प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार बेन १९ असारमा बुद्ध एयरमार्फत सिमरा पुगेका थिए, सिमराबाट दिल्लीसम्मको उनको सडक यात्राको व्यवस्थापन भारतीय पक्षले गरेको थियो । तर बेनले सिमरा गए पनि भारत प्रवेश नगरेको दाबी गरेका छन् ।
What you should know
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार (बेन) गोप्य रूपमा नयाँदिल्ली गएको खुलेको छ । भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका थिए ।
बेनको नयाँदिल्ली भ्रमण र भेटवार्ताबारे बुधबार ‘नेपालखबर डटकम’ ले समाचार प्रकाशित गरेको छ । समाचारमा उनले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेको दाबी गरिएको छ । कान्तिपुरले पनि यसखाले भ्रमणको चर्चा पछ्याइरहेकाले प्रमुख सल्लाहकार बेनसँग चासो राखेको थियो । तर उनले आफू भारत गएको र भारतीय सरकारका वरिष्ठ अधिकारीसँग भेट भएको विषयलाई अस्वीकार गर्दै आएका छन् ।
तर परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बेन रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाललाई समेत जानकारी नदिई चुपचाप नयाँदिल्ली गएर फर्किएका थिए । स्रोतका अनुसार गोपनीयता कायम गर्न बेन ‘काठमाडौंपाटी डटकम’ का सञ्चालक रोशन खड्कासँग पहिलो चरणमा विमानमार्फत सिमरा पुगेका थिए । त्यसपछि उनीहरू रक्सौल हुँदै सडकमार्गबाट दिल्ली गएको स्रोतको भनाइ छ । कान्तिपुरलाई प्राप्त जानकारीअनुसार उनीहरू १९ असारमा गएर २३ गते काठमाडौं फर्किएका हुन् । असार १९ गते बिहान ७ः३५ बजे बुद्ध एयरको फ्लाइट ५५१ मार्फत सिमरा पुगेका थिए । सिमरा रक्सौल नाकाको सबैभन्दा नजिकको विमानस्थल हो । कूटनीतिक स्रोतका अनुसार भारतीय पक्षले उनीहरूको दिल्लीसम्मको सडक यात्रा व्यवस्थापन गरेको थियो । उनीहरू सोही बाटो भएर असार २३ गते बिहान सिमराबाटै फर्किएको स्रोतको दाबी छ । बेनले सिमरा गएको स्वीकार गरे पनि भारत प्रवेश गरेको अस्वीकार गरेका छन् । उनले आफू हेटौंडा र चितवन गएको बताए ।
चितवनबाट हवाईमार्ग प्रयोग नगरी सडकमार्गबाट काठमाडौं फर्किएको कारण सोध्दा उनले सडकको अवस्था सुधारिएकाले त्यसैलाई सहज विकल्प ठानेको बताएका थिए । ‘हाम्रा मन्त्रीले सिमरा–चितवन सडक राम्रो बनाइदिएका छन्, त्यसैले यात्रा छिटो हुन्छ,’ उनले कान्तिपुरसँग भने ।
‘नेपालखबर’ का अनुसार बेनले डोभालसँग नेपाल–भारत सम्बन्ध, नेपालको प्राथमिकता तथा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलगायत विषयमा छलफल गरेका थिए । तर कान्तिपुरसँग कुरा गरेका कूटनीतिक स्रोतले भने बेनले डोभालसँग नभई भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी तथा केही उच्च गुप्तचर अधिकारीसँग भेट गरेको दाबी गरे ।
परराष्ट्रमन्त्री शिशिर खनालले पनि नयाँदिल्लीमा भएका भनिएका भेटघाटबारे जानकारी लिन खोजेका थिए । तर मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार उनले बेनले वास्तवमा कसलाई भेटे भन्ने पुष्टि गर्न सकेनन् । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘हामीसँग सल्लाह गरेको भए उनलाई यस्तो भ्रमण नगर्न सुझाव दिन्थ्यौं ।’
२९ असारमा कान्तिपुरले थप सूचना प्राप्त भएपछि पुनः बेनसँग सम्पर्क गरेको थियो । उनले त्यसबेला पनि भारत नगएको स्पष्ट रूपमा बताएका थिए । त्यसपछिको सातामा भने उनको भारत भ्रमणको विषय परराष्ट्र मामिलामा चासो राख्ने वृत्तमा व्यापक चर्चा र जिज्ञासाको विषय बन्यो । प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमण कुन देशबाट सुरु हुन्छ भन्ने विषयमा लामो समयदेखि चासो रहँदै आएको छ । परम्पराअनुसार नेपाली प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेपछि पहिलो द्विपक्षीय भ्रमण भारतबाट सुरु गर्ने गरेका छन् । तर पदमा बसेको एक सय दिन पूरा हुँदासमेत प्रधानमन्त्री शाहले विदेश भ्रमणको कुनै संकेत दिएका छैनन् ।
यहीबीच प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेन किन गोप्य रूपमा भारत गए भन्ने प्रश्न उठेको छ । उनले किन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसहित अधिकारीहरूसँग भेट गरे भन्ने विषयले पनि चर्चा पाएको छ । यी भेटघाट नेपाल सरकारको परराष्ट्र नीति वा नेपाल–भारत सम्बन्धसँग सम्बन्धित रहेको आकलन गरिएको छ । यस विषयमा कान्तिपुरले बेन स्वयं, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी, काठमाडौंस्थित भारतीय दूतावासका अधिकारी, डोभालको कार्यालयसँग पहुँच भएका केही भारतीय पत्रकार, प्रधानमन्त्री कार्यालयका अधिकारी तथा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासँग समेत जानकारी लिएको छ । तर, कान्तिपुरसँग भएका पटक–पटकका कुराकानीमा बेनले आफू भारत नगएको र त्यहाँ जानुपर्ने कुनै कारण नभएको दाबी दोहोर्याए ।
प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञ र नेपाली अधिकारीबीच हुने भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको उपस्थिति अनिवार्य हुने कूटनीतिक आचारसंहिता पालना गर्दै आएका छन् । तर बेनको नयाँदिल्ली भेटवार्तामा नेपाली दूतावासका कुनै अधिकारी सहभागी थिएनन् । बेन स्वदेश फर्किएपछि प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रसँग परामर्श सुरु गरेका छन् । उनले अब छिट्टै भारत र चीनका राजदूतसँग भेट गर्ने तयारी गरेका छन् ।
