कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्वतमा परिवर्तन

उत्तमबाबु श्रेष्ठ

१७९९ जून ५ मा ३२ वर्षीय जर्मन अन्वेषक, भूगोलवेत्ता, वातावरणविद् अलेक्जन्डर फोन हम्बल्ट ल्याटिन अमेरिकाको यात्रामा निस्किए । भेनेजुयला अनि क्युबा हुँदै १८०२ जनवरी ६ मा उनी झन्डै भूमध्यरेखामा अवस्थित इक्वेडरको राजधानी कितो पुगे, जहाँबाट उनको एन्डिज पर्वत शृंखलामा पर्ने चिमबोराजो पर्वतको आरोहण सुरु भयो ।

१८४१ मा जर्ज एभरेस्टले सगरमाथा पत्ता लगाउनुअघिसम्म ६,२६८ मिटर अग्लो चिमबोराजोलाई संसारकै उच्च हिमशिखर मानिन्थ्यो । त्यसैले चिमबोराजोको ५,८७८ मिटर उचाइमा पुगेका हम्बल्ट त्यसपछिका ४० वर्षसम्म उच्च शिखर पुग्ने संसारकै पहिलो आरोही बनिरहे । यद्यपि उनको पर्वतारोहणको उद्देश्य कीर्तिमान कायम गर्ने नभई पर्वतीय अध्ययन–अनुसन्धानको प्रारम्भ गर्नु थियो । एकैसाथ भूमध्यरेखादेखि हिमरेखासम्म छिचोलेका हम्बल्टले चिमबोराजोको वातावरणीय चित्रणमा लेखे— जीवन्त, विविधतापूर्ण, परस्पर जालोझैं जेलिएको परिवर्तनशील पर्वत ।


चिमबोराजोबारे हम्बल्टको चित्रण यताको सगरमाथासम्म पनि मिल्छ । युरोपको आल्प्स्देखि एसियाको हिमालय र ल्याटिन अमेरिकाको एन्डिजसम्मका पर्वतहरूमा एकरूपता पाइन्छ । अध्ययनहरूले पुष्टि गरेका छन्— पर्वतमा जति जैविक र सांस्कृतिक विविधता पृथ्वीको कुनै पनि भूभागमा पाइँदैन ।


जैविक विविधताको केन्द्र

पर्वतहरू जैविक विविधताका केन्द्र हुन् । एउटा पर्वतीय ढलानमा फरक हावापानी पाइने र त्यहाँको उबडखाबडले स्थानीय छुटै वासस्थान (निस) बनाइदिने भएकाले पर्वतहरूमा विविधतापूर्ण जीवन सम्भव हुन्छ । पर्वतले २५ प्रतिशत भूभाग मात्रै ओगटे पनि पृथ्वीमा पाइने ८७ प्रतिशतभन्दा बढी उभयचर, चराचुरुंगी र स्तनधारी जीवजन्तु पर्वतीय क्षेत्रमा पाइन्छन् । पर्वतीय क्षेत्रमा पाइने धेरैजसो वनस्पति र जीवजन्तुहरू रैथाने अर्थात् अन्यत्र नभेटिने छन् । रैथाने प्रजातिको प्रचुरता र अतुलनीय विविधताका कारण पर्वतलाई वैज्ञानिकहरू पृथ्वीको जैविक विविधताको केन्द्र (हटस्पट) भन्छन् । पर्वतीय क्षेत्र जैविक विविधतासँगै खाद्य विविधतामा पनि धनी छ । मानवजातिले अहिलेसम्म घरेलुकरण गरेका २० महत्त्वपूर्ण खाद्य बालीमध्ये मकै, गहुँ, जौ, आलु, स्याउ, गोलभेँडा आदिको उत्पत्तिस्थल नै पर्वत हो । पर्वतीय क्षेत्रमा पाइने जैविक र खाद्य विविधताले विविधतापूर्ण संस्कृति निर्माणलाई सहज तुल्यायो र पर्वतीय क्षेत्र सांस्कृतिक विविधताको केन्द्र पनि बन्न पुग्यो । उदाहरणका लागि, सांस्कृतिक विविधताको एउटा सूचकांक भाषिक विविधतामा पर्वतीय क्षेत्रहरू संसारमै अग्रणी छन् ।


हाल विश्वका करिब १२ प्रतिशत मानिस पर्वतीय क्षेत्रभित्र बसोबास गरे पनि विश्वको आधाजति जनसंख्यालाई पर्वतले विभिन्न वातावरणीय सेवा–सुविधा दिएको छ । पर्वतले मानवीय आवश्यकताका पिउने पानी, खाद्यान्न, वन पैदावार, जैविक विविधता, खनिज पदार्थ, जलविद्युतीय ऊर्जा र सुन्दरता जस्ता अनेक सेवा–सुविधा प्रदान गर्छ । विश्वका अन्य पर्वत शृंखलाका तुलनामा हिमालय क्षेत्रमा यस्ता सेवा–सुविधा लिने जनसंख्या सबैभन्दा उच्च छ । हिमालय क्षेत्र एसियाका १० प्रमुख नदीको उद्गमथलो हो । विश्वभरमा सबैभन्दा धेरै जलविद्युत् बाँधको घनत्व यसै क्षेत्रमा छ । यहाँ विश्वका ३३० वटा महत्त्वपूर्ण चराका वासस्थल र चार जैविक विविधता केन्द्र छन् । साथै यो क्षेत्र भाषिक, सांस्कृतिक, धार्मिक विविधताको संगमस्थल पनि हो । तर यतिखेर हिमालय लगायतका विश्वभरका पर्वतीय क्षेत्रहरूमा वातावरणीय, सामाजिक र आर्थिक परिवर्तनको लहर देख्न सकिन्छ । पृथ्वीकै कान्छो पर्वत शृंखला भएकाले पनि हिमालको बनोट अन्य पर्वतीय क्षेत्रहरूको भन्दा नाजुक छ । भौगोलिक हिसाबले बाढी–पहिरो र भूकम्पीय जोखिम बढी छ । त्यस कारण हिमालय क्षेत्रमा जलवायु लगायतका परिवर्तनहरूको प्रभाव अन्यत्रभन्दा गहिरो छ ।


पर्वतमा जलवायु परिवर्तन

यतिखेर जलवायु परिवर्तनको असर सबैभन्दा बढी परेको कुनै क्षेत्र पृथ्वीमा छ भने त्यो पर्वतीय क्षेत्र नै हो । आल्प्स्देखि एन्डिजसम्म, हिमालयदेखि रक्की पर्वतसम्मका विश्वभरका पर्वतहरू, त्यहाँको पर्यावरण र त्यसवरपर बस्ने समुदायहरू जलवायु परिवर्तनको चपेटामा छन् । जलवायु परिवर्तनको अन्तरदेशीय निकाय आईपीसीसीले भर्खरै सार्वजनिक गरेको ‘सामुद्रिक र हिउँले पुरिएका क्षेत्रहरूको विशेष प्रतिवेदन’ अनुसार, विश्वका पर्वतीय क्षेत्रहरूमा तापमान बढ्ने क्रम पृथ्वीको तापमान वृद्घिदरभन्दा ३३ प्रतिशतले उच्च छ । विश्वका पर्वतीय क्षेत्रहरू प्रतिदशक ०.३ डिग्री सेल्सियसका दरले तात्दै छन् । पर्वतीय क्षेत्रहरूमा वर्षात र हिउँ पर्ने समय, अवधि र तीव्रतामा पनि फेरबदल भइरहेको छ । बढ्दो तापमानका कारण जमिनलाई हिउँले छोप्ने अवधि छोट्टिएको छ र हिउँको मात्रा घट्दो छ । पछिल्ला केही दशकयता हिमनदी र स्थायी–तुषार (पर्माफ्रोस्ट) क्षेत्रको पग्लने क्रममा तीव्रता आएको छ ।


जलवायु परिवर्तनसँग हिउँ पर्ने समय, जम्ने अवधि र हिउँले ओगटेको क्षेत्रमा आएका यस्ता परिवर्तनहरूले बाढी–पहिरो र हिमपहिरोको जोखिम बढाएका छन् । यस क्षेत्रमा बढिरहेको जनसंख्या, पर्यटन र पूर्वाधारको विकासले प्रकोपसँगको मानवीय सामीप्य झनै बढाएको छ । तापक्रम र वर्षात चक्रमा आएको फेरबदलका कारण नदीहरूको बहाव बदलिएको छ, जसले गर्दा पानीको आपूर्ति र कृषि उत्पादनमा प्रत्यक्ष प्रभाव पर्न थालेको छ । हिमालय क्षेत्रमा कृषि उत्पादनमा ह्रास आउन थालेको छ । जलवायु परिवर्तनका कारण जलविद्युत्, पर्यटन र सांस्कृतिक क्षेत्रहरूमा समेत नकारात्मक असर परिरहेको छ भने, पानीको संकटका कारण बसाइँ सर्ने क्रम पनि देखिन थालेको छ । यद्यपि हाल नेपालका पहाडी भूभागमा देखिएको पानीको मूल सुक्ने समस्यामा भने जलवायु परिवर्तनभन्दा पनि स्थानीय भू–उपयोगमा आएको फेरबदल र पानीको कमजोर व्यवस्थापन बढी जिम्मेवार छन् ।


वर्तमानमा मात्रै होइन, भविष्यमा पनि सबै पर्वतीय क्षेत्रहरू, विशेष गरी हिमालयमा जलवायु परिवर्तनको असर र जोखिम झनै बढ्ने अध्ययनहरूले देखाएका छन् । इसिमोडले यसै वर्ष प्रकाशित गरेको एउटा अध्ययन अनुसार, पृथ्वीको तापमान वृद्घि भविष्यमा १.५ डिग्री सेल्सियसमै सीमित भए पनि हिमालय क्षेत्रको तापमान १.८ डिग्रीले वृद्घि हुनेछ । पृथ्वीको तापमान वृद्घिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने सहमति पेरिस सम्झौता अन्तर्गत गरिएको हो । सबै कुरा पेरिस सम्झौता अनुरूप भए पनि सन् २१०० सम्ममा हिमालय क्षेत्रका ३६ प्रतिशत हिमनदी मासिने उल्लेख उक्त प्रतिवेदनमा छ । यद्यपि अमेरिकाले पेरिस सम्झौताबाट हात झिकेकाले र विश्वमा जलवायु परिवर्तनको कारक हरितगृह ग्यास उत्सर्जनमा खासै कमी नआएकाले पेरिस सम्झौताले निर्दिष्ट गरेको लक्ष्यभन्दा धेरै तापमान बढ्ने अनुमान गर्न सकिन्छ ।


कार्बन उत्सर्जनको सबैभन्दा खराब परिदृश्यमा हिमालय क्षेत्रको तापमान ४.२ देखि ६.५ डिग्री सेल्सियससम्म बढ्ने अनुमान गरिएको छ । त्यस्तो अवस्था आए हिमालय क्षेत्रका ६४ प्रतिशत हिमनदी सन् २१०० सम्म नासिने कुरा इसिमोडको प्रतिवेदनमा जनाइएको छ । भविष्यमा हिमाली क्षेत्रमा, विशेष गरी मनसुनको समयमा ठूला वर्षातको परिमाण बढ्नेछ, जसले गर्दा बाढी–पहिरो, हिमपहिरो र त्योसँगै आउने अन्य प्रकोप बढ्न सक्नेछन् । वर्तमान र भविष्यमा हुने मौसम परिवर्तनले यहाँका वनस्पति, जीवजन्तुका आनीबानी, फूल फुल्ने समयदेखि वासस्थानमा समेत व्यापक फेरबदल ल्याउनेछन् । हावापानी, जलप्रवाह, पर्यावरण, कृषि र प्रकोपमा एकपछि अर्को फेरबदलले हिमालय लगायतका संसारभरका पर्वतीय क्षेत्रहरूको सुन्दरता, जैविक विविधता, जलचक्र र सांस्कृतिक पक्षमा उतारचढाव आउनेछ, किनभने ती सबै एकअर्कामा निर्भर छन् र जालोझैं जोडिएका छन् ।


जेलिएको सम्बन्ध

२२० वर्षपहिले चिमबोराजो पर्वतको अध्ययनपछि अलेक्जेन्डर फोन हम्बल्टले पर्वत, हावापानी र वानस्पतिक संरचनाको सम्बन्धलाई जटिल जालोजस्तै जेलिएको बताएका थिए । उनका अनुसार, पर्वतमा पाइने सानो झ्याउदेखि किरासम्मको अस्तित्व अलग्गै सम्भव छैन । त्यस जीवन्त प्रणालीभित्रको एउटा अवयवलाई हटाइदिने हो भने त्यसले अर्कोलाई असर गर्छ । हम्बल्टले महसुस गरेजस्तो सम्बद्धता (कनेक्टेडनेस) हिमालय क्षेत्रमा पनि पाइन्छ । हिमालय नहुँदो हो त दक्षिण एसियाको धेरै भूभाग मरुभूमि हुन सक्थ्यो । हिमालले हावामा भएको आर्द्रतालाई चिस्याएर हिउँ र वर्षामा रूपान्तरण गरिदिनाले यहाँको जलचक्र र जीवन चलेको छ । हिमालले नै हिउँदमा पनि तल्ला तटीय क्षेत्रहरूमा पानी आपूर्ति गराएको छ । जलचक्रले विविध वानस्पतिक संरचना र जैविक विविधताको उत्पत्ति सम्भव तुल्याएको छ । तर ती सम्बन्धहरूमा यतिखेर जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण बदलाव आइरहेको छ । जस्तै— तापक्रम बढ्दा हिमालमा पाइने वानस्पतिक क्षेत्रहरूको संकुचन हुन्छ । हिउँ पग्लिएपछि जंगल नासिन्छ र पानी आपूर्ति गर्ने प्राकृतिक क्षमता कमजोर बन्दै जान्छ ।


यस्तो जटिल रूपमा जेलिएको सम्बन्धको नासिने जोखिम पनि बढी नै हुन्छ । त्यसैले यतिखेर जलवायु परिवर्तन र मानवीय अतिक्रमणको चपेटामा परेका संसारभरका पर्वतहरूको चुनौती पर्वतजस्तै अग्लो छ । नेपालमा पनि आफै पहिरो र भूकम्पीयको जोखिम भएको पर्वतीय क्षेत्रमाथि जथाभावी डोजर चलाउनाले र जंगलको फँडानी गर्नाले पहिरो र माटोको क्षयीकरण बढेको छ । नदीमा जथाभावी बालुवा र ढुंगाखानीको सञ्चालनले बाढीको प्रभावलाई झनै विस्तार गरेको छ । तर पर्वतका यस्ता मौलिक संरचनागत जटिलता र यसका बहुआयामिक सम्बन्धहरू बुझ्ने क्रममा भने हामीमा यतिखेर अनौठो एकाकीपन देखा परिरहेको छ । वर्तमानमा हामी पूर्वाधारको कुरा गर्दा वातावरण बिर्सन्छौं । पानीको कुरा गर्दा जंगल भुल्छौं । जंगलको कुरा गर्दा कृषि छोड्छौं । कृषिको कुरा गर्दा माटो बेवास्ता गर्छौं र माटोको कुरा गर्दा कीटपतङ्गलाई अलग राख्छौं । तर वास्तविक संसारमा, अझ हाम्रोजस्तो पर्वतीय क्षेत्रमा हम्बल्टले भनेजस्तै ती सबै अवयव आपसमा कपडा बुनेजस्तै जेलिएर रहेका हुन्छन् । त्यस्तो सम्बन्धलाई नबुझ्नु भनेको थप जोखिम निम्त्याउनु हो ।


अन्त्यमा, सन् २००३ यता संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई विश्व पर्वतीय दिवसका रूपमा मनाउँदै आइरहेको छ । यसको मुख्य उद्देश्य दिगो पर्वतीय विकासका लागि जनचेतना जगाउनु हो । पर्वतीय क्षेत्रको दिगो विकासका लागि पर्वत र जीवनको अन्तर्निहित सम्बन्ध बुझ्न आवश्यक छ । हम्बल्टले भनेजस्तै पर्वतसँग हावापानी, जैविक विविधता र मानव जीवन जालोझैं जेलिएको हुन्छ । पर्वतीय क्षेत्रमा बसेका हाम्रो विकासको सोच र कर्ममा त्यो जालोजस्तै जेलिएको सम्बन्ध उजागर हुन जरुरी छ । प्रकाशित : मंसिर २५, २०७६ ०८:५४

प्रतिक्रिया
पठाउनुहोस्

यौन दुर्व्यवहारबारे छानबिन गर

सम्पादकीय

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराद्वारा संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि गरेको भनिएको बलात्कार प्रयास प्रकरण सेलाउन नपाउँदै गण्डकी प्रदेशका केही महिला सदस्यले आफूहरूले संसद्भित्रै यौन दुर्व्यवहार भोगिरहनुपरेको घटना सार्वजनिक गरेका छन् । 

पोखरामा सोमबार आयोजित एक कार्यक्रममा उनीहरूले आफूहरूमाथि पुरुष सांसदहरूले यौनहिंसा तथा दुर्व्यवहार गरेको आरोप लगाएका हुन् । यी सांसदहरूले गरेको खुलासा किन गम्भीर छ भने यो कुनै एक महिलाले भोगेको एउटा निश्चित घटनाको वर्णनमात्र होइन, चार–पाँच जनाले संसद्भित्रै भोगिरहेको आम व्यवहार हो । यसको मतलब, यस्ता गतिविधिबाट पीडित हुने महिला सांसदको संख्या अझ ठूलो हुन सक्छ । पछिल्लो घटनाले हाम्रा कार्यस्थलहरू कति लैंगिकमैत्री छन् भन्ने प्रश्न पेचिलो बनाएको मात्र छैन, संसद्जस्तो कानुन निर्माण हुने तथा पढेलेखेका व्यक्तिहरू पुग्ने थलोमा त यौन दुर्व्यवहारका घटना सजिलै हुन्छन् भने अन्य सार्वजनिक कार्यालय र निजी प्रतिष्ठानहरूमा महिलाले भोग्नुपरेको हिंसाको स्तर कति होला भनेर घोत्लिन सबैलाई बाध्य तुल्याएको छ ।

गण्डकीका ती प्रदेशसभा सदस्यहरूका अनुसार पुरुष सांसदहरू उनीहरूसित अश्लील नियत दर्शाउँदै हात मिलाउने, ‘हग’ गर्दा टाँसिइरहन खोज्ने, द्विअर्थी शब्द बोल्ने, जिस्किने, ठोक्किँदै हिँड्नेजस्ता गतिविधि गर्दा रहेछन् । यी सबै घटना ‘इज्जतको डरले सहन बाध्य’ भएको महिला सांसदहरूको भनाइ छ । प्रदेश सांसदजस्तो पदमा पुगिसकेका, सामान्यतया जो आवाज भएका मानिन्छन् र नागरिकहरूको प्रतिनिधि आवाज पनि हुन्, उनीहरूले नै यस्ता घटनाबारे ‘कोसँग कहाँ गएर भन्ने, मौन बस्नुको अर्को कुनै विकल्प छैन’ भन्नुले हाम्रो समाज–राजनीतिको दु:खलाग्दो चित्र प्रस्तुत गर्छ । र, सर्वसाधारण महिलाहरूले कार्यस्थल र सार्वजनिक क्षेत्रमा भोगिरहेका दुर्व्यवहार कति विकराल होलान् भन्ने झल्को पनि दिन्छ ।

कति पुरुष सांसदले सहकर्मी महिलालाई नियतवश नै यस्तो व्यवहार गरेका होलान्, कतिले यौनहिंसाबारे थाहै नपाई जानी–नजानी यस्तो गतिविधि गरेका होलान् । जे भए पनि यौन दुर्व्यवहार वा यौनहिंसा भोग्नेहरूले अनुभव गर्ने विषय हो । सम्बन्धित महिलालाई असजिलो र अस्वीकार्य हुने व्यवहार कुनै पनि पुरुषले गर्छ भने त्यो आपत्तिको विषय हुन जान्छ । शिष्टाचारका लागि हात मिलाउँदा होस् या अंगालो मार्दा, त्यसले आपसी सम्मान तथा अभिवादनको घेरा तोड्नु हुँदैन । अश्लील शब्द बोल्नु, व्यक्तिगत जीवन, रूप–रंग, पोसाक र शारीरिक अंगबारे टिप्पणी गर्नु, यौनआशय झल्काउने इशारा गर्नु, सन्देश पठाउनु वा शारीरिक हाउभाउ दर्शाउनु र सुसेल्नु पनि यस्तै व्यवहार हुन् ।

गण्डकीका महिला सांसदहरूमाथि पुरुष सांसदहरूले जे–जस्तो व्यवहार गरे भनिएको छ, मुलुकी अपराध संहिता २०७४ अनुसार त्यो सरासर दण्डनीय छ । संहिताअनुसार ‘कसैसँग अश्लील वा अन्य त्यस्तै प्रकारका शब्द मौखिक, लिखित वा साङ्केतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्बिर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमयार्दित व्यवहार गरेमा यौन दुर्व्यवहार गरेको’ मानिनेछ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । तसर्थ, यो विषयमा पनि प्रदेशसभाले नै पहल लिएर छानबिन गरी दोषीलाई कारबाही गर्ने वातावरण निर्माण गर्नुपर्छ, यसका लागि महिला सांसदले उजुरी गर्न हिच्किचाउनु हुँदैन । यौनहिंसा तथा दुर्व्यवहार गर्ने पुरुष सांसदविरुद्ध महिला सांसदले नै आवाज उठाउन सक्दैनन् भने बाँकी सम्पूर्ण समाजबाट यस्तो दुर्व्यवहार हटाउन कसरी सम्भव होला ? दोषीमाथि कारबाही भएमा मात्रै उनीहरूले फेरि दुर्व्यवहार गर्ने साहस गर्दैनन् र अरूले पनि यसबाट शिक्षा लिन सक्छन् ।

साथै, संसद्लगायतका सरकारी कार्यालयहरूले कार्यस्थलमा हुनुपर्ने आचरणबारे संहिता पनि बनाउन जरुरी छ, ताकि पुरुषहरूले महिला सहकर्मीसित कस्तो व्यवहार गर्ने/नगर्ने र के भयो भने दुर्व्यवहार हुन्छ भनेर जान्न सकुन् र सच्चिउन् पनि । कार्यस्थलमा हुने यौन दुर्व्यवहार ठूलो समस्या हो, जसले महिलाहरूलाई सम्मानपूर्वक आफ्नो वृत्ति विकास गर्नबाट रोकेको छ, यसलाई हटाउनु सम्बन्धित सबैको दायित्व हो ।

प्रकाशित : मंसिर २५, २०७६ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×