विशेष आलेख : हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्‍याऔं

सी चिनफिङ

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिट्टै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा सानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ ।

त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरै पटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु । यस्तो रमाइलो भूमिमा आई नेपाली साथीहरूसँग मैत्री नवीकरण गर्न र सहयोगबारे वार्तालाप गर्न म आतुर छु । आशा छ, हामी द्विपक्षीय सम्बन्धको विकासका लागि नयाँ खाका योजना बनाउन सक्नेछौं ।

चीन र नेपाल पहाड र नदीले जोडिएका छन्, युगौंयुगदेखि नै यी दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । करिब १६ सय वर्षअघि चिनियाँ महान भिक्षु फा सियान र नेपाली महान भिक्षु बुद्धभद्रले एकअर्काको देशमा भ्रमण गरेका थिए र संयुक्त रूपमा बौद्ध धर्मका शास्त्रपदहरू अनुवाद गरेका थिए । चीनको थाङ राजवंशका पालामा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा सङचन गम्पोसँग विवाह भएको थियो । महान भिक्षु स्यवीयान चाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको बहुमूल्य वर्णन आफ्नो यात्रावृतान्त लेखेका थिए । य्वीयान राजवंशमा नेपालका प्रसिद्ध कलाकार अरनिकोले चीनमा आएर पेइचिङमा श्वेत स्तूपको निर्माण गरेका थिए । युगौंयुगदेखि हाम्रा दुवै देशका जनताबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धका यी केही उदाहरणहरू हुन् ।

चीन र नेपालबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएका छन् । हामीबीचको यस्तो पारस्परिक सम्मान, मैत्रीपूर्ण सहयोगको सम्बन्ध छिमेकी मुलुकहरूबीचको राम्रो सम्बन्धको नमुना बनेको छ ।

चीन र नेपाल एकआपसमा सम्मान र विश्वास गर्ने असल मित्र हुन् । शान्तिपूर्ण सहअस्तित्वका पाँचवटा सिद्धान्तका आधारमा दुवै पक्षले सफलतापूर्वक दुई देशबीचको सीमालाई रेखांकित गरी हिमालयलाई दुई देशबीचको बलियो स्तम्भ बनाएका छन् । दुवै पक्षले एकअर्काको मुख्य चासोका विषयलाई दृढताका साथ समर्थन गर्दछन् । नेपाल एकमात्र चीनको नीतिमा अडिग रहेको छ र त्यसको दृढताका साथ पालना गरेको छ र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीनविरोधी गतिविधि सञ्चालन गर्न दिएको छैन । चीनले राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, देशको अखण्डताको रक्षा गर्न र देशको अवस्था अनुरूपमा विकास मार्ग अपनाउन नेपाललाई दृढतापूर्वक समर्थन गरेको छ ।

चीन र नेपाल आपसी लाभ र हितका सहयोगका लागि असल साझेदार हुन् । दक्षिण एसियामा नेपाल चीनको व्यापार तथा विकासको महत्त्वपूर्ण साझेदार हो । गत वर्षमा द्विपक्षीय व्यापार परिमाण १.१ अर्ब अमेरिकी डलर पुगेको थियो । चीनले नेपालमा ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको थियो । नेपालले ‘बेल्ट एन्ड रोड’ पहलको निर्माणमा सक्रियताका साथ भाग लिइरहेको छ र राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दैछ । यसरी हिमालय वारिपारि ‘कनेक्टिभिटी नेटवर्क’को निर्माण विस्तारै हुँदैछ, जसबाट दुवै देशमात्र होइन, सम्पूर्ण क्षेत्र नै लाभान्वित हुनेछ ।

चीन र नेपाल एकअर्काबाट सिक्ने असल छिमेकी हुन् । लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको छ । दक्षिण एसियामा चिनियाँ नागरिकहरूको छनोटको पहिलो गन्तव्य देश नेपाल हो । हाल प्रत्येक हप्तामा दुई देशबीचका लगभग ६० उडानहरू छन्, हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिहरूले एकअर्काको देश भ्रमण गर्दछन् । हाम्रा दुई देशबीच ११ जोडी भगिनी सहरहरू बनिसकेका छन् । दिन प्रतिदिन बढ्दो आदानप्रदानले दुई देशका जनताबीचको समझदारी बढाउनुका साथै दुई देशका विकास र प्रगतिमा प्रेरक शक्ति थपेका छन् ।

चीन र नेपाल एकअर्कालाई सहयोग गर्ने असल दाजुभाइ हुन् । सन् २००८ मा चीनको सछ्वान प्रान्तको वेनछवानमा विनाशकारी भूकम्प गएपछि नेपाल सरकार र नेपाली जनताले सक्रियताका साथ पैसा र सामग्रीहरू प्रदान गरी चीनको भूकम्प राहत कार्यमा सहयोग पुर्‍याएका थिए । त्यसैगरी सन् २०१५ मा नेपालमा महाभूकम्प गएपछि चीन सरकार र चिनियाँ जनताले तुरुन्तै ठूलो मात्रामा उद्धार कार्य प्रारम्भ गरी भूकम्पपश्चातको पुनर्निर्माणमा पनि सहयोग पुर्‍याएका थिए । यी चीन र नेपालबीच रहँदै आएको भाइचाराका उत्कृष्ट उदाहरण हुन् ।

वर्तमानमा नेपाल सरकार र नेपाली जनता ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि अघि बढिरहेका छन् भने चीन सरकार र चिनियाँ जनता ‘दुईवटा सय वर्ष’ लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेका छन् । चिनियाँ र नेपाली जनताको सपना र भाग्य सँगै जोडिएको हुँदा यस युगमा हामी दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्दछ । एकसाथ रही हामीले गर्नुपर्ने कामहरू यी हुन्–

रणनीतिक सञ्चारलाई प्रगाढ बनाउनु : नयाँ युगमा चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै पक्षले दीर्घकालीन सम्बन्धका खाका तयार गर्नुपर्दछ । यसका लागि उच्चस्तरीय आदानप्रदान कायम गर्नुपर्छ । आपसी राजनीतिक विश्वास बढाउनुपर्दछ । एकअर्काको मुख्य चासोका विषयहरूमा आपसी सहयोगलाई अझै सुदृढताका साथ जारी राख्नुपर्दछ । देशको सुशासन तथा विकासको अनुभवसम्बन्धी आदानप्रदानलाई बढाई दुवै देशका जनतालाई अझ बढी फाइदा प्रदान गर्नुपर्दछ ।

व्यावहारिक सहयोगको विस्तार गर्नु : दुवै पक्षले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माणलाई सक्रिय रूपमा अगाडि बढाउनुपर्दछ । चीनले चिनियाँ उद्यमीहरूलाई नेपालमा मुख्यत: व्यापार र लगानी, पुनर्निर्माण, ऊर्जा, पर्यटन– यी चार क्षेत्रमा लगानी गर्न प्रेरित गरेको छ । दोस्रो, चिनियाँ अन्तर्राष्ट्रिय आयात ‘एक्स्पो’ मा भाग लिई नेपालका विशिष्ट उत्पादनहरूलाई चीनमा निर्यात गर्न चीन नेपाललाई स्वागत गर्दछ । चीनले नेपाललाई पुनर्निर्माणका लागि सहयोग निरन्तर दिनेछ र नेपाली जनताको जीवनस्तर उकास्न सकेसम्म सहयोग प्रदान गर्नेछ ।

जनस्तरीय आदानप्रदानलाई व्यापक पार्नु : दुवै पक्षले शिक्षा, युवा, पर्यटन र अन्य क्षेत्रहरूका आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्नुपर्दछ, दुवै देशका विमान सेवाका सीधा उडानहरू बढाई जनताको आवतजावत बढाउन सहयोग पुर्‍याउनुपर्छ । चीनले नेपालको ‘नेपाल पर्यटन वर्ष, २०२०’ को पूर्ण समर्थन गर्दछ र अझ बढी चिनियाँ नागरिकहरूलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्नेछ । चीनले नेपालका उत्कृष्ट युवाहरूका लागि बढी सरकारी छात्रवृत्ति प्रदान गर्नेछ र नेपालको निर्माणका लागि बढी संख्यामा प्रतिभाशाली व्यक्तिहरूलाई प्रशिक्षण दिनेछ । चीन अझ बढी नेपाली विद्यार्थीहरूलाई चीनमा अध्ययन गर्न आउन स्वागत गर्दछ ।

सुरक्षासम्बन्धी सहयोग सुदृढ पार्नु : चीनले कानुनको कार्यान्वयन गर्ने क्षमताको निर्माणका लागि नेपाललाई सहयोग गर्नेछ र कानुनको कार्यान्वयन गर्ने प्रशिक्षण कार्यमा नेपाललाई सहयोग दिनेछ । सीमा वारपारका आपराधिक गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न र दुवै देशका नागरिकहरूको सुरक्षा, आर्थिक तथा व्यापारिक आदानप्रदान सुचारु बनाउनका लागि दुवै पक्षले सीमा रक्षाका लागि आपसी सम्पर्कलाई सुदृढ पार्नुपर्दछ । त्यसबाहेक हामीले सेनाको पारस्परिक भ्रमण, कर्मचारीको तालिम र उपकरण प्रविधिको क्षेत्रमा पनि व्यावहारिक सहयोगलाई सुदृढ पार्नुपर्छ ।

नेपालीमा एउटा भनाइ छ, ‘थोपा–थोपा मिलेर समुद्र बन्दछ ।’ चिनियाँमा पनि यस्तै भनाइ छ, ‘सबैले दाउरा थप्दै गएमा आगोको ज्वाला अझै ठूलो हुँदै जानेछ ।’ जबसम्म दुवै देशले मैत्रीपूर्ण परम्परालाई अगाडि बढाउने र निरन्तर रूपमा आदानप्रदान र सहयोगलाई विस्तार गर्दै जानेछन्, मलाई विश्वास छ, चीन र नेपालको हिमालय वारिपारिको मैत्रीलाई हामी नयाँ उचाइमा पुर्‍याउन सक्दछौं ।

प्रकाशित : आश्विन २४, २०७६ ०७:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपालको हितमा साझेदारी : प्रधानमन्त्री [सीको भ्रमण तालिकासहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने बताएका छन् ।

बिहीबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा उनले भ्रमणमा तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्त्व दिने बताए ।

छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेपाल र चीनबीच लामो समयदेखि असल र प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको भ्रमणले आपसी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा लगानीको ढाँचाबारे पनि छलफल गरिने जानकारी गराएका छन् । ‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छौं,’ ओलीले छलफलमा भनेका थिए ।

पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठका अनुसार चीनसँग सडक र पूर्वाधार निर्माणका विषयमा मुख्य छलफल हुने जनाउँदै प्रधानमन्त्री ओलीले किमाथांका र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन, टोखा–छहरे सुरुङ निर्माण, अरनिको मार्ग स्तरोन्नति आदि विषयमा चीनसँग वार्ता हुने बताएका छन् । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनको भ्रमणपछि २३ वर्ष अन्तरमा हुन लागेको राष्ट्रपति सीको भ्रमणलाई ‘आपसी विश्वास र आत्मीयताको कडी’ का रूपमा लिइएको उल्लेख गर्दै श्रेष्ठले अब दुई देशको आर्थिक सहकार्य स्पष्ट रूपमा देखापर्ने विश्वास व्यक्त गरे ।

‘राष्ट्रपति सीको भ्रमण अवसरमा केरुङ–काठमाडौं रेल्वेको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गर्नेबारे समझदारी हुँदै छ,’ उनले कान्तिपुरसँग भने, ‘पाँचखालको विशेष आर्थिक क्षेत्रको प्रस्ताव पनि अघि बढ्ने भएको छ । यो द्विदेशीय आर्थिक सहकार्यको संकेत हो ।’

करिब ४ घण्टा चलेको छलफलमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमणको तयारीबारे जानकारी गराएका थिए । छलफलमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए । छलफलका सहभागी नेता एवं विज्ञले लामो समयपछि चिनियाँ राष्ट्रपतिबाट हुन लागेको भ्रमणमा मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धिसम्झौता गर्न सुझाव दिएका थिए । पूर्वप्रधानमन्त्री भट्टराईले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), इन्डो–प्यासिफिक जस्ता रणनीतिबारे अनेक व्याख्या–अपव्याख्याका कारण भ्रम फैलिएको उल्लेख गर्दै कूटनीतिक मामिलामा मुलुकले सधैं एउटै ‘अडान’ राख्न जरुरी रहेको बताए । ‘हामीले नेपाल–भारत सम्बन्धको कुरामा १९५० को सन्धि परिमार्जनसहितमा प्रबुद्ध व्यक्ति समूह (ईपीजी) गठन गर्‍यौं,’ भट्टराईले कान्तिपुरसित भने, ‘सन् १९६० को नेपाल–चीन शान्ति सम्झौता परिमार्जनका लागि चीनले पनि प्रस्ताव गर्दै आएको धेरै भइसकेको छ । यसलाई पनि अद्यावधिक गर्नेतर्फ नेपाल सकारात्मक बन्न सक्नुपर्छ ।’ उनले लिपुलेकको नेपाल–भारत–चीन त्रिपक्षीय विन्दुलाई भारत र चीनले आफूखुसी ‘द्विपक्षीय विन्दु’ बनाएको उल्लेख गर्दै यस्तो गम्भीर विषयमा चिनियाँ राष्ट्रपति तहको भ्रमणमा ध्यानाकृष्ट हुन जरुरी रहेको बताए ।

आफूहरू नेपालमा चिनियाँ लगानी बढ्नुपर्छ, ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’मा नेपालमा सहभागी हुनुपर्छ र त्यसको प्रतिफल आउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस नेता प्रकाशशरण महतले भने, ‘ऋण लिएर रेलजस्ता ठूला आयोजना हतारोमा सुरु नगर्न ध्यानाकर्षण गराएका छौं ।’ नेपालको विदेश नीतिमा कुनै अन्योल हुने खालको वातावरण सिर्जना नगर्न पनि उनले सरकारसँग आग्रह गरे ।

यस्तो छ सीको भ्रमण तालिका

शनिबार
बेलुकी करिब ४:३० देखि ५:३० बजे सम्ममा त्रिभुवन विमानस्थलमा उत्रने
करिब ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने
करिब ७:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने

आइतबार
करिब १०:३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने
करिब १२:३० बजे नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्कने

प्रकाशित : आश्विन २४, २०७६ ०७:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×