अझै छ रेडियोको सान्दर्भिकता 

पवन आचार्य

आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले २०११ नोभेम्बर ३ मा फेब्रुअरी १३ लाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको हो । त्यसयता हरेक वर्ष रेडियो दिवस मनाउने गरिएको छ । रेडियोलाई महत्त्वपूर्ण सञ्चार माध्यमको रूपमा सम्मान गर्न, प्रसारक बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियोमा सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । 

यस सन्दर्भमा एउटा तितो सत्य प्रस्तुत गर्न मन लाग्यो । ८० वर्षभन्दा लामो इतिहास भएको भारतको लोकप्रिय रेडियो बीबीसी हिन्दी सेवा गतमाघ १७ गते अन्तिम कार्यक्रम गर्दै बन्द भयो । कार्यक्रमको लोकप्रियता र श्रोता घट्दै गएकाले रेडियो बन्द गर्नुपरेको बीबीसीले जनाएको छ । रेडियो बन्द भए पनि अनलाइन सेवा भने यथावत रहनेछ । १९४० मे ११ मा सुरु भएको यो रेडियो एक वर्ष अघिदेखि नै बन्द गर्ने प्रक्रिया सुरु भएको थियो ।


नेपालमा अहिले नै श्रोताको संख्या घटेकाले रेडियो बन्द गर्ने निर्मम निर्णयमा पुगिहाल्नुपर्ने अवस्था आइहालेको छैन । तर, रेडियोप्रति श्रोताको चाख बढाउने काम गरिएन भने त्यो दिन धेरै टाढा पनि छैन । २०५२ फागुन १० गते रेडियो नेपालले एक सय मेगाहर्जमा एफएम रेडियो सञ्चालन गर्ने अनुमति लिएयता अहिले मुलुकभर ७ सय ४० एफएम स्टेसनहरूले इजाजत लिइसकेका छन् । तीमध्ये अधिकांश सञ्चालनमा छन् ।


इन्टरनेट र मोबाइल फोनको बढ्दो प्रयोगले परम्परागत सञ्चार माध्यमहरूको उपयोगमा कमी आउन थालेको विभिन्न सर्वेक्षणले देखाएका छन् । पत्रिका र रेडियो इन्टरनेटको व्यापक विस्तारपछि खुम्चिनुपर्ने अवस्थामा पुगेको आभास भइसकेको छ । पहिले पाठक र श्रोताले पत्रिका र रेडियो ती सञ्चार माध्यमको अनुकूलता र उपलब्धताका आधारमा पढ्ने र सुन्ने गर्थे । अहिले अवस्था उल्टिएर पाठक र श्रोताको अनुकूलतामा ती माध्यमको उपयोग हुने क्रम बढेको छ ।


मोबाइल फोनको फैलावटले अहिले मुलुकको ७१ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेको तथ्याङ्क छ । यीमध्ये ५५ प्रतिशतले मोबाइलमार्फत इन्टरनेट प्रयोग गर्ने गरेको नेपाल दूरसञ्चार प्राधिकरणको कात्तिक २०७६ को मासिक प्रतिवेदनले देखाउँछ । तर, हाम्रा रेडियोका कार्यक्रमहरू ती मोबाइल प्रयोगकर्ताहरूप्रति लक्षित छैन । वा भनौं जहाँ श्रोता छन्, त्यहाँ प्रसारकहरू पुग्न सकिरहेका छैनन् ।


रेडियोको सबैभन्दा सबल पक्ष भनेको विभिन्न भाषाभाषीका कार्यक्रम सञ्चालन गर्नु हो । रेडियोको फैलावट यसरी तीव्र गतिमा नहुँदो हो त मातृभाषामा देशदेशावरका सूचना र मनोरञ्जन प्राप्त गर्ने अवसरबाट विभिन्न भाषाभाषी समुदायहरू बञ्चित हुने थिए । यसले भाषाको मात्र होइन, संस्कृति जर्गेनामा पनि राम्रै टेवा पुगेको छ । पहिले रेडियो नेपालले थालेको भाषाभाषी सम्बन्धी कार्यक्रम अहिले विभिन्न जिल्लामा सञ्चालित एफएम स्टेसनहरूले गर्न थालिसकेका छन् । जसले गर्दा स्थानीयलाई उनीहरूकै लवजमा सूचना प्राप्त गर्ने अवसर जुरेको छ र त्यसले सूचनामा मिठास पनि थप्छ । देशभरि खुलेका रेडियो स्टेसनहरूबाट विभिन्न समुदायले आआफ्नो मातृभाषामा कार्यक्रम सञ्चालन गर्न पाउनाले बहुजातीय, बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक मुलुकको पहिचानले थोरैमात्र भए पनि सार्थकता पाएको छ । यस अघि सञ्चार जगतमा पनि बहुपहिचानको विषय संविधानको धारामा मात्रै सीमित थियो । तर अहिले विभिन्न भाषामा सञ्चालित कार्यक्रममार्फत समुदायले आफ्नो अनुभूति, विचार, दृष्टिकोण आफ्नै मातृभाषामा अभिव्यक्त गर्न पाएका छन् । समाज रूपान्तरणका लागि आफ्ना ज्ञान, अनुभव, क्षमता र योजना प्रस्तुत गर्ने भरपर्दो थलो पनि रेडियो हुनपुगेको छ । यसले ती समुदायमा आत्मगौरवको विकास पनि गराएको छ । रेडियो कार्यक्रमहरू समुदायका लागि सूचना एवं जानकारी सम्प्रेषण गर्ने भरपर्दो विकल्पका रूपमा उभिएको छ । साथै मातृभाषामा रेडियोमा बोल्न र सुनाउन पाउँदा ती समुदायमा रहेको हीनताबोधलाई चिर्ने काम पनि भएको छ ।


नेपाल जस्तो गरिबी र अस्तव्यस्तताले जकडिएको मुलुकमा रेडियोको भूमिका महत्त्वपूर्ण देखिन्छ । असमान भौगोलिक धरातल र असमान विकासले गर्दा नेपालमा रेडियोको पहुँच अझ बढाउनुपर्ने देखिएको छ । रेडियोहरूलाई वास्तविक आवाजविहीनहरूको आवाज बनाउन कार्यक्रमको प्रस्तुतिमा परिमार्जनसँगै श्रोताको चाहनालाई प्राथमिकतामा राख्न जरुरी छ । नभए रेडियो अहिलेझैं कुइरोको काग हुन बेर छैन । नियन्त्रण र नियमनभन्दा माथि देखिएका रेडियोहरूले सत्य–तथ्य, निष्पक्षजस्ता पत्रकारिताको धर्म धान्नसकेका छैनन् । जसले गर्दा आम नागरिकको विश्वासको कसीमा सबै रेडियो खरो उत्रिनसकेका छैनन् । समयक्रमसँगै सूचना प्रवाहको गहकिलो जिम्मेवारी बोक्ने रेडियोहरू श्रोताको नजरमा विश्वासिलो माध्यमका रूपमा स्थापित हुन सकेनन् भने त्यसको प्रभाव आमसञ्चार र पत्रकारिताका अन्य माध्यममा पनि पर्न सक्छ ।


लोकतान्त्रिक आन्दोलन, विनाशकारी भूकम्प, बाढी र पहिरोको प्रकोपजस्ता इतिहासका महत्त्वपूर्ण कालखण्डमा नेपाली रेडियोहरूले सूचना सम्प्रेषणमा पुर्‍याएको योगदानकै कारण अहिले पनि यो विश्वासिलो माध्यमका रूपमा श्रोताका मनमा बस्न सफल छ । तर, अनलाइन न्युज पोर्टलहरूले छिनछिनमा विश्वभरका ताजा सूचना पाठकका मोबाइल स्क्रिनमा पुर्‍याउन थालेपछि रेडियोले तीव्र रूपमा सूचना प्रवाहभन्दा पनि विषय–वस्तुको गहनतामा पुग्ने कोसिस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अझ सामाजिक सञ्जालमा आइसकेका सूचनालाई रेडियोले समाचारका रूपमा प्रस्तुत गर्दा श्रोताको चाहना पूर्ति हुन सक्दैन । कुनै पनि विषयको साङ्गोपाङ्ग प्रस्तुति, फरक मतलाई पनि दिइने स्थान, नेताहरूको भाषण र कटाक्षभन्दा विशेषज्ञको अनुभवमा आधारित भएर रेडियो कार्यक्रम र समाचारहरू सम्प्रेषण गर्नुपर्ने बेला आइसकेको छ । तर, त्यसका लागि रेडियोमा काम गर्ने जनशक्तिमा लगानी आवश्यक छ । जुन अहिले रेडियो प्रसारकहरूको प्राथमिकतामा छैन । श्रोता के सुन्न चाहन्छन् भन्दा पनि प्रसारकहरू के सुनाउन चाहन्छन् भन्नेले बढी महत्त्व र स्थान पाउने क्रमको अन्त्य आवश्यक छ ।


सर्वेक्षणले के देखाएको छ भने श्रोताहरू पहिलेजस्तो रेडियो सुनेर बस्दैनन् । समाचार र विभिन्न सूचना जान्न रेडियो सुन्नेले पनि आफ्नो अनुकूलतामा मात्रै यसको प्रयोग गर्छन् । साँझ–बिहान बाहेक आफ्नो अनुकूलता वा फुर्सदमा रेडियो सुन्ने जमात बढ्दो छ । त्यसैले श्रोता जहाँ त्यहीँ रेडियो सामग्री पुर्‍याउनुपर्ने नयाँ चुनौती रेडियोकर्मीहरूलाई छ । पछिल्ला दिनमा विषय र प्रस्तुति केन्द्रित एफएमहरू खुल्ने क्रम बढ्दो छ । किनभने श्रोताको चाहना समयसँगै परिवर्तन हुँदै गइरहेका मात्रै छैनन् कि आफ्नो विषय केन्द्रित विषयमा उनीहरूको रुचि पनि उत्तिकै बढ्दो छ । पहिले जस्तो एउटै रेडियोबाट सूचना, मनोरञ्जन, व्यंग्य, शिक्षा, स्वास्थ्य लगायतको जानकारी खोज्ने श्रोता अचेल छैनन् ।


गाउँघरतिर बुढापाकाले नयाँ पुस्तालाई कथा सुनाउँदा अन्त्यमा ‘सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला....’ भन्दै कथाको बिट मार्थे । उतिबेलादेखि नै श्रोतालाई कति महत्त्व दिइन्थ्यो भन्ने बुझ्न हामी सबै विगततर्फ फर्किने हो भने पनि पुग्छ । अचेल हाम्रा रेडियोहरू श्रोताकेन्द्रित कम र आत्मकेन्द्रित ज्यादा त भइरहेका छैनन् ? ‘सेयरकाष्ट इनिसियटिभ’को तथ्याङ्कले के देखाएको छ भने इन्टरनेट चलाउनेमध्ये ९५ प्रतिशत सामाजिक सञ्जालमा सक्रिय छन् । त्यस्तै रेडियो सेटको प्रयोग गर्नेहरू ४८ प्रतिशत हाराहारी हुँदा मोबाइलमार्फत रेडियो सेट सुन्ने श्रोताको संख्या ५६ प्रतिशत छ । यसले पनि रेडियोका कार्यक्रमहरू कतातिर केन्द्रित हुनुपर्छ भन्ने सङ्केत गर्छ ।


रेडियोको सम्पत्ति त्यहाँ बज्ने गीत/संगीत र सूचना हुन् कि श्रोता ? गहिरिएर सोच्ने बेला भएको छ । रेडियोकर्मीसँगै व्यवस्थापकहरूले पनि यसबारे श्रोतालाई समय घर्किनु अघि नै जानकारी गराउँदा उत्तम हुन्छ । किनभने श्रोता भएकाले रेडियो हुने हो । रेडियो भएकै कारण श्रोता हुने अवस्थाको अन्त्य नेपालमा पनि धेरै अघि नै भइसक्यो । प्रकाशित : फाल्गुन १, २०७६ ०८:३७

प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती उत्खननमा रोक

शिव पुरी

रौतहट — जिल्ला समन्वय समिति रौतहटले वाग्मती नदीमा नदीजन्य सामग्री उत्खननमा रोक लगाएको छ । मापदण्ड मिच्दै २ मिटरसम्म उत्खनन गरिएको अनुगमनमा भेटिएपछि समितिले रोक लगाएको हो । 

उत्खनन रोक्नुमा सर्लाहीसित सीमाको विवाद बढेको र जथाभावी खाडल बनाएको विषयलाई समितिले कारण देखाएको छ । गत वर्ष पनि उत्खननको ठेक्का पाएको ठेकेदारले मनपरी नदीजन्य सामग्री झिकेको पाइएको थियो । चन्द्रपुर–१ स्थित वाग्मतीमा ठूलो खाडल बनाएर मापदण्ड विपरीत उत्खनन भएको पाइएपछि प्रशासनको निर्देशनमा समन्वय समितिले रोक लगाएको हो ।

समितिका उपसभापति रामआशिष रायले जिल्ला प्रशासनसित मापदण्डको परिधिभित्र बालुवा–गिट्टीको निकासीमा कडाइ गर्न छलफल गर्ने बताए । ‘ठेकेदारले लाखौंमा ठेक्का सकारेको हुन्छ । खोलामा अलिअलि खाडल त भइहाल्छ नि,’ उनले भने, ‘त्यही पनि स्थानीय प्रशासनसहित बसेर कसरी मापदण्डभित्र बालुवा–गिट्टी निकासी गर्ने छलफल गर्नेछौं ।’खोलामा मनपरी उत्खनन रोक्न केही समयका लागि रोक लगाइएको उनले बताए । अघिल्लो वर्ष साह निर्माण सेवा सर्लाहीले सडक निर्माण र तटबन्धका लागि भन्दै एस्क्याभेटर प्रयोग गरी नदीमा ठूलो खाडल बनाएपछि विवाद बढेको थियो । समितिले २ मिटरसम्म गहिरो ४ सय मिटर लम्बाइ र २० चौडाइसम्म उत्खनन गर्ने सर्तसहित सम्झौता गरेकोमा ठेकेदारले सर्त उल्लंघन गर्दै नदीमा ठूलो खाडल पारेपछि अनुगमन टोलीले रोक लगाएको थियो । यही स्थानमा चन्द्रपुरले चालु आर्थिक वर्षका लागि १ करोड ६० लाख रुपैयाँमा ठेक्का लगाएको छ । ठेक्काकै आडमा ठेकेदारले जथाभावी उत्खनन गर्दै आएको छ ।

ठेकेदारलाई सम्झौता र वातावरण प्रभाव मूल्यांकन (ईआईए) बाहिर गएर काम नगर्न निर्देशन दिए पनि नदीमा एस्क्याभेटर प्रयोग गरी खाडल बनाइएको छ । स्थानीय तह गठन भएदेखि नै वाग्मतीको ढुंगा, गिट्टी र बालुवाको चन्द्रपुर नगरपालिकाले ठेक्का लगाउँदै आएका छन् । वाग्मतीको पूर्वतिर पर्ने सर्लाहीको बरहथवा नगरपालिकाले चालू आर्थिक वर्षदेखि उक्त नदी आफ्नो सीमा क्षेत्रमा पर्ने दाबी गर्दै आएको छ । उसले नदीजन्य पदार्थमा दाबी गरेपछि पछिल्लो समय दुवै नगरपालिकाबीच विवाद बढेको छ । विवादकै कारण जिल्ला प्रशासन सर्लाही र रौतहट प्रशासनले दुवैतिर नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

प्रकाशित : फाल्गुन १, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×