सातामा दुई दिन बिदाको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री पोखरेल
What you should know
काठमाडौँ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा रजिस्ट्रार, डिनलगायत पदाधिकारी नियुक्तिमा उपकुलपतिहरुले स्वतन्त्र निर्णय लिन सक्ने बताएका छन् । शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले नवनियुक्ति उपकुलपतिहरूले आफ्नो टिम आफैं बनाउन पाउने जनाए ।
‘उपकुलपतिलाई आफ्नो टिम आफैं बनाउनु भनेका छौं । रजिस्ट्रार, रेक्टर, डिनलगायत नियुक्तिमा सरकारले हस्तक्षेप गर्दैन । विश्वविद्यालयस्वायत्त हुनुपर्छ भन्नेमा प्रतिबद्ध छौं,’ उनले भने ।
उपकुलपतिहरूलाई सरकारको भिजनअनुसार अघि बढ्न निर्देशन दिएको तर कुनै हस्तक्षेप नगर्ने उनले जनाए । मेरिटका आधारमा पहिलो पटक उपकुलपति नियुक्त भएको र त्यसले सकारात्मक सन्देश गएको उनको दाबी थियो । उपकुलपतिहरूलाई प्रक्रियाबाट राजनीतिक भागबन्डाबिनै आफ्नो टिम निर्माण गर्न आग्रह गरेका कारण रजिस्ट्रार नियुक्तिमा केही ढिलाइ भएको पोखरेलले जनाए ।
‘विश्वविद्यालयको सबै अधिकार उपकुलपतिलाई दिएका छौं । ४ वर्षमा विश्वविद्यालयलाई कहाँ पुर्याउने हाम्रो भिजन पनि दिएका छौं । त्यसैअनुसार काम गर्न भनिएको छ,’ उनले भने । सरकारले कस्तो भिजन दिएको छ भन्ने विषयचाँहि उनले खुलाएनन् । अहिलेसम्म सरकारबाट केन्द्रीय रूपमा विश्वविद्यालय चल्दै आए पनि अब स्वायत्त भएको र आफना निर्णय आफैंले गर्न सक्ने उनले जनाए । आइतबारको बिदा कायमै रहने पनि सरकारका प्रवक्तासमेत रहेका पोखरेलले बताए ।
‘यो निर्णय सरकारले पपुलर हुन गरेको होइन ।आलोचना हुन्छ भन्ने थाहा हुँदा हुँदै गरेको हो तर शनिबार र आईतबार दुई दिनबिदा दिने निर्णय कायमै रहन्छ,’ उनले भने ।सातामा दुई दिन छुट्टी दिँदा फाईदा नै फाईदा हुने उनले जनाए । ‘मानसिकस्वास्थ्यलाई बिदामा फाईदा पुग्छ । कार्यक्षमता पनि बढ्छ । हाम्रोमा अनुसन्धान नभएपनिसंसार भरको अनुसन्धानले पनि त्यहि भनेको छ,’ मन्त्री पोखरेलले भने, ‘अरु थुप्रै देशमापनि सातामा दुई दिन बिदाको अभ्यास हुँदै आएको छ ।’
सातामा दुई दिन बिदाको तत्काल आलोचना भए पनि दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पर्ने उनको दावी थियो । सरकारी निकायसँगै निजी क्षेत्रले पनि दुई दिने बिदाको व्यवस्था गर्ने अपेक्षा सरकारले गरेको उनले सुनाए । ‘बैंकलगायत कतिपय वित्तीय क्षेत्रले पनि आइतबार पनि बिदा दिन थालेका छन्,’ प्रवक्ता पोखरेलले भने, ‘सबै क्षेत्रमा लागू हुने अपेक्षा छ । अभिभावकहरूले दुई दिन बिदाको बारे धेरै गुनासो गर्नु भएको छ । उनीहरूले पनि बिदा पाउने व्यवस्था भएपछि गुनासो अन्त्य हुन्छ ।’
