एन–ट्याग नलिनेले सुरुमा नगदै बुझाउँदा हुने तर अनलाइन भुक्तानी अनिवार्य गर्दै लगिने
What you should know
काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालन हुने भएको छ । निर्माण थालेको ८० महिनापछि सुरुङमार्ग सञ्चालन हुन लागेको हो । सुरुङ चौबीसै घण्टा खुला हुनेछ ।
पहिलो लटमा आपत्कालीन सवारीसाधनलाई सुरुङ खुला गरिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए । ‘पहिलो दिन एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीको गाडीका लागि सुरुङ खुला हुन्छ,’ उनले भने, ‘त्यसपछि अन्य सवारीसाधनलाई चरण–चरण गरेर खुला गर्दै लग्छौं ।’
डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई निषेधसुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई शुल्क तोकिसकिएको छ । कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस–ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ । पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङमार्गमा निषेध गरिएको छ ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई डिजिटल्ली भुक्तानी गर्ने व्यवस्था गरिएको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बताए । सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित स्टिकरका रूपमा एन–ट्यागको व्यवस्था गरिएको छ ।
‘सवारीको अगाडिको सिसामा एन–ट्यागको स्टिकर लिएर टाँस्नुपर्छ, जसलाई गेटमा आएपछि मेसिनले रिड गर्छ,’ उनले भने, ‘त्यसको ३० सेकेन्डमा गेट खुल्छ ।’ सुरु–सुरुमा एन–ट्याग र नगद जे सहज हुन्छ, त्यहीबाट शुल्क लिँदै जाने उनको भनाइ छ । ‘अहिलेलाई कुमारी, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेघा र सानीमा बैंकले डिजिटल्ली भुक्तानीका लागि बोर्डसँग सम्झौता गरेका छन्,’ उनले भने ।
अहिलेलाई एक, दुई र पाँच हजार नगदको एन–ट्याग लिने व्यवस्था गरिएको उनले जानकारी दिए । एन–ट्याग लिन सम्बन्धित बैंकहरूमा सम्पर्क गर्ने व्यवस्था गरिएको छ । भारतीय सवारीको हकमा अघिपछि पनि नगद नै लिने व्यवस्था गरिने उनको भनाइ छ ।
सुरुङ सञ्चालनको जिम्मा युसिन–एआरटी जेभीले पाएको छ । युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हुन् । सुरुङमार्गमा १ सय ५० जना कर्मचारी हुनेछन् । सेवा प्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ । उक्त कम्पनीले सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–२ स्थित, टुटीपाखामा ४ कात्तिक ०७६ मा शिलान्यास गरेसँगै सुरुङ निर्माण थालिएको हो । ४२ महिनाभित्र सक्ने लक्ष्यसहित यसको निर्माण थालिए पनि कोभिड–१९ लगायत कारणले ढिला गरी मात्र सम्पन्न भएको पूर्वाधार मन्त्रालयको भनाइ छ । निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको थियो ।
हाज्माले गत जेठमा नागढुंगा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङको काम सकेर हस्तान्तरण गरेको हो । सम्झौताअनुसार एक वर्षभित्र सुरुङमा कुनै समस्या आए हाज्माले नै मर्मत सम्भार गर्नुपर्नेछ । सुरुङ निर्माणमा जापानको साढे २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी भएको छ ।
