कतार प्रकरणबाट सिक्नुपर्ने पाठ- विचार - कान्तिपुर समाचार

कतार प्रकरणबाट सिक्नुपर्ने पाठ

सम्पादकीय

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संकटका कारण नेपालले मुलुकभित्र मात्र होइन, बाहिर रहेका आफ्ना नागरिकहरूप्रति पनि उत्तिकै चासो राख्नुपर्ने देखिएको छ । सोमबार कतारबाट एकैचोटि अढाई सय नेपाली कामदार काठमाडौं ‘डिपोर्ट’ गरिएपछि यस्तो आवश्यकता टड्कारो देखिएको हो ।

विदेशमा बस्ने हरेक नेपालीको स्वास्थ्य र सबैखाले सुरक्षा अवस्थाबारे जानकारी राख्नु सरकारको दायित्व हो । खासगरी, वैदेशिक रोजगारीमा गएका कामदारहरू जो हरेक हिसाबले निरुपाय छन्, तिनीहरूको अवस्थाबारे सरकारले विशेष चासो राख्नुपर्छ । र, उनीहरूलाई कुनै सहयोगको खाँचो देखिएमा आवश्यक कूटनीतिक पहल गर्नुपर्छ ।


नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुक मलेसिया र खाडीमा यो विषाणुको संक्रमण फैलिसकेकाले सरकार विशेष चनाखो हुन आवश्यक छ । अहिलेसम्म मलेसियामा साढे ६ सय व्यक्तिमा संक्रमण देखिएकोमा एकजनाको निधन भइसकेको छ । यस्तै, कतारमा साढे ४ सय, संयुक्त अरब इमिरेट्समा १ सय, कुवेतमा १ सय ३० र बहराइनमा २ सय ३६ जनामा संक्रमण भएको पुष्टि भइसकेको छ । यीमध्ये नेपाली कामदारका दृष्टिले कतारको स्थिति अलि बढी संवेदनशील देखिन्छ । त्यहाँ संक्रमण बढी देखिएको औद्योगिक क्षेत्र सनैया आसपासमात्रै दुई लाख जति नेपाली छन् । मंगलबार कतार सरकारले उक्त क्षेत्रको केही भागमा दुई साताका लागि आवतजावत गर्न रोक लगाएको छ, जहाँ मात्रै ५० हजारभन्दा बढी नेपाली बस्छन् ।


कतारमा ३ लाख ५१ हजार नेपाली कार्यरत छन् । त्यहाँको सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगाउन सबैलाई सुरक्षित राख्ने नीति लिएको छ । त्यसैले नेपाली दूतावासको बुझाइमा कतारले योजनाबद्ध रूपमा नेपालीलाई डिपोर्ट गरेको होइन । तर, सनैया क्षेत्रमा शुक्रबार दिउँसो तरकारी किन्न जाँदा पक्राउ परेकाहरूलाई कसैले पनि बाहिर निस्किनु हुँदैन भनेको थिएन । आफूहरू डिपोर्टमा पर्नुको कारणबारे काठमाडौं ल्याइएकाहरूको ठूलो जमात अझै अलमलमा छ । सचेत नगराई एकैपटक उनीहरूलाई नेपाल फिर्ता पठाइएको छ । यो क्रम जारी रह्यो भने यसले छुट्टै किसिमको जटिलता सिर्जना गर्न सक्छ ।


त्यसैले कतार सरकारले संक्रमणबाट जोगिन अपनाएका उपायबारे नेपाली कामदारहरू सुसूचित छन् कि छैनन् भन्नेमा त्यहाँस्थित नेपाली दूतावासले विशेष ध्यान दिनुपर्ने देखिएको छ । किनभने, त्यहाँ तल्लो तहमा कार्यरत कतिपय नेपालीहरू सरकारले अपनाएका रणनीतिबारे सुसूचित नभएकाले अन्योलमा छन् । केहीसँग त स्मार्टफोन पनि छैन, सामान्य मोबाइल सेटबाटै घरमा कुराकानी गरिरहेका उनीहरू इन्टरनेटको दुनियाँबाट टाढा छन् । हरेक सूचनाका लागि उनीहरू रोजगारदातामाथि भर पर्नुपर्ने स्थिति छ । उता, रोजगारदाता भने अझै सही सूचना समयमै कामदारमाझ पुर्‍याउन असफल देखिन्छन् । यसले गर्दा कतारले नेपाली भाषामा जारी गरिएका सन्देशसमेत सबै कामदारमाझ पुग्न सकेको पाइँदैन ।


हालै मात्र कतारले सनैयास्थित निषेधित क्षेत्रमा नजान र भीडभाड नगर्न सूचना जारी गरेको छ । नेपाली कामदारमाझ यस्तो सूचना प्रवाहमा नेपाली दूतावासले पनि भूमिका खेल्नुपर्ने देखिन्छ । कतिपय कामदार बस्ने क्षेत्रमा त सञ्चारमाध्यमबाट भन्दा पनि ‘माइकिङ’ गरेरै सूचना दिनुपर्ने अवस्था छ । यसका लागि दूतावासले बढी नेपाली काम गर्ने कम्पनीका रोजगारदातासित सम्पर्क गरी आवश्यक प्रबन्ध मिलाउन लगाउनुपर्छ । साथै, त्यहाँका सामाजिक संस्थालाई पनि यसबारे अनुरोध गर्न सकिन्छ ।


यति ठूलो संख्यामा नागरिकहरू एकैपटक डिपोर्ट भएकाले यस्तो अवस्था फेरि आउन नदिन दूतावास अग्र–सक्रिय हुनुपर्छ । अकस्मात् घर फर्काइएका नेपालीले कम्पनीसँग गर्नुपर्ने हरहिसाब टुंग्याउन पनि उसले सहजीकरण गर्नुपर्छ । यसका लागि डिपोर्टमा परेका कामदारले काठमाडौंस्थित वैदेशिक रोजगार बोर्ड वा कन्सुलर विभागमा गएर उजुरी दिनुपर्ने छ । र, सम्बन्धित कम्पनीमार्फत तलब र बोनस दिलाउन दूतावास लाग्नुपर्छ । यसका साथै, संक्रमणबाट प्रभावित मुलुकस्थित नेपाली दूतावासहरूले त्यहाँ भइरहेका हरेक घटनाक्रमको सूचना अविलम्ब नेपाल सरकारलाई उपलब्ध गराउनुपर्छ, ताकि आवश्यक पर्दा नेपाल सरकारको उच्च तहबाटै पनि कूटनीतिक पहलहरू गर्न सकियोस् । र, नेपाल सरकारले यहाँ प्रभावित मुलुकहरूबाट आएका नेपालीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ ।

प्रकाशित : चैत्र ५, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

वडापिच्छे मैदान बन्दै

डम्बरसिं राई

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडामा खेल मैदान बनाउन थालिएको छ । वडा ५ लफ्याङमा वडाको १८ लाख ५० हजार रुपैयाँको लागतमा मैदान निर्माण भइसकेको छ ।

वडाध्यक्ष निर्मल राईका अनुसार मैदानका लागि गत वर्ष १२ लाख ५० हजार र यस आर्थिक वर्ष ६ लाख गरी १८ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । मैदानको लम्बाइ १ सय ३७ मिटर र चौडाइ ५० मिटरको छ । मैदानलाई स्थानीय पन्चशेर राईले ११ रोपनी, सर्वजित राईले ६ रोपनी, हर्कराज राईले ५ रोपनी, बालाचन्द्र राईले ७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

वडा ११ खार्मीमा पनि मैदान बनाइएको छ । वडाको ५ लाख १५ हजार र नगरपालिकाको १५ लाख ८५ रुपैयाँ खर्च गरिएको छ । १ सय १० मिटर र चौडाइ ७४ मिटरको मैदानमा स्थानीय खेलाडीले विभिन्न खेलको अभ्यास र प्रतियोगिता गर्न सक्नेछन् । मैदानका लागि स्थानीय कृष्णकुमारी तामाङ, इन्द्रजित राई र पुष्कर राईले करिब साढे ७ रोपनी जग्गा निःशुल्क दिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताए । अरु जग्गा भने पर्ती रहेको वडाध्यक्ष रामचन्द्र राईले जनाए ।

वडा १४ बुइपामा पनि मैदान निर्माण भइरहेको छ । २०६५ मा सुरु गरिएको मैदान अझै सकिएको छैन । यसका लागि झन्डै ३ करोड खर्च भइसकेको वडाध्यक्ष दिनेश राईले बताए । तत्कालीन बुइपा गाविसको ५ लाख, देश विदेशका दाताबाट १८ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख, पूर्व सांसद पाँचकर्ण राईको पूर्वाधार विकास कार्यक्रममार्फत् ३० लाख, पूर्वसांसद सरस्वती बजिमयको कार्यक्रमबाट १० लाख, नगरको १८ लाख, प्रदेश सरकारको गत आवबाट ५० लाख र चालु आवबाट ६० लाख बजेट खर्च गरिएको छ । वडा २ सोल्मामा पनि मैदान बन्दैछ । २०७० सालदेखि निर्माण सुरु गरिएको सोल्मा स्पोर्ट्स क्लबको नाममा भएको यो मैदान अझै सकिएको छैन । यसका लागि करिब १ करोड रकम खर्च भएको छ ।

सोल्मा क्लबका अध्यक्ष ध्रुवविक्रम राईका अनुसार नगरको ५ लाख, तत्कालीन जिल्ला विकास समिति खोटाङको ५ लाख, दाताबाट २० लाख, प्रदेशसभा सदस्य राजन राईको पूर्वाधार विकास कार्यक्रममार्फत् १७ लाख र प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको कोषबाट ५० लाख उपलब्ध भएको राईले जनाए । उक्त मैदानका लागि स्थानीय ध्यानबहादुर राईलगायतले १० रोपनी निःशुल्क र अन्य २५ रोपनी खरिद गरिएको हो । उक्त मैदानको लम्बाइ १०० मिटर र चौडाइ ६० मिटर रहेको छ ।

प्रकाशित : चैत्र ५, २०७६ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×