बालिकाहरू सुर्पाल बजारको एड्भान्स चाइल्ड केयर बोर्डिङ स्कुलमा नर्सरी, एलकेजी र एक कक्षामा पढ्छन् ।
What you should know
दाङ — तीन दिनअघि रोल्पाका लोकेन्द्र पुनले फेसबुकमा पोस्ट गरेको १८ सेकेन्डको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । बिहीबार बेलुका साढे ८ बजेसम्म २ करोड ६० लाखले भिडियो हेरिसकेका छन् । ८ लाख ४८ हजार लाइक, १० हजार ४ सय कमेन्ट र ५ हजार ७ सय सेयर छ ।
फरक-फरक रंगका प्लास्टिक ओढेर आफ्नै तालमा हिँडिरहेका बालिकाहरूको दृश्य निकै आकर्षक छ । पानी परिरहेको बेला पहाडी बाटोमा हिँडिरहेका तीन बालिकाको भिडियोले धेरैको ध्यान खिचेको छ । पुनले बोलाउँदा पनि केही प्रतिक्रिया नदिई बालिकाहरू आफ्नै सुरमा फटाफट हिँडिरहेका देखिन्छन् ।
पुनले ‘हेलो साथीहरू...’ भन्दै पटक-पटक बोलाउँदा पनि उनीहरू केही नबोली हतार-हतार हिँडेका छन् । पछाडिबाट खिचिएको भिडियोमा बालिकाहरूको अनुहार देखिँदैन । धेरैले बालिकाहरूको अनुहार देखाइदिन अनुरोध गरेपछि पुनले बिहीबार बिहान फेरि बालिकाहरूको अनुहार देखिने भिडियो खिचे । उनले बाटो छेकेर बोलाउन खोजे तर बालिकाहरू केही पनि नबोली फटाफट आफ्नो बाटो लागे ।
केही गर्दा पनि नबोलेपछि पुनलाई यसबारे अझै बुझ्न मन लाग्यो । उनी बिहीबार दिउँसो रोल्पाको रुन्टीगढी गाउँपालिका–४, तोलबाङस्थित बालिकाहरूको घर पुगे । घरमा आमाहरू मात्रै रहेछन् । दुई बालिका एक घरका र अर्की बालिका अर्को घरकी रहेछिन् । तीनै बालिकाका बुवाहरू रोजगारीका सिलसिलामा विदेश रहेछन् । घरबाट स्कुल पुग्न करिब ४५ मिनेटजति हिँड्नुपर्ने रहेछ ।
बाटो लामो पर्ने र आमाहरू पनि स्कुल छोड्न र लिन नजाने भएकाले बालिकाहरू एक्लै आउनेजाने गर्ने रहेछन् । ‘आमाहरूले बाटोमा कोहीसँग नबोल्नु, कसैले दिएको नखानु भनेर सिकाएका रहेछन्,’ पुनले भने, ‘मैले बोलाएको उनीहरूले सुनेका रहेछन् तर आमाले कोहीसँग नबोल्नु भनेकाले केही नबोली हिँडेका रहेछन् ।’ घरमा पुगेपछि आमाहरूका अगाडि भने बालिकाहरूले खुलेर कुरा गरे । विदेशबाट बुवाहरूले भिडियो भाइरल बनाइदिएकामा पुनलाई धन्यवाद् पनि दिए ।
किन खिचिएको थियो भिडियो ?
भिडियो रुन्टीगढी गाउँपालिका–४, सुर्पाल, रोल्पामा खिचिएको हो । पुनले सडक छेउको प्रतीक्षालयबाट भिडियो खिचेका थिए । दिदीलाई दाङको घोराही पठाउन बस पर्खिरहेका बेला बालबालिकाको भिडियो खिचिएको थियो । बालिकाहरू सुर्पाल बजारको एड्भान्स चाइल्ड केयर बोर्डिङ स्कुलमा नर्सरी, एलकेजी र एक कक्षामा पढ्छन् ।
बस पर्खेर प्रतीक्षालयमा बसिरहेका बेला पानी परेपछि प्लास्टिक ओढेर हिँडिरहेका बालिकाहरू देखेपछि पुनलाई बाल्यकालको याद आयो । ‘हामी पनि यसैगरी प्लास्टिक ओढेर उकालो ओरालो गर्दै स्कुल जान्थ्यौं । उनीहरूलाई देखेर मलाई बाल्यकालको याद आयो,’ पुनले भने,‘त्यसपछि मैले रमाइलो लागेर भिडियो खिचें । शिक्षा लिन बाल्यकालमा गरेको संघर्ष देखाउन भिडियोले ठूलो भूमिका खेल्यो ।’
लोकेन्द्र पुन
बेलुकापख घरमा बसिरहेका बेला उनले सामान्य रूपमा सोचेर ‘स्कुल जाँदै पानीपानीमा साथीहरू’ शीर्षकमा भिडियो पोष्ट गरे । त्यसपछि भिडियो बिस्तारै भाइरल हुन थाल्यो । हेर्दाहेर्दै भिडियोमा लाइक, कमेन्ट, सेयर नसोचेको तरिकाले बढ्न थाले । त्यसपछि पुनलाई कमेन्टहरू हेर्न भ्याइनभ्याइ भयो ।
उनको फेसबुक अझै मोनिटाइज भएको छैन । फेसबुकमा उनका ३४ हजार फलोअर छन् तैपनि अझै मोनिटाइज नभएको उनले बताए । ‘मैले फेसबुक, टिकटकमा सामान्य आफ्नै भिडियोहरू राख्ने गर्थें । त्यस्तो खासै भ्यूज आउँदैनथ्यो,’ उनले भने,‘त्यो पनि त्यस्तै सामान्य ठानेर राखेको हो तर नसोचेको भैदियो । मोनिटाइज भएको भए त्यसबाट आउने आम्दानीले बालिकाहरूलाई नै केही सहयोग गर्न सक्थें ।’
भिडियोमा विभिन्न खालका कमेन्टहरू छन् । ‘कस्तो माया लाग्ने गरी हिँडेका बच्चाहरू, आहा कति माया लाग्दा के हाँसका ट्युराजस्तै एकनाशले लुरुलुरु, कोही मिल्गया मुभिको याद दिलायो, त्यो एलियनजस्तै लाग्यो, साथीहरू त भाइरल, साथीहरू निकै हतारमा छन्, कुनै चिजको वास्ता छैन उनीहरूलाई, साथीहरूलाई देखेर बाल्यकालको याद आयो, टाढाबाट त कुखुराका चल्लाझैं देखिएका नानीबाबुहरू त, साथीहरू स्कुल जान हतार छन्, भुल्ने टाइम छैन, साथीहरू कति माया लाग्दो देखिएका, बच्चा जसका पनि राम्रा’ जस्ता कमेन्टहरू छन् ।
उनको भिडियो भाइरल भएपछि धेरैले कपी गरेर पोष्ट गरिरहेका छन् । यस कुराले उनलाई दु:खी बनाएको छ । ‘मेरो भिडियो राख्दा मेरो नाम नै उल्लेख नगरी राखिएको छ,’ उनले भने,‘यो राम्रो भएन । मैले कुरा गर्न खोज्दा केहीले त उल्टै मलाई नै ब्लक गरे ।’ सस्तो लोकप्रियताका लागि अर्काले खिचेको भिडियो डाउनलोड गरेर पोष्ट गर्ने काम गलत भएको उनले बताए ।
को हुन् भिडियो खिच्ने पुन ?
भिडियो खिच्ने पुन व्यावसायिक भिडियोग्राफर होइनन् । उनले कहिलेकाहीं रहरले मात्रै आफ्नै भिडियोहरू राख्ने गर्थे । सुर्पाल बजारमै उनको घर छ । ३१ वर्षीय पुन व्यवसायी हुन् । उनले केही समय निर्माण व्यवसायीका रूपमा काम गरे । त्यसपछि पोखराको रामबजारमा ब्रिटिस आर्मी र सिंगापुर पुलिसका लागि तालिम केन्द्र चलाए ।
२०७९ को स्थानीय तह निर्वाचनका बेला उनी गाउँ फर्के । बुवा गाउँपालिका अध्यक्षको उम्मेद्वार भएकाले गाउँमै निर्वाचनमा खटे । त्यसपछि उनलाई पोखरा फर्केर व्यवसाय गर्न मन लागेन । गाउँमै कृषि व्यवसाय गरे । उनले अहिले कोइलाखानी सञ्चालनको अनुमति लिएर त्यसको तयारी गरिरहेका छन् ।
गाउँमै बसेर घरायशी काममै रहेका बेला पुनले बालापनको यादमा खिचेको भिडियो एक्कासि भाइरल भैदियो । यसले पुन र बालिकाहरूलाई एकसाथ करोडौं दर्शकमाझ पुर्याएको छ । ‘मैले खिचेको छोटो भिडियो धेरैले मन पराइदिनुभयो,’ उनले भने,‘खुसी लागेको छ । गाउँको कथा देशविदेश पुगेको छ ।’
