नयाँ पार्टीलाई पुरानै चुनौती


गत साता प्रधानमन्त्री केपी ओलीको क्रिया र त्यसबाट उत्पन्न प्रतिक्रियाको चर्चा व्याप्त रह्यो । विवादित अध्यादेशकै कारण रातारात मधेसकेन्द्रित दुइटा दलबीच एकीकरण भयो । सांसद अपहरण प्रकरणले एकीकरणबारे अपेक्षित विमर्श हुन सकेन ।

नेकपाको आन्तरिक विवादले सबै घटनालाई छोपिदियो । लकडाउनले निराश बनाइरहेको समाजमा प्रधानमन्त्री ओली र माननीय सुरेन्द्र यादवले केही मसला पस्किनुभयो, दिमागका तन्तुहरू थोरै भए पनि सक्रिय भए । सबै विषय उत्तिकै महत्त्वपूर्ण छन्, तर यहाँ भर्खर जन्मेको जनता समाजवादी पार्टी (जसपा) बारे विमर्श गरिनेछ ।
बलियो पुल
नयाँ पार्टीबारे सुरुमा सकारात्मक कोणबाट कुरा गरौं । भनिन्छ, राजनीतिक दल समाज र राज्यबीचको पुल हो । मधेसी समाजले नेपाली राज्य र राजनीतिमा आफ्नो उचित प्रतिनीधित्व नभएको भन्दै करिब ६ दशकअघि दल निर्माणको प्रक्रिया थालेको हो ।
वेदानन्द झाको नेपाल तराई कांग्रेसदेखि महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सम्मको यात्रामा मधेसकेन्द्रित दलहरूले अनगिन्ती विभाजनको पीडा भोगे । तर आश्चर्य, केहीयता मधेसकेन्द्रित दलहरूबीच एकीकरण हुन थालेको छ ।
सुरुमा उपेन्द्र यादव र अशोक राई नेतृत्वका पार्टीहरू एकीकृत भएर संघीय समाजवादी फोरम बन्यो, जुन मधेसी-जनजाति एकीकरण रहेको दाबी गरिएको थियो । पछि ससाना मधेसी दल एक भएर राष्ट्रिय जनता पार्टी (राजपा) बन्यो । करिब एक वर्षअघि संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण भएपछि बनेको समाजवादी पार्टीलाई असली समावेशीका रूपमा दाबी गरियो ।
अहिले समाजवादी पार्टी र राजपाबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेको छ । झट्ट हेर्दा जसपा साँच्चिकै सीमान्तकृतहरूको पार्टीजस्तो देखिन्छ, जसको नेतृत्व समावेशी छ र मधेसमा बलियो जनाधार छ । सदन, सडक र समाज तीनै ठाउँमा जसपाको राम्रो उपस्थिति हुने आकलन गर्न सकिन्छ । यदि राजनीतिक दल समाज र राज्यबीचको पुल हो भने जसपा सम्पूर्ण सीमान्तकृतका लागि बलियो सेतु बनेको छ ।
मिनी कांग्रेस र कम्युनिस्टको एकीकरण जसपाले नेपाली राजनीतिमा के-के गर्न सक्छ वा सक्दैन, अहिल्यै विश्लेषण गर्नु हतार हुनेछ । तर यो पार्टी के हो र के होइन, यस विषयमा विमर्श गर्न थोरै विगततर्फ फर्किनुपर्छ । दुवै दलको एकीकरणपूर्वको सबल-दुर्बल पक्षको विश्लेषण हुनुपर्छ ।
उपेन्द्र यादव, अशोक राई र बाबुराम भट्टराईको साझा नेतृत्व रहेको समाजवादी पार्टी खासमा मधेसकेन्द्रित मिनी कम्युनिस्ट पार्टी थियो । बाहिरबाट हेर्दा निकै व्यवस्थित देखिए पनि कठोर शैलीमा नियन्त्रित पार्टी थियो यो । नेतृत्व समावेशी देखिए पनि जनाधार मधेसकेन्द्रित मात्र रहेकाले संगठनमा उपेन्द्र यादवको दबदबा थियो ।
सबै उच्च नेता कम्युनिस्ट पृष्ठभूमिका रहेकाले सांगठनिक संरचना, बैठक गर्ने शैलीमा त्यसको प्रस्ट प्रभाव देखिन्थ्यो । एजेन्डाको हिसाबले संघीयता, राज्यको पुनःसंरचना र समावेशिताबारे प्रगतिशील पार्टी थियो यो । मधेसभित्र यादव जाति र मुसलमान समुदायलाई आफ्नो भोटब्यांक ठान्ने यो पार्टीले संगठन निर्माण र निर्वाचनमा फरकफरक रणनीति लिएको थियो । संगठन निर्माणमा प्रायः युवालाई प्रश्रय दिइन्थ्यो ।
अध्ययनशीलता र तर्क क्षमतालाई भन्दा आज्ञाकारितालाई उच्च प्राथमिकता दिइन्थ्यो । चुनावमा जित्न सक्नेलाई मात्र उम्मेदबार बनाउने स्पष्ट रणनीति थियो । सत्ता र स्रोतको उपयोग गर्ने सवालमा उपेन्द्र यादवले जहिल्यै आफूलाई केन्द्रमा राख्ने र आफ्नो नेतृत्वमै सरकारमा जाने गरेको बारम्बार देखियो । यसको कारण थियो- उनमा मधेस आन्दोलनको मसिहा आफू मात्र रहेको चर्को अहंकार ।
राजपा विभिन्न समयमा फोरम, सद्भावना र तमलोपाबाट विभाजित शक्तिहरूको एकीकृत क्लबजस्तो थियो । महेन्द्र यादव वामपन्थी पृष्ठभूमिका अवश्य हुन् तर ढोंगी कम्युनिस्ट होइनन् ।
राजकिशोर यादव बिलकुल अराजनीतिक पृष्ठभूमिका भए पनि सत्ता र स्रोतको सवालमा दुवैमा कुनै ‘कन्फ्युजन’ थिएन । बाँकी नेताहरू कांग्रेस र सद्भावना पृष्ठभूमिका रहेकाले राजपालाई मधेसको मिनी कांग्रेस भनिन्थ्यो ।
नेपाली राजनीतिमा कांग्रेस पार्टीले बोकेको एजेन्डा र उसको नेतृत्वको आफ्नै शैली छ । ढिलाढाला संगठन, निर्वाचन र आन्दोलनका बेला पार्टी लाइनप्रति प्रतिबद्ध तर अन्य समय कमजोर अनुशासन भएको कार्यकर्ता पंक्ति, एजेन्डाको सवालमा लोकतन्त्रबारे कुनै सम्झौता नगर्ने तर समावेशिताबारे अनुदार रहने कांग्रेसी शैलीको राजपामा हुबहु नक्कल गरिएको थियो ।
गरिब वर्ग र दलित समुदायलाई निर्वाचनका बेला भोटमा र आन्दोलनका बेला सहिद बनाउन मात्र उपयोग गर्नुपर्ने सोच मधेसको मिनी कांग्रेसले पनि शतप्रतिशत लागू गरेको थियो । मधेसका वैश्य समुदायको भोट र उच्च जातको नेतृत्व रहेको राजपाको ठूलो तप्काले राजनीति भनेकै चुनाव जित्नु मात्रलाई ठान्थ्यो । चुनाव जितेपछि समाजमा शानशौकत बढ्ने र सत्तामा पुगेर साधनस्रोतको दोहन गर्न मिल्ने सामन्ती सोचको अधबैंसे स्वरूप राजपा र समाजवादी पार्टीमा उस्तै थियो ।
इन्द्रधनुषी नेतृत्व
जसपा भनेको मिनी कांग्रेस र मिनी कम्युनिस्ट पार्टीबीचको एकीकरण हो । यो एउटै पार्टीमा इन्द्रधनुषजस्तो अनेकौं रङरूप देख्न सकिन्छ । यहाँ कांग्रेस पृष्ठभूमिका महन्थ ठाकुर, शरत्सिंह भण्डारी, वृशेषचन्द्र लाल छन् । वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ छन् । सद्भावनाका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अनिल झा छन् ।
नेतृत्वपंक्तिमा प्रभावशाली सबै जातीय समूहको उपस्थीति छ । मधेसी ब्राह्मण, कायस्थ, यादव, वैश्य, पहाडी ब्राह्मण, आदिवासी जनजाति र काठमाडौंका नेवार । नेतृत्वको हिसाबले न केवल जातीय, क्षेत्रीय हिसाबले पनि विविधतायुक्त इन्द्रधनुषी रङ देखिन्छ ।
यहाँ हिमाल, पहाड र तराई चारैतिरका नेता-कार्यकर्ताको जमघट छ । अध्ययनशील, संगठनमा खट्न सक्ने, आन्दोलन हाँक्न सक्ने र सबैले मान्ने स्वच्छ छविका अनुहार नेतृत्वपंक्तिमै छन् ।
पुरानै चुनौती
यस इन्द्रधनुषी दलमा तीन मधेसी दलबाट फुटेर तेह्र भएका र फेरि दुइटा दल हुँदै एकै ठाउँ आएका नेताहरू छन् । एमाले र माओवादीबाट आएर मिसिएकाहरू पनि छन् । यस पार्टीको पहिलो चुनौती भनेको नेताहरूको व्यवस्थापन हो । त्यसपछि मात्र इन्द्रधनुष कति दिन टिक्ला भन्नेबारे आकलन गर्न सकिन्छ ।
दोस्रो, मधेसी समाज बारम्बार आन्दोलन गर्छ । बितेको एक दशकमा तीन ठूलठूला आन्दोलन भए । अर्को कुरा, मधेसी दलहरू ससाना स्वार्थमा फुट्छन् । यो आन्दोलन र विभाजनबीच केही सम्बन्ध छ कि छैन ?
हालै समाजवादी पार्टी फुट्ने प्रकरण हामीले देख्यौं । विभाजनको चर्चा त नेकपाभित्र पनि छ । फरक के छ भने, नेकपामा विभाजनअघि बहस भइरहेको छ । मधेसी दलमा विभाजन पहिला हुन्छ र त्यसपछि गालीगलौज, खरिद-बिक्री, अपहरण वा अपहरणको नाटकबारे चर्चा हुन्छ ।
यस्तो किन हुन्छ ? मधेसी समाज भावनात्मक रूपमा आन्दोलित अवश्य छ तर राजनीतिक रूपमा संगठित भइसकेको छैन । आजको दिनमा मधेसी समाजको सबैभन्दा ठूलो राजनीतिक समस्या यही नै हो । उसलाई विभेदको संस्मरणमा उक्साउने होइन, विचार र एजेन्डाका आधारमा संगठित गर्नुपरेको छ । राजनीति केवल शानशौकत र सत्ताका लागि मात्र होइन, समाज रूपान्तरणका लागि हो भन्ने कुराको स्वीकार्यता गराउनुपर्नेछ ।
सुरेन्द्र यादव होऊन् वा विमल श्रीवास्तव, यी मधेसी राजनीतिका अपवाद होइनन्, बरु सामान्य प्रवृत्ति बनिसकेका छन । बाबुराम भट्टराईलाई पार्टी विभाजन नौलो लागेको हुन सक्छ, तर मधेसी राजनीतिमा यी बारम्बार भइरहेका घटना हुन् । यस इन्द्रधनुषी पार्टीको पहिलो कार्यभार भनेको भावनात्मक रूपमा आन्दोलित मधेसी समाजलाई वैचारिक रूपमा संगठित गर्नु हो । आदिवासी जनजातिलाई पनि सीमान्तकृतको आन्दोलनमा जोड्दै पार्टीमा आबद्ध गराउन सक्नु हो ।
तेस्रो, माओवादी जनयुद्ध र मधेस आन्दोलनले उठाएको प्रमुख एजेन्डा राज्यलाई समावेशी बनाउनु थियो । तर विभिन्न पार्टीझैं आफैं समावेशी हुन नसकेको आरोप जसपामा पनि लागू हुन्छ । अस्तिका हस्ताक्षरकर्ता आठै पुरुष थिए । त्यहाँ कुनै दलित, थारू वा मुसलमान थिएनन् । समावेशीका लागि लड्ने भनिएको यो पार्टीको नेतृत्व आफैं कति समावेशी हुनेछ, प्रतीक्षा गरौं ।
चौथो, मधेसी आन्दोनलका तीन आयाम छन् । काठमाडौं अर्थात् केन्द्रीय सत्तासम्बद्ध जुन मूलतः राजनीतिक हो, मधेसी समाजको रूपान्तरणको सवाल र भारतसँगको सम्बन्ध । हालसम्मका मधेसी आन्दोलन पहिलो आयाममा केन्द्रित रहे ।
धेरथोर उपलब्धि पनि हासिल भएकै हो । मधेसमा राजनीति गर्नु भनेकै आन्दोलन गर्नु, निर्वाचन जित्नु र सत्तामा जानुजस्तो देखिएको छ । मधेसी राजनीतिमा सामाजिक रूपान्तरण आन्दोलनको एजेन्डा बन्नु त परै जाओस्, बहसको विषयसम्म बन्न सकेको छैन, जुन नयाँ पार्टीसामु अर्को चुनौती हो ।
मधेसी राजनीतिको भारतसँगको सम्बन्ध सधैं चर्चाको विषय रहेको छ । यस विषयमा काठमाडौं जहिले पनि आरोपित गर्न खोज्छ, मधेस जहिले मौन बस्न रुचाउँछ । विगतमा मधेसी दलहरूका अगाडि समर्पण वा विभाजनको मात्र बाटो थियो तर के महन्थ ठाकुर, राजेन्द्र महतो र बाबुराम भट्टराई, उपेन्द्र यादव एकसाथ भएपछि भारतसँगको सम्बन्धमा परिमार्जनको गुन्जाइस छ ?
प्रकाशित : वैशाख १९, २०७७ ०७:३६
७.१२°C काठमाडौं














