नागढुंगा सुरुङमार्ग नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्को : जाइका अध्यक्ष

उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यस आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्वपूर्ण उपलब्धि भएको बताए ।

श्रावण ११, २०८३

न्युज एजेन्सी नेपाल

Nagdhunga Tunnel: A Historic Leap in Nepal’s Transport Infrastructure, says JICA Chairman

काठमाडौँ — नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गको रूपमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन भएको छ ।

सोमबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यस आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्वपूर्ण उपलब्धि भएको बताए । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा खण्ड पार गर्न लाग्ने समय अब ५ देखि ७ मिनेटमा सीमित भएको छ । यस पूर्वाधारले सवारी चाप न्यूनीकरण, सडक सुरक्षामा सुधार र यातायात दक्षता अभिवृद्धि गर्दै मुलुकको आर्थिक गतिविधि र नागरिकको दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । यो सुरुङमार्ग नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्को रहेको उनको भनाइ थियो । 

दुई वर्षअघि भएको ठूलो वर्षा र त्यसले निम्त्याएको अवरोधका समयमा यस सुरुङमार्गको अपरिहार्यता थप पुष्टि भएको अध्यक्ष तानाकाले उल्लेख गरे । निर्माणकै चरणमा रहे पनि विपद्को समयमा यस करिडोरले सम्पर्क मार्गको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । यसले संकटका समयमा आपत्कालीन सेवा र अत्यावश्यक वस्तुहरूको ढुवानीका लागि लचिलो एवं भरपर्दो पूर्वाधारको महत्वलाई पुनः स्थापित गरेको उनको भनाइ छ । 

हिमालय क्षेत्रको कठिन भू–गर्भीय बनावटका कारण आयोजना निर्माणका क्रममा विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको उनले बताए ।

यस आयोजनामा ९८ प्रतिशत जनशक्ति नेपाली इन्जिनियर र कामदारहरू रहेका थिए । जसले जापानी विज्ञसँगको सहकार्यमा प्रविधि र सीप हस्तान्तरणको उदाहरणीय कार्य गरेका अध्यक्ष हकिहिकोको भनाइ छ । 

न्युज

Link copied successfully