गुल्मीको ग्वाघा माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक र समुदायको सक्रियतामा २ रोपनी जग्गामा खेती गरी ३ वर्षमा ८ लाख रुपैयाँ आम्दानी भएको छ ।
What you should know
गुल्मी — विद्यार्थीको मिहनेत, शिक्षकको सक्रियता र समुदायको सहभागितमा यहाँको एक विद्यालयमा खेती गरेर सीप सिक्नेसँगै राम्रो आम्दानी पनि भइरहेको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–५ ग्वाघामा रहेको ग्वाघा माध्यमिक विद्यालयमा विद्यार्थीहरु पढाइसँगै कृषि कर्ममा पनि सहभागी भइरहेका छन् ।
कक्षा ८ मा अध्ययनरत् विद्यार्थी आरोही काउछाले विद्यालयमा कृषि गरेपछि कृषि कर्मप्रति बुझ्ने अवसर मिलेको बताइन् । ‘समूहमा मिलेर काम गर्ने बानीको विकास भएको छ’, उनले भनिन्, ‘विद्यालयको सिकाइ घरमा पनि पेशाका रुपमा अगाडि बढाउन सकिने सोंचेका छौं ।’
विद्यालय परिसरमा अहिले दुई रोपनी जग्गामा खेती भइरहेको छ । जसमध्ये केही व्यक्तिगत जग्गा भए पनि विद्यालयलाई निःशुल्क भोगचलन गर्न दिइएको छ । कक्षा ८ देखि १० सम्मका ९० जना विद्यार्थी कृषिमा संलग्न छन् । आलोपालो, बिदाको दिन, खाली पिरियड र विद्यालय समयभन्दा अघिपछिको समयमा विद्यार्थी खटिने गरेका छन् । जसमा शिक्षकको सक्रियता र समुदायस्तरबाट साथ रहेको छ ।
तीन वर्षदेखि थालिएको कृषि कर्मबाट विद्यालयले आठ लाख रुपैयाँ आम्दानी गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश थापाले बताए । जसमध्ये २ लाख रुपैयाँ विद्यार्थीको शैक्षिक भ्रमण र छात्रवृत्ति वितरण भएको छ भने ६ लाख रुपैयाँ ‘विद्यार्थी कल्याणकारी कोष’ मा बचत रहेको छ । विद्यालयिमा मल्चिङ्ग प्रविधिबाट अकबरे खुर्सानी खेती, अदुवा, च्याउ, स्कुस र सिमीलगायतका तरकारी खेती भइरहेको छ ।
कक्षा ११ मा पढ्ने शुलभ कार्कीले विद्यालयमा सिकेर घरमा व्यवसायिक खेती नै गरेका छन् । सिजनअनुसारको खेती गर्ने उनले आफ्नो खर्च कृषिबाटै चलाउँछन् भने बुबाआमा पनि यसैमा संलग्न हुँदा घरखर्चको पनि जोहो भएको छ । ‘साथीहरुसँग मिलेर काम गर्दै स्कुलमा च्याउ र खुर्सानी खेती सिक्यौं’, उनले भने, ‘अहिले घरमा च्याउ र खुर्सानी खेती बिस्तार गरेका छौं, यसले आर्थिक आम्दानी पनि भएको छ साथै बाआमालाई सहयोग पनि भएको छ ।’ उनको कर्मप्रति बुबाआमाले सहयोग गर्दै प्रशंसा पनि गर्ने गरेका छन् ।
अर्का विद्यार्थी सोनिया कार्कीले आफूहरु मिलेर गरेको उत्पादन आफैंले प्रयोग गर्न पाएको र यसले सिकाइ पनि भएको बताउँछिन् । ‘बाउबाजेले परम्परागत रुपमा खेती गर्थे, जसले केही समय खान मात्रै पुग्थ्यो’, उनले भनिन्, ‘हामीले आधुनिक किसिमले गरेका छौं, आम्दानीसहित भविष्यमा पनि यसले फाइदा पुर्याउने आशा छ ।’ बिरुवा घर लगेर लगाएर उत्पादन दिने गरेको उनले बताइन् ।
समिर कार्की कक्षा ८ मा पढ्ने यस विद्यालयका नयाँ विद्यार्थी हुन् । उनी पनि यो विद्यालयले सुरुवात गरेको कृषिमा आकर्षित छन् । ‘कृषिबाट पनि रोजगारी र आम्दानी हुन्छ भन्ने कुरा गाउँकै विद्यालयमा सिक्यौं’, उनले भने ।
कुनै प्राविधिक नभई साधारण विषय पढाइ हुने ग्रामीण भेगको विद्यालय भए पनि विद्यार्थीका लागि सिकाइ र विद्यालयका लागि नयाँ अभ्यासका रुपमा कृषि कर्म सुरु गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश थापाले बताए । ‘खाली समयमा विद्यार्थीले नपढ्ने, कुलतमा फस्ने र मोबाइलमा गेम मात्रै खेल्ने समस्या थियो’, उनले भने, ‘विद्यार्थीका सिकाइका रुपमा खाली पिरियड, बिदाको दिन र अघिपछिको समय सदुपयोगका लागि सुरु गरेका हौं ।’ विद्यालय पसिरमा कृषि योग्य जमिन नभए पनि खरबारीका रुपमा रहेको बाँझो बारीमा खेतीपाती गरेको उनले बताए ।
विद्यालयले गतवर्ष अकबरे खुर्सानी बिक्रीबाट मात्रै डेढ लाख रुपैयाँ आम्दानी भएको थियो भने ६ क्विन्टल भन्दा बढी अदुवा बिक्री गरेको थियो । अहिले पनि विद्यालयबाट अकबरे खुर्सानी प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री भइरहेको छ । विद्यार्थीका लागि निःशुल्क बिरुवा वितरण गर्दै त्यसको अवस्था शिक्षककले रेखदेख गर्दै आएका छन् । ‘विद्यार्थीको मेहनत, हाम्रो सक्रियता र समुदायको साथमा कृषिबाट सिकाइसँगै आम्दानी पनि भइरहेको छ’, प्रधानाध्यापक प्रकाश थापाले भने ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिलबहादुर रानाले विद्यालयमा समुदायबाट पनि राम्रो सहयोग पाएको र विद्यालयले सोंचेअनुसार काम गर्न पाएको बताए । ‘समुदाय स्तरबाट निःशुल्क जग्गा पाएका छौं, मल पनि सहयोग भइकरहेकै छ’, उनले भने, ‘विद्यालयको रेखदेखसहित आर्थिक सहयोगमा पनि समुदाय एकजुट छ ।’ देशविदेशमा रहेका यहाँका सबै स्थानीयले विद्यालय राम्रो बनाउन सहयोग गरिरहेको उनले बताए ।
चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले ग्वाघा माविले ग्रामीण क्षेत्रमा रहेर पनि उत्कृष्ट कर्म गरिरहेको बताए । ‘गाउँबस्तीमै भए पनि विद्यालयले कृषि अन्तर्गत अकबरे खेती उत्कृष्ट रुपमा गरेको छ’, उनले भने, ‘पढ्दै कमाउँदै कार्यक्रममा जोडेर प्रोत्साहन स्वरुपमा सहयोग गरेका छौं ।’ विद्यालयलाई गत वर्ष ७५ हजार रुपैयाँ सहयोग गरिएको थियो ।
