हामी बेरोजगार, हामी सौखिन

दीप्स शाह

काठमाडौँ — वैदेशिक रोजगारीको सुरुसुरुमा मैले दक्षिणी इजरायलको धनाढ्य गाउँ फरानमा केही समय बिताएकी थिएँ । त्यहाँ फ्रेन्च मूलकी इजरायली सुन्दरी सुसाना मार्कोभसँग मेरो दोस्ती जमेको थियो । लगभग ६० वर्षे धनाढ्य सुसाना (हिब्रुमा ‘सुसाना’ को अर्थ गुलाफको फूल हुन्छ) साँच्चिकै गुलाफझैँ लाग्थिन् ।

हरेक कुराले सम्पन्न उनलाई २३ वर्षे छोरी मिया मार्कोभको थियो, जो आफ्नो डेरामा भन्दा बढी अभिभावकको घरमा बस्थिन् ।

कुनै काम टिकेर नगर्ने मियाको लामो दोस्ती गर्ने केटासाथी पनि थिएन । मलाई लाग्थ्यो— यस्तो पनि कुनै चिन्ताको विषय हो ? अझै त्यति सम्पन्न बाबुआमाकी सन्तानलाई ? सुसानाको गम्भीर चिन्ता त झन् छोरीको केटासाथी नभएकामा थियो । त्यो चाहिँ किन त ? उनलाई लाग्थ्यो— केटासाथी भएको भए छोरी उसैको साथ र प्रेरणाले भविष्यप्रति गम्भीर हुने थिई र कुनै काम टिकेर गर्दै आफ्नै खुट्टामा उभिन सक्ने थिई ।

कुरा सामान्य थियो, तर सुसानाको चिन्ता असामान्य । सुसानाको त्यही असामान्य चिन्ताले मलाई हाम्रो समाजलाई, अझ भनूँ आफैभित्र नियाल्न बाध्य बनायो । त्यस बखत म आफै पनि २४–२५ वर्षकी थिएँ । त्यो समयसम्म यदि म अविवाहित रहेकी भए पक्कै पनि अभिभावककै आश्रयमा हुने थिएँ, ससानो काम गरेकै भए पनि । विवाहपछि पनि यदि मेरो परिवार आर्थिक अवस्थामा सम्पन्न हुँदो हो त मैले घरबाहिर काम गर्ने थिइनँ, अझै वैदेशिक रोजगारी त निकै परको कुरा ।

त्यो अवस्थामा मेरो परिवार मेरो काम र कमाइप्रति त्यसरी चिन्तित हुनुपर्ने नै थिएन । तर त्यो दक्षिणी इजरायलको समृद्ध गाउँ फरान निवासी मिया मार्कोभका अभिभावकको चिन्ता ? जो फरानकै सम्पन्नमध्ये गनिन्थे, जसका गाई फार्म र कृषि फार्ममा दैनिक पचासौँ विदेशी कामदार काम गर्थे, जसको आफ्नै आलिशान घर र निजी हेलिकप्टरसमेत थिए, उनीहरूलाई लक्का जवान छोरीले रोजगारी गरिन भनेर त्यति
विघ्न टाउकोदुखाइ ?

त्यसपछि मैले बुझ्न थालें हामीले सम्पन्न मानेको इजरायली समाजलाई । इजरायलीहरू १६ वर्षकै उमेरदेखि काम सिक्न थाल्दा रहेछन् । १८ वर्षदेखि त अनिवार्य काम गर्दा रहेछन् र २१ वर्ष पुग्दा पूर्ण कामकाजी बनिसक्ने रहेछन् । त्यहाँ व्यक्ति कसको सन्तानभन्दा पनि व्यक्ति को हो, के गर्छ भन्ने कुराको महत्त्व हुने रहेछ ।

इजरायली श्रम व्यवस्था अनुसार, पुरुष ६७ वर्ष र महिला ६२ वर्षमा सामान्यतया सेवानिवृत्त हुने भए पनि शारीरिक–मानसिक तन्दुरुस्तीका आधारमा जीवनभरि आफूले सक्ने काममा व्यस्त हुँदा रहेछन् । र त अर्बपति पिताकी १६ वर्षे छोरी रेगेभ कुरी स्कुलबाहेकको समय नजिकैको बेकरीमा काम गर्दी रहिछन् ! इजरायली गुप्तचर विभागको उपल्लो पदबाट सेवानिवृत्त भएर मोटो पेन्सन बुझ्ने सम्पन्न वृद्धा चिपोरा ह्याम्प्स पनि सातामा चार दिन स्थानीय आर्ट ग्यालरीमा काम गर्दी रहिछन् । शारीरिक–मानसिक रूपमा सबल मान्छे बेकामे बस्नै हुन्न भन्ने उनीहरू मान्दा रहेछन् ।

उनीहरूको सोचाइ रहेछ— तन्दुरुस्तीका लागि पनि मान्छे कामकाजी भइरहनुपर्छ । कसैको कुस्त सम्पत्ति छ भने बरु कुनै ट्रस्टलाई दान गर्ने तर आफूले भने सक्नेजति काम आफै गर्ने र आफ्नो बोझ आफै उठाउने गर्नुपर्छ । अरूको भर परेर मूल्यवान् समय खेर फाल्नु हुन्न ।

त्यहाँ पद र प्रतिष्ठा व्यक्तिगत हुने रहेछ न कि हाम्रोमा झैँ पारिवारिक । त्यहाँ गण्यमान्य डाक्टर श्रीमतीका श्रीमान् आफ्नो योग्यता अनुसार डोमिनी पिज्जा सेन्टरमा डेलिभरीको काम गर्दा रहेछन् । उनका छोराछोरी योग्यता अनुसार गार्डनिङ वा क्लिनिङको काम गर्दा रहेछन् । कोही खाली नबस्ने ! यता हाम्रोमा चाहिँ श्रीमान् डाक्टर भए श्रीमती स्वतः डाक्टर्नी, चाहे उनले एकै अक्षर नजानेकी किन नहून् ! उनका छोराछोरी उसै प्रतिष्ठित, जसले सानोतिनो काम छुनै हुन्न, बरु घरको एक्लो कमाउ सदस्यको कमाइमा अहम् गर्ने ! हाम्रोमा आफूले सक्ने साना–ठूला आफ्ना काम आफै गर्नुपर्छ र तिनै ससाना दैनिक कामकाजको सीप नै भविष्यको स्वावलम्बन आधार हो भनेर सिकाइंँदैन ।

खास गरी सहरतिर स्कुले केटाकेटीको त के कुरा, कलेज जाने छोराछोरी पनि आफूले खाएका थाल माझ्ने, आफ्नो बिस्तरा मिलाउने, नुहाएपछि जीउ पुछेको तौलिया आफै सुकाउने जस्ता मसिना आफ्नै कामसम्म नगर्ने र तिनै झिनामसिना कामका लागि घरका महिला सदस्यहरू अल्झिनुपर्ने हुन्छ, चाहे तीमध्ये कतिपय महिला पठित तथा अन्य कमाउ कामका लागि सक्षम नै किन नहून् ।

नेपालमा पछिल्लो जनगणना अनुसार, कुल जनसंख्यामध्ये ४८.५० प्रतिशत पुरुष छन् भने ५१.५० प्रतिशत महिला । तर श्रमशक्ति सर्वेक्षणको तथ्याङ्कले श्रमशक्तिमा पुरुषको सहभागिता ५३.८५ प्रतिशत देखाएको छ भने, महिला सहभागिता २६.३५ प्रतिशत मात्रै । फरक हेर्नुस् त ! यति ठूलो संख्याका महिला दिदीबहिनी के गरिरहेछन् ? तिनलाई श्रम बजारमा ल्याउनु जरुरी त हुँदै हो, तिनको श्रम र सीप उपयोग गर्नु देशकै अर्थतन्त्रका लागि पनि फलदायी हुन्छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार, हाम्रो बेरोजगारी दर ११.४५ प्रतिशत छ । यसो हुनुमा श्रम बजारमा उपलब्ध सबै श्रमशक्तिको उपयोग गर्ने क्षमता मुलुकका औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रमा नहुनु र राज्य यसमा पहल गर्न उदासीन रहनु नै हो । यसको अर्को प्रमुख कारक शैक्षिक योग्यता, दक्षता, अनुभव र सीपका आधारमा स्वरोजगार बन्न सकिनेआधार हुँदाहुँदै पनि जागिर कुरेर वा वैदेशिक रोजगारको भिसा कुरेर बसिखाने युवा मानसिकता पनि हो ।

यहाँं बारबार वैदेशिक प्रसंग किन पनि जोडिन आउँछ भने, हामी आधुनिकताका नाममा बाहिरका अनेक नकारात्मक कुरा अन्धाधुन्ध नक्कल गरिरहेछौँ, तर व्यवहारमा काम लाग्ने, जीवनमा फरक ल्याउने सकारात्मक पक्षको अनुकरण चाहिँं किन गर्दैनौँ ? किन श्रमलाई सम्मान गर्ने र आफ्नो बुतामा उभिएर बाँच्ने कुरामा वास्ता गर्दैनौं ? देशको युवाले श्रमको महत्त्व बुझ्नु भनेको युवाशक्ति बलियो हुनु हो । युवाशक्ति सक्षम हुनु भनेको सिङ्गो देश बलियोसँग उभिनु हो ।

प्रकाशित : मंसिर १६, २०७६ ०८:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिरोमा पुरिए ५ मजदुर, गाउँमा रुवाबासी

लालप्रसाद शर्मा

(पोखरा) — सडक स्तरोन्नतिका क्रममा माथिबाट खसेको सुक्खा पहिरोले पुरिएर आइतबार ५ कामदारको घटनास्थलमै मृत्यु भएको छ । पोखरा महानगर–२०, मौजास्थित बिसौनामा तोभान बस्नेत, खिमलाल ओली, गणेश ओली, जितबहादुर बस्नेत र जोगेन्द्र बुढाथोकी पुरिएका हुन् ।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार उनीहरू सबै सल्यान, बागचौर नगरपालिका–४ फेदीखोलाका हुन् ।

महानगरको कनेक्टिङ रोडअन्तर्गत मनिपाल–बिसौना–सिकलेस–मनाङ सडक खण्डको उक्त स्थानमा रिटेनिङ वाल बनाउने क्रममा पहिरो खसेको थियो । कास्कीमा उपनिर्वाचनका कारण शुक्रबार र शनिबार मजदुरलाई बिदा दिइएको थियो । रिटेनिङ वाल बनाउन दुई दिनअघि जग खनिएको थियो । आइतबार बिहान ७ मजदुर गएर सोइलिङको काम गर्न लागेको १० मिनेटमै माथिबाट ढिस्को खसेर पुरेको ठेकेदार कम्पनी रोयल/सनीदेव जेभीका इन्जिनियर सोवित केसीले बताए ।

बिहान ८ बजेर ५ मिनेटको समयमा ३० मिटर माथिबाट आएको पहिरोले उनीहरू पुरिएका थिए । नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र सर्वसाधारणले करिब २ घण्टा लगाएर उनीहरूको शव निकालेका हुन् । इन्जिनियर केसीले ‘यसरी काम गर्नू है’ भनेर अर्कोपट्टि लाग्नासाथै पहिरो खसेको बताए । ‘एकैछिन त्यहीँ भएको भए म पनि पर्ने रहेछु,’ उनले भने । मजदुरद्वय खिमलाल बस्नेत र सुकबहादुर बस्नेत भने भाग्न सफल भए । खुट्टा मात्र माटोले चेपेकाले उनीहरू बचेको केसीले बताए ।

पाँचै जनाको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । शवको पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाउने तयारी प्रहरीको छ । पोखरा–२० का अध्यक्ष सीम गुरुङका अनुसार उक्त सडक पोखरा महानगरपालिकाको ८ करोड २५ लाख रुपैयाँको लागतमा स्तरोन्नति भइरहेको छ ।

गाउँमा रुवाबासी
सल्यान– मजदुरीका लागि पोखरा पुगेका बागचौर नगरपालिका–४, शिवरथका पाँच जनाको मृत्युको खबरले पेदीखोला र सिमखोली गाउँ शोकमग्न भएका छन् ।

सडक निर्माणमा खटिएका मजदुरको आइतबार बिहान मृत्यु भएको थियो । खबर पाउनेबित्तिकै मृतकका परिवारजन अचेत रहेको स्थानीय हरिकिरण बस्नेतले बताए । ‘केहीलाई स्लाइन चढाइएको छ,’ उनले भने, ‘गाउँमा यति धेरै मान्छे एकैपटक मरेपछि सन्नाटा छाएको छ ।’ गाउँभरि रुवाबासी मच्चिएको उनले बताए । मजदुरी गर्न गाउँका सात जना गएका थिए । दुई जना घाइते छन् ।

जिल्ला सदरमुकामदेखि करिब १० कोस उत्तरमा अवस्थित पेदीखोला र सिमखोली गाउँका यी स्थानीय कात्तिक अन्तिम साता पोखरा पुगेका थिए । मृतकको पोस्टमार्टमका लागि परिवारका सदस्य पोखरा गएका छन् ।

उनीहरूको शव गाउँमा ल्याउन जिल्ला समन्वय समितिले सहयोग गर्ने समिति प्रमुख केशबहादुर विष्टले बताएका छन् ।

प्रकाशित : मंसिर १६, २०७६ ०८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×