कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

युवा पुस्ताको सकस 

कृष्णप्रसाद पौडेल

नेपालको युवा पुस्ताको विदेश पलायन सुरु भएको पनि दुई दशक भैसकेको छ । यो संघार काटेर निस्कनेमा भारतको कुमाउमा अमानवीय जिन्दगी जिउन बाध्य दलितदेखि बोर्डिङ स्कुलको झोलाभन्दा गह्रौं शैक्षिक प्रमाणपत्रको भारी बोकेर वैभवमा रमाउन अमेरिका भासिएका पढेलेखेका वयस्कोत्तर युवासम्म छन् । 

युवा पुस्ताको सकस 

केही बाआमा र आफन्तको जालझेलको बिँडो थाम्न रमाएका र थप केही करकापमा बाआमाको बुढेसकालको सहारा बन्न बाध्य भएका तन्नेरी बाहेक नेपाल बस्न चाहने कोही भेटिँदैन । घरै छोड्न नसक्ने अशक्त र मौका नपाउनेको कुरा बेग्लै भयो, नत्र कुनै युवाले नेपालमै बसेर केही गर्छु भनेको कमै सुन्न पाइन्छ । सँगै, धेरैजसो अभिभावक, नेता, अभियन्ता र सामाजिक विश्लेषकले समेत युवाहरूलाई ‘नेपालमै बस, तिम्रो र यो समाजको भविष्य राम्रो हुन्छ’ भन्ने आँट गरेकोसम्म सुनिँदैन ।


अहिले पुग–नपुग ३ करोड जनसंख्या भएको मुलुकको ८० लाख ऊर्जावान् दक्ष श्रमशक्ति मुलुकबाहिर रगत–पसिना बगाउन बाध्य छ । यीमध्ये धेरै ग्रामीण युवा किसान नेपालको हराभरा खेतबारी छोडेर रोजगारीका लागि भारत र खाडी मुलुकमा छन् । केही घरानिया, पढेलेखेका, अब्बल र सचेत बाआमाका उत्कृष्ट भनिएका सन्तति भने अध्ययनका लागि भन्दै विकसित भनिने युरोप, अस्ट्रेलिया र अमेरिका पुगेका छन् । यीमध्ये अधिकांश अध्ययनपछि उतैको समृद्धिमा जुटेका छन् ।


अधिकांश बिभिन्न बाध्यताले मुग्लान पसेका हुन् । मूलत: बहुसंख्यक मानिस आफ्नै पेट पाल्न र घरपरिवारका लागि चुलो बाल्ने मेसो मिलाउन बाहिरिने गरेका छन् । गह भर्दै यसरी विदेशिनेमा लालाबालाका आमाबादेखि सामाजिक जीवनको पूर्वार्द्धमा पाइला टेक्दै गरेका र जुँगाको रेखीधरि बसिनसकेका कलिला युवासम्म छन् । मुग्लान पसेका युवा बाध्यतामा नपरी सितिमिती नेपाल फर्किनै चाहँदैनन् । आफ्नै देशमा रगत–पसिना बगाउनुपर्ने यो पुस्ता नै पलायन हुने बाटो किन रोज्दै छ ? के कुराले तानेको छ या धकेल्दै छ उनीहरूलाई ? यिनले नेपालमा भविष्य किन देख्न सकेका छैनन् ?


यी पेचिला प्रश्नको उत्तर भने सरल नै छ । अहिलेको युवा पुस्ता महरा, आलम, लोकमान, चूडामणिको जस्तो गतिछाडा व्यवहार र लुटतन्त्र सहन तयार छैन; आफ्नै बाआमा जो भए पनि यिनका मतियार बनेका भ्रष्ट शासकको मुखसम्म हेर्न चाहँदैन । उनीहरू त निर्मलाको न्यायको पक्षमा छन्; तेत्तीस किलो सुन र एनसेलको कर असुली भएको देख्न चाहन्छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेका आफन्तलाई झ्यालखानामै गएर भेट्न चाहन्छ ।


हाम्रो समाजमा जसरी लुछाचुँडी, जालझेल, ठगी र अत्याचार चलिरहेको छ, यसलाई स्विकार्न युवा पुस्तालाई सकस परेको छ । यिनले गाउँघरदेखि सहरसम्मका ठूलाबडाको हैकम र मनोमानीको पीडा भोगेका छन्; आफू र आफूजस्तै साथीभाइलाई परेका अन्याय र अत्याचारका कथा पढेका छन्; आफ्नै बाआमा, काकाकाकी, दिदीभिनाजुले लुटेको अकुत सम्पत्तिको स्रोत सुनेका छन्; यसको वरिपरि हुने चलखेल, लेनदेन र नैतिक स्खलनका घटना थाहा पाएका छन् । उनीहरूले फेरिँदो समाज, वातावरण र मानवीय नैतिकता र मूल्य–मान्यताको मर्म बुझ्न थालेका छन् । उनीहरू राम्रो आम्दानी र रोजगारी भएको सम्मान र स्वतन्त्रताको जिन्दगी जिउन चाहन्छन्; समतामूलक समाज निर्माण गर्न र त्यसैमा रमाउन चाहन्छन् ।


युवा पुस्ताको सोच र व्यवहार जस्तो हुन्छ, हाम्रो समाजको भविष्यको नियति पनि त्यस्तै हुने हो । विडम्बना, हाम्रो युवा पुस्ता भने पलायनको बाध्यतासँगै असुरक्षित र निरीह देखिएको छ । त्यसमाथि नेपालको भविष्य सम्हाल्ने बागडोर वास्तविक युवा पुस्तामा आउने छाँट भने अझै सुदूर क्षितिजमा समेत देखिएको छैन । यो अहिले पनि आफूलाई युवाकै दर्जामा राख्ने तर जोसजाँगर, ऊर्जा र होससमेत गुमाएका वृद्ध युवाहरूको काँधमा सर्दै कालान्तरसम्म यो ऊर्जावान् युवा पुस्तामा सर्दै नसर्ने जोखिममै छ । बूढो गोरुले भकारो ओगटेजस्तै राजनीतिको बूढो पुस्ताले समाज अगुवाइको क्षेत्रमा युवाहरूको प्रवेश नै निषेधित गरेको छ । अरूको त के कुरा, युवा अधिकारका लागि बनेका संस्थामा समेत बूढो पुस्ताकै वर्चस्व छ ।


नेपालमा, खासगरी राजनीतिमा पुस्ता हस्तान्तरणको चर्चा बेलाबेला उठ्छ । तर यो युवा पुस्तामा राजनीतिको नेतृत्व सार्न गरिएको माग भने हैन, केवल ठूलो नेता हुने पालो नआउँदै आफ्नो राजनीतिक इहलीला समाप्त हुन्छ कि भनेर तर्सिएको जमातले व्यक्त गरेको कुण्ठा मात्र हो । किनकि यो पुस्ताले राजनीतिलाई भाडा असुल्ने र कुत खाने बिचौलिया पेसाका रूपमा लिई शीर्षनेताको दलालीमै जिन्दगी गुजारेको छ । यो सब देखेका आजका युवामा अहिलेको फोहोरी राजनीतिको विरासत बोक्ने चाहना र आँट दुवै देखिँदैन । उनीहरूलाई दिशानिर्देश गर्ने सामाजिक चेतना भएका अभियन्ता पनि थकित छन् । उनीहरू चार दशकको राजनीतिक स्वतन्त्रताको आन्दोलनका क्रममा देखेभोगेका मनोमानी र उत्पीडनबाट थकित छन् ।


आम रूपमा नेपाली समाजमा युवाप्रति सकारात्मक दृष्टिकोण पाइँदैन । हाम्रो जस्तो सामन्ती समाजमा युवाहरू अपहेलित, तिरस्कृत, उपेक्षित र असुरक्षित भएको महसुस गर्छन् । युवतीको अवस्था झनै दयनीय छ । युवाहरू सामान्यतया ऊर्जावान्, लचिला र सजिलै घुलमिल हुन सक्ने हुन्छन् । तर कलिलै उमेरमा पलायन हुन बाध्य युवा जमात धेरै दृढ, आशावादी र सुरक्षित भने छैन । मुख्यत: उनीहरूको पारिवारिक र पारस्परिक सम्बन्धको जालो भत्किएकाले यस्तो भएको हो । उनीहरू आफ्नै परिस्थितिको दास भएका छन् ।


रूसोले भनेझैं मानिस स्वतन्त्र जन्मिन्छ र सामाजिक जञ्जालले बाधिँदै जान्छ । घरपरिवारमा बिताएको बाल्यकालबाट भरखर समाजमा प्रवेश गरेको युवा मन र मस्तिष्क अन्य उमेर समूहको भन्दा स्वतन्त्र हुन्छ । यसको सबैभन्दा बलियो पक्ष भनेको यो आफ्नै अनुभवको पर्खालको जडताले घेरिएको हुँदैन र सबै खाले सामाजिक जञ्जालले बाँधिइसकेको हुँदैन । तर आफ्नै जिन्दगीलाई फर्केर हेर्न बिर्सेको आडम्बरी बूढो पुस्ताको छत्रछायामा जिउन बाध्य युवा पुस्ता कहिल्यै सम्मानित भएर बाँच्न पाउँदैन । उसले उल्टै थेच्चिनु, होचिनु र हेपिनुपर्छ ।


मुलुक अकल्पनीय गतिहीनतामा छ । अर्थतन्त्र यिनै युवाको रगत–पसिनाले धानेको छ । कुनै पनि कारणले अहिलेको युवा पुस्ताले उन्नति र प्रगतिको फड्को नमारी पाको उमेरमा पाइला राख्ने परिस्थिति बन्यो भने, नेपाली समाजको दुर्दिनको गन्ती त्यहींबाट सुरु हुन्छ । किनकि अहिलेको एक चौथाइ ऊर्जावान् युवा पुस्ताले त्यतिबेला आफ्नै ज्यान पाल्ने र स्याहार गर्ने जोहो गर्नसमेत श्रम गर्ने हैसियत गुमाइसकेको हुनेछ । यस्तो अवस्थामा हाम्रो समाजको भविष्य अझ कस्तो होला ?


हामी अहिले मानव सभ्यताकै नयाँ घुम्तीमा उभिएका छौं । गतिका वरिपरि भएका आविष्कार, अन्तरजाल, ताररहित ध्वनि तरंग, कृत्रिम बुद्धिमत्ता र सूक्ष्म तथा जैविक प्रविधिको विकासले मानवीय समाज र प्रकृति बीचको अन्तरसम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न र सोही आधारमा यसको व्यवस्थापन गर्न नयाँ चेतनाको माग निरन्तर बढिरहेको छ । उदाहरणका लागि, केही वर्षसम्म पत्यार गर्न गाह्रो परेको अन्तरजालको अब चर्चासमेत हराउँदै छ । किनकि यो हाम्रो जीवनमा दाल–भातजस्तै भैसक्यो, हामीले यसलाई प्रविधिभन्दा पनि दैनिकी बनाइसक्यौं ।


यस अर्थमा, यो पुस्तासँग अब ग्रिक मिथकको फिनिक्स चराजस्तै खरानीबाट ब्युँझिनुको विकल्प छैन । सके उनीहरूलाई यसतर्फको यात्रामा साथ दिऔं, नसके पनि भविष्यतर्फको यात्रामा दृढ भई अघि बढ्न बाटो छोडिदिऔं । यसैमा हामी सबैको कल्याण छ ।


प्रकाशित : कार्तिक २९, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?