कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

रासायनिक मल नेपालमै सम्भव

नेपालमा खेतीको मौसममा वर्षेनि रासायनिक मलको अभाव हुँदै आएको छ । मल अभाव किसानका लागि स्वाभाविक परिघटना जस्तै भएको छ । मागको दाँजोमा रासायनिक मलको आपूर्ति कम छ । नेपालमै फिनल्यान्डमा विकास गरिएको प्रविधिको प्रयोगले फोहोरबाट रासायनिक मल उत्पादन गरे धेरै हदसम्म आत्मनिर्भर हुन सकिन्छ । 

रासायनिक मल नेपालमै सम्भव

काठमाडौं उपत्यकामा करिब ५० लाख जनसंख्या छ । एक व्यक्तिले दिनमा औसत ३१७ ग्राम फोहोर उत्पादन गर्छ । त्यसमध्ये करिब ६० प्रतिशत प्रांगारिक (कुहिने) फोहोर हुन्छ । तसर्थ प्रत्येक व्यक्तिले दिनहुँ १९० ग्राम प्रांगारिक फोहोर वातावरणमा फ्याँक्ने गर्छ । यस अनुसार उपत्यकामा दैनिक ९५० मेट्रिक टन त्यस्तो फोहोर जम्मा हुने गरेको छ । अर्थात्, वार्षिक करिब ३ लाख ४७ हजार मेट्रिक टन ।


प्रांगारिक फोहोर कुहाएपछि निस्कने मिथेन ग्यासलाई घरायसी र औद्योगिक प्रयोजनमा लगाउन सकिन्छ । बायोग्यास निकालिएपछिको फोहोरको बाँकी थेग्रामा नाइट्रोजन, फोस्फरस र अन्य बिरुवाका लागि चाहिने पोषण प्रचुर मात्रामा पाइन्छ । फोहोर पानी, मानव मलमूत्र, गोबर, कुखुराको मल आदिबाट सहजै रासायनिक मल तयार गर्न सकिन्छ ।


फिनल्यान्डमा चक्रीय अर्थतन्त्र अवधारणा प्रचलित छ । यही कारण बायोग्यास कम्पनी बढिरहेका छन् । फिनल्यान्डले तरल इन्धन र विद्युत् पनि उत्पादन गर्छ । बायोग्यास निखारिएपछिको तरल थेग्रा (डाइजेस्टेड) मा गह्रौं धातु र जीवाणु पनि प्रशस्तै पाइन्छन् । यो तरल मललार्ई खेतसम्म ढुवानी गर्नु कठिन र खर्चालु हुन्छ ।


हालै हामीले विकास गरेको नाइट्रोजन–फोस्फरस हार्भेस्ट प्रविधिका माध्यमले भने तरल मललाई उपचार गरी त्यसबाट एमोनियम सल्फेट, एमोनियम फस्फेट र क्याल्सियम फस्फेट जस्ता रासायनिक मल उत्पादन गरिएको छ । यी उत्पादन खनिज मलजस्तै छन् । कम्पोस्ट झोल र मानव मूत्रबाट पनि खनिज मल उत्पादन भइरहेको छ ।


काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष करिब ५ लाख ५० हजार क्युबिक मिटर मानवमूत्र संकलन गर्न सकिन्छ, जसबाट २० हजार टन एमोनियम सल्फेट रासायनिक मल उत्पादन हुन्छ । यसले ५ हजार बिघा खेतीयोग्य जमिनलाई उर्वर बनाउन सकिन्छ । तर मानवमूत्र थोरै मात्र संकलन गर्न सकिएको छ । प्रांगारिक मलको असर ढिलो हुने हुँदा ठूलो मात्रामा रासायनिक मल आवश्यक पर्छ । नाइट्रोजन–फोस्फरस हार्भेस्ट प्रविधि नेपालका लागि निकै उपयोगी हुन्छ ।


काठमाडौं महानगरपालिकाको तथ्यांक अनुसार, ५ सय लिटर क्षमताको एउटा चलायमान शौचालयबाट करिब २५ हजार रुपैयाँ प्रतिमहिना नाफा कमाउन सकिन्छ । यस्ता ४८ शौचालय सहरका विभिन्न भागमा राख्न सकिन्छ । सहरमा चलायमान शौचालयको संख्या बढाउनु राम्रो विकल्प हुनसक्छ ।


सुपरमार्केट, विमानस्थल जस्ता सार्वजनिक ठाउँमा मूत्र छुट्याउने शौचालय बनाउन प्रोत्साहित गर्नुपर्छ । काठमाडौंबाहेक अन्य ठूला सहरमा पनि यो विधि प्रयोगमा ल्याउन सकिन्छ । संकलित मानवमूत्रलाई उपचार र पुनर्प्रयोग गर्ने व्यवस्था नेपालमा छैन । त्यसैले बहुमूल्य मानवमूत्र ढलका रूपमा खेर गइरहेको छ ।


मल बनाउने प्रविधि भित्र्याउन सकिए मानवमूत्रलाई पनि पुनर्प्रयोग गर्न सकिन्छ । फोहोर व्यवस्थापनका लागि पीपीपी (सार्वजनिक–निजी साझेदारी) मोडल दिगो उपाय हुन सक्छ । यो मोडलमा निजी क्षेत्रले नगरपालिकाको ठोस फोहोर र मानव मलमूत्र संकलन तथा प्रशोधन गरी बायोग्यास उत्पादन गर्न सक्छ । यसबाट निष्कासित थेग्रा तरल मललाई प्रशोधन गरी रासायनिक मल उत्पादन गर्न सकिन्छ ।


नेपालमा कसरी काम गर्ने ?

फोहोरको मात्रा र किसिम तथा बजारको माग बमोजिम विभिन्न फोहोरबाट फरक विधिले खनिज मल उत्पादन गर्न सकिन्छ । फोहोरबाट खनिज मल बनाउने व्यवसायलाई पीपीपी मोडलमा सञ्चालन गर्नु बढी उपयुक्त देखिन्छ, यसमा स्थानीय निकायको प्रमुख भूमिका हुन्छ । निजी क्षेत्रको सहभागितामा यो कार्य दिगो हुनेछ ।


यद्यपि फोहोरबाट खनिज मल बनाउने प्रविधिको पूर्ण रूपमा परीक्षण त गरिएको छैन, तैपनि प्रयोगशाला स्तरमा यसको लागत मूल्य निर्धारण गरिएको छ । विभिन्न तत्त्व (जस्तै— फोहोरको किसिम, ढुवानी दूरी, मौसमी अवस्था आदि) ले लागत मूल्यलाई फरक पार्छन् । नेपालमा वार्षिक औसत तापक्रम ३० डिग्री सेन्टिग्रेड हुने हुँदा यो विधिले कम ऊर्जार् खपत गर्छ ।


खनिज मललाई सुकाउन सौर्य ऊर्जार् उपयोग गर्न सकिन्छ । तर फिनल्यान्डमा सौर्य ऊर्जार्को कमीले प्रशस्त ऊर्जार् खनिज मल सुकाउन खर्च हुन्छ । यो प्रविधिमा खनिज मल उत्पादन गर्न २३ हजार रुपैयाँ प्रतिटन लागत लाग्छ । यो विधिमा २८ हजार रुपैयाँ प्रतिटनको दरमा आम्दानी हुन्छ । यस हिसाबले ५ हजार प्रतिटन नाफा कमाउन सकिन्छ ।


सन् २०१८ मा ७ लाख मेट्रिक टन रासायनिक मलको माग भएकामा नेपालले केवल ३ लाख २५ हजार मेट्रिक टन आयात गरेको थियो । विदेशबाट आयात गर्नुपर्ने परिमाणमध्ये केही भारतसँंगको खुल्ला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भित्रिन्छ । नेपालमा विशेष गरी भारतबाटै अधिक परिमाणमा रासायनिक मल भित्र्याइन्छ । नेपाल र भारतको एउटै मनसुन वर्षा प्रणाली भएको हुँदा एकै समयमा मुख्य खेतीपाती हुने गर्छ । भारत आफैले रासायनिक मलको अभाव झेलिरहेको छ । त्यसैले चाहेर पनि भारतले नेपाललाई पर्याप्त मल दिन सक्दैन ।


नेपालमा लगभग ३१ लाख बिघामा खेती गरिन्छ । सहरी फोहोरलाई प्रशोधन गरी रासायनिक मल उत्पादन गर्ने हो भने करिब ७८ प्रतिशत खेतीयोग्य जमिनलाई उर्वर बनाउन सकिन्छ ।


नेपालको ४२ प्रतिशत जनसंख्या सहरमा छ । प्रत्येक वर्ष करिब ५ प्रतिशतका दरले यो बढिरहेको छ । सहरी क्षेत्रमा ठूलो मात्रामा निस्कने फोहोर कृषि जमिनको अभावमा ज्यादै कम मात्रामा कम्पोस्ट मलका रूपमा पुनर्प्रयोग हुने गर्छ । त्यसैले काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनलाई भिन्न दृष्टिकोणबाट हेर्नु आवश्यक छ ।


नेपालमा रासायनिक मल कारखाना छैन । आवश्यक मल भारतसहित टर्की, इजिप्ट, चीनबाट आयात गरिन्छ । नेपालले वैकल्पिक मल रणनीति अपनाउनुपर्छ । त्यो भनेको सहरी फोहोरलाई पुनर्प्रयोग नै हो । जैविक रासायनिक मल (कम्पोस्ट मल र रासायनिक मलको मिश्रण) को उत्पादन अर्को विकल्प हुनसक्छ ।


यो मलमा पोषणको मात्रा बढी हुने भएकाले धेरै उत्पादन दिनसक्छ । जैविक–रासायनिक दाना मलले अहिले बन्ने रासायनिक मलभन्दा ५० प्रतिशत कम ऊर्जा प्रयोग गर्छ । यसले ऊर्जार् बचाउ गर्नुका साथै हरितगृह ग्यासको उत्सर्जनमा पनि कमी ल्याउँछ । हामीले त्यागेका मूत्र संकलन गरी युरिया उत्पादन गर्ने हो भने, हाम्रा किसानलाई आवश्यक पर्ने युरिया मल आयात गर्नुपर्नेछैन ।


लेखक फिनल्यान्डको आल्तो विश्वविद्यालयका अनुसन्धाता हुन् ।

[email protected]

प्रकाशित : भाद्र २, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?