साउदीको सीप परीक्षण गर्ने ट्रेनिङ इन्स्टिच्युटमा सिलबन्दी

सरकारले अविलम्ब कुटनीतिक पहलमार्फत सीप परीक्षण रहित नेपाली श्रमिक साउदी अरब जाने बाटो खोल्नुपर्छ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ।

श्रावण ७, २०८३

होम कार्की

Sealing of the training institute conducting skill tests for Saudi Arabia

What you should know

काठमाडौँ — साउदी अरवले नेपालमा श्रमिकलाई आर्थिक भार पार्ने गरी एकतर्फी रुपमा कार्यान्वयनमा ल्याइएको सीप परीक्षण कार्यक्रम (एसभिपी)लाई सञ्चालन गर्दै आएको बसुन्धारास्थित इण्ड्रष्ट्रियल ट्रेनिङ इन्च्यिुचुट नेपाल प्रालिमा बुधबार सिलबन्दी गरिएको छ ।

युवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी र वैदेशीक रोजगार विभागको संयुक्त अनुगमन टोलीले इण्ड्रष्ट्रियल ट्रेनिङ इन्च्यिुचुटमा सिलबन्दी गरेको हो ।

अनुगमन टोलीले  इण्ड्रष्ट्रियल ट्रेनिङले सीप परीक्षण गर्न अनुमति नलिएको भन्दै सिलबन्दी गरेको जनाएको छ । टोलीले वैदेशिक रोजगारमा जाने श्रमिकलाई लक्षित गरी तोकिएको सर्त विपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपब्ध गराएको जनाएको छ । अनुगमन टोलीले सीप परीक्षणको अनुमति दिने सरकारी निकाय सिटिइभिटी मात्रै भएको जनाएको छ ।

प्रति श्रमिक ५० डलर (७ हजार रुपैयाँ) भुक्तानी गरेका श्रमिकलाई इण्ड्रष्ट्रियल ट्रेनिङ इन्च्यिुचुटले तीन घण्टाको परीक्षण गरी एसभिपीको प्रमाणपत्र दिन थालेको हो । एसभिपीको प्रमाणपत्र नभएका श्रमिकलाई काठमाडौंस्थित साउदी दूतावासले भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ ।  

यसअघि साउदीले गत असार ३ गतेबाटै कार्यान्वयनमा ल्याउने तयारी थालेको थियो । तर, म्यानपावर व्यवसायीहरुले एसभिपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको इण्ड्रष्ट्रियल ट्रेनिङ इन्च्यिुचुटमा तोडफोड गरेपछि तत्काल रोकिएको थियो ।

साउदीले सीप परिक्षण ५ वटा पेशाहरुमा क्रमशः समान लोड तथा अनलोड गर्ने, भरिया, ठेला चलाउने, र निर्माण क्षेत्रका श्रमिक रहेका छन् । निर्माण क्षेत्रमा के काम गर्ने श्रमिक भनेर प्रष्ट खुलाइएको छैन ।

साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले साउदी अरवमा श्रम भिसा प्राप्त गर्नको सीप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । साउदीले व्यवसाहिक मान्यता दिनको लागि सीप प्रमाणीकरण गर्न लागेको जनाएको छ ।

गत असार १२ गते युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद एम्नीखरलाई भेटी नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरेका थिए । सरकारले साउदीलाई द्विपक्षीय परामर्शको आधारमा कार्यान्वयन गर्नुपर्ने भन्दै तत्काल सीप परीक्षण कार्यक्रम अगाडि नबढाउन कुटनीतिक नोट पठाएको थियो । तर, त्यसको जवाफ नआई नेपालमा सीप परीक्षण सुरु गरिएको हो ।   

साउदी दुतावासद्वारा जारी सूचना अनुसार सीप परीक्षणको लागि श्रमिकले पहिला नै साउदीको ‘व्यावसायिक प्रमाणीकरण पोर्टल’मा अनलाइन दर्ता गर्नुपर्छ । दर्ता गरेपछि मात्रै भिसा वा मास्टर कार्डमार्फत डलरमा शुल्क भुक्तानी गर्नुपर्छ । आवेदकले कार्यक्रम अन्तर्गत उपलब्ध पेशाहरूबाट आफ्नो पेशा छनोट गर्नुपर्छ ।

साउदीको सूचना अनुसार सीप परीक्षणको लागि श्रमिकलाई तीन पटकसम्म मौका दिइनेछ । यसमा अनुत्तिर्ण भएमा श्रमिक साउदी जान पाइनेछैन । साउदीले यो कार्यक्रम सवै श्रोत देशमा लागू गरेको जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी जानको लागि सीप परीक्षण प्रमाणपत्र अनिवार्य भएको जनाएको छ । ‘सरकारले अविलम्ब कुटनीतिक पहलमार्फत सीप परीक्षण रहित नेपाली श्रमिक साउदी अरब जाने बाटो खोल्नुपर्छ । नेपाल सरकारले जहिले पनि हित सोच्ने हो । लागत शुल्क नियन्त्रण गर्ने हो,’ संघका अध्यक्ष डिकबहादुर खत्रीले भने, ‘हिजोको अवस्थामा नै साउदी जाने बातावरण बनाइनुपर्छ ।’

साउदीमा गत वर्ष ७७ हजार जना नेपाली श्रमिक गएका थिए । श्रम मन्त्रालयको श्रम प्रतिवेदन–२०२४ का अनुसार साउदी गएका ६७ प्रतिशत सामान्य श्रमिक भिसामा गइरहेका छन् । ८ प्रतिशत सेवा क्षेत्र र १२ प्रतिशत डाइभर र अपरेटर क्षेत्रमा गइरहेका छन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully