पत्रकारितालाई हेर्ने सरकारी चस्मा

पुस १४, २०७६

सम्पादकीय

सत्तारूढ दलका शीर्ष नेतृत्वले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मुलुकको स्वतन्त्र प्रेसलाई झस्काउने र तर्साउने किसिमका अभिव्यक्तिहरू प्रकट गर्नु दुर्भाग्यपूर्ण छ ।

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीनिकट सञ्चारकर्मीहरूको भेलालाई सम्बोधन गर्दै सरकारी स्वामित्वको गोकर्णको जग्गा एवम् रिसोर्ट यति होल्डिङ्स नामको निजी कम्पनीलाई अनियमित ढंगबाट दिइएकोमा त्यसको प्रतिरक्षा मात्र गरेनन्, त्यसबारे विभिन्न सञ्चार माध्यममा तथ्यपूर्ण समाचार एवम् टिप्पणी आइरहेकामा आक्रोशसमेत प्रकट गरे । त्यही कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको मिडिया ‘बुर्जुवा वर्गको हातमा रहेको’ दाबी गर्दै त्यसविरुद्ध परिचालित हुन पार्टीनिकट पत्रकारहरूलाई आह्वान गरे । उनले आम सञ्चारसँगै सामाजिक सञ्जालप्रति पनि असन्तुष्टि जाहेर गरे । सत्तारूढ दलका शीर्षनेताहरूबाट स्वतन्त्र पत्रकारिता र नागरिकको अभिव्यक्ति स्वतन्त्रताप्रति जुन ढंगको आक्रोश र आलोचना प्रकट भएको छ, त्यसले सत्ता सञ्चालकहरूको साँघुरिँदै गएको सोचलाई प्रतिविम्बित गर्छ । साथै उनीहरूले पार्टीप्रति बफादार सञ्चारकर्मीलाई सरकारी परिसरमा शपथ खुवाउँदै आफ्ना पक्षमा परिचालित हुन जसरी आह्वान गरेका छन्, त्यसबाट सत्तारूढ दल मुलुकमा कुन किसिमको पत्रकारितालाई प्रवर्द्धन गर्न चाहन्छ भन्ने पनि प्रस्ट हुन्छ ।

तत्कालीन राजपरिवारको स्वामित्वमा रहेका जग्गा–जमिन र सम्पत्ति गणतन्त्र आएपछि राष्ट्रियकरण गर्नुको अर्थ त्यो कुनै एउटा व्यापारिक समूह विशेषलाई छानी–छानी दिनका निम्ति होइन । यदि त्यसलाई व्यावसायिक प्रयोजनमै लगाउने हो भने पनि त्यसका निम्ति पारदर्शी प्रक्रिया अपनाउनुपर्ने हुन्छ, जसलाई धेरै ठाउँमा मिचिएका तथ्यहरू मिडियामार्फत सार्वजनिक भइरहेका छन् । यसलाई त सरकारले आफ्नो त्रुटि सच्याउने वा अनियमितता छानबिन गर्ने आधार बनाउनुपर्ने हो । त्यसविपरीत व्यावसायिक प्रतिरक्षामा उभिनु राजनीतिक नेतृत्वलाई सुहाउने कुरा होइन । त्यसैगरी अध्यक्ष दाहालले नेपालको स्वतन्त्र प्रेस ‘बुर्जुवाहरूको हातमा पुगेको’ आधारहीन आरोप लगाउनु आफैंमा हास्यास्पद छ । नेपालमा बुर्जुवा भनेको के हो, को हो र यसबीचमा कुन–कुन राजनीतिक नेतृत्वको बुर्जुवाकरण भएको छ, त्यो आफैंमा अध्ययनको रोचक विषय हो, जसको एउटा ‘केस स्टडी’ दाहाल स्वयं हुन सक्छन् ।


सत्तारूढ दलका अध्यक्षद्वयले सत्तासंरक्षित पत्रकारिताको जुन परिकल्पना गर्न थालेजस्तो देखिन्छ, नेपालको गतिशील स्वतन्त्र प्रेसबाट त्यो कुनै हालतमा सम्भव छैन । सम्भवतः त्यसैले यसको प्रतिवाद गर्न बालुवाटारबाटै आह्वान गरिएको होला । यो पछिल्लो प्रवृत्ति भने खतरनाक छ । एकातिर व्यावसायिक पत्रकारिताप्रति असहिष्णुता प्रकट गर्ने, अर्कोतिर सरकारी निवासमै आफूअनुकूलका पत्रकारहरूको भेला गरेर उनीहरूलाई पार्टी अध्यक्षबाट शपथ खुवाउने जुन विवादास्पद कार्यको थालनी गरिएको छ, यसका दूरगामी नकारात्मक परिणामहरू देखिनेछन् । प्रथमतः यस्तो प्रवृत्तिबाट पत्रकारहरू आफैं बच्नुपर्ने हो, किनभने यसले अन्ततः पार्टी राजनीति र पत्रकारिताबीचको लक्ष्मणरेखा मेटाउने र पत्रकार–पत्रकारबीच विभाजन ल्याउने कार्य गर्नेछ । 

फराकिलो लोकतान्त्रिक सोच राख्नुपर्ने राजनीतिक नेतृत्वले पनि व्यावसायिक पत्रकारिताप्रति साँघुरो सोच राख्ने होइन, आफ्ना कामकारबाहीको स्वस्थ आलोचना गर्नेलाई प्रोत्साहित गर्नुपर्ने हो । किनभने त्यसो भए मात्र आफ्ना गल्ती–कमजोरी देखिने र सच्चिने अवसर मिल्नेछ । त्यसविपरीत सरकारले आम सञ्चार र सामाजिक सञ्जाललाई खुम्च्याउने उद्देश्यले विभिन्न नियम–कानुन ल्याउने र अंकुश लगाउने उल्टो बाटो समातिरहेको छ । सार्वजनिक रूपमा विरोध भएका बुँदाहरू यथावत् राखी आइतबार संसदको विकास तथा प्रविधि समितिको बहुमतले सूचना तथा प्रविधि विधेयक पारित गर्नुले यही देखाउँछ । प्रेस एवम् अभिव्यक्ति स्वतन्त्रताको जगमै लोकतान्त्रिक प्रणाली टिकेको हुन्छ भन्ने सामान्य ज्ञान बिर्सिन थालेपछि बेलाबखत यस्ता विचलनहरू देखापर्ने गर्छन् । इतिहासबाट सिक्न खोज्ने नेतृत्वले यसलाई समय छँदै सच्याउँछन्, बाँकी तत्कालको सत्ता–स्वार्थमै रमाउँछन् । नेकपाका पाका अध्यक्षद्वयले शनिबार जुन चस्मा पहिरेर आम पत्रकारिता जगत्प्रति नकारात्मक टीकाटिप्पणी गरेका छन्, त्यो उनीहरू स्वयं र मुलुकको लोकतान्त्रिक भविष्यका निम्तिसमेत घातक छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully