१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाढीमा चिन्तित छौं, चिन्तन गर्दैनौं

सुबोध ढकाल

दुई–तीन दिनको लगातार वर्षाका कारण हामीले बाढी–पहिरोबाट ठूलो क्षति ब्यहोरेका छौं । जति क्षति भैराखेको छ र बाढी–पहिरोको जस्तो प्रकृति छ, त्यसले देखाइराखेको छ— यस्ता विपद्को मुख्य कारण पानी नभई हामी आफै वा हाम्रा नीति र काम गर्ने तौरतरिका हुन् ।

बाढीमा चिन्तित छौं, चिन्तन गर्दैनौं

हामी पहिलेदेखि नै बढी संवेदनशील र दूरदर्शी भैदिएको भए यति नै पानी पर्दा पनि यो स्तरको जनधनको क्षति हुने थिएन । यसलाई पुष्टि गर्न चार–पाँच पक्षलाई विश्लेषण गर्न जरुरी हुन्छ । पहिलो, धेरैजसो पहिरो राजमार्ग वा सडकका लागि पहाड काटिएका ठाउँमा गएका छन् ।


यसको मुख्य कारण सडक खन्ने हाम्रो प्रविधिको कमजोरी, पहिरोका लागि अति संवेदनशील स्थान पहिचान गर्न नसक्नु वा पहिचान गरेर पनि यथोचित बचाउका उपायहरू बेवास्ता गरिनु नै हुन् । भौगर्भिक हिसाबले जटिल वा संवेदनशील स्थानहरूमा पहाड काटेर सडक बनाउनु अति अवैज्ञानिक देखिन्छ । त्यस्ता स्थानमा सुरुङ मार्गको प्रविधि प्रयोग गर्नु जरुरी हुन्छ, जुन विषय हामीकहाँ ओझेलमा छ । सुरुङ मार्गमा खर्च बढी लाग्ने भन्दै यो प्रविधिलाई प्रयोग नगर्ने नीति निर्माता र प्राविधिकहरूले सुरुवाती खर्चको मात्रै हिसाब गरेका छन् ।


हाम्रा सडकहरूका आयु र त्यसलाई बचाइराख्न गर्नुपर्ने मर्मत–सम्भारको समेत खर्च हिसाब गर्ने हो भने कम्तीमा पनि यस्ता संवेदनशील स्थानहरूमा सुरुङ मार्ग ‘कस्ट इफेक्टिभ’ हुने थिए । यसमा पहिरोबाट सिर्जित हुने मानवीय क्षति र उनीहरूले भोग्ने सास्ती त छँदैछ । ‘कस्ट इफेक्टिभ’ भन्नाले प्रतिइकाइ खर्चले कालान्तरमा दिने प्रतिफललाई इंगित गर्न खोजिएको हो ।


पहिलेदेखिकै हाम्रो अनुभव भन्छ— हामीले गाउँ–गाउँमा सडक सञ्जालको विस्तारका लागि पहाड काटेर खनेका सडकहरू पहिरो जाने प्रमुख जोखिमयुक्त स्थानका हुन् । यसको मुख्य कारण बिना अध्ययन अनि बिना इन्जिनियरिङ डिजाइन हामीले भन्दै आएको ‘डोजर ड्राइभर इन्जिनियर’ बाट सडक खनिनु नै हो । यस्ता धेरै सडकमा ट्रयाक खनेर लामो समयसम्म पानीको निकास निकालिँदैन ।


डिजाइन नमिलाइकन काटिएको भिरलाई यत्तिकै छाडिनाले भूक्षयबाट सुरु भएर ठूला पहिरोको रूप लिने गरेको देखिएको छ । यसमा हाम्रो कमजोरी के छ भने हामीमध्ये धेरैजसो गाउँको सडक आफ्नै घरको नजिकबाट जाओस् भन्ने चाहन्छौँ । कि आफ्नो घर केन्द्रमा पर्नेगरी सडक खनाउन क्रियाशील हुन्छौँ वा सडक गएकै स्थानमा गएर घर बनाउँछौँ । पहाड अथवा भिरालो जमिन काटिएको स्थान धेरै पानी पर्दा वा भूकम्प आउँदा पहिरोको लागि जोखिमयुक्त हुन्छ भन्ने वास्ता गर्दैनौँ ।


बाढी–पहिरो दुबैको कहर बढ्नुमा अर्को समस्या पहिलेदेखि नै चल्दै आएको र त्यसलाई सुधार्नुपर्छ भन्ने आभाष नगरिएको हाम्रो बस्ती विकास र जमिन उपयोग नीति हुन् । हाम्रा पहाडका बस्तीहरू यसरी छरिएर बसेका छन् कि त्यहाँका प्रत्येक घर र व्यक्तिहरूलाई आधारभूत आवश्यकताका सामग्री, सेवासुविधा र विकासको स्वाद चखाउन खोज्दा हाम्रा डाँडापाखाहरू यसरी काटिएका छन् कि मानौँ कसैको जन्मदिन मनाउनका लागि केक ल्याएर सबैलाई भाग पुर्‍याउन काटिएको होस् ।


८–१० घर पहाडको फेदतिर, त्यत्ति नै घरहरू पहाडको बीचतिर, अनि २–४ घर पहाडको टुप्पोतिर । जम्मा २२–२५ घरका लागि पुरै पहाड नै प्रयोग हुनु र सबैलाई बाटोघाटो, बिजुलीजस्ता पूर्वाधार पुर्‍याउँदा–पुर्‍याउँदै विकासका नाममा विनाश भएको थाहै नपाउने हाम्रो नियति बनेको छ ।


पहिरोका कारण मानवीय र भौतिक क्षति बढ्नुको अर्को कारण पहिलेका ठूलठूला भूकम्पले ल्याएका ठूलठूला पहिरोहरूमा बस्ती विकास हुनु पनि हो । धेरै पहिला गएका ठूला पहिरोबारे धेरैलाई थाहा छैन । थाहा पाए पनि पहिरोका कारण जमिन अलि समथल हुँदै गएकाले र माटो पनि खेतीयोग्य बनेकाले जीविकोपार्जन सहज बनाउन मानिसहरू यस्ता स्थानमा बस्दै आएका छन् । त्यस्तो एकचोटि गएका ठूला पहिरोमा फेरि पहिरो जाने सम्भावना बढी हुन्छ । यसबारे न हामीले नीति बनाउनेलाई बुझाउनसकेका छौँ, नत सर्वसाधारणलाई नै । सन् २०१४ मा गएको जुरे पहिरो यसैको उदाहरण हो ।


बाढीबारे सम्बन्धित निकायले बुझ्दै नबुझेको कुरा के हो भने वर्षाको समयमा बाढी ल्याउने अथवा यसको तीव्रता बढाइदिने प्रमुख कारक सम्बन्धित खोलाको उपल्लो तट र बीचको तटमा जाने पहिरो हुन् । जब मुख्य कारण नै थाहा नपाउने वा थाहा पाएको व्यवहार नदेखिने नीतिले बाढीबाट हुने क्षति कति हदसम्म कम गर्न सकिएला, अनुमान लगाउन गाह्रो छैन ।


अहिलेको बाढीमा काठमाडौं उपत्यकामा जुन समस्या देखियो, त्यसको प्रमुख कारण अव्यवस्थित सहरीकरण हो । हामीले काठमाडौंका धेरै स्थानमा खोलाको छेउबाट सडक बनाएका छौँ, त्यहीँ छेउमै बस्ती बसाएका छौँ । यी दुबै काममा हामीले खोला बग्ने बाटोलाई अतिक्रमण गरेका छौँ अथवा खुम्च्याइदिएका छौँ । यसको अलावा सडक बनाउँदा पनि खोलाले साइड कटिङ गर्नसक्ने प्रत्येक स्थानमा सुरक्षाका उपाय अपनाएका छैनौं । बढी क्षति त्यस्ता स्थानहरूमा हुने गरेका छन्, जहाँ सुकुम्बासी बस्ती अथवा ‘इन्फर्मल सेटलमेन्ट’ छन् ।


अर्को, उति नै वर्षा हुँदा पनि पहिले र अहिलेको अवस्थामा आकाशबाट परेको पानी जमिनमुनि छिर्ने र सतहमा बग्ने बीचको सन्तुलन अति बिग्रिएको छ । सहरीकरण, ‘कंक्रिटिङ’ र पक्की सडकका कारण आकाशबाट परेको पानी अत्यन्तै न्युन रूपमा जमिनमुनि छिर्छ । सबैजसो पानी सतहमा बग्ने कारणले विद्यमान ढलहरूले पानीको पूरा निकास गर्न सक्दैन । र, काठमाडौं लगायतका सहरका गल्ली र सडकभरि नै बाढीको समस्या देखिएको हो ।


तराईमा देखिएको प्रमुख समस्या खोला नजिकै, बगरमा अथवा खोलाकै सतह बराबरमा भएका बस्ती हुन् । यसलाई बढावा दिने काम चुरेबाट सुरु भएर बर्खामा चुरेको कमलो चट्टान वा चट्टानलाई टुक्र्याई निस्केका गेग्ग्रान र चुरेको पहिरोबाट निस्किएका गेग्ग्रानलाई साथै लिएर ठूलो गतिमा बग्ने खोलाहरूले प्रमुख रूपमा गरेको देखिन्छ । माथिल्लो तट, बीचको तट र तल्लो तटको बीचमा समन्वयकारी क्रियाकलापहरू हुन नसक्दा तराईमा बाढीको कहर बढेको हो ।


अवैज्ञानिक भूउपयोग पनि यहाँको बाढीको प्रमुख कारण हो । सप्तकोशी जस्ता नेपाल र भारत दुवै देशमा महत्त्व राख्ने ठूला नदीमा बाढीको समस्या धेरै हदसम्म आपसी सहकार्यमा भर पर्ने निश्चित छ । यसमा अहिलेको कार्यहरूलाई पुनर्मूल्यांकन गर्नुपर्छ । कुन देशको हितभन्दा पनि मानवीय र भौतिक क्षति कसरी घटाउने भन्ने कोणबाट विपद् कूटनीति प्रयोग गर्नुपर्छ ।


दुवै देशले मानवतालाई प्राथमिकतामा राखी सहकार्य गर्नु अति जरुरी छ । यसरी हेर्दा भौगर्भिक, भौगोलिक तथा मनसुनको अत्यधिक तीव्रता जस्ता प्राकृतिक कारण नेपालमा विद्यमान भए पनि बाढी–पहिरो जस्ता विपद्बाट हुने जनधनको क्षतिमा मानवजन्य क्रियाकलाप र प्रकृति माथिको अवैज्ञानिक अतिक्रमण प्रमुख कारण बनेका छन् ।


लेखक इन्जिनियरिङ भूगर्भविद् तथा विपद्विज्ञ हुन् ।

[email protected]

प्रकाशित : असार ३०, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?