भारत यात्राका लागि राष्ट्रिय परिचयपत्रलाई मान्यता दिन नेपालको आग्रह

अध्यागमन विभागका अधिकारीहरूले भारतीय दूतावासका प्रतिनिधिसँग छलफल गरेका छन् । राष्ट्रिय परिचयपत्रलाई मान्यता दिन नेपालले गरेको प्रस्तावप्रति भारतीय पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ ।

श्रावण ९, २०८३

अनिल गिरी

Nepal requests recognition of the national identity card for travel to India

What you should know

काठमाडौँ — सरकारले भारत यात्राका लागि राष्ट्रिय परिचयपत्र (एनआईडी) लाई आधिकारिक कागजातको मान्यता दिन भारत सरकारसँग औपचारिक प्रस्ताव गरेको छ । भारतले स्वीकृति दिएमा नेपाली नागरिकले नागरिकता प्रमाणपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्र प्रयोग गरेर स्थल तथा हवाईमार्गबाट भारत जान सक्नेछन् ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार उक्त प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसमक्ष पठाइएको छ । भारतको औपचारिक जवाफको प्रतीक्षा भइरहेको महानिर्देशक तिवारीले बताए ।

हाल हवाईमार्गबाट भारत जाने नेपाली नागरिकले राहदानी वा नागरिकता प्रमाणपत्र अनिवार्य रूपमा बोक्नुपर्छ । त्यस्तै, नेपाल आउने भारतीय नागरिकले पनि राहदानी वा फोटोसहितको भारतीय मतदाता परिचयपत्र प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

सरकारले बैंकिङ सेवा, राहदानी, जग्गा दर्तालगायत विभिन्न सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेको छ । ‘हामीले परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव भारत पठाइसकेका छौं,’ तिवारीले भने, ‘भारतले स्वीकृति दिएपछि राष्ट्रिय परिचयपत्र स्थल र हवाई दुवै मार्गबाट भारत यात्रा गर्न प्रयोग गर्न सकिनेछ ।’

यस विषयमा यसै साता अध्यागमन विभागका अधिकारीहरूले भारतीय दूतावासको टोलीसँग छलफलसमेत गरेका थिए । विभागका एक अधिकारीका अनुसार भारतीय पक्षले प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको छ र यसलाई थप निर्णयका लागि दिल्ली पठाइएको जानकारी दिएको छ ।

‘दीर्घकालमा नागरिकता प्रमाणपत्रको स्थान राष्ट्रिय परिचयपत्रले लिनेछ । यो प्रमाणीकरण गरिएको, सुरक्षित र प्रविधिमैत्री परिचयपत्र हो,’ तिवारीले भने, ‘त्यसैले भारत भ्रमणका लागि पनि यसलाई मान्यता दिन आग्रह गरेका हौं ।’

गृह मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल र भारतबीच सीमा आउजाउ गर्ने यात्रुको अभिलेख राख्ने तथा आवागमनलाई व्यवस्थित गर्ने संयन्त्र विकासबारे पनि छलफल हुँदै आएको छ ।

राष्ट्रिय परिचयपत्रमा बायोमेट्रिक (जैविक) विवरण समावेश छन् । हालसम्म ४५ लाखभन्दा बढी नेपालीले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका छन् भने करिब २ करोड नागरिकले आवेदन दिएका छन् ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully