पूर्वाधार विकासमा अतिवाद- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वाधार विकासमा अतिवाद

सुबोध ढकाल

काठमाडौँ — पूर्वाधार विकासका सन्दर्भमा नेपालमा दुई खाले अतिवाद देखिएका छन् । एउटाले भौगर्भिक, भौगोलिक, जैविक, वित्तीय, सामाजिक, सांस्कृतिक र वातावरणीय जस्ता कुरालाई महत्त्वको ठान्दैन । पूर्वाधार विकास देश विकासको मेरुदण्ड भएकाले जति नकारात्मक प्रभाव परे पनि यस्ता कुरा गौण ठान्नुपर्छ भन्छ ।

अर्को अतिवादले प्रकृतिलाई चलाउनै हुँदैन, रुख काटेर विकास गर्न पाइँदैन, जलविद्युत् आयोजना भन्नासाथ वातावरणीय विनाश हो, देश विकासका नाममा विनाश भयो जस्ता तर्क अघि सार्ने गर्छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनैपर्छ भन्नेहरू र विमानस्थल निर्माणले वातावरण सखाप पार्छ भन्दै यसको विरोध गर्नेहरू अतिवादका पछिल्ला उदाहरण हुन् ।

यस सन्दर्भमा विकासपछि र वातावरणमा पर्ने प्रतिकूल प्रभावको परिदृश्य कस्तो भन्ने विषयमा वैज्ञानिक विश्लेषण जरुरी हुन्छ । त्यस्तै वातावरणीय प्रतिकूल प्रभाव के साँच्चिकै अपरिवर्तनीय हो भन्नेमा पनि बिनापूर्वाग्रह र नि:स्वार्थ ढंगले सूक्ष्म अध्ययन गर्न आवश्यक छ । विकासका कारण वातावरणमा पर्ने प्रतिकूल प्रभावको भर्पाइ किन जरुरी छ, भर्पाइ गर्ने तरिका के हो र कति समयसम्म भर्पाइ हुन्छ भन्ने विषयमा वैज्ञानिक खाका र योजना विकासका सबैखाले परियोजनाले विस्तृत अध्ययनका बेला बनाइसकेको हुनुपर्छ ।

हामीकहाँ परियोजना सुरु हुनुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन अथवा यस्तैखाले प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ तर के यस्ता प्रतिवेदन सम्बन्धित विषयमा ज्ञान, अनुभव र कुशलता प्राप्त विज्ञले अनि उपयुक्त विधिअनुसार तयार पार्ने गरेका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । जनधनको सुरक्षा, समृद्धि र देश विकासका साथै वातावरणको संवेदनशीलतासँग जोडिएका दूरगामी प्रभाव पार्ने आयोजनामा केटाकेटी पाराका वातावरणीय प्रभाव मूल्याङ्कनका कुरा सतहमा आउनुलाई त्यस्तै अतिवाद प्रोत्साहन गर्ने र दिगो विकास हुन नदिने षड्यन्त्रका रूपमा लिनुपर्ने हुन्छ ।


यतिसम्म कि, एउटा आयोजनाको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा अर्कै आयोजनाको नाम र ठाउँ साभार गरिएको पाइएको समेत सुनिने गरेको छ । यस्ता प्रतिवेदनलाई कसरी सदर गरिन्छ अनि त्यसलाई कसले र कसरी पत्याउने भन्ने गहन प्रश्नको उत्तर कसले दिने ? यस्ता काम गर्ने संस्था र व्यक्तिहरू दण्डित हुने गरेका छन् ? वातावरण प्रभाव मूल्याङ्कन गर्ने व्यक्ति र संस्थाका लागि लाइसेन्स व्यवस्था गर्ने र उनीहरूको प्रतिवेदनमा कमजोरी भेटिए लाइसेन्स खारेज गर्ने प्रावधान राख्नसके बेथिति अन्त्य हुन सक्थ्यो ।

भौगर्भिक अध्ययनबिना पूर्वाधार विकासका काम अघि बढाउनु, सम्बन्धित सबै क्षेत्रका साँच्चिकै विज्ञहरूसँग अन्तक्र्रिया नगरी सहमति दिनु, दिगो विकास र कम वातावरणीय प्रभावका लागि उपयुक्त प्रविधिमा ध्यान नदिनु, सम्बन्धित विषयका प्राविधिक बन्दोबस्त नगरी विकासका काम गर्नुजस्ता कुरा वातावरण र दिगोपनमा संवेदनहीनता हुन् ।

विकास र वातवरणजस्ता संवेदनशील र दूरगामी प्रभावका विषयमा दलगत राजनीतिक गन्ध आउनु लज्जास्पद छ । प्राविधिक र वैज्ञानिकले आफ्नो निहित स्वार्थका लागि अर्थात कुनै राजनीतिक पार्टीलाई खुसी बनाउन वर्षौं लगाएर आर्जन गरेको ज्ञान र बुद्धि तिलाञ्जली दिन तम्तयार हुने प्रवृत्ति छ । सम्बन्धित विषयको ज्ञान र अनुभवबिना आफूलाई विज्ञका रूपमा प्रस्तुत गर्नेहरू पनि छन् । त्यही आधारमा उनीहरूलाई ‘महान् विज्ञ’ ठहर्‍याउनु विडम्बनापूर्ण छ । साँच्चिकै देशको दिगो विकास गर्ने हो भने नक्कली प्राविधिक र विज्ञलाई बिदा गर्नुपर्छ । कुनै राजनीतिक पार्टीमा आबद्ध नभएका तर सम्बन्धित विषयमा विद्वत्ता हासिल गरेका विज्ञ पहिचान गरी रोस्टर बनाउनुपर्छ र परेका बेला उनीहरूलाई परिचालन गर्नुपर्छ ।

वातावरणका अतिवादीहरूलाई मेरो सुझाव छ– पहिला विषयको संवेदनशीलता अनि गाम्भीर्यलाई बुझ्ने गर्नुस् । विकासको कुरा आउनासाथ वातावरणको हवाला दिँदै नकारात्मक प्रतिक्रिया नदिनुस् । सस्तो लोकप्रियताभन्दा पनि साँच्चिकै अपरिवर्तनीय वातावरणीय र दिगो प्रभावबारे सूक्ष्म अध्ययन गरेर मात्र धारणा बनाउनुस् ।


वातावरणको कुरा खालि विकासविरोधी एजेन्डा हो भन्ने अतिवादीलाई मेरो सुझाव छ– विकासको सर्वस्वीकार्य मान्यताअनुसार वातावरणमा अपरिवर्तनीय र दूरगामी प्रभाव पर्ने परिदृश्य देखिन्छन् भने त्यो विकास नभएर विनाश नै हो भन्ने बुझ्नुस् । वातावरणीय प्रभाव मूल्याङ्कन संवेदनशील विषय भएकाले यसलाई औपचारिकताका हिसाबमा नगराउनुस् । भर्पाइ गर्न सकिने वातावरणीय प्रभाव भए कसले, कसरी र कहिलेसम्म भर्पाइ हुने हो स्पष्ट खाका र योजना तयार पार्नुस् ।


सरोकारवालालाई चित्त बुझाउनुस् । नेपाल भौगर्भिक हिसाबले अति गतिशील छ भन्ने कुरा सदैव याद गर्नुस् । प्राविधिक कुरामा कुन राजनीतिक पार्टी वा को मान्छे भन्ने कुराबाट कहिल्यै प्रभावित नहुनुस् । प्रकृतिसँग लाप्पा खेल्ने अनि पहाडको अस्तित्व मेटाएर विकास गर्छु भन्ने जस्ता सोच दिमागमा कहिल्यै नल्याउनुस् । विश्वप्रसिद्ध नयाँ प्रविधि प्रयोग र दिगो विकासको अवधारणालाई सदैव बढाउनुस् ।

विकास र वातावरणका कुरामा सरकार र राजनीतिक पार्टीहरूलाई मेरो सुझाव छ– यो देश हामी सबैको हो, विकास भएको देश भोलि म पनि चलाउन पाउनेछु । देश विकास हुनु भनेको मेरो पनि विकास हुनु हो । विकास गर्न नदिएर होइन, उसले भन्दा धेरै विकास म गर्छु भन्ने जस्ता सकारात्मक सोच र कदमले मात्र देश समृद्ध बन्न सक्छ ।

सरकारमा हुँदा त्यही कुरा ठीक अनि सरकारबाहिर हुँदा त्यही कुरा बेठीक जस्तो दहीचिउरे कुराले तपाईंको अनि तपाईंको पार्टीको लोकप्रियता बढ्दैन, बरु घट्छ । आफ्नै पार्टीमा लागेका बुद्धिजीवी र विज्ञ भनिनेहरूको मात्र विश्वासमा नपर्नुस् । तिनीहरूकै कारण तपाईंको राजनीति दाउमा पनि पर्न सक्छ । प्राविधिक र इन्जिनियार अनि वैज्ञानिकलाई गलत कामका लागि कहिल्यै दबाब नदिनुस् ।


लेखक इन्जिनियरिङ भूगर्भविद् हुन् ।

प्रकाशित : आश्विन १४, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

सुरुङ हुँदै रेल

संवेदनशील भीर र पहिरोको जोखिम भएको ठाउँमा पहाड काट्नु हुँदैन, सुरुङमार्ग बनाउनुपर्छ, नत्र पहाड जोड्ने ठूला पुल ।
सुबोध ढकाल

काठमाडौँ — देश विकासमा दूरगामी प्रभाव पार्ने पूर्वाधार विकासका सन्दर्भमा रेलमार्ग निर्माणबारे बहस चलिरहेको छ । आफ्नै देशमा रेलसमेत नदेखेका हामी नेपालीलाई यस्तो बहसले उत्साहित पारेको छ । धेरैलाई नेपालमा रेलमार्ग बन्ला र रेल चढिएला भन्नेमा कमै विश्वास छ । तर सबैको भित्री चाहना रेलमार्ग बनोस् भन्ने छ । बन्ने रेलमार्ग असुरक्षित नहोस् र यो दिगो होस् भन्नेमा चनाखो हुनुपर्छ ।


अलाइन्मेन्ट सही नहुनु, संवेदनशील भौगर्भिक बनोटलाई बेवास्ता गर्नु, प्रविधि उपयुक्त नहुनु, पानीको उचित व्यवस्थापन गर्न नसक्नु, इन्जिनियरिङ डिजाइन चुस्त नहुनु जस्ता कारणले हाम्रा राजमार्ग असुरक्षित छन् । हिमालय बन्ने क्रम जारी, लिथोस्फिएरिक प्लेट चलायमान, भौगर्भिक बनोट अत्यन्तै कमजोर तथा भिरालोपन रहेकाले ठूला–साना पहिरो जाने तथा सडक भासिने गरेका छन् ।

कतिपय क्षेत्रमा सडक बनाउँदाको लागतभन्दा मर्मत–सम्भारमा धेरै साधनस्रोत प्रयोग गर्नुपर्छ । यसले के देखाउँछ भने जति संवेदनशील हाम्रा पहाड छन्, पूर्वाधार विकासका हाम्रा प्रविधि र काम गर्ने तौरतरिका त्योभन्दा बढी संवेदनशील र वैज्ञानिक हुन जरुरी छ । हाम्रा लागि रेलमार्गको नियति पनि कतै अहिलेका समस्याग्रस्त राजमार्गको जस्तो हुने हो कि भन्ने चिन्ता छ ।

रेलमार्ग बनाउँदा संवेदनशील पहाड काटिन्छन् । उत्तरतिरका पहाड अग्ला, भिराला र बढी चट्टानी छन् । यस्ता पहाड बलिया देखिए पनि भिरालोपन बढी र चट्टानमा धेरै चिरा पनि भएकाले भूकम्पको हल्लाइबाट बढी असुरक्षित छन् । यिनीहरूलाई काट्न पनि सजिलो हुँदैन । भीरलाई उचित ‘जिओमेट्री’मा काट्न र राख्न सजिलो हुँदैन । जिओमेट्री नमिल्दा पहिरो जाने सम्भावना बढ्दै जान्छ ।

रेलमार्ग निर्माणमा अर्को समस्या चलायमान भौगर्भिक दरार (फल्ट) हुन् । नेपालका धेरै ठाउँमा यस्ता चलायमान फल्ट हुन सक्छन् । कुनै बेला बनेका तर अहिले सुषुप्त भएका अन्य फल्ट पनि हुन सक्छन् । सुषुप्त फल्टबाट हुनसक्ने नकारात्मक प्रभावलाई निस्तेज पार्न धेरै गाह्रो छैन । तर चलायमान फल्टको नकारात्मक प्रभावले परियोजना धरापमा पर्न सक्छ । दूरगामी प्रभाव पार्ने फल्ट कताकता छन् भनेर सूक्ष्म अध्ययन हुन जरुरी छ ।

दुइटा ठूला लिथोस्फिएरिक प्लेट (दक्षिणको इन्डियन र उत्तरको टिबेटियन) को जुधाइको फलस्वरूप र पहिलेका ठूला भूकम्पको असरले चट्टानका बीच धेरै घर्षण भई उत्पन्न भएका ‘सिएर जोन’ भनिने भौगर्भिक संरचनाले पनि रेलमार्ग निर्माणमा समस्या ल्याउन सक्छ । त्यसैले सिएर जोन कताकता छन् भन्नेमा पनि सूक्ष्म अध्ययन हुनुपर्छ । सियर जोन अति कमजोरमात्र होइन, सतही र भूसतही पानीको प्रमुख चलखेल गर्ने ठाउँ पनि हुने भएकाले यिनलाई पहिचान गर्न नसक्दा पहिरो जाने लगायतका समस्या आउन सक्छन् । सूक्ष्म माटोका पत्र (क्ले जोन) तथा जिपसम भनिने पदार्थले समस्या ल्याउन सक्छन् ।

पहाडी भेगमा रेलमार्ग निर्माणका लागि भौगर्भिक र इन्जिनियरिङ भौगर्भिक सूक्ष्म अध्ययन गर्नर्ैपर्छ । भौगर्भिक नक्साहरूलाई सूचनाको खाकाका रूपमा लिएर ठूलो स्केलको इन्जिनियरिङ भौगर्भिक नक्सा बनाउन र ती नक्साका आधारमा रेलमार्ग डिजाइन गर्नुपर्छ । अहिलेसम्म उपलब्ध भौगर्भिक नक्सा सानो स्केलको छ । माथि उल्लेख गरिएका कमजोर भौगर्भिक संरचना ती नक्सामा नदेखिएका वा पहिचान नगरिएका हुन सक्छन् । रेलमार्गको क्षेत्रमा पर्नसक्ने अधिकतम पानी कति हो, त्यसले बाढी–पहिरो कुन मात्रामा निम्त्याउन सक्छ र जलवायु परिवर्तनको असरले पार्न सक्ने प्रतिकूल अवस्थाबारे विश्लेषण गर्नुपर्छ ।

परियोजनाको सम्भाब्यता अध्ययनको बेलादेखि भौगर्भिक अवस्था आँकलन गर्दै विस्तृत डिजाइन गनुपर्छ । काम गर्ने बेलासम्मै सूक्ष्म अध्ययन हुनुपर्छ । यसमा इन्जिनियरिङ भूगर्भविद् तथा भूगर्भविद् चाहिन्छ । सडक निर्माणमा भने भौगर्भिक अध्ययनलाई बेवास्ता गरिएको छ । इन्जिनियरिङ भूगर्भविद् भीरलाई कति डिग्रीमा काट्ने र उचाइ कतिमा कायम राख्ने भन्ने निर्णायक चाहिन्छ । चट्टानी भीरलाई काटिसकेपछि पहिरो जानसक्ने ठाउँ पहिचान गर्न र त्यसको सुरक्षा उपायबारे उनीहरूले परामर्श दिन सक्छन् ।

संवेदनशील भीर र निकट भविष्यमै पहिरो जानसक्ने खालका स्थानमा पहाड काट्नु हुँदैन । त्यस्तो ठाउँमा सुरुङमार्ग बनाउनुपर्छ । सुरुङमार्ग भूकम्प–मैत्री हुन्छ । सुरुङमार्ग सम्भव नभए वल्लो पहाड र पल्लो पहाडलाई जोड्ने ठूला पुल (भायडक्ट) बारे सोच्नुपर्छ । तर बलजफ्ती गरेर पहाड काट्नु हुँदैन । सुरुङभन्दा भायडक्ट भूकम्पका हिसाबले बढी जोखिमयुक्त हुन्छन् । सुरुङमार्ग महँगो हुन्छ भन्दै अति संवेदनशील पहाडलाई जथाभावी काट्दै रेलमार्ग निर्माण गरियो भने कुन बेला अवरुद्ध हुन्छ, टुंगो हुँदैन ।

dhakalsubodh@gmail.com
ढकाल इन्जिनियरिङ भूगर्भविद् हुन् ।

प्रकाशित : श्रावण १५, २०७५ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×