कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘स–साना बीपी कोइरालाहरू’

किशोर नेपाल

यतिबेला, परिप्रेक्ष्यमा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सांगठनिक हिसाबले असन्तोष र विद्रोहको ज्वाला नराम्रोसंग भड्किने सम्भावना देखिएको छ । एउटै पार्टीभित्र संस्थापन पक्ष र इतर पक्षको उपस्थितिले संगठनलाई अराजकताको डरलाग्दो भुमरीतिर धकेलिरहेको देखिन्छ । सभापति शेरबहादुर देउवा आफू वरपर भएका राजनीतिक घटनाक्रमतिर अलिकति पनि सचेत देखिएका छैनन् । न त आफूलाई ‘इतर पक्ष’ भनिएकोमा रमाएका वरिष्ठ नेता रामचन्द्र पौडेल नै सतर्क देखिएका छन् ।

‘स–साना बीपी कोइरालाहरू’

कांग्रेसका ख्यातिप्राप्त व्यक्तित्वका रूपमा स्थापित वरिष्ठ नेता पौडेल ‘देउवाले पार्टी सिध्याउने भए’ भन्ने लल्लरी सधैं गाउँछन् । देउवाको विकल्पमा के त ? तत्कालका लागि उनीसंँग पनि ‘पार्टीका पदहरूको भागबन्डा’ बाहेकका अन्य कुनै विकल्प छैनन् ।


सभापति देउवाको ‘इतर’ पक्षमा नाम दर्ता गराएका तथा कांग्रेसभित्र ‘छिटै’ शक्तिशाली देखिएका अर्का नेता हुन्, कृष्णप्रसाद सिटौला । कांग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाका ‘सन्देशवाहक’का रूपमा तत्कालीन क्रान्तिकारी माओवादी नेताहरूसंँग उनको बाक्लो भेटघाट हुने गरेको थियो । कास्की जिल्लाको सिक्लेसमा आराम फर्माइरहेका तत्कालीन जनसरकार प्रमुख बाबुराम भट्टराई र जनयुद्धका कमाण्डर प्रचण्डलाई हेलिकप्टर चढाएर बालुवाटार भित्र्याउने सिटौला नै थिए । भट्टराई र प्रचण्ड त्यतिखेर अर्धभूमिगत अवस्थामा थिए । यो सत्य हो, त्यतिखेर सिटौलाको साथमा गिरिजाप्रसाद कोइरालाका भतिजा शेखर कोइराला पनि थिए । पछि, देशले राजतन्त्रको काँचुली फेरेर गणतन्त्रमा प्रवेश गरेपछि, सिटौलाले नै राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबार छाड्ने गिरिजाप्रसादको सन्देश सुनाएका थिए ।


निश्चय पनि पछिल्लो समयमा शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समितिलाई नगण्य महत्त्व दिएका छन् । उनी एकातिर सहमतिको वार्ता गर्छन्, अर्कोतिर सानो बच्चाको पनि चित्त नबुझ्ने हिसाबले पार्टीको विधान मिचेर विभागहरूको संख्या बढाउँछन् । देशमा गणतान्त्रिक संविधान लागू भइसकेपछि भएको पहिलो संसदीय, प्रादेशिक र स्थानीय तीनवटा चुनावमा पार्टीको लज्जास्पद पराजयमा समेत सभापति देउवा संवेदनशील देखिएनन् । उनले यो पराजयलाई ‘दुई वामपन्थी दलको एकताका कारण सहज भएको’ पराजयको रूपमा लिए । पार्टीभित्रका विसंगति हटाउने कार्यकर्ताको माग पूरा गर्न उनले कुनै सक्रिय कदम चालेनन् । नयाँ लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापनापछि कांग्रेसमा जुन प्रकारको सांगठनिक हलचल देखिनुपर्ने थियो, त्यो कतै देखिएन ।


सभापति देउवाको कार्यकालमा कांग्रेसको सैद्धान्तिक र वैचारिक स्खलन तीव्र भयो । कांग्रेस सभापतिको नाम कुनै ‘ट्रस्ट’सँंग, कुनै ‘वाइड–बडी’सँग, कुनै ठेक्कासंग र कुनै आपराधिक पृष्ठभूमि भएका व्यापारीसँंग जोडिन थाल्यो । देशको प्रधानमन्त्रीले आफूले गरेको अनियमित कामको प्रतिरक्षा गर्न प्रतिपक्षी नेताले पनि उसको पालामा त्यो काम गरेको हो भन्नु राम्रो कुरा होइन । यी सबै कारणले पछिल्लो समयमा सभापति देउवाको साख गिर्‍यो । उनले यो बुझेनन्, २०६४ सालको चुनावमा कांग्रेसको हातबाट गुमेको देशको सत्ता २०७० मा जसोतसो पुन:स्थापित भएको थियो । २०७४ मा पार्टीले जुन स्तरको पराजय भोग्नुपर्‍यो, त्यसको नैतिक जिम्मासमेत लिएनन्, सभापति देउवाले । उनले चुनावमा पराजयको कारणको व्याख्या गर्दा ‘अन्तरघात’ शब्दको प्रयोग गरे । यो शब्द अब कांग्रेसको शब्दकोशमा चढिसकेको छ ।


कुनै समयमा पार्टीका बलिया युवानेता भनेर चिनिएका विपिन कोइराला भन्छन्, ‘कांग्रेसमा अहिले जति पनि नेता भनेर चिनिएका छन्, ती सबै आफूलाई स–साना बीपी कोइराला हौं भनेर सोच्छन् । कांग्रेसीहरूको दु:खको कारण यही हो । कांग्रेसीहरूको अर्को दु:ख के हो भने यिनीहरू इतिहासको जानकारी राख्दैनन् । २०१२ सालको वीरगन्ज अधिवेशनमा सुवर्ण शमशेर र गणेशमान सिंहका बीच सभापति पदमा प्रतिद्वन्द्विता हुँदा किन बीपीले आफूलाई सुवर्ण शमशेरको पक्षमा उभ्याउनुभएको थियो ? यत्ति मात्रै विश्लेषण गर्दा पनि कांग्रेसको सन्तुलित राजनीतिको जानकारी पाइन्छ । अहिले पार्टीको सम्पत्तिका रूपमा रहेको त्याग, योगदान, सैद्धान्तिक निष्ठा, साथीहरूबीचको पारस्परिक सम्बन्ध केही बचेको छैन ।’


जहाँसम्म शेरबहादुर देउवाको प्रश्न छ, संसदीय राजनीतिको असामयिक अवसानपछि सुरु भएको समकालीन पञ्चायत राजनीतिमा उनको खासै चासो र सोख थिएन । त्रिचन्द्र कलेजमा आईएस्सीमा भर्ना भएका देउवा सुरुमा आफूलाई ‘रेड कम्युनिष्ट’ भन्ने गर्थे । तर, उनी कम्युनिष्ट किमार्थ थिएनन् । त्यतिबेला सुदूर पश्चिमको समाज काठमाडौंबाट धेरै टाढा थियो । यो भूमि सामान्य मानिसका लागि बन्दजस्तै थियो । त्यसताका युवकहरू देशको राजधानीमा कोही परिचित छन् भनेमात्रै यता आउने गर्थे । सामान्य नेपालीका लागि काठमाडौंभन्दा भारतको पहाडी सहर पिथौरागढ धेरै नजिक पर्थ्यो, त्यस क्षेत्रका लागि । भाग्यवश, शेरबहादुर देउवाका एकजना परिचित थिए, काठमाडौंमा । उनी थिए, देवबहादुर रोका ।

घरेलु विभागका कर्मचारी रोका ‘परदेश’ जस्तो काठमाडौंमा देउवाका लागि अलिकति भरोसा पक्कै थिए । देउवाको पढाइ र राजनीति संँगसंँगै चल्न थाल्यो । उनको र रामेछापका शिवबहादुर खडकाको दोस्ती निकै चम्कियो । राजनीतिक चेतना भएका शिवबहादुर कमर्स पढ्थे, त्यही क्याम्पसमा । सम्भवत: शिवबहादुरले नै २०२० सालतिर नेपाली कांग्रेस र यसको सिद्धान्तसंँग उनको परिचय गराए । त्यो परिचयलाई विपिन कोइराला र नवीनप्रकाशजंग शाहले मजबुत बनाए । यसको केही समयपछि २०२२ सालमा दमन ढुंगाना, महेन्द्र थापा र नवीनप्रकाशजंग शाह र देउवाको टोली सुवर्ण शमशेरसँंग भेट्न कलकत्ता पुगेको थियो । त्यसबेला यी चारैजना युवा नेताले संविधानसभा स्थापनाको सपथ खाँदै ‘नेपाली कांग्रेस संविधानसभा चाहन्छ’ भन्ने लेखिएको सपथपत्रमा हस्ताक्षर गरेका थिए ।


नेपाली कांग्रेसको नाम लिने व्यक्ति ‘अराष्ट्रिय तत्त्व’ घोषित हुने त्यो समयमा विद्यार्थी राजनीतिमा सरिक हुनु सामान्य कुरा थिएन । देउवाको राजनीतिक यात्रा २०२३ को डीआईजी नारायणसिंह काण्ड हुँदै २०२७ सालमा त्रिचन्द्र कलेज युनियनको चुनावसम्म निर्विघ्न आयो । २०२४ सालमा विश्वकान्त मैनालीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गठन गरेका थिए । यो युनियनका तर्फबाट त्रिचन्द्रको युनियनमा उम्मेदवार बनेका बालमुकुन्द खरेलसंँग देउवा चार मतले पराजित भएका थिए । यसपछि नै नेपाल विद्यार्थी संघ गठनको प्रयत्न सुरु भयो । २०२७ बैसाख ६ गते विपिन कोइरालाको अध्यक्षतामा नेपाल विद्यार्थी संघको गठन भयो । यसपछि देउवा प्रजातान्त्रिक राजनीतिको बृहत्तर भूमिकामा देखापरे । विपिनले एक वर्ष नेविसंघको नेतृत्व गरे र अरु नै जिम्मेवारीमा लागे । त्यसपछि अध्यक्ष भएका देउवा २०२८ सालदेखि २०३६ सालसम्म लगातार आठ वर्ष नेपाल विद्यार्थी संघको अध्यक्ष बने । २०३६ सालमा भएको नेविसंघको अधिवेशनले बीपी कोइरालाको निर्देशनमा विमलेन्द्र निधिलाई अध्यक्ष चुनेपछि मात्रै उनी पदमुक्त भएका थिए ।


२०३६ को जनमत संग्रहपछि नेपाली राजनीतिको गति र चरित्र दुबै बद्लियो । राजाको सुधारिएको पञ्चायती छाताभित्र परशुनारायण चौधरीलगायत कांग्रेसका निकै मानिस ओत लाग्न पुगे । २०४२ सालमा विपिन कोइराला र शिवबहादुर खड्का पञ्चायतमा प्रवेश गरेपछि शेरबहादुर पनि राजाको सुधारिएको पञ्चायती व्यवस्थाको मूलप्रवाहमा जोडिने सम्भावना बढेको थियो । कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले देउवाको मनोदशा बुझेर उनलाई लन्डन स्कुल अफ इकोनोमिक्समा पढ्न पठाइदिनुभयो । पहिलो जनआन्दोलनको केही महिनापछि नेपाल फर्केका देउवालाई पार्टीले सुदूर पश्चिमाञ्चलको कमाण्डर बनायो । चुनावमा देउवाले आफ्नो हैसियत सावित गरे । सुदूर पश्चिमका १७ वटा निर्वाचन क्षेत्रमा १६ वटामा कांग्रेस विजयी भयो । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा गठन भएको मन्त्रीपरिषदमा उनी गृहमन्त्री नियुक्त भए । तर, उनको भूमिका हावाले जताजता उडायो, त्यतैत्यतै उड्ने पातको जस्तो थियो । गृह मन्त्रालयको रेखदेख सुशील कोइरालाले गर्थे । शेरबहादुर देउवा गृहमन्त्रीको हैसियतले सहीमात्रै गर्थे ।


देउवाका लागि यो अवस्था सन्तोषजनक थिएन । उनी भित्रभित्रै पिरोलिएका थिए, मुर्मुरिएका थिए । उनको यो वेदना बुझेकी थिइन्, स्वर्गीय शैलजा आचार्यले । उनी असीमित महत्त्वाकांक्षा बोकेकी स्वप्नजीवी नेता थिइन् ।

गिरिजाप्रसाद कोइरालापछि प्रधानमन्त्रीका रूपमा आफूलाई स्थापित गर्ने प्रयत्नमा थिइन् । उनले यसका लागि रामचन्द्र पौडेल र देउवालाई आफ्ना सहयोगीका रूपमा प्रोत्साहित गर्न सुरु गरिन् । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नै नेतृत्वमा बनेको बहुमतको सरकार विघटन गरेर मध्यावधि चुनाव गराएपछि नेपाली कांग्रेस दोस्रो पार्टीका रूपमा धकेलियो । त्यसपछि गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता बन्न चाहेनन् । त्यो पदमा उम्मेदवारी दिने सातजना थिए, जसमा प्रमुख थिइन्, शैलजा आचार्य । स्वभावत: शैलजाले चुनाव जितिन् । तर, त्यति नै बेला राजा वीरेन्द्रले गिरिजाप्रसादलाई फोन गरे । गिरिजाप्रसादले राजाको सन्देश कृष्णप्रसाद भट्टराईलाई सुनाए । कृष्णप्रसाद भट्टराईले जितेकी शैलजा आचार्यको नाममा टाँस भएको सूचना च्यात्न लगाएर देउवालाई संसदीय दलको नेता बनाएका थिए । शैलजा नेपाली कांग्रेसभित्र गणतन्त्रको प्रखर प्रवक्ता थिइन् । उनले विराटनगरको एउटा सभामा गणतन्त्र स्थापनाका लागि रगतको खोलो बगाउने उद्घोष गरेकी थिइन् । उनको यो उद्घोषले झस्काएको थियो राजा वीरेन्द्रलाई । यसपछि शैलजा देउवालाई ‘रोयल कांग्रेस’ का रूपमा चिन्न थालेकी थिइन् ।


सभापति देउवा छलकपट भएका मानिस होइनन् भन्ने विश्वास कार्यकर्तामा थियो । अहिले त्यो विश्वास ध्वस्त भएको छ । उनी नातावाद र फरियावादमा लिप्त रहेको बताउँछन्, नजिकका मानिसहरू । अहिले कांग्रेसका युवानेताहरू देउवालाई विधानको कुरा सम्झाइरहेका छन् । उनीभन्दा पहिलेका नेताहरूले विधानको पालना नगर्दा उनले कति दु:ख पाए, त्यो बिर्सनुहुन्न थियो, देउवाले । त्यसो त अहिले पनि केही बिग्रिइसकेको छैन । उनले वरिष्ठ नेता पौडेलको अहंकारलाई अलिकति सुमसुम्याइदिने हो भने, महामन्त्री शंसाक कोइरालालगायत कार्यसमितिका साथीहरूको मान र प्रतिष्ठा राखिदिने हो भने कांग्रेस सुध्रिने अवस्थामा बढ्न सक्छ । होइन र, नेता मीनबहादुर विश्वकर्माको यो भनाइ कि ‘देउवाभन्दा सक्षम नेता कांग्रेसमा अर्को छैन’ पत्याउने हो भने भिरबाट लड्ने गोरुलाई काँध थाप्न कोही जाँदैन । अहिलेको समयका नेता प्रदीप पौडेलले भनेका छन्– सहमतिको बटमलाइन भनेको पार्टीको विधान हो । त्यसको पालनाले पार्टीको स्वास्थ्यमा सुधार आउँछ । सभापति देउवाले आफ्नोजस्तै महत्त्वाकांक्षा आफूभन्दा पछिल्लो पिढीका कार्यकर्ता साथीहरूमा पनि छ भन्ने बुझ्नुमा नै कांग्रेसको हित छ ।

प्रकाशित : पुस २४, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?