२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

व्यावसायिक जोखिम न्यूनीकरणका लागि ‘प्राइभेट इक्विटी’

दीपक शर्मा

काठमाडौँ — विश्व अर्थतन्त्र नै महामारीको चपेटामा परेको छ । नेपाली अर्थतन्त्र पनि यसबाट अछूत छैन । व्यापार–व्यवसाय ठप्प भएको पनि एक महिनाभन्दा बढी भइसक्यो र अझै कति समय यस्तै चल्ने हो भन्ने अन्योल छ ।

व्यावसायिक जोखिम न्यूनीकरणका लागि ‘प्राइभेट इक्विटी’

भूकम्प र नाकाबन्दीको चपेटाबाट माथि उठ्न सफल भएको हाम्रो अर्थतन्त्रलाई अहिलेको विपद्बाट माथि उठ्न पहिलेजस्तो सजिलो छैन ।

हामी विपद्लाई रोक्न सक्दैनौं तर जोखिम कम गर्ने उपायहरू अपनाउन सक्छौं । विभिन्न क्षतिमध्ये वित्तीय क्षति न्यूनीकरणका धेरै उपाय हुन सक्छन् । वित्तीय क्षति र यसको न्यूनीकरणका उपाय जान्न वित्तीय व्यवस्थापनबारे बुझ्न जरुरी हुन्छ । व्यवसाय सञ्चालनका लागि आवश्यक लगानी कसरी जुटाउने भन्ने विषय वित्तीय व्यवस्थापनको महत्त्वपूर्ण पाटो हो । स्वपुँजी वा ऋणमार्फत आवश्यक लगानी जुटाउन सकिन्छ ।

कुनै पनि व्यक्तिको पुँजी लगानी गर्ने क्षमता सीमित हुन्छ, जुन व्यवसायका लागि पर्याप्त नहुन सक्छ । यस्तो अवस्थामा थप लगानीका लागि कि ऋण खोज्नुपर्छ कि त अन्य साझेदारमार्फत स्वपुँजी उठाउनुपर्छ । ऋण लिँदा व्यवसाय नाफा वा घाटाजस्तो अवस्थामा भए पनि किस्ता बुझाउनुपर्ने हुनाले जोखिम बढ्न जान्छ । साझेदार ल्याउँदा नाफा बाँड्नुपर्ने हुँदा ऋणभन्दा महँगो पर्न सक्छ तर जोखिम पनि बाँडिन्छ । अहिलेको महामारीमा सबैभन्दा उच्च जोखिममा रहेको व्यवसाय भनेको उच्च ऋण लगानी रहेको व्यवसाय हो ।

स्वपुँजीले व्यवसायको जोखिम कम गर्न मद्दत गर्छ र आजको दिनमा निजी कम्पनीका लागि स्वपुँजीको परिस्कृत विकल्प हो ‘प्राइभेट इक्विटी’ । प्राइभेट इक्विटी फन्डमार्फत ऋणजस्तै स्वपुँजी पनि आवश्यकताअनुसार निश्चित अवधिका लागि लिन सकिन्छ भने यसका लागि धितो पनि आवश्यक हुँदैन । अर्को बुझ्नुपर्ने के हो भने प्राइभेट इक्विटी फन्डले कम्पनीमा लगानी मात्र गर्दैन, कम्पनीको प्रविधि, व्यवस्थापन र सुशासनलाई सशक्त बनाउन मद्दत पुर्‍याउँछ । यसले गर्दा कम्पनीलाई अहिलेको जस्तो विषम परिस्थितिको सामना गर्न सजिलो हुन्छ । कतिपय फन्डहरूले व्यवसायको प्राविधिक क्षमता स्तरोन्नतिका लागि छुट्टै कोषको पनि व्यवस्था गरेका हुन्छन् ।

प्राइभेट इक्विटी फन्डको उद्देश्य कम्पनीमा लगानी गर्ने र नाफा कमाउने हो, कम्पनी नियन्त्रणमा लिने होइन । हाल सञ्चालनमा रहेका प्रायः फन्डले ४९ प्रतिशतभन्दा कम स्वामित्व रहने गरी मात्र लगानी गर्छन् । तसर्थ व्यवसायीले आफ्नो स्वामित्व र नियन्त्रण गुम्ला कि भनेर डराउनुपर्ने अवस्था रहँदैन । फन्डहरूको आफ्नै विधान हुन्छ र अग्रिम लिखित समझदारीका आधारमा लगानी हुने हुँदा व्यक्तिगत लगानीको तुलनामा मतभेदको सम्भावना न्यून रहन्छ ।

व्यवसाय सञ्चालनमा नरहेको अवस्थामा पनि कतिपय खर्चहरू यथावत् रहन्छन् । अहिले व्यवसायहरूको मुख्य समस्या भनेको नगद प्रवाह र चालु पुँजी व्यवस्थापन हो । साना तथा मझौला उद्योगहरूमा यो समस्या झन् टड्कारो छ । लकडाउनपछि व्यापार पुनः सञ्चालन गर्न चाहिने नगद कसरी जोहो गर्ने भन्ने चिन्ता सबै व्यवसायीमा छ । पहिले नै ऋण लिएका कम्पनीहरूलाई बैंकले थप ऋण दिन्छ वा दिँदैन भन्ने चिन्ता त छँदै छ, ऋणका लागि धितो जुटाउन पनि गाह्रो हुन सक्छ । व्यवसाय सञ्चालनमा आएपछि पनि कारोबार सामान्य अवस्थामा आउन केही समय लाग्ने देखिन्छ । यस्तो अवस्थामा अझै पनि ऋण थपेर अझ जोखिम बढाउनुभन्दा प्राइभेट इक्विटीजस्तो वैकल्पिक लगानीका स्रोतहरूको उपयोग गर्नु बुद्धिमानी हुन्छ । हाल बिजनेस अक्सिजन, डोल्मा, ट्रु नर्थजस्ता विदेशी र स्वदेशी लगानीका विभिन्न प्राइभेट इक्विटी फन्डहरू सञ्चालनमा छन् । यस्तो लगानीमा ऋणमा जस्तो मासिक त्रैमासिक किस्ता बुझाउनुपर्ने बाध्यता हुँदैन । र, लगानी फिर्ताको समयावधि पनि व्यवसायको नगद प्रवाहको आधारमा तय गर्न सकिन्छ ।

हामीसँग भएका लगानीका स्रोतहरू सीमित छन् र अपर्याप्त छन् । महामारीपछिको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन चाहिने पुँजीका लागि विदेशी लगानीले ठूलो भूमिका खेल्न सक्छ । विश्व नै महामारीको अवस्थामा रहेको बेला धेरै नयाँ लगानी आउने सम्भावना कम देखिए पनि महिनौंदेखि अड्किएका फाइल स्वीकृत गरी नयाँ लगानीकर्तालाई सकारात्मक सन्देश दिन जरुरी छ । विदेशी लगानी भन्नेबित्तिकै ठूलो रकम र ठूला उद्योग परियोजनाहरू मात्र सम्झनु गलत बुझाइ हो । विदेशी लगानीको न्यूनतम सीमा कम गरेर साना लगानीकर्तालाई पनि आकर्षित गर्न सकिन्छ ।

विश्व बैंकको तथ्यांकले ३५ प्रतिशत प्रतिशत व्यवसायीसँग मात्र बैंक ऋणको पहुँच रहेको देखाउँछ । एउटा महत्त्वपूर्ण पाटो के हो भने लगानीको पहुँच बढाउनु मात्र पर्याप्त छैन, व्यवसायको जोखिम बाँड्ने वा बहन गर्ने खालको लगानीको पहुँच बढाउन जरुरी हुन्छ । ऋणको भुमरीमा परेर कति कम्पनी बन्द भएका छन् भने विश्वका कति मुलुक नै फसेका छन् । त्यसैले लगानीसँगै लगानीले ल्याउने जोखिमको मूल्यांकन गरी कस्तो लगानी लिने भन्ने निर्णय लिनुपर्छ । परम्परागत लगानी स्रोतको विकल्पको रूपमा आएको प्राइभेट इक्विटी फन्डहरूले जोखिम सन्तुलन राख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।

विपद् भनेको चुनैती मात्र होइन, यस्ता विपद्को सामना गर्ने मजबुत आधार निर्माण गर्ने अवसर पनि हो । सरकारले मात्र होइन हामी सबैले आफ्नो व्यापार, व्यवसाय, रोजगारी र दैनिक जीवनमा यस्ता विपद्को असर न्यूनीकरणको दीर्घकालीन योजना बनाउन जरुरी छ ।शर्मा चार्टर्ड एकाउन्टेन्ट हुन् ।

प्रकाशित : वैशाख १९, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?