वातावरणीय प्रभाव परिवर्तनीय भए पूर्वाधार निर्माण गर्नुपर्छ, अपरिवर्तनीय भए विकल्प खोज्नुपर्छ ।
काठमाडौँ — नेपालमा पूर्वाधार विकासका काममा खिचातानी, किचलो र नकारात्मक बहस बढी चल्ने गरेका छन् । सूक्ष्म विश्लेषण र अनुसन्धान बेगर वजन बिनाका तर्कवितर्क हुने गर्छन् । यसमा राजनीतिक स्वार्थ प्रतिविम्बित देखिन्छ ।
पूर्वाधार निर्माणका सन्दर्भमा निर्माणपछिको परिदृश्य र वातावरणमा पर्ने प्रभावबारे वैज्ञानिक विश्लेषण जरुरी हुन्छ । विकास निर्माणका विषयमा भइरहेका बहसले वातावरण भनेको रुख र वनमात्र हुन् भन्ने सन्देश प्रवाह गरेजस्तो देखिन्छ । वातावरणको बहसमा रुख र वनलाई मात्र बढी केन्द्रित गरिनु विषयको गम्भीरता नबुझ्नु हो । पूर्वाधार विकास वा अन्य विकासको काम गर्दा त्यसले वातावरणमा के नकारात्मक प्रभाव पार्छ र त्यहाँको अहिलेको वातावरणले उक्त विकास कार्यलाई के प्रभाव पार्छ भनी दोहोरो र मिहिन विश्लेषण गर्नुपर्छ ।
विकासको काम गर्न लागिएको स्थानमा धेरै पहिरो भए त्यसले पहिरोले विकासको काममा पार्ने असरबारे बहस हुँदैन । त्यस स्थानमा चट्टानहरू दोब्रिएका, टुक्रिएका र कुहिएका हुन सक्छन् । तिनले परियोजनामा नकारात्मक प्रभावबारे छलफल गरिँदैन । भूकम्पले पहिले ठूलो क्षति गरेको, बाढी आएको भए त्यसबाट निर्माण कार्यमा हुनसक्ने जोखिमबारे चर्चा हुँदैन । के यी वातावरणका विषय होइनन् ? यस्ता कुराले वातावरणमा नकारात्मक प्रभाव पार्दैन ?
मुख्यतया वातावरणका दुई खाले प्रभाव हुन सक्छन्– अपरिवर्तनीय वा भर्पाइ गर्न नसकिने प्रभाव र परिवर्तनीय वा भर्पाइ गर्न सकिने प्रभाव । अपरिवर्तनीय प्रभाव भन्नाले विकासको कामले एक चोटी नकारात्मक प्रभाव पार्यो भने त्यसलाई सकारात्मक रूपमा परिवर्तन गर्न सकिँदैन । जस्तो– मान्छेको ज्यान । विकासको कामले कोही मान्छेको मृत्यु भयो भने त्यसलाई फेरि जिउँदो बनाउन सकिँदैन । यो सबैभन्दा ठूलो वातावरणीय प्रभाव हो । विकासका कामले कोही मान्छेको ज्यान लिन्छ भने त्यस्तो विकास कार्य अघि बढाउन मिल्दैन । यसमा दुर्घटनावश हुने मृत्यु भने पर्दैन ।
अर्को प्रभाव मान्छेको सम्पत्ति र जीविकोपार्जनसँग गाँसिएको हुनसक्छ । यो भर्पाइ गर्न सकिन्छ । नकारात्मक प्रभाव पर्ने मानिसको तुलनामा धेरै गुना मानिसलाई जीवनस्तर उठ्नेगरी सकारात्मक प्रभाव पार्ने परिदृश्य देखिन्छ भने नकारात्मक प्रभाव परेका मानिस वा समुदायलाई जीवनस्तर सप्रिने गरी वैकल्पिक व्यवस्था गरेर विकास कार्य गर्न वाञ्छनीय हुन्छ । यस्तो प्रभावको सजिलै भर्पाइ गर्न सकिन्छ । पानी, वनस्पति, जनावर, जैविक विविधता र वातावरणीय पक्षमा पर्ने प्रभावका विषयमा पनि विश्लेषण गर्नु जरुरी हुन्छ ।
यस्ता पक्षको वातावरणीय प्रभाव परिवर्तनीय वा अपरिवर्तनीय दुबै खाले हुन सक्छन् । कुनै जनावर, वनस्पति वा तिनीहरूको समूह निमिट्यान्न हुने परिदृश्य देखिन्छ भने त्यो अपरिवर्तनीय प्रभाव हो । त्यसको वैकल्पिक व्यवस्था गर्न सकिँदैन र त्यस्तो विकास आयोजना अगाडि बढाउन मिल्दैन । उचित व्यवस्थापन गर्न सकिने र अस्तित्व समाप्त नहुने अवस्था हो भने सकेसम्म कम प्रभाव पर्ने प्रविधि प्रयोग गरी विकास कार्य गर्नुपर्छ ।
प्राय:जसो विकासका कामले पानीको स्रोत निमिट्यान पार्नेगरी प्रभाव पार्दैनन् । विज्ञान र प्रविधिको उचित प्रयोग गरेर स्रोत पुनर्जीवित गर्न सकिने आधार छन् । असर र फाइदाको वैज्ञानिक विश्लेषण गर्ने हो भने यस्ता प्रभाव भर्पाइ गर्न सकिने हुन् कि नसकिने हुन् भन्ने राम्ररी थाहा पाउन सकिन्छ । वनजङ्गल अनि त्यसमा आस्रितका लागि पनि उचित र वैकल्पिक व्यवस्था गरेर परिवर्तनीय प्रभावमा बदल्न सकिन्छ ।
मानिसको ज्यान लिने खालको विकासका काम सबैभन्दा ठूला र अपरिवर्तनीय वातवरणीय प्रभाव हुन् । मान्छेको ज्यान जाने कुरा वातवरणीय मात्र नभई पारिवारिक, सामाजिक र अन्य सबै हिसाबले पनि सबैभन्दा अपरिवर्तनीय प्रभाव हो । यस्तो परिदृश्य विकासका काम गर्दा अथवा विकासका काम समाप्त भैसकेपछि तिनै कामका कमजोरीले निम्त्याउने पहिरो, बाढी लगायतका विपद्ले ल्याउने गर्छन् ।
जमिनको कमजोर भाग आँकलन नगरी वा वास्ता नगरी सडक खन्ने क्रममै पहिरो आई मान्छेको ज्यान जानु, पहिलेको ठूलो पहिरो चिन्न नसकी वा वास्ता नगरी त्यही स्थानमा बनाइएका संरचना वा जलविद्युत योजनामा बनेका ठूला बाँध उचित स्थानमा नराखिँदा तिनीहरू भत्किएर हुने मानवीय क्षति भर्पाइ गर्न नसकिने प्रभाव हो ।
जमिन मुनिको पानी बढी निकालेर जमिन र घर भास्सिएर हुने मानवीय क्षति, जमिनको स्थिति र धान्न सक्ने क्षमताको लेखाजोखा नगरी वा गलत स्थानमा बनेका ठूलठूला भवन वा अन्य भौतिक संरचना भत्किएर हुने मानवीय क्षति पनि भर्पाइ गर्न सकिँदैन । आउन सक्ने सबैभन्दा ठूलो बाढीको सतह आँकलन नगरी तथा खोला कत्तिको डाइनामिक छ भन्ने लेखाजोखा नगरी खोला नजिकै बसाइएका सहर र बस्ती अनि तिनले ल्याउने विपद्, भूकम्पको उच्च जोखिमयुक्त स्थानमा बसाइएका बस्ती र अन्य पूर्वाधार विकासका कामले गर्ने मानवीय तथा समग्र वातावरणीय क्षति अपरिवर्तनीय र भर्पाइ गर्न नसकिने वातावरणीय प्रभाव हुन् ।
पूर्वाधार विकास र अन्य विकासका कामबाट अथवा काम गर्ने स्थानको कमजोरीले विपद्हरू निम्तिन्छन् भने त्यो सबैभन्दा ठूलो र भर्पाइ गर्न नसकिने वातावरणीय प्रभाव हो ।
लेखक इन्जिनियरिङ भूगर्भविद् हुन् ।
