कान्तिपुरले प्राप्त गरेको प्रश्नपत्र सार्वजनिक गरिएको ह्वाट्सएप म्यासेजको स्क्रिन सटमा ‘सुलभ सर’ नाम भएका व्यक्तिले पीडीएफ फाइल पठाएको देखिन्छ ।
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस इस्टडिज (एमबीएस) को प्रश्नपत्र परीक्षा सुरु भएको ५ मिनेटमै ह्वाट्सएपमार्फत सार्वजनिक भएको खुलेको छ ।
प्रश्नपत्र सार्वजनिक भएको पुष्टि हुने स्क्रिन सट सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले यस विषयमा अनुसन्धान गरिदिन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई आग्रह गरेको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोले जाँच गर्दा ८ साउनमा परीक्षा सुरु हुनेबित्तिकै प्रश्नपत्र बाहिरिएको खुलेको हो ।
शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयका एक सदस्यका अनुसार प्रहरीले यो प्रकरणमा संलग्न देखिएका दुई जनालाई आइतबार पक्राउ गरेको छ । ‘प्रहरीले नै यस विषयमा विस्तृतमा सार्वजनिक गर्ला तर पक्राउ गरिएको जानकारी हामीले पाएका छौं,’ ती सदस्यले कान्तिपुरसँग भने ।
प्रहरीले चाहिँ यस विषयमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन ।
कान्तिपुरले प्राप्त गरेको प्रश्नपत्र सार्वजनिक गरिएको ह्वाट्सएप म्यासेजको स्क्रिन सटमा ‘सुलभ सर’ नाम भएका व्यक्तिले पीडीएफ फाइल पठाएको देखिन्छ । त्योसँगै ‘केशव भट्ट’ नामक विद्यार्थीले ‘सर, सोलुसन नि पठाइदिनु न’ भन्दै म्यासेज गरेको देखिन्छ । कान्तिपुरले प्राप्त गरेको ग्रुप म्यासेजको स्क्रिन सटमा सुलभ सर नामक व्यक्तिले ‘इको, नि दिन्छु, राम्रोसँग हेर्नुहोला’ भनेका छन् ।
अर्का एकजना विद्यार्थीले ‘धन्यवाद’ दिँदै जागिर गर्नेहरुका लागि यो ‘बेस्ट ग्रुप’ भएको लेखेकी छन् । समूहमा १ हजार २३ जना सदस्य रहेको देखिन्छ भने नाम एमबीएस फस्ट सेम सेक्सन सी लेखिएको छ । त्यहीँ ‘एकअर्कालाई सहयोग गरौं’ भन्ने लेखिएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सुलभ सर भन्ने व्यक्तिसमेत छन् । उनीहरुको विस्तृत विवरणचाहिँ खुलाइएको छैन । प्रश्नपत्र लिक भएको सार्वजनिक भएलगत्तै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले १० साउनमा छानबिन समितिसमेत गठन गरिसकेको छ ।
परीक्षण नियन्त्रण महाशाखाका तर्फबाट जारी गरिएको विज्ञप्तिमा ‘तत् सम्बन्धमा वास्तविकता के हो र प्रश्नपत्र बाहिरिएको भए के कसरी ? कसबाट सो गैरकानुनी कार्य भएको हो ? सोको सत्यतथ्य पत्ता लगाउन र दोषीमाथि आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न समिति गठन गरिएको’ भनिएको छ ।
छानबिन समितिको नेतृत्व प्राडा अच्युत ज्ञवालीले गरेका छन् । समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य महेशराज ओझा छन् ।
