पार्टी–पत्रकारको व्यावसायिक पगरी

गुटबाट नेता विशेषका खल्तीमा पुगिसक्दा पनि केही सञ्चार संस्थाले आफूलाई व्यावसायिक भएको बताउन छाड्दैनन्
यी संस्थामा कार्यरत पत्रकारले पनि व्यावसायिकताको पगरी गुँथेकै छन्
उज्ज्वल प्रसाई

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले मूलधारको राजनीतिमा आएको केही समयपछि आफ्नो दलीय पकड सबल बनाउन सञ्चार माध्यममा लगानी गर्‍यो । पत्रकारितामा अनुभव भएका र काठमाडौंमा उपलब्ध पार्टी कार्यकर्तालाई दैनिक र साप्ताहिक अखबार, टेलिभिजनदेखि अनलाइन समाचार पोर्टलसम्म सञ्चालन गर्ने तारतम्य मिलायो ।

पार्टी–पत्रकारको व्यावसायिक पगरी

त्यसका साथै व्यावसायिक रूपमा खोलिएका केही दैनिक अखबारलाई आर्थिक सहयोग गरेर आफू अनुकूलको समाचार सम्प्रेषण गराउने कोसिस गर्‍यो । यी दुवै तरिका अपनाउँदा पनि तत्कालीन माओवादी सफल हुन सकेन । न माओवादीका एजेन्डा सर्वग्राह्य बने, न चुनावी सफलता हासिल हुनसक्यो ।

व्यावसायिक सञ्चार माध्यमले आफ्ना एजेन्डालाई स्थान नदिने एवं पार्टीको आलोचना गर्ने भयका कारण आफ्नै सञ्चार माध्यम आवश्यक हुन्छ भन्ने तत्कालीन माओवादीको बुझाइ थियो । कर्पोरेट सञ्चार माध्यमले ‘बुर्जुवा वर्गको स्वार्थ’लाई सर्वोपरी मान्छन्, तिनले ‘जनताको पक्ष’मा पत्रकारिता गर्दैनन् भन्ने व्याख्या उनीहरू गर्थे । आधारभूत जनताका आवाज बुलन्द बनाउने एवं तिनको पक्षमा राजनीति गर्ने दललाई सहयोग पुर्‍याउने उद्देश्यले त्यस्ता सञ्चार माध्यम स्थापना गर्न आवश्यक रहेको उनीहरूको ठम्याइ थियो । जनताको ‘असली आवाज’ उठाउने दल एवं नेताको बदनामी गर्न खोज्ने ‘बुर्जुवा मिडियाको पोल खोल्ने’ पनि उनीहरूको उद्देश्य हुन्थ्यो । त्यसो त जनयुद्ध दौरान पनि उनीहरूले विभिन्न नामका साप्ताहिक र मासिक अखबार प्रकाशन गरेका थिए ।


नेपालका कम्युनिष्ट पार्टीले दलीय कार्यक्रम एवं विचारलाई प्रधानता दिएर अखबार सञ्चालन गरेको रोचक इतिहास छ । साना–ठूला सबै कम्युनिष्ट पार्टीले मुखपत्रको नाममा त्यस्ता अखबारलाई केही समय सफलतापूर्वक सञ्चालन गरेका थिए । तीमध्ये एकाध पत्रिका अन्तरक्रियात्मक एवं वैचारिक सामग्री जुटाएका कारण सबैका लागि उपयोगी एवं पठनीय पनि बनेका थिए । दर्जनौं लेखक एवं पत्रकार हुर्काउनमा पनि त्यस्ता प्रकाशनले योगदान गरेका हुन् । तर तिनले आफ्ना उद्देश्यको घोषणा गर्थे, ती आफूलाई छद्म रूपमा व्यावसायिक भन्दैनथे । उदाहरणका रूपमा ‘जनएकता’ साप्ताहिक वा ‘मूल्याङ्कन’ मासिकलाई लिन सकिन्छ । मूल्याङ्कनले त आफूले प्रकाशन गरेका सामग्रीबारे सञ्चालन गरेको अन्तरक्रिया पनि प्रकाशन गर्थ्यो । यद्यपि यस्ता अखबारका समेत सीमा र समस्या नभएका होइनन् ।

मूलधारको राजनीतिमा आएपछिको माओवादीले पुरानो रीत छोडेर नयाँ ढर्रा अपनायो । सो पार्टीको संलग्नतामा सञ्चालित त्यस्ता सञ्चार माध्यमले आफूलाई दलीय मुखपत्र भनेनन्, बरु व्यावसायिक आवरण धारण गरे । पार्टीको सिद्धान्तनिष्ठ कार्यकर्तासँग ‘जनादेश’ र ‘कलम’का पुराना स्मृति ताजै थिए, उनीहरू त्यस्ता प्रकाशनका उपयोगिता सम्झाउन खोजिरहन्थे । तर, पार्टीका बाठा कार्यकर्तामा अर्कै प्रवृत्ति हावी भयो ।

उनीहरूले पत्रकारितामार्फत दलीय स्वार्थको रक्षा गर्ने तर आवरणमा व्यावसायिक देखिने जुक्ति सुझाए, त्यस्तै संस्था स्थापना गरे । त्यस्ता संस्थामा व्यावसायिक पत्रकारितामा अनुभव भएका पत्रकारलाई समावेश गराइएको हुन्थ्यो । तर, मुख्य लगाम पार्टी–बफादार कार्यकर्ताको हातमै रहन्थ्यो । सामान्य अवस्थामा व्यावसायिकजस्तो केही काम गरे पनि, चुनावको बेला होस् वा कुनै पेचिलो मुद्दामा सार्वजनिक बहस चलेको याम होस्, ती सबै दलीय मुखपत्र बन्थे । वैचारिकता कम, संकीर्ण दलीय स्वार्थ ज्यादा हावी हुन्थे ।

संविधानसभाको दोस्रो निर्वाचन अघिसम्म माओवादी–निकट एक टिभीले आफ्नो प्राइम टाइम पार्टी अध्यक्ष प्रचण्डको महिमामण्डनमा समर्पण गर्‍यो । अन्तरक्रियात्मक कार्यक्रमलाई समेत पार्टी–प्रोपगान्डामा रूपान्तरण गर्‍यो । सो टिभीका पत्रकार रिपोर्टिङका लागि दौडाहामा हिँड्दैनथे । बरु पार्टी अध्यक्षका भाषण सुनाउन एवं उनले आफ्ना कार्यकर्तासँग गरेका छलफल दुनियाँलाई सुनाउन अध्यक्षसँगै ठाउँ–ठाउँ घुम्थे । माओवादीले उठाएका राजनीतिक मुद्दालाई समेत ओझेल पार्नेगरी नेता विशेषको चर्चालाई प्राथमिकता दिन्थे ।

तत्कालीन माओवादीले उठाएका सबै सवालबारे नागरिकसँग अन्तरक्रिया गर्नु अत्यन्त आवश्यक थियो । संघीयता, समानुपातिक समावेशीता, धर्मनिरपेक्षता जस्ता विषयमा पार्टी नेता र नागरिकबीच घनिभूत छलफल नहुँदा नेतृत्व र नागरिक दुवैमा ठूला भ्रम व्याप्त थिए । ती विषयबारे जनताका राय सुन्न, आफ्ना विचार उनीहरू समक्ष बुझिनेगरी सम्प्रेषण गर्नसक्दा त्यस्ता कतिपय भ्रम हट्न सक्थे । तर माओवादी–निकट टिभीले यस्तो संवाद स्थापित गर्ने कुनै काम गरेन । बरु सस्तो प्रोपगान्डामा सम्पूर्ण ऊर्जा, स्रोत र समय खर्च गर्‍यो ।

सम्भवतः यस्ता टिभीले चलाएको प्रायोजित हल्लालाई नै पार्टी नेतृत्वले आफ्नो लोकप्रियता सम्झ्यो । टिभीले सिर्जना गरेको भ्रममा लुटपुटिएर उनीहरूले संविधानसभाको दोस्रो निर्वाचन जित्ने सपना देखेका थिए । निर्वाचन परिणामको प्रारम्भिक चरणमै त्यो सपना भ्रम सावित हुनथाल्यो । यथार्थको सामना गर्न उनीहरूलाई गाह्रो पर्‍यो, धाँधलीका कथा हालेर पत्रकार सम्मेलन गरे । हार प्रमाणित हुनु थियो, भयो । निर्वाचन हारे तर आफ्ना कमजोरी स्वीकारेनन्, सच्याएनन् । बरु फुट र विलयका शृङ्खला सुरु गरे । पार्टी निकट टिभीले आफ्ना रीत छोडेनन् ।

तत्कालीन माओवादीले मूलधारको राजनीतिमा आफूलाई रत्याउँदै जाँदा त्यसरी खोलिएका अखबार एवं टिभी पार्टीका रहेनन्, गुटका मुखपत्र बने । एमालेमा विलय भएर नेकपा बन्न पुग्दा ती माओवादीमय सञ्चार माध्यम नेताविशेषको भागबन्डामा परेका छन् । केही समयसम्म गुटको स्वार्थमा सञ्चालित कुनै अखबार, अनलाइन न्युज पोर्टल वा टिभी अब नेताको स्वार्थलाई सर्वोपरी मानेर चल्न थालेका छन् । गैरकम्युनिष्ट नेताका पनि आ–आफ्ना अनलाइन नभएका होइनन्, तर यो प्रवृत्ति सबभन्दा ज्यादा नेकपा नेताहरूमा छ । गुटबाट नेता विशेषका खल्तीमा पुगिसक्दा पनि त्यस्ता सञ्चार संस्थाले आफूलाई व्यावसायिक भएको बताउन छोड्दैनन्, ‘एबीसी’ भाष्यको उपयोग गर्न पछि पर्दैनन् । यी संस्थामा कार्यरत पत्रकारले पनि व्यावसायिकताको पगरी गुँथेकै छन् ।


पूर्व एमालेको मिडिया–कहानी माओवादीभन्दा केही परिष्कृत होला, धेरै फरक छैन । तत्कालीन एमाले–निकट मानिने सञ्चार माध्यममा काम गरेका पत्रकारले आफूलाई व्यावसायिक रूपमा सफल तुल्याएका उदाहरण धेरै होलान् । तर, पार्टी संलग्नतालाई कायमै राखेर व्यावसायिक सञ्चारगृहमा कार्यरत एमाले–पत्रकारले हम्मेसी दलीय स्वार्थ त्याग्न सक्दैनन् । त्यसको अर्थ ती पत्रकार पार्टीले दस्तावेजमा स्वीकारेको मार्क्सवाद वा लेनिनवाद अनुरुप समाचार लेख्छन् भन्ने होइन । बरु तिनले मूलतः आफू निकट गुट वा नेताको स्वार्थलाई प्रधान मानेर सूचना सम्प्रेषण गर्ने कोसिस गर्छन् । पत्रकारका भेषमा खटिने ती कार्यकर्ता खास अवस्थामा मिडिया मालिक र नेतृत्वबीच सम्बन्ध स्थापित गर्ने सेतु बन्छन् ।

पार्टी नेतृत्वको जोडबलमा व्यावसायिक सञ्चारगृहमा जागिर खान सफल भएका कतिपय पत्रकार पार्टी सत्तामा भएका बेला सरकारी जागिर खान हतारिएका दृष्टान्त धेरै छन् । तीमध्ये धेरैजसो सत्ता समीकरण बदलिएपछि फर्केर व्यावसायिक पत्रकार बन्न आइपुग्छन् । आफू निकट नेता वा गुटका स्वार्थ सिंहदरबार वा बालुवाटार परिसरमा छाडेर आउन सक्दैनन् । गुटगत स्वार्थले लछ्याप्रै भिजेका औंलाले किबोर्ड चलाएर ‘व्यावसायिक’ समाचार लेख्न थाल्छन् ।


लोकतन्त्र दलतन्त्रमा पतित भएको बेला स्वतन्त्र पत्रकारिताको स्पेस साँघुरो बन्नु स्वाभाविक छ । प्रेस संगठन नामको दलीय संगठनमा आबद्ध पार्टी–पत्रकारले आफ्ना अध्यक्ष अघिल्तिर उभिएर दलतन्त्रको रक्षार्थ कटिबद्ध हुने सपथ खानु उति नै स्वाभाविक ।

सम्भव भएजति सबै स्पेसमा एवं सबै तरिकाले तिनले दलतन्त्रको रक्षा गर्नेछन् । लोकतन्त्रको पुनःस्थापनाका लागि उठाइएका हर सवाललाई अवैध तुल्याउन खटिनेछन् । दलतन्त्रको आलोचना गर्ने बौद्धिकहरूलाई विकास विरोधी, नकारात्मक एवं देशद्रोही जस्ता फत्तुर लगाएर हरबखत बदनामी गर्न खोज्नुलाई सामान्य मानिएको त्यसै होइन । अलोकतान्त्रिक विधेयकलाई स्वाभाविक मानिएको त्यसै होइन । लोकतान्त्रिक व्यवस्था भनिएको नेपालमा बरु लोकतन्त्र नै अस्वाभाविक र असामान्य भएको छ ।

प्रकाशित : पुस १८, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?