भगवान् विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो ।
काठमाडौँ — आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुर्व्यूहनारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ ।
भगवान् विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो । आजका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वास छ । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।
चार नारायणको आज र हरिबोधिनी एकादशीमा एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउने गरेका छन् ।
चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजा आजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ ।
यसैगरी दरबारमार्गस्थित नारायणहिटीमा रहेको चतुर्व्यूह नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । चतुर्व्यूह नारायण मन्दिरमा चारै नारायणको मूर्ति रहेको नारायणहिटी चतुर्व्यूह मठका मठाधीश राजेश्वरानन्द सरस्वतीले जानकारी दिए । चार नारायण दर्शन गर्न नसक्नेले चतुर्व्यूह नारायण मन्दिरमा दर्शन गरेमा चारै नारायण मन्दिरमा दर्शन गरे बराबरको फल मिल्ने उनले सुनाए । यसै विश्वासका आधारमा आज बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।
मन्दिरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको महन्त निगमानन्द स्वामीले जानकारी दिए । भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति तीन बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो ।
जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत बूढानीलकण्ठमा भीड लाग्ने गर्छ । नेपालीले आजैदेखि घर घरमा तुलसीको विशेष पूजा सुरु गर्दैछन् । यसरी पूजा गर्ने क्रम कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म जारी रहन्छ । यो चार महिनाको अवधिलाई चतुर्मास पनि भनिन्छ । यी चार महिना धेरै भक्तजन व्रत बस्ने गर्छन् । यस अवधिमा नारायण मन्दिरमा चतुर्मास प्रवचन पनि भन्ने गरिन्छ ।
यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित नारायणटारमा रहेको नारायण मन्दिर, पशुपति क्षेत्रमा रहेका विभिन्न नारायण मन्दिर, हाँडीगाउँ क्षेत्रको सत्य नारायण मन्दिर, वसन्तपुर दरबार क्षेत्रस्थित नारायण मन्दिरलगायत काठमाडौँ उपत्यकासहित देशभरका नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ ।
