भदौ दोस्रो साता हुने कार्यक्रममा विभिन्न मुलुकबाट तिब्बती अध्ययनका अनुसन्धानकर्ता र विज्ञहरू सहभागी हुँदै छन् । कार्यक्रमलाई दलाई लामाका समर्थकले प्रयोग गर्न सक्ने भन्दै बेइजिङले चासो देखाएको छ भने आयोजकले विशुद्ध प्राज्ञिक भेला भएको दाबी गरेका छन् ।
What you should know
काठमाडौँ — भदौ दोस्रो साता काठमाडौंमा हुन लागेको तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीप्रति चीनले चासो देखाएको छ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले आगामी ७–१३ भदौ (अगस्ट २३ देखि २९) काठमाडौंमा हुने ‘इन्टरनेसनल एसोसिएसन फर तिब्बती स्टडिज’ को १७ औं गोष्ठीप्रति चासो व्यक्त गरेका छन् ।
परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार राजदूत चाङले मंगलबार परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेट गरी उक्त कार्यक्रमका बारेमा छलफल गरेका छन् ।
परराष्ट्र सचिवसँगको भेटमा उक्त कार्यक्रम निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामाका समर्थकहरूले प्रयोग गर्न सक्ने भन्दै चिनियाँ राजदूतले सचेत गराएको ती अधिकारीले बताए । राजदूत चाङले कार्यक्रममा केही व्यक्तिहरूले चीनविरुद्ध र तिब्बतको पक्षमा बोल्न सक्ने भन्दै त्यस्तो हुन नदिन अधिकारीहरूलाई आग्रह गरेको परराष्ट्र अधिकारीले जानकारी दिए ।
आयोजकका अनुसार कार्यक्रममा विभिन्न मुलुकबाट सयौं अनुसन्धानकर्ता र तिब्बती अध्ययनका विज्ञहरू भेला हुँदै छन् । ‘इन्टरनेसनल एसोसिएसन अफ तिब्बती स्टडिज’ को वेबसाइटका अनुसार यो गोष्ठी काठमाडौं विश्वविद्यालयको हिमालयन सेन्टर फर एसियन स्टडिज र काठमाडौं विश्वविद्यालयअन्तर्गतको सेन्टर फर बुद्धिस्ट स्टडिज, राङ्जुङ येशे इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको हो । गोष्ठीको संयोजकमा प्रा.सागर शर्मा र प्रा. थाँमस डक्टर छन् ।
तिब्बत मामिलामा बेइजिङको दृष्टिकोणप्रति सहानुभूति राख्ने काठमाडौंका केही विज्ञहरूले पनि तिब्बती भाषा, संस्कृति र इतिहासको प्रवर्द्धन गर्नुलाई अन्ततः दलाई लामाको विचारको समर्थनका रूपमा व्याख्या गर्न सकिने भन्दै कार्यक्रमलाई लिएर चिन्ता व्यक्त गरेका छन् । ‘हालसालै सरकारले तिब्बती शरणार्थीहरूलाई दलाई लामाको जन्मदिन मनाउन अनुमति दियो र अहिले यो कार्यक्रम हुँदै छ,’ नेपालमा तिब्बती मामिलालाई नजिकबाट नियालिरहेका एक विश्लेषकले भने, ‘त्यसैले चिनियाँ पक्षले आगामी कार्यक्रमप्रति असन्तुष्टि जनाएको हो ।’
परराष्ट्र मन्त्रालयका एक अधिकारीले चिनियाँ राजदूतले कार्यक्रमप्रति चासो देखाए पनि लिखित असन्तुष्टि पत्र भने बुझाएका छैनन् । ‘लिखित असन्तुष्टि बुझाउनुभएको छैन र कार्यक्रम रद्द गर्न पनि माग गर्नुभएको छैन, केवल आफ्ना चासो मात्र व्यक्त गर्नुभएको हो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।
चिनियाँ दूतावासका एक अधिकारीले राजदूत चाङ र परराष्ट्र सचिव राईबीच भेट भएको पुष्टि गर्दै यो विषयमा मन्त्रालयबाटै थप प्रतिक्रिया लिन आग्रह गरे ।
सम्मेलनमा सहभागी हुन छिटो दर्ता गर्नेलाई ३६० अमेरिकी डलर र ढिलो गर्नेका लागि ४४० अमेरिकी डलर शुल्क तोकिएको थियो । कार्यक्रमको दर्ता १ असारमा बन्द भइसकेको छ । कार्यतालिकाअनुसार उद्घाटन समारोह काठमाडौं विश्वविद्यालयको धुलिखेल परिसरमा हुनेछ भने बाँकी कार्यक्रमहरू होटल सोल्टीमा हुनेछन् ।
‘इन्टरनेसनल एसोसिएसन फर तिब्बती स्टडिज’ को बोर्डमा नेपाल, चेक, भुटान, बेलायत, जापान, फ्रान्स, चेक गणतन्त्र, अस्ट्रिया र चीनको प्रतिनिधित्व छ ।
काठमाडौं विश्वविद्यालयका प्रा. शर्माले सम्मेलनमा अक्सफोर्ड र क्याम्ब्रिजजस्ता विश्व प्रसिद्ध विश्वविद्यालयका विद्वान् र प्राध्यापकहरू सहभागी हुने बताए । तिब्बती अध्ययनको क्षेत्रमा विशेषज्ञ रहेका ३९ देशका विद्वान्हरूले यसमा भाग लिनेछन् ।
‘यो दलाई लामा समर्थक कार्यक्रम होइन । ठूलो संख्यामा चिनियाँ प्राध्यापक र विद्वान्हरू पनि यसमा सहभागी हुँदै छन् । चिनियाँ दूतावासलाई पनि यसबारे थाहा छ । हामीले विभिन्न सरकारी निकायहरूलाई पनि यसबारे जानकारी गराएका छौं,’ शर्माले भने ।
