कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कोरोना रोकथाममा मास्कको प्रभावकारिता

धूलो र धूवाँबाट जोगिन पंक्तिकारद्वयले निकै पहिलेदेखि नियमित रूपमा अनुहार मास्क लगाउने गरिरहेका छौं । हामीले गत वर्ष मास्कले धूलोका कण कति प्रभावकारी ढंगले रोक्न सक्छ भन्नेबारे अनुसन्धान गरेका थियौं । हाम्रो अध्ययन अनुसार, घरबाहिर निस्किने सयमध्ये करिब तीस जना काठमाडौंबासीले मात्रै मास्क लगाउँछन् । तर चीनबाट फैलिएको नोवल कोरोना भाइरसका कारण अहिले अनुहार मास्क लगाउनेको संख्या उल्लेख्य बढेको छ । 

कोरोना रोकथाममा मास्कको प्रभावकारिता

बजारमा मास्कको अभाव नै देखिएको छ । मूल्य पनि बढेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस आपत्काल घोषणा गरेपछि मास्कको माग संसारभरि अत्यधिक बढेको छ । नेपालबाटै लाखौं मास्क चीन र हङकङतिर निर्यात भएको समाचार आएको थियो । केही दिनअघि नेपालले त चीनलाई सहयोगस्वरूप मास्क प्रदान गर्‍यो । चीनको वुहानमा सरकारले जनतालाई सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा मास्क लगाउन भनेको छ ।

चीन र भारतले मास्क निर्यातमा प्रतिबन्ध नै लगाएका छन् । नेपाली बजारमा मास्कको कमी नहोस् भनेर औषधी व्यवस्था विभागले निर्यात नगर्न र आवश्यक मास्क राख्न सप्लायर्स र उत्पादकलाई सार्वजनिक अनुरोध गरेको छ । अहिले नेपाली जनमानसले भाइरस सर्नबाट जोगिने आशामा मास्क लगाइराखेको बुझ्न कठिन छैन । तर मास्कले साँच्चिकै भाइरस सर्नबाट जोगाउला त ?


थरीथरीका मास्क

अनुहार मास्कले प्रयोगकर्ताको मुख र नाकलाई बाहिरी वातावरणबाट छुट्याउन भौतिक छेकबार लगाउँछ । मास्कहरू विभिन्न पदार्थले बनेका, विभिन्न मोटाइ भएका, फरक–फरक तह भएका हुन्छन् । र, त्यही बमोजिम तिनमा तरल पदार्थको छिटा, धूलिकणबाट जोगाउने अनि संक्रमणबाट रोकथाम गर्ने क्षमता पनि फरक–फरक हुन्छ ।


हाम्रो अनुसन्धान अनुसार, काठमाडौंमा मास्क लगाउनेमध्ये दुईतिहाइभन्दा बढीले कपडाको मास्क लगाउने रहेछन् । यस्तो मास्क अन्य प्रयोजनमा प्रयोग हुने कपडाबाट स्थानीय रूपमै बनाइन्छ र सस्तो हुन्छ । यस्तो मास्क धोएर पुनः लगाउने गरिएको छ । अन्य विकासशील देशहरूमा पनि अत्यधिक प्रयोग हुने मास्क हो यो । यस्तो मास्कमा दुई पत्र हुन्छन् । कानमा अड्याउनका लागि प्रयोग गरिने डोरोले तानतुन पार्दा मास्क नै तानिन्छ । कपडाका मास्कमा करिब ८०–५०० माइक्रोमिटर ठूला प्वाल हुने हाम्रो अनुसन्धानले देखाएको छ । त्यसैले तिनले धूलिकणहरू त्यति राम्रोसँग छेक्न सक्दैनन् । अझ धोएर लगाउँदा र तन्काउँदा यस्ता मास्कको कण छान्ने क्षमता २० प्रतिशतभन्दा बढी ह्रास हुने गर्छ ।


काठमाडौंमा प्रयोग हुने अर्को किसिमको मास्क हो— सर्जिकल वा मेडिकल । यस्तो मास्क प्रायः अस्पताल र प्रयोगशालातिर लगाउने गरिएको हामी देख्छौं । काठमाडौंमा मास्क लगाएर हिँड्नेमध्ये करिब एकतिहाइले सर्जिकल मास्क लगाएको देखिन्छ । सर्जिकल मास्क झिल्ली पनि राखेको अलि फरक सामग्रीले बनेको हुन्छ र अलि महँगो पनि छ । यो मास्कमा प्रायः तीन पत्र हुन्छन् । नाकको डाँडीमा पर्ने गरी धातुको मसिनो पाता पनि राखिएको हुन्छ, जसले मास्कलाई नाकमा टम्म टाँसिन सहयोग गर्छ । यस्तो पाता कपडाको मास्कमा हुँदैन । झिल्लीमा रहेका प्वालहरू कपडाको मास्कका प्वालभन्दा साना हुन्छन् । रेसाहरू एकमाथि अर्को बसेका कारण सर्जिकल मास्कले अलि साना कण पनि रोक्न सक्छ । हाम्रो अनुसन्धानले सर्जिकल मास्कको धूलिकण फिल्टर गर्ने क्षमता कपडाको मास्कको भन्दा निकै राम्रो देखाएको छ । सर्जिकल मास्कको गुणस्तर उत्पादक अनुसार केही फरक हुनसक्छ ।


अमेरिकाको एफडीएले यस्ता मास्क उत्पादकहरूका लागि निर्देशिका जारी गर्ने गरेको छ । त्यहाँ हरेक उत्पादकले मास्कमा प्रयोग हुने कपडाको किसिम, आकार, नाप, तानिने शक्ति, कानमा लगाउने हो कि टाउकोपछाडि बाँध्ने हो, स्वास्थ्य जोखिम के–के हुन सक्छन्, तरल पदार्थ छेक्न सक्छ कि सक्दैन, धूलिकण, ब्याक्टेरिया आदि कति फिल्टर गर्न सक्छ जस्ता धेरै तथ्य उल्लेख गर्नुपर्ने हुन्छ ।


अत्यन्तै कम मान्छेले प्रयोग गरेको देखिने अलि महँगो खालको मास्क एन ९५ हो । यस्तो मास्क विशेष परिस्थितिमा प्रयोग गरिन्छ । नेपालमा सामान्यतया यस्तो मास्क प्रयोग गरिएको पाइँदैन । यो मास्क अनुहारमा राम्रोसँग फिट हुन्छ । यो मास्कको साना कण छान्ने वा रोक्ने क्षमता सर्जिकल मास्कको भन्दा बढी हुन्छ । राम्रोसँग लगायो भने यस्तो मास्कले ३०० न्यानोमिटर तहका धेरै साना कण ९५ प्रतिशतसम्म छेक्न सक्छ । तर यो मास्क सर्वसाधारणले दैनिक प्रयोजनका लागि प्रयोग गरिरहन त्यति उपयुक्त हुँदैन, अप्ठ्यारो हुन्छ ।


मास्कको प्रभावकारिता

विभिन्न अध्ययन अनुसार, मास्क प्रयोग गर्नाले धूलोबाट हुने जोखिम, स्वास्थ्य क्षेत्रमा हुने संक्रमण, सरुवा रोगको आपत्कालीन अवस्थामा केही हदसम्म रोकथाम हुने गर्छ । मास्क लगाउँदा रोग सर्न सक्ने सम्भावना घट्छ । प्रयोगकर्ताको मुख वा नाकबाट निस्कने सम्भाव्य दूषित पदार्थ अर्को व्यक्तिसम्म पुग्न रोकिन्छ । राम्ररी प्रयोग गर्‍यो भने मास्कले खोक्दा वा हाच्छिउँ गर्दा निस्कने ठूला तरल कणमा भएका भाइरस, ब्याक्टेरिया लगायतका रोगाणु पनि सर्ने सम्भावना निकै कम हुन्छ । त्यसै गरी मास्क लगाउँदा थूक वा र्‍याल र श्वास–प्रश्वास सम्बन्धी स्राव अन्य व्यक्तिसम्म पुग्न पाउँदैन ।


सर्जिकल मास्क अनुहारमा टपक्क फिट नहुने भएकाले पनि यसको कार्यक्षमता कम हुन्छ । त्यसैले मास्कले रोगाणुबाट पूरा सुरक्षा गर्छ भनेर ढुक्क हुन भने मिल्दैन । सर्जिकल मास्कले खास गरी माइक्रोन तहका कणहरू रोक्न मद्दत गर्छ । यस्तो मास्क लगाएका बेला खोक्दा वा हाच्छिउँ गर्दा मुखबाट निस्कने वा अन्य शारीरिक तरल कण एकअर्कामा सर्न दिँदैन । श्वास–प्रश्वास सम्बन्धी संक्रमण भएको व्यक्तिले यस्तो मास्क लगाउँदा संक्रमण अन्य व्यक्तिमा सर्न कम हुन्छ भने, सार्वजनिक स्थानमा कुनै संक्रमित व्यक्तिले खोके वा हाच्छिउँ गरे उक्त व्यक्तिबाट निस्केको तरल कण मास्क प्रयोगकर्तासम्म पुग्ने जोखिम कम हुन्छ । अमेरिकाको एफडीएले माथिका अवस्थामा सर्जिकल मास्क लगाउन अनुमोदन गरेको पाइन्छ । त्यसका लागि सर्जिकल मास्क निश्चित मापदण्ड पुगेको हुनुपर्छ । यस्तो मास्कले अत्यन्तै साना न्यानोमिटर तहका धूलोका कण वा भाइरसका कण भने नरोक्ने सम्भावना बढी हुन्छ । तर नेपालमा बनाइने सर्जिकल मास्क कस्तो गुणस्तरका छन्, तिनको अनुमोदन वा स्वीकृति कुनै निकायले गरेको छ कि छैन ?


एन ९५ मास्क भने स्वास्थ्यकर्मीहरूले कोरोना भाइरसजस्तो श्वास–प्रश्वास सम्बन्धी संक्रमण भएको व्यक्तिको उपचारमा संलग्न हुँदा लगाउनु प्रभावकारी मानिन्छ । स्वास्थ्यकर्मीहरूले त श्वास–प्रश्वास सम्बन्धी बिरामी हेर्दा अनिवार्य रूपमै मेडिकल मास्क लगाउनुपर्छ । बिरामीको अवस्था हेरी एन ९५ मास्क पनि लगाउनुपर्ने हुन्छ । यति हुँदाहुँदै पनि एन ९५ ले सम्पूर्ण रूपमा सबै कण रोक्न सक्दैन । कपडाको मास्क भने कुनै पनि अवस्थामा नलगाउन नै सिफारिस गर्ने गरिएको छ ।


सरुवा रोग लागेका बिरामीहरूले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने गरे कीटाणु फैलन पाउँदैन । तर श्वास–प्रश्वास सम्बन्धी संक्रमणबाट बच्न कुनै पनि स्वस्थ मानिसले मास्कमा पूरै भर पर्नचाहिँ हुँदैन । कोरोना जस्तो भाइरस फैलिन नदिन दिनहुँ राम्रोसँग हात धोइरहने र बिरामी मान्छेबाट टाढै बस्ने गर्नुपर्छ । कोरोना भाइरस कि त श्वास–प्रश्वास ड्रप्लेट कि त संक्रमित मान्छेलाई छुँदा स्वस्थ मान्छेमा सर्छ । त्यस कारण रोगी मान्छेले खोक्दा वा हाच्छिउँ गर्दा एक मिटरको दूरीसम्म कोरोना भाइरस अर्को मान्छेलाई सर्ने जोखिम हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, सर्जिकल मास्क लगाउँदा कोरोना लगायत केही श्वास–प्रश्वास सम्बन्धी रोगहरू फैलिनबाट रोकथाम गर्न सकिन्छ । तैपनि बुझ्नुपर्ने कुरा के छ भने, मास्क मात्रैले सुरक्षा गर्न सक्दैन ।


सामान्यतया निरोगी सर्वसाधारणले मास्क लगाइहाल्नु जरुरी छैन । तर सार्वजनिक स्थानमा गएका बेला नजिकैको कुनै रोगी मानिसले खोक्यो वा हाच्छिउँ गर्‍यो भने संक्रमण हुनबाट जोगिन त्यो चाहिन्छ नै । श्वास–प्रश्वास सम्बन्धी रोगको लक्षण भएका व्यक्तिले मास्क लगाउनु नै बुद्धिमानी हुन्छ । कोरोना संक्रमित शंकास्पद व्यक्ति घर वा नातागोतामा छन् भने नजिक पर्ने बेला सर्जिकल मास्क लगाउनुपर्छ । सामान्यतया यस्तो मास्क घरमा र समुदायमा लगाउन रुचाइँदैन । तर फ्लु, कडा रुघाखोकी संक्रमण जस्ता श्वास–प्रश्वास सम्बन्धी रोग सर्नबाट बच्न लगाउनैपर्छ ।


मास्क लगाउने तरिका

कुनै मास्कले कति हदसम्म अस्वस्थकर कणहरू रोक्छ भन्ने कुरा त्यो कसरी लगाइन्छ भन्नेमा निर्भर हुन्छ । सर्जिकल मास्क खुकुलो हुन्छ । नाकको माथिपट्टि दायाँ–बायाँबाट वा कानको नजिकबाट वा मुखको तलबाट हावा सजिलै छिर्छ । यी ठाउँबाट कणहरू चुहावट हुने प्रशस्त सम्भावना हुन्छ । मास्क नलगाउँदा च्याप्टो हुन्छ । मास्कलाई मुख र नाक ढाक्ने र मुखमै टाँसिने गरी राख्ने र तुना पछाडि लगेर दुई कान वा टाउकामा अड्याएर कस्नुपर्छ ।

सही तरिकाले मास्क नलगाउँदा यसको प्रभावकारिता कम हुनसक्छ र रोग सर्ने जोखिम बढी हुनसक्छ ।


मास्क सही तरिकाले लगाउनु त छँदै छ, लगाइसकेपछि सही तरिकाले निकाल्नु र सुरक्षित तरिकाले विसर्जन गर्नु पनि महत्त्वपूर्ण हुन्छ । लगाइराखेका बेला मास्क सकेसम्म छुन हुन्न । मास्क निकाल्दा पनि अगाडिको भाग नछोई पछाडिबाट तुना समात्नुपर्छ । मास्क निकालिसकेपछि तुरुन्तै साबुनपानीले हात धुनुपर्छ । मास्क बिग्रेको छ, भिजेको छ वा सास फेर्न गाह्रो हुने भएको छ भने लगाउन हुँदैन ।


अचेल बालबालिकालाई पनि मास्क लगाइदिएको देखिन्छ । आवश्यक नपरेसम्म मास्क नलगाएकै बेस । मास्क लगाइरहन त्यति सहज भने हुँदैन । कति मान्छेलाई निसासिए जस्तो हुन्छ । चस्मा लगाउनेलाई चस्मामा बादल लाग्छ । मास्क लगाएर कुरा गर्न असहज हुन्छ । एक पटक लगाउन बनाइएका मास्क पुनः प्रयोग गर्नु हुँदैन । एक जनाले लगाइसकेको मास्क अर्को व्यक्तिलाई लगाउन दिनु हुँदैन । एन ९५ मास्क भने बालबालिकाका लागि उपयुक्त मानिँदैन ।


अन्त्यमा, गत अक्टोबरमा प्रतिष्ठित जर्नल ‘एनल्स अफ इन्टरनल मेडिसिन’ मा प्रकाशित अनुसन्धानमा उल्लेख भए अनुसार, हातको सरसफाइ र मास्क लगाउने कार्य घर–घरमै प्रभावकारी रूपमा गर्‍यो भने कडा खालको रुघाखोकी लगाउने भाइरस फैलन निकै कम हुन्छ । यो उपाय महामारीका बेला अत्यन्त उपयोगी हुन्छ । भीडभाडमा हुँदा वा रुघाखोकी लागेका बेला सर्वसाधारणले सही तरिकाले सर्जिकल वा मेडिकल मास्क लगाउनु उचित हुन्छ ।

गिरी काठमाडौं व्यावहारिक विज्ञान प्रतिष्ठान र न्यौपाने त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन् ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?