मन्त्री पोखरेलले भने, 'डा. केसीका मागबारे छलफल गरिन्छ । म पनि केसीको फ्यान हुँ, समर्थक हुँ । केसीकै कारण चिकित्सा शिक्षा ऐन बन्यो ।'
काठमाडौँ — शिक्षामन्त्री सस्मित पोखरेलले डा. गोविन्द केसीसँग छलफल सुरु भइसकेको बताएका छन् । शुक्रबार पत्रकारहरूसँग कुराकानी उनले अनशनरत डा. केसीको मागबारे सरकारको ध्यानकार्षण भएको बताएका हुन् ।
मन्त्री पोखरेलले भने, 'डा. केसीका मागबारे छलफल गरिन्छ । म पनि केसीको फ्यान हुँ, समर्थक हुँ । केसीकै कारण चिकित्सा शिक्षा ऐन बन्यो ।' डा. केसीकै कारण अस्वभाविक शुल्क नियन्त्रण र छात्रवृत्ति पारदर्शी भएको उल्लेख गर्दै उनले अब पनि सरकारले छलफल गर्ने बताए । 'गरिबहरूको पहुँचमा चिकित्सा शिक्षा आयोग पुग्यो । सहिद दशरथ चन्द विश्वविद्यालयमा यसै वर्ष चिकित्सा शिक्षा पढाइ हुन्छ ।'
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी बिहीबारदेखि आमरण अनशन बसेका छन्। धनगढीको एलएनचोकको कृष्ण मन्दिरस्थित धर्मशालामा बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले आफ्ना मागका लागि दबाब दिन सत्याग्रहको घोषणा गरेका हुन्।
केसीले सरकारलाई आफ्ना ५ बुँदे माग सम्बोधन गर्न साउन ५ गतेसम्मको समयसीमा दिएका थिए । तर, तोकिएको समयभित्र सरकारले कुनै चासो नदेखाएपछि पुनः अनशन बस्नु परेको उनले बताएका छन् ।
अनशनमा केसीले विशेष गरी नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप र स्वार्थको द्वन्द्वलाई मुख्य मुद्दा बनाएका छन् । उनले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियमविपरीत गरिएका गैरकानुनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गरेका छन् ।
