थिएनन् (एचडी संकालिया : ‘आर्कियोलजी एन्ड रामायण अर् डेटिङ द रामायण’, पुरातत्त्व : बुलेटिन अफ् द इन्डियन आर्कियोलजिकल सोसाइटी, नम्बर १, सन् १९६७-६८, पृष्ठ १) । त्यस्तै रामायणको अन्तिम अध्याय उत्तरकाण्डअनुसार, भरतका छोराहरूले गन्धर्वहरूलाई पराजित गरेर तक्षशिला (टक्शिला) र पुष्कलावती (चार्षद) सहर बसाएका थिए । जोन मार्सलले तक्षशिला अनि मोर्टिमर ह्विलरले पुष्कलावतीमा गरेको उत्खननअनुसार यी दुई सहर पनि इसापूर्व ६०० का हुन् (एचडी संकालिया, पृष्ठ २) ।

अर्को कुरा, पूर्वी भारतका यी सहरबारे उल्लेख हुँदाहुँदै पनि रामायणमा पाटलीपुत्रको नामचाहिँ उल्लेख छैन । जबकि पाटलीपुत्र मेगास्थनीहरूको शासनकालमा भारतको राजधानी बनेको थियो । यसको अर्थ हो, रामायणको बालकाण्डमा थप्ने कार्य नन्द र मौर्य (इसापूर्व ३२१-१८५) हरूको शासनभन्दा अगाडि नै भएको हो (हर्मन ज्याकोबी, पृष्ठ ७६) ।

दुई : फलाम

रामायणमा फलामको पनि उल्लेख छ, जसका लागि अयश, कालायश अथवा कार्सआयश, लोहा शब्द प्रयोग भएको छ । अयशबाहेक तीनवटा चाहिँ निश्चित रूपमा फलामकै लागि प्रयोग भएको शब्द हो । रामायणका राजा जनकसँग आठ पाङ्ग्रा भएको धनुकाँड छ, जसमा ताँदो चढाएर रामले सीतालाई प्राप्त गरेका छन् । यसप्रकारको धनुको निर्माण फलामसम्बन्धी उन्नत प्रविधि विकास भएपछि मात्र सम्भव हुने कुरा हो । भारतमा यस्तो फलाम उद्योगको विकास इसापूर्व ५०० पछि भएको हो (एचडी संकालिया, पृष्ठ ३) भने फलामको प्रयोग सुरु भएको भनेको इसापूर्व १००० मा हो (दिलीप के. चक्रवर्ती एन्ड नयनजोत लाहिरी, ‘द आइरन एज् इन् इन्डिया : द बिगिनिङ एन्ड कन्सिक्वायन्स’, पुरातत्त्व : बुलेटिन अफ् द इन्डियन आर्कियोलजिकल सोसाइटी, नम्बर २४, सन् १९९३-१९९४, पृष्ठ २३) । फलाम प्रयोगको सन्दर्भले पनि रामायणको कथालाई बढीमा इसापूर्व १००० भन्दा परको मान्न सकिन्न (एचडी संकालिया, पृष्ठ ३) ।

तीन : भाषा

रामायणको प्राचीनताबारे बताउने अर्को आधार भाषा हो । हर्मन ज्याकोबीको विचारमा रामायणको भाषा बुद्धको समयभन्दा अगाडिको हो । भारतका सम्राट अशोकले आफ्ना अभिलेख संस्कृतमा होइन, प्राकृत भाषामा कुँदाएका छन् । स्वयं बुद्ध (इसापूर्व छैटौं-पाँचौं शताब्दी) ले पनि संस्कृतमा प्रवचन दिएका थिएनन्, पालि भाषामा दिएका थिए । बुद्ध अथवा अशोकभन्दा पछाडि रचना भएको भए रामायण पक्कै पनि संस्कृतमा हुने थिएन, पालि अथवा प्राकृत भाषामा हुने थियो, जुन त्यसबखतको जनभाषा थियो । त्यसैले बुद्धभन्दा अगाडि संस्कृत जनभाषाका रूपमा रहेको बखत रामायण रचना गरिएको हो (एम. विन्टरनित्ज, पृष्ठ ५११) भन्न सकिने आधार यो पनि हो । कतिपय विद्वान्हरू रामायण गैरसंस्कृत भाषामा रचना गरिएको हो, पछि मात्र संस्कृतमा अनुवाद गरिएको हो भन्ने मान्यता पनि राख्छन् तर यो मतको खण्डन गरेका छन् ज्याकोबी र विन्टरनित्जले (एम. विन्टरनित्ज, पृष्ठ ५१२) । किनभने, रामायणजस्तो लोकप्रिय महाकाव्य संस्कृत जनभाषा भएको बखत रचना नगरेर संस्कृत भाषा मृत भएको बेला रचना हुने कुरै आउँदैन (हर्मन ज्याकोबी, पृष्ठ ८७) अर्थात् बुद्ध अथवा अशोकको समयपछि रचना हुने कुरै आउँदैन ।

यद्यपि इसाको पहिलो शताब्दीमा पनि संस्कृतमा रचना हुँदैनथ्यो भन्ने होइन । बौद्ध धर्मावलम्बीहरूले पनि संस्कृत भाषामा रचना गर्थे । त्यसको प्रमाण हो अश्वघोषको ‘बुद्धचरित्’, जुन रामायणलाई नमुना मानेर रचना गरिएको हो । इसाको दोस्रो शताब्दी सुरुतिरका मानिने अश्वघोषले रामायणबाट प्रभाव ग्रहण गर्नुको अर्थ हो, दोस्रो शताब्दी समाप्त हुनुभन्दा अगाडि नै रामायण अहिलेको स्वरूपमा तयार भइसकेको थियो (एम. विन्टरनित्ज, पृष्ठ ५१२-५१३) ।

चार : खगोल विज्ञान

चौथो अध्यायको श्लोक २३ मा खगोल विज्ञानसँग सम्बन्धित एउटा घटनाले रामायण इसापूर्व ५०० भन्दा पहिलेको हो भन्ने देखाउँछ । त्यहाँ एउटा श्लोक छ, जहाँ घाम पूरै छेकिएर कालो धब्बाजस्तो हुन पुगेको वर्णन छ । रामायणमा यो घटनाबारे यति जीवन्त वर्णन छ कि कविले प्रत्यक्ष अनुभव गरेर वर्णन गरेजस्तै लाग्छ- त्यसबखत हावाहुरी चल्यो, दिउँसै आकाशमा ताराहरू देखिए, चराहरू गुँडमा बास बसे, यस्तै अन्य थुप्रै घटना भए (हर्मन ज्याकोबी, पृष्ठ ८२) । यस्तो पूर्ण सूर्यग्रहण धेरै समयको अन्तरालमा हुने दुर्लभ घटना हो, जुन रामायणमा वर्णित छ । जर्मनीमा यस्तो पूर्ण सूर्यग्रहण सन् १९९० मा घटेको थियो । खगोल विज्ञानको गणनाअनुसार, यस्तो पूर्ण सूर्यग्रहण भारतमा इसापूर्व ३०९, ४२६, ५४६, ५४८, ५७४, ७६९ र ७९४ मा घटेको थियो । यसमध्ये इसापूर्व ३०९ मा लागेको पूर्ण सूर्य ग्रहण हिमालय क्षेत्रमा परेको थियो, त्यसैले त्यसको कुरै भएन । बाँकीमध्ये इसापूर्व ४२६ र ५४८ को सूर्य ग्रहण सबैभन्दा बढी थियो । त्यस हिसाबले रामायणका कविले देखेको सूर्य ग्रहण यी दुई मितिको थियो कि भन्न सकिन्छ । समग्रमा चाहिँ रामायणका कविले पाँचौं, छैटौं या आठौं शताब्दीका कुनै एक सूर्य ग्रहण देखेको अनुमान गर्न सकिन्छ (हर्मन ज्याकोबी, पृष्ठ ८३-८४) ।

पाँच : यवन अर्थात् ग्रीक

रामायणमा विदेशीहरूलाई बुझाउन ‘यवन’ शब्द प्रयोग भएको छ । अल्ब्रेख्त वेबरका अनुसार, यवन भनेका ग्रीकहरू हुन् (अन् द रामायण, जर्मन भाषाबाट अनुवाद सन् १८७३, पृष्ठ ४९) । यसको अर्थ हो, ग्रीकहरू भारतमा आउँदासम्म पनि रामायणमा थप्ने कार्य जारी थियो (हर्मन ज्याकोबी, पृष्ठ ७१) । भारतमा विदेशीहरूको प्रवेश इसापूर्व २०० देखि भएको मानिन्छ (डीएन झा, एन्सियन्ट इन्डिया इन हिस्टोरिकल आउटलाइन, सन् २००९, पृष्ठ १११) । रामायणमा सुनका गहना र भाँडाकुँडाको मात्रै कुरा गरिएको छैन, ढोका र पर्खाल पनि सुनले मोहरिएको उल्लेख छ, जुन यवनहरूको भारत प्रवेशपछिको घटना हो । त्यस्तै वाइन (रक्सी) को उल्लेख छ । भरतका सेनालाई दुईथरी रक्सी खुवाइएको वर्णन रामायणमा पाइन्छ । पुरातात्त्विक उत्खननले ग्रीक र रोमन रक्सीहरू इसापूर्व १०० देखि इसाको ४००-५०० सम्म भारतमा प्रयोग हुन्थ्यो भन्ने पुष्टि भएको छ । रोमन र ग्रीसमा रक्सी राख्न बनाइने प्राचीन जग (भाँडा) समुद्र किनारका भारतका सहरहरू द्वारका, कोल्हपुर, पोन्डिचेरीका घरका अवशेषभित्र पाइएका छन् । त्यस्तै समुद्रभन्दा टाढाका सहरहरू जुन्नर, नेवासालगायतका सहरहरूमा पनि पाइएका छन् (एचडी संकालिया, पृष्ठ २) ।

छ : सती प्रथा

मोनियर विलियम्सका अनुसार, रामायणमा सती प्रथाबारे कुनै उल्लेख छैन । जबकि ‘महाभारत’ मा चाहिँ पाण्डुकी श्रीमती माद्री, वासुदेवका चार श्रीमती र कृष्णका कतिपय श्रीमतीहरू सती गएको चर्चा गरिएको छ । यसको अर्थ हो, महाभारतले प्रतिनिधित्व गर्ने भारतको उत्तर-पश्चिमी भूभाग पन्जाब क्षेत्रमा इसापूर्व तेस्रो शताब्दीमा सती प्रथा फैलिइसकेको थियो । त्यस्तै इसापूर्व तेस्रो शताब्दीमा मेगास्थानबाट भारतको पूर्वी भूभागमा पर्ने मगधसम्म पनि सती प्रथा फैलिइसकेको थियो (मोनियर विलियम्स, पृष्ठ ३१५) । तर, रामायण जसले पूर्वी भारतको परिष्कृत सभ्यताको प्रतिनिधित्व गर्छ (एम. विन्टरनित्ज, पृष्ठ ५०७) त्यहाँ सती प्रथाबारे उल्लेख नहुनुको अर्थ हुन्छ, इसापूर्व तेस्रो शताब्दीभन्दा पहिले नै रामायण तयार गरिसकिएको थियो ।

अर्थात् निचोडमा यति भन्न सकिन्छ- रामायणका लोकगाथाको युग बढीमा इसापूर्व १००० हो, लोकगाथालाई वाल्मीकिले इसापूर्व तेस्रो शताब्दीमा उत्कृष्ट महाकाव्य अर्थात् रामायणका रूपमा तयार गरेका हुन् र रामायणको वर्तमान स्वरूप दोस्रो शताब्दी समाप्त हुनुअघि नै तयार भइसकेको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?