दुइटा फूल देउरालीमा

नन्दकृष्ण जोशी

काठमाडौँ — असंख्य कालजयी गीतका सर्जक, जादुमय स्वरका धनी स्वरसम्राट् नारायण गोपालको सम्झनामा, जसले यो धरती छाडेको पनि २९ वर्ष पुगिसकेको छ । नेपालका सर्वाधिक लोकप्रिय एवं स्वाभिमानी गायकको असामयिक निधनको अप्रत्याशित खबर रेडियो नेपालले प्रसारण गरेको त्यो बेला मेची–महाकाली, हिमाल र तराईमा सांगीतिक भूकम्प आए बराबर भएको थियो ।

ZenTravel

त्यस बेला सञ्चारको एक मात्र सुलभ माध्यम रेडियो नेपाल नै थियो । हामी सबै रेडियो नेपालका श्रोता थियौं । त्यो दुःखद खबर सुन्नुपर्दा असंख्य नेपाली भक्कानिएका थिए । यस्तो भावुक दृश्य भोलिपल्ट आर्यघाटमा उनको पार्थिव शरीर जलाइरहँदासम्म पनि देख्न सकिन्थ्यो ।

Meroghar

जुनसुकै सरकारको पनि कलाकारप्रतिको दृष्टिकोण सतही खालको छ । तर स्वाभिमानी कलाकारलाई त्यसले फरक पार्दैन । स्वरसम्राट् नारायणगोपाल यसैका ज्वलन्त उदाहरण थिए । उनलाई खालि नेपाली संगीतसँग चासो थियो, नेपालीपन झल्किने संगीतसँग । उनी नेपाली माटोप्रेमी थिए । उनका सबैजसो गीतमा यसको छाप प्रस्ट अनुभूति गर्न सकिन्छ ।

शब्द–शब्द केलाउने गायक
भनिन्छ- असल गीतका शब्दमा शक्ति हुन्छ संगीतमा सागर हुन्छ र गायनमा प्राण हुन्छ । यी तीनै विषयको सम्मिश्रणबाट अजम्बरी सिर्जना जन्मिन्छ । नारायणगोपाल यस्तै गुण भएका दुर्लभ गायक थिए । शब्द–शब्द केलाउन सक्ने क्षमता भएका उनी शब्द र भाव चयनमा व्यक्ति, वंश र पद–प्रतिष्ठा कमाएका गीतकारको भन्दा बढी ध्यान दिन्थे ।

स्वरसम्राट्सँग संगत गरेका गीतकारहरू रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, किरण खरेल, यादव खरेल र दिनेश अधिकारी तथा संगीतकारहरू दीपक जंगम र शम्भुजित बास्कोटाको भनाइ रहँदैआएको छ-नारायणगोपाल आफूलाई चित्त नबुझेसम्म र मुड नचलेसम्म एक महिनासम्म पनि एउटै गीतसँग हार्मोनियममा खेलिरहने गायक थिए ।

‘पोखिएर घामको झुल्का भरि संघारैमा’(शब्द : हरिभक्त कटुवाल), ‘लौ सुन म भन्छु,मेरो राम कहानी’ (शब्द/संगीत : गोपाल योञ्जन), ‘आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ’ (शब्द : कालीप्रसाद रिजाल), ‘साउनको झरी बनी तिमी आऊ न’ (शब्द/संगीत : दीपक जंगम), ‘यो सम्झिने मन छ, म बिर्सूं कसोरी’ (शब्द : दिनेश अधिकारी) जस्ता गीत प्रतिनिधि मात्र हुन् ।

अन्य गीतकारका पनि उनले बैंस, वय र उमंग, दुःख, पीडा, मिलन, बिछोड, हाँसो, रोदन, प्राकृतिक सौन्दर्य तथा मानसिक चेतनासम्बद्ध शब्दहरू मात्र छानी–छानी गाएका छन् । उनको स्वर माधुर्यले अहिलेसम्म लोकप्रियताको सगरमाथा चुमिरहनुको एउटा कारण यो पनि हो । यस्तै गीतका कारण स्वरसम्राट्को स्वरले धरती–आकाश जोड्छ, संगीतले व्यक्ति–व्यक्तिको मन आह्लादित तुल्याउँछ । अनि नेपाली भाषा र संस्कृति चिरायु बन्छ ।

नारायणगोपाल संगीत कोष
लगभग तीन दशकअघि स्वरसम्राट्को पार्थिव शरीर मात्र टाढा गएको हो, उनका सिर्जना अद्यापि हामीमाझ जीवित छन् र रहिरहनेछन् पनि । स्वरसम्राट्को इच्छानुसार, नेपाली संगीतलाई जीवित राख्न स्थापना गरिएको नारायणगोपाल संगीत कोषले आर्थिक विपन्नतालाई चुनौतीदिँदै प्रत्येक वर्ष उनको पुण्य तिथिमा महाराजगन्जस्थित उनकै निवासबाट सांगीतिक चेत फैलाउने काम गर्दै आइरहेको छ ।

नारायणगोपालले गाएका सबै थरी गीत मंसिर १९ गते प्रस्तुत गर्न एक महिनाअघिदेखि नै नयाँ–पुराना संगीतकर्मीहरू नाम लेखाउने गर्छन् । उनकै शैलीमा गीत गाएर श्रद्धाभाव जनाउने गर्छन् ।

नयाँ पुस्तालाई पाठ
पर्खिबसें आउला भनी, मेरो उठ्ने पालो
कुर्दाकुर्दै जिन्दगी नै भै गएछ कालोकालो
(शब्द : नीर शाह,संगीत : शम्भुजित बास्कोटा)

दिन बितेको साँच्चै पत्तो हुँदैन । संगीतको असली विद्यार्थीका हकमा यो उक्ति झन् लागू हुन्छ । संगीतमा लाग्छु भनेर मात्र हुन्न, त्यही किसिमको साधना पनि चाहिन्छ । यस्तो धैर्य नयाँ पुस्तामा त्यति देखिन्न । ‘स्वरसम्राट्’ उपाधि मात्रै होइन भन्ने बुझन् जरुरी छ, अहिलेको पुस्ताले ।

बहुदलीय व्यवस्थाको स्थापनासँगै नेपाली संगीतले बजार पाएको छ । सँगै अस्वस्थ प्रतिस्पर्धा पनि विस्तारित हुँदै गएको छ । अहिलेका संगीतकर्मीलाई जसरी पनि, जस्तो गीत गाएर पनि ‘हिट’ हुनुपरेको छ । पैसाले सिर्जना जन्मिएला, तर दिगो हुँदैन । यो कुरा स्वरसम्राट्बाट सिक्नु जरुरी छ । संगीतमा वास्तवमै केही गर्न चाहनेले नारायणगोपाल जस्तो इमानदार, स्वाभिमानी र मेहनती हुनुको विकल्प छैन ।

अन्त्यमा,
श्रद्धाको फूल चढाइदिनू आएर लासमा
नपाए फूल भैगयो तिमी रोइदिनू आसमा
(शब्द : रवीन्द्र शाह,संगीत : गोपाल योञ्जन)

२०४७ मा संविधान बन्दै थियो । देशमा अन्तरिम शासन थियो । सन्तनेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए । श्रद्धाको फूल चढाउँदै उनले नारायणगोपाल र उनकी श्रीमती पेमला गुरुवाचार्यका नाममा सरकारले कुनै ठोस काम गर्छ भनी वचन दिएका थिए । पछि महाराजगन्जमा सालिक राखियो, जुन स्तुत्य काम हो । तर, त्यो पर्याप्त थिएन । सरकारले यसबारे गम्भीर हुनु आवश्यक छ ।

स्वरसम्राट्ले साहित्यलाई संगीतमा बदले सबै थरी मानिसलाई संगीतप्रति अभिप्रेरित गरे । उनी कुनै पनि राजनीतिक पार्टीको व्यक्ति बनेनन् । सबैका प्यारा गायक भएर चम्के युगौं–युगसम्म चम्की नै रहनेछन् ।

‘स्वर्गकी रानी मायाकी खानी’ गीत हुँदै सांगीतिक आकाशमा देखिएका नाराणगोपाल जिन्दगीको उत्तरार्धमा ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ आदिजस्ता गीतसँगै अस्ताए । तर सांगीतिक क्षेत्रका सबै थरी सर्जकहरू भन्ने गर्छन्— नारायणगोपाल जीवित छन्, जीवित नै रहनेछन् । ५१ वर्षको उमेरमा परलोक भएका उनी सकारात्मक चेत भएका संगीत सारथि हुन् भनेर एउटा प्रसंगमा जनगायक रामेश, रायन र जेबी टुहुरेले भनेको याद आउँछ ।

जोशी देउडा गायक तथालोकसंस्कृतिकर्मी हुन् ।

प्रकाशित : मंसिर १९, २०७६ ०९:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भाले गैंडा मृत फेला 

नारायण शर्मा

नवलपरासी — चितवन निकुन्जको नारायणी नदी किनारमा ३० वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन निकुन्जका सूचना अधिकृत गोपाल घिमिरेका अनुसार गैंडा फुड प्वइजन (विषाक्त खाना)ले मरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

चितवन निकुन्जको गाँजिपुरबाट बगेको गैंडा नदी किनारको सिसबारमा मृत भेटिएको हो । गैंडा अन्दाजी ३० वर्षको छ । गैंडाको शरिरमा घाउचोट लागेको छैन । गैंडा चरिचणमा जाँदा कहिलेकाँही धेरै खान्छ र फुड प्वाइजन हुन्छ ।

प्रारम्भिक अनुसन्धानले गैंडा फुड पोइजनिङले मरेको दखिन्छ सूचनाअधिकृत घिमिरेले भने मृत गैंडाको खाग र खुर काटेर कसरा ल्याइएको छ । नदी किनारमा गैंडा देखेपछि स्थानीयले निकुन्जमा खबर गरेका थिए ।

निकुन्जबाट खटिएको टोलिले गैंडा मर्नुको कारण र अवस्था बारे अनुसन्धान थालेको छ । यो समेत यो वर्ष कालगतिले ५ वटा गैंडा मरेको छ । चितवन निकुन्जमा गैंडा गणना भैरहँदा भाले गैंडा मृत भेटिएको हो ।

प्रकाशित : मंसिर १९, २०७६ ०८:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×