चिकित्सकमाथिको आक्रमणको विरोधमा वीरगन्जका अस्पतालमा अनिश्चितकालीन हडताल, आकस्मिक सेवासमेत प्रभावित

अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणमा संलग्नलाई मुलुकी अपराध संहिता, २०७४ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०७९ बमोजिम तत्काल मुद्दा दर्ता गरी कडा कारबाही गर्न माग ।

श्रावण १०, २०८३

शंकर आचार्य

Indefinite strike at Birgunj hospitals in protest against the attack on doctors, emergency services also affected

What you should know

पर्सा — नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा वीरगन्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले आइतबारदेखि अनिश्चितकालीन हडताल सुरु गरेका छन्। आन्दोलनका कारण नारायणी अस्पतालसहित सरकारी, सामुदायिक, निजी अस्पताल र मेडिकल कलेजमा आकस्मिक सेवासमेत प्रभावित भएको छ।

शनिबार अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगन्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आफन्त र गाउँलेले आक्रोशित भई अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न डा प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। गम्भीर घाइते डा राम अहिले अस्पतालको आईसीयूमा उपचाररत छन्।

घटनापछि शनिबार साँझ अस्पताल प्रशासन, पीडित पक्ष र प्रहरी प्रशासन बसेर घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको थियो। साथै आकस्मिक कक्षमा कार्यरत डा प्रमोद राम, डा रामकिशोर सिंह, स्वास्थ्यकर्मीहरू प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरिएको थियो।

यही निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघ, नारायणी शाखाको आह्वानमा आइतबारदेखि वीरगन्जका सम्पूर्ण सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। संघका अध्यक्ष डा मनोजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले माग पूरा नभएसम्म आकस्मिक सेवासमेत बहिष्कार गर्दै सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।

संघले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणमा संलग्नलाई मुलुकी अपराध संहिता, २०७४ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०७९ (संशोधनसहित) बमोजिम तत्काल मुद्दा दर्ता गरी कडा कारबाही गर्न माग गरेको छ।

त्यस्तै, घटनापछि निलम्बन गरिएका पाँचै जना चिकित्सक तथा स्वास्थ्यकर्मीको निलम्बन तत्काल फिर्ता लिन, छानबिन समिति खारेज गर्न तथा चिकित्सक र स्वास्थ्य संस्थामाथि हुने अनधिकृत हस्तक्षेप, अनावश्यक दबाब र सार्वजनिक रूपमा गरिने चरित्रहत्या जस्ता गतिविधि रोक्न पनि संघले माग गरेको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर, धम्की वा दबाबबिना सुरक्षित वातावरणमा पेसागत दायित्व निर्वाह गर्न सक्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने मागसमेत संघले अघि सारेको छ। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने संघले जनाएको छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully