कम्युनिस्टहरूको धार्मिकीकरण

आहुति

नेपालको कम्युनिस्ट आन्दोलनमा दशकौंदेखि आदर्शवाद (आइडिअलिज्म) वा धर्मवादको विकल्पका रूपमा भौतिकवादको पक्षमा जुटेका, त्यसैमा आधारित राजनीतिका निम्ति अकल्पनीय कष्टहरूसमेत व्यहोरेका र भौतिकवादी दार्शनिक प्रणालीको व्याख्याता नेताका रूपमा चर्चितहरू त्यतिबेला नै क्रमश: धार्मिक वा धर्मसापेक्ष बन्दै गएको गज्जबको दृश्य प्रकट हुने गरेको छ, जतिबेला उनीहरू देशको परम्परागत सत्ताधारी पुँजीवादी राजनीतिको खेलाडी बन्ने मैदानमा उत्रिन थाल्दछन् ।

साधारण नेता–कार्यकर्तामा यस्तो परिघटना देखापर्दा पार्टीमा वा समाजमा त्यो व्यक्ति बिग्रियो वा आफूलाई बदल्न सकेन भनेर बुझ्ने वा चित्त बुझाउने गरिन्छ तर आस्थाको धरोहरका रूपमा गनिँदै–मानिँदै आएका नेतामा यस्तो प्रतिगमन जब देखापर्छ, त्यतिबेला भने उसका समर्थकहरूमा मात्र हैन सिंगै समाजमा नरमाइलो विषादको तरङ्ग फैलिने गरेको छ । नेपालका नेल्सन मण्डेलाका रूपमा त्यतिबेला चर्चा पाएका मोहनचन्द्र अधिकारी आस्तिक भएको खबर सार्वजनिक भएपछि उनको पार्टीसँग सम्बन्धित युवाहरू र थुप्रै नागरिकहरूमा त्यस्तै विषादपूर्ण वातावरण बनेको थियो । उनको पार्टीविरोधी कम्युनिस्ट तथा बौद्धिकहरूले त्यस प्रवृत्तिका विरुद्ध तीखो आलोचना गरे तर उनको तत्कालीन पार्टी एमालेले त्यसबारे न कुनै औपचारिक एजेन्डा बनायो, न त समाजलाई कुनै उत्तर दियो । बरु वि.सं. २०५१ को चुनावपछि अल्पमतको सरकारको नेतृत्व गर्ने बेलासम्म पुग्दा एमालेका नेताहरू बोकाको रगतमा टेकेर पदभार ग्रहण गर्ने, बर्खीको सारी प्रदर्शन गरेर भोट बटुल्ने र धार्मिक पूजासहित शिलान्यासमा सजिलै थ्याच्च–थ्याच्च बस्न थाले । अन्तत: त्यस पार्टीभित्र आदर्शवाद र भौतिकवादी दार्शनिक प्रणाली र जीवन आचरणबारेको बहस नै गायब हुन पुग्यो ।

धर्मवाद गलत र भौतिकवाद ठीक भनेर वर्षौंदेखि संघर्ष गर्दै घरभित्रसमेत चरम संकट झेल्दै आएका हजारौं कार्यकर्ताका दिमागमा उठेका प्रश्नहरूलाई क्रमश: सत्ता, शक्तिको आडमा कार्यकर्ता व्यवस्थापन समस्याको फाइदा उठाएर ‘व्यावहारिक राजनीति’को मायाजालमा रफरदफर पारियो । २०२८ सालको आसपासदेखि विकसित भएको धार्मिक अन्धताविरोधी विशाल फौजमाथि अक्करमा पारेर नेता मण्डलीले लादेको त्यो प्रतिगमन वास्तवमा जघन्य वैचारिक हत्याकाण्ड थियो । आज माओवादी धाराको सत्ताधारी बन्न पुगेको नेता मण्डलीको धार्मिकीकरणलाई देख्दा यस्तो लाग्छ कि त्यस वैचारिक हत्याकाण्डको आज भव्य साङ्गे गरिँदैछ । भैंसी पूजा र जोगी बाबाजीहरूसँगको हिमचिमसँगै सुरु भएको पुष्पकमल दाहालको धार्मिकीकरणको यात्रा अशक्त बालकलाई देवत्वकरणसम्म गिर्न पुगेको छ । श्रीकृष्ण जन्माष्टमीमा नारायणकाजी श्रेष्ठ भागवत गीताको ज्ञानको महिमागानसहित ट्वीटरमा शुभकामना बाँड्न थालेका छन् । बाबुराम भट्टराई धर्म त्याग गरी भौतिकवादी बन्न होइन, बरु एउटा धर्मको सट्टा अर्को धर्ममा लाग्न सुझाव दिँदैछन् । कृष्णबहादुर महरा घर अगाडि मन्दिर बनाउँदैछन् । सत्ताधारी कम्युनिस्ट पार्टीका सांसदहरू मन्दिर, गुम्बा, मस्जिद, चर्चका निम्ति आफ्नो विकास कोषबाट ह्वारह्वार पैसा वितरण गर्न उत्साहित छन् । आजको सत्ताधारी कम्युनिस्टहरूको धार्मिकीकरणलाई हेर्दा हिजो २०४७ पछि एमालेको नेता मण्डलीमा देखापरेको सुरुवाती धार्मिकीकरण त निकै नै फुच्चे देखापरेको छ ।

माओवादी धाराबाट विकसित हजारौं युवाहरू जसले धार्मिक अन्धताका विरुद्ध जीवनमरणको संघर्षबाट भौतिकवादी जीवन प्रणालीमा जान संघर्ष गर्दै आए, उनीहरू न त भौतिकवादी चेतनालाई तुरुन्तै बेवास्ता गर्न सक्ने चेतनामा छन् न त धार्मिकतालाई सजिलै अंगाल्न सक्ने ! उनीहरू यथार्थमा आज भीषण मनोवैज्ञानिक विषादका बीचबाट गुज्रिन बाध्य देखिन्छन् । कार्यकर्ताका भौतिक व्यवस्थापनका संकट, पहिलेदेखि नेतृत्वप्रति विकसित अन्धतापूर्ण भावनात्मक अनुराग र न्यून चेतनामाथि ठूलो पार्टी, सत्ता र समृद्धिका बडेमानका डोजर चलाएर उनीहरूको मनोवैज्ञानिक विषादमाथि विजय पाउने मायाजाल चलाइएको छ । यसप्रकारको डोजर किल्चाइबाट कति बच्न सक्लान् अहिल्यै भनिहाल्न त सकिँदैन तर पुरानो कम्युनिस्ट आन्दोलनको कार्यकर्ता हुर्काइ प्रणालीको कोपबाट घाइते उनीहरूमध्ये धेरैचाहिँ यस वैचारिक हत्याकाण्डको साङ्गेको आहुति बनेर खरानी हुने निश्चित देखिन्छ । कतिपय व्यक्तित्वहरूले तर्क गर्ने गर्छन् कि धार्मिक बन्ने वा भौतिकवादी बन्ने, त्यो व्यक्तिको इच्छाको विषय भएकाले पार्टीका पूर्वभौतिकवादी नेताहरूको धार्मिकीकरण आलोचनाको विषय होइन । यो विषय केवल व्यक्तिको हुन्थ्यो भने त तर्क ठीकै हो तर यो विषय त सत्तरी वर्ष बीचमा हुर्केका विभिन्न पुस्ताका लाखौं मानिसलाई संगठित रूपमा निर्णय गरेर भौतिकवादी बन्न प्रेरित गरिएको प्रकरण हो । भौतिकवादी नबने कम्युनिस्ट पार्टीको सदस्य बन्न नपाइने गरी लागू गरिएको ऐतिहासिक सन्दर्भ हो । आज जथाभावी धार्मिकीकरणमा लिप्त नेतृत्व मण्डलीले हिजो भौतिकवादको पक्षमा अपिल गर्नु गल्ती भयो भनी सार्वजनिक आत्मालोचना पनि नगरी यसो गर्न मिल्छ ? अनि भौतिकवादी जीवन प्रणालीको बहस त्यतिकै गायब पार्न पाइन्छ ? यो नैतिक विषय मात्र होइन, संगठित आन्दोलनको कोणबाट हेर्दा गम्भीर सांगठनिक अपराधसमेत हो ।

राजनीतिक आन्दोलनलाई केवल सत्ताप्राप्ति वा विकास निर्माण जस्ता विषयसँग मात्र गाँसेर बुझ्नेहरूका निम्ति यो बहस अनावश्यक पनि लाग्न सक्ने हुन्छ । तर यो बहस तबसम्म एउटा आधारभूत बनिरहनेछ, जबसम्म नेपाल र दुनियाँमा कम्युनिस्ट आन्दोलन जीवित रहन्छ । कम्युनिस्ट आन्दोलन जन्मिनुको मुख्य दार्शनिक आधार नै भौतिकवादी विश्व दृष्टिकोण हो । आज सत्ताधारी बनेकाहरू कम्युनिस्टकै नाममा खेतीपातीलाई उर्वरा बनाइरहेका हुनाले यस आधारभूत कम्युनिस्ट विषयको उनीहरूले सामना गर्नैपर्छ, उनीहरूमाथि सहस्र प्रश्नहरू उठ्नैपर्दछ । कम्युनिस्टको ‘ट्रेड मार्क’ समेत पनि मिल्काइन्छ भने यो बहस उनीहरूसँग जरुरी हुने छैन ।

कम्युनिस्ट आन्दोलन जन्मिनुभन्दा पहिलेका सबै प्रकारका राजनीतिक आन्दोलनहरूको दार्शनिक वैचारिक आधार एउटै थियो अर्थात् आदर्शवाद वा प्रत्ययवाद (आइडिअलिज्म) । त्यतिबेला पनि संसारका विभिन्न भागमा भौतिकवादी चिन्तन प्रक्रियाका विभिन्न भँगालाहरू त थिए तर राज्य निर्माण, देशभक्तिपूर्ण संघर्ष, सामन्तवादविरोधी पुँजीवादी क्रान्ति आदिका दार्शनिक आधार भने आदर्शवाद नै थियो । आदर्शवाद वा धार्मिकता समाजमा लागू गर्दा त्यसले एक मानिसले अर्को मानिसमाथिको शोषण उत्पीडनलाई विभिन्न नाममा छुट र वैधानिकता दिँदै आएको थियो । त्यसले बढीमा दु:खी मानिसमाथि दया र सहानुभूति राख्दथ्यो तर दु:ख थोपर्नेहरू विरुद्ध संघर्ष गर्न अनुमति दिँदैनथ्यो । आजभोलिकै सन्दर्भ नियाल्दा पनि यो प्रस्ट हुन्छ । हिन्दु, बौद्ध, मुस्लिम, इसाई, ओशोपन्थ जति पनि धार्मिक पन्थहरू छन् उनीहरू सबै दु:खीको सेवा गर्न तयार छन् तर दु:खी बनाउने अत्याचारी व्यवस्थासँग लड्न दु:खीहरूलाई संगठित गर्ने कुरामा उदासीन मात्र होइन, सारमा त्यसको विरुद्धमा हुन्छन् । मानव इतिहासमा देखापरेका यस्तै दार्शनिक संकटमा जन्मिन पुगेको थियो भौतिकवाद र कम्युनिस्ट आन्दोलन ।

सामन्तवादलाई परास्त गरेर अगाडि आएको पुँजीपति वर्गलाई आदर्शवादी धार्मिकताले साथ दियो, बढीमा धर्ममा केही परिमार्जन गर्दा त्यसले उसको सजिलै सेवा गर्ने भयो किनभने सामन्तको शोषणको स्थानमा पुँजीपतिको शोषणलाई वैधता दिए पुग्ने भयो, जुन काम धर्ममार्फत सजिलै गरियो । मुख्य आवश्यकता शोषणको निरन्तरता थियो, त्यो आदर्शवादी धार्मिकताबाट सम्भव भएकाले सामन्तवर्गलाई परास्त गरेको पुँजीवादले त्यसलाई सहवरण गर्‍यो । तर पुँजीवादले जन्माएको विशाल संख्याको सचेत मजदुर वर्गका अगाडि आदर्शवादी धार्मिकताको दार्शनिकी बेकामको ठहरियो किनभने मानिसमाथि मानिसको शोषणकै अन्त्यबिना आधुनिक मजदुर वर्गको मुक्ति असम्भव देखियो । त्यसपछि नै यही जन्ममा, यही दुनियाँमा, मानिसले आफ्नै बलबुत्तामा शोषणको अन्त्य गर्ने वैकल्पिक दार्शनिकीको खोजीका क्रममा नै मार्क्सवादी भौतिकवादी दार्शनिकीको आविष्कार हुन पुगेको हो । यस ऐतिहासिक सन्दर्भबाट सजिलै प्रस्ट हुन्छ कि भौतिकवादी दार्शनिक वैचारिकी मानव इतिहासमा आदर्शवादी धार्मिक दार्शनिकीको विरुद्ध प्रकट भएको एक मात्र वैकल्पिक दार्शनिक प्रणाली हो । यही दार्शनिक प्रणालीको अवलम्बन र प्रयोगका निम्ति नै कम्युनिस्ट आन्दोलन टिक्छ कि टिक्दैन भन्ने कुरा सर्वाधिक महत्त्वको कुरा हो, यो विषय संसदीय खेलाडीहरूले भनेजस्तो ‘व्यावहारिक राजनीति’वाला खाइजीविकाको विषय कदापि होइन । आज व्यावहारिक राजनीतिका नाममा आदर्शवादी धार्मिकताको लज्जाजनक व्यवहार गरिरहेका सत्ताधारी कम्युनिस्टहरूले यदि आफ्नो कम्युनिस्ट ‘ट्रेड मार्क’ वाला राजनीतिको सम्बन्ध अब भौतिकवादी दार्शनिकतासँग नरहेको, त्यो आवश्यक पनि नभएको आधिकारिक घोषणा गर्थे भने उनीहरू कम्तीमा नैतिकवान ठहर्थे । यसो गर्दा आम नागरिकले कम्युनिस्ट पनि धार्मिक वा धर्मसापेक्ष हुन्छन् र भनी टाउको दुखाउन पर्दैनथ्यो !

हिजो मोहनचन्द्र अधिकारी र एमाले नेतृत्व मण्डलीको धार्मिकीकरणदेखि आज सत्ताधारी माओवादी धाराको धार्मिकीकरणसम्ममा एउटा गहिरो प्रश्न विशेषत: युवापुस्ताको दिमागमा उब्जिरहेको छ । आखिर यस्तो किन हुन्छ ? जो भौतिकवादलाई छोडेर धार्मिकीकरणमा खटाई–खटाई निर्लिप्त यात्रामा छन्, उनीहरूले बढीमा ‘व्यावहारिक राजनीति’को काइते जवाफमा ठिंगुराउने प्रयत्न गरिरहेछन्, त्यसबाहेकको बौद्धिक बहस यसबारेमा गम्भीरतापूर्वक सुरुआत नै भइरहेको छैन । युवापुस्तालाई विश्वविद्यालयमा दर्शनशास्त्र पढाउने तर कुन दर्शनले आजको समाज, जीवन र राजनीतिलाई कसरी ठीक वा गलत दिशामा लगिरहेछ भनेर नबोल्ने बन्न पाको पुस्ता मिल्छ ? दर्शनशास्त्र जीवन र जगत्लाई बुझ्ने र व्याख्या गर्ने प्रणाली मात्र हो भनेर संसारलाई बदल्ने दर्शनशास्त्रको कार्यभारबारे चुपचाप बस्न मिल्छ ? कदापि मिल्दैन । युवापुस्तालाई पाको पुस्ताले आजको राजनीतिका सबै उतारचढाव र प्रतिगमनलाई वैज्ञानिक भौतिकवादी दृष्टिकोणबाट पर्गेल्न सक्ने बनाउन लगानी गर्नैपर्दछ । यही सिलसिलामा कम्युनिस्टहरूको धार्मिकीकरणको दुर्भाग्यपूर्ण प्रकरणसँग सम्बन्धित प्रश्नहरूको पनि उत्तर दिन तम्सिनै पर्दछ ।

भौतिकवादी विश्व दृष्टिकोणको आवश्यक ज्ञान तथा आत्मसात् बिनै युवा उमेरको जोस र भावुक उडानमा आधारित भएर आदर्शवादको जण्डविरोधी हुनेहरू उमेर पाकिँदै जाँदा एवं जीवनका उचोहोचो व्यहोर्दै जाँदा क्रमश: सेलाउँदै गएर धार्मिकतातिर लहसिने धेरै मानिस पाइन्छन् । यस्तो हुनु अस्वाभाविक होइन किनभने ती मानिसहरूले भौतिकवादी दार्शनिकीलाई गहिरो गरी आत्मसात् नै गरेका हुँदैनन् । तर कम्युनिस्ट आन्दोलनका धरोहर बनिसकेकाहरूमा प्रकट भएको धार्मिकीकरण न त भौतिकवादलाई नबुझेर हो, न त युवा उमेरको भावुक उडानको ताप उत्रिएर नै हो । वास्तविकता त उनीहरूले रोजेको पुँजीवादी राजनीतिले नै उनीहरूलाई धार्मिकीकरण हुन बाध्य पारेको हो । जसरी दर्शन र विचारले निश्चित राजनीतिलाई जन्म दिन्छ, त्यसैगरी निश्चित राजनीतिले पनि आफू सुहाउँदो दर्शनको छहारी अनिवार्य रूपमा खोज्छ । पुँजीवादी राजनीतिले भौतिकवादी दार्शनिकीलाई आफ्नो छहारी बनाउनै सक्दैन किनभने भौतिकवादी दार्शनिकीले शोषणको पोल खोल्छ जबकि पुँजीवादी राजनीति स्वयंचाहिँ शोषणको चक्रलाई ढाकछोप गरेर टिकेको हुन्छ । यही कारणले गर्दा दशकौंसम्म आदर्शवादी धार्मिकता विरुद्धका अभियन्ता रहेका कम्युनिस्टहरू वास्तविक कम्युनिस्ट राजनीतिलाई तिलाञ्जली दिएर जब परम्परागत शोषणकारी पुँजीवादी राजनीतिसामु आत्मसमर्पण गर्न तम्सिए, तब उनीहरूले आफ्नो पुरानो भौतिकवादी दार्शनिकता क्रमश: छोड्दै धार्मिकतातिर लहसिन करै लाग्यो ।

जब राजनीतिमार्फत मानिसको खराब चेतनालाई समेत बदल्न सम्झौताहीन संघर्ष गर्न जीवनपर्यन्त लाग्नुपर्दछ भन्ने संकल्पलाई छाडेर जसरी हुन्छ राजनीतिमार्फत सत्ता र शक्ति प्राप्त गर्नुपर्छ भन्ने मूल्यमा पुगिन्छ, तब मानिसको खराब चेतनालाई बदल्न होइन बरु खराब चेतनालाई उपयोग गर्ने रणनीतिमा लाग्नुपर्ने अनिवार्य हुन्छ । विद्यमान समाजमा बहुसंख्यक मानिसको चेतना धार्मिक छ भने त्यसलाई उपयोग गर्न भौतिकवादी भएर त असम्भव हुने भयो, तब आफू पनि धार्मिकतातिर लम्पसार पर्नुको विकल्प के रहन्छ ? मानौं यदि दुई ठूला वैज्ञानिकहरू स्टेफेन हकिङ र म्याक्स प्लाङ्कले नेपालका संसदीय पुँजीवादी पार्टीको नेता बनेर सत्ताधारी बन्ने लक्ष्य राख्छन् भने उनीहरूले भन्न सक्लान् कि ईश्वरको अस्तित्व छैन ? कदापि सक्ने छैनन् । तसर्थ, सत्ताधारी कम्युनिस्टहरूको धार्मिकीकरणको चुरो कारण भनेको उनीहरूले सहवरण गरेको पुँजीवादी राजनीति नै हो ।

प्रकाशित : कार्तिक ३, २०७६ ०७:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्रीले लिएको बाटो

सम्पादकीय

प्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुरमा शनिबार प्रकाशित आफ्नो अन्तर्वार्तामा मुलुकको वैदेशिक सम्बन्ध, सरकारको कार्यशैली, नेकपाको अपूरो एकीकरण र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको संशयपूर्ण सम्बन्धबारे खुलस्त धारणा राखेका छन् ।

लामो अन्तरालमा आएको यसखाले विस्तृत अन्तर्वार्तामा उनले पेस गरेको परराष्ट्र नीतिको खाका, आफ्नो सरकार र पार्टीबारे गरेका टिप्पणी एवं हालसम्म अस्पष्टजस्तो देखिएका केही नीतिगत विषयमा राखेका आधिकारिक धारणाले थप व्याख्या र बहसको ढोका खोलेका छन् । उनका यिनै भनाइलाई मात्र आधार मानेर हेर्दा पनि ओली नेतृत्वको सरकार र उनको पार्टी कुन दिशातर्फ गइरहेको छ भन्नेबारे एक हदसम्म समीक्षा र मूल्यांकन गर्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले हालै सम्पन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अपेक्षाकृत रूपमा सफल भएको र यसका दूरगामी परिणामहरू भविष्यमा देखिँदै जाने बताएका छन् । उनले चीनसँग गरिएका पछिल्ला सम्झौताहरूमा ‘कनेक्टिभिटी’ मुख्य मुद्दा रहेको र त्यसमा रेलमार्गको निर्माण दीर्घकालीन योजना भएको एवं चिनियाँ नाकासम्म जोडिने सडकमार्गलाई तत्कालको प्राथमिकतामा राखिएको कुरा पनि नीतिगत रूपमै स्पष्ट पारेका छन् ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा अझै केही वर्ष लाग्ने देखिएकाले यसलाई दीर्घकालीन योजनामा पार्नु सिद्धान्तत: गलत होइन, तर यसलाई परको परियोजना भनेर पन्छाउने प्रवृत्तिचाहिँ नेपाली प्रशासनयन्त्रमा देखिनु हुन्न । साथै प्रस्तावित टोखा–छहरे सुरुङमार्गसहित केरुङ नाका जोड्ने राजमार्ग बनाउने तत्कालको प्राथमिकता व्यवहारत: तत्कालै थालिनुपर्छ । यो किनभने हामीकहाँ योजना कार्यान्वयनमा ढिलासुस्ती हुने समस्या पुरानै हो । चिनियाँ राष्ट्रपति सीसमेतले यसबारे लाक्षणिक टिप्पणी गरेका थिए, जसलाई सही मान्दै आफूहरूले त्यसलाई सुझावका रूपमा लिएको प्रधानमन्त्री ओलीले कान्तिपुरसँगको अन्तर्वार्तामा उल्लेख गरेका छन् । त्यसैले मूल कुरा योजना बन्नु वा त्यससम्बन्धी सम्झौता गर्नु मुख्य कुरा होइन, त्यसलाई कार्यान्वयनमा ल्याउन सक्नु नेपाली सन्दर्भमा सबभन्दा पेचिलो कार्य हो भन्ने देखिन्छ । यसमा प्रधानमन्त्रीको परीक्षा हुन बाँकी नै छ ।

प्रधानमन्त्री ओलीले चीनसँग गरिएको ‘रणनीतिक साझेदारी’ कुनै सैन्य गठबन्धन नभई त्यो आर्थिक–विकासमा केन्द्रित सहकार्य हो भनेर त्यसलाई परिभाषित गर्न खोजेका छन् । यो नै सही बाटो हो । असंलग्न अभियानको पुरानो अभियन्ता नेपाल कुनै पनि किसिमको सामरिक गठबन्धनमा सामेल हुनु भनेको आफ्नै परराष्ट्र नीतिको मूल मर्मविपरीत जानु हो । प्रधानमन्त्रीले भारतसँगको सम्बन्धलाई पनि विकासकेन्द्रित रणनीतिक साझेदारीमा उकाल्ने जुन उद्देश्य राखेका छन्, त्यसको व्यावहारिक परीक्षण चाँडै हुनेछ । प्रधानमन्त्री ओलीले ‘टु प्लस वान्’ अर्थात् ‘चाइना–इन्डिया प्लस नेपाल’को प्रस्तावप्रति पहिलो पटक असहमति सार्वजनिक गरेका छन् । भारत र चीनका सरकार प्रमुखको अनौपचारिक वार्तामा नेपाली मामिलालाई दुई देशले छलफलको विषय बनाउने र त्यसमा नेपाल स्वयंको भूमिकाचाहिँ सहायक पक्षसरह मात्र हुने भन्ने चर्चा थियो । यो असमान ‘टु प्लस वान्’ सूत्रको साटो नेपाल चीन र भारतसँग त्रिपक्षीय साझेदारीको पक्षमा रहेको स्पष्टोक्ति प्रधानमन्त्रीबाट आएको छ, जुन सिद्धान्तत: सही छ । यस मामिलामा यस स्तरको नीतिगत स्पष्टता यसअघि आएको थिएन । त्यसैले यो महत्त्वपूर्ण पनि छ ।

प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा अमेरिकाद्वारा अगाडि सारिएको इन्डो–प्यासिफिक रणनीतिको नेपाल अंग नरहेको, तर अमेरिकासँग गरिएको एमसीसी सम्झौता भने संसद्को आउँदो अधिवेशनबाट अनुमोदन गरिने जानकारी दिँदै अर्को अस्पष्ट मामिलालाई पनि प्रस्ट्याएका छन् । उनको सबभन्दा महत्त्वपूर्ण प्रतिबद्धता भनेको नेपालले भारत, चीन वा अन्य कुनै पनि मुलुकसँग सम्बन्ध राख्दा एकअर्काविरुद्ध ‘कार्ड’ नखेल्ने र सबैसँग ‘सार्वभौम समानता’का आधारमा मित्रता राख्ने भन्ने हो । यो प्रतिबद्धतामा व्यावहारिक रूपमै खरो उत्रिन जरुरी छ । हामी कतैतिर ढल्किनु र ढल्किएको देखिनु हुन्न ।

समग्रमा मूल्यांकन गर्दा प्रधानमन्त्री ओलीको परराष्ट्र मामिला सञ्चालन केही कमीकमजोरीका बाबजुद प्रभावकारी देखिएको छ । यसबीचमा छरछिमेक र अन्य शुभेच्छुक मुलुकहरूसँग सम्बन्ध विस्तार र सम्बन्ध नवीकरण भएको छ । तर सबभन्दा ठूलो चुनौती भनेको अमेरिका–चीन र चीन–भारत सम्बन्धमा आउने उतारचढाव एवं उनीहरूको नेपालमा समेत बेलाबखत देखिन थालेको सामरिक स्वार्थलाई कसरी व्यवस्थापन गर्ने भन्ने हो । शक्तिराष्ट्रको प्रतिस्पर्धाबाट जोगिँदै आफ्नो राष्ट्रिय स्वार्थ जगेर्ना गर्न प्रथमत: कूटनीतिक संस्थापन सक्षम हुनुपर्छ । हाम्रो कूटनीतिक प्रणालीको क्षमता अभिवृद्धि यसर्थ पनि अपरिहार्य छ ।

ओली सरकार वैदेशिक पाटोमा जति प्रभावकारी देखिएको छ, यसको आन्तरिक कामकारबाहीले अपेक्षाकृत गति लिन सकेको छैन । आफ्नो र आफ्ना सहकर्मी मन्त्रीहरूको दौडाइको गति नमिलेको भनेर प्रधानमन्त्री स्वयंले यसलाई अप्रत्यक्षत: स्विकारेका छन् । समग्र सरकारको नेतृत्व आफूले गरेपछि त्यहाँ देखिएका कमीकमजोरी सुधार्ने दायित्व प्रधानमन्त्रीकै हो । सरकारले गरेका राम्रा कामको मुख्य जस जसरी उनैले पाउँछन्, विफलता वा कमजोरी पनि उनीतिरै सोझिने हो । आफूले समेत कहाँ–कसरी कमजोरी भयो भनेर ठम्याइ सकेको अवस्थामा सुधारका निम्ति कुनै कदम नचाल्नु अन्तत: अनिर्णयको बन्दी बन्नुजस्तो हो । तसर्थ यसतर्फ प्रधानमन्त्री ओलीको ध्यान जान जरुरी छ ।

प्रकाशित : कार्तिक ३, २०७६ ०७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT