अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर गरेको पुष्टि हुने भन्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिमको कसुर समेत गरेको भन्दै उनीविरूद्ध मुद्दा दायर गरेको हो ।
What you should know
काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ घूस लिएको र त्यसलाई लुकाउन सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर गरेको पुष्टि हुने भन्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिमको कसुर समेत गरेको भन्दै उनीविरूद्ध मुद्दा दायर गरेको हो ।
घूस लिएको रकमबाट अधिकारीले श्रीमतीको नाममा जग्गा खरिद गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । अभियोग पत्रमा अधिकारीले नागरिक उड्डयन प्राधिकरणबाट सञ्चालन भएको उठेक्कामा स्वीकृति, रेखदेख, भुक्तानी लगायतको जिम्मेवारीमा रहँदा पदको दुरुपयोग गरेर उक्त ठेक्का दिन सहजीकरण गरेको समेत भनिएको छ ।
त्यसबापत गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढालबाट १ करोड ७१ लाख रुपैयाँ दिएको पुष्टि भएको देखिएको अख्तियारले भनेको छ । ‘गैरकानुनी स्रोतबाट आएको उक्त रकम लुकाउने, रुपान्तरण तथा हस्तान्तरण गर्ने बदनीयतले अधिकारीले श्रीमतीको नाममा ललितपुरमा १३ आना जग्गा खरिद गरेका थिए,’ अभियोग पत्रमा भनिएको छ, ‘जग्गाको राजीनामा लिखतमाचाहिँ थैली रकम ९१ लाख रुपैयाँ कायम गरी वास्तविक कारोबार भएको रकम बदनीयतपूर्वक लुकाइएको थियो ।’
श्रीमतीको बैंक खाताबाट कारोबार भएको देखाएर थैलीभन्दा बाहेकको अस्वभाविक थप रकम १ करोड ७१ लाख रुपैयाँ अधिकारीले प्राधिकरण तथा अन्तर्गतका ठेक्कापट्टामा सहजीकरणका लागि घूस लिएको रकमबाट बैंक खातामा दाखिला गराएको आरोप लगाइएको छ ।
अख्तियारले दायर गरेको मुद्दामा ढकाललाई समेत प्रतिवादी बनाइएको छ । अधिकारीविरुद्ध यसअघि भ्रष्टाचार र संगठित अपराधको कसुरमा अरु मुद्दा समेत दर्ता भइसकेको छ । अधिकारीले आफूविरुद्ध भ्रष्टाचारको कसुरमा अनुसन्धान भइरहेका बेला अख्तियार नेतृत्वलाई प्रकाश पाठकसहितको समूह प्रयोग गरेर धम्क्याएको समेत अनुसन्धानबाट खुलेको थियो ।
