विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई बिहीबार सपथ ग्रहण गराएका हुन् ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Newly appointed officials of the Electricity Regulatory Commission take oath

What you should know

काठमाडौँ — विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई सपथ ग्रहण गराएका हुन् ।  

ऊर्जामन्त्री श्रेष्ठले आयोगमा अनुभवी पदाधिकारी आएको भन्दै नीतिगत र संरचना सुधारका लागि काम गर्न निर्देशन दिए । उनले मन्त्रालयबाट आयोगको कामलाई पूर्ण सहयोग हुने प्रतिबद्धता पनि जनाए । आयोगका पदाधिकारीहरूले सरकारको स्पिरिटअनुसार सुशासनलाई केन्द्रमा राखेर काम गर्ने बताए । 

आयोगका अध्यक्ष धितालले सरकारको सुशासनको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए । मन्त्रालयको मार्गनिर्देशनमा नियामकीय भूमिका निर्वाह गर्ने, विद्युत्‌को राष्ट्रिय खपत बढाउन सहजीकरण गर्नेलगायत काम गर्ने उनको भनाइ छ ।  ‘आयोगलाई मन्त्रालयको नीतिगत मार्गदर्शन, अभिभावकत्व हुनुपर्छ । मन्त्रालयसँग क्लोज को-अर्डिनेशनमा काम गर्छौं । यो टिमले निरास पार्दैन,’ उनले भने । 

आयोगका सदस्यहरूले २०औँ वर्ष यही सेक्टरमा काम गरेको भन्दै आफ्नो सिकाइ र अनुभवलाई प्रयोग गरेर नतिजामुखी परिणाम निकाल्न लाग्ने बताए । 

मन्त्री श्रेष्ठले नियामकीय निकायको हिसाबले मन्त्रालयअन्तर्गतको डिओई र एनईएलाई पनि आयोगले सुपरीवेक्षण गर्नुपर्ने बताए । यो टिमबाट आयोगको गरिमा बढ्ने र उदाहरणीय बन्ने विश्वास व्यक्त गरे । उनले विद्युत् प्राधिकरणको खरिद प्रक्रियाको पनि कार्यतालिका बनाएर हेर्न सुझाव दिए ।  ‘यो आयोगलाई गुड गभर्नेन्सको इन्स्ट्रुमेन्टको रूपमा लिएको छु । आयोगले सामाजिक न्यायलाई पनि हेर्नु पर्यो । पोलिसी ग्यापमा पनि योगदान होस् । कानुनलाई प्रेडेक्टिबल बनाउनुपर्यो,’ उनले भने । आयोगबाट आफूले उर्जासँग सम्बन्धित निकायको शासकीय सुधार चाहेको मन्त्री श्रेष्ठले बताए ।

कान्तिपुर

Link copied successfully