मंगलबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मुलतबीमा राख्न अस्वीकार गरेको हो ।
काठमाडौँ — पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुने भएको छ । विशेषले मुलतबीमा राख्न अनुमति नहुने आदेश गरेसँगै मुद्दामा बहस हुने भएको हो ।
मंगलबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मुलतबीमा राख्न अस्वीकार गरेको हो । ‘प्रस्तुत मुद्दामा प्रतिवादी रामशरण महत यी निवेदक रोशना महतका साथ अदालतमा उपस्थित भएका बखत निजको स्वास्थ्य अवस्था समेतलाई दृष्टिगत गरी इजलासबाट कानुनबमोजिम उपयुक्त आदेश हुन सक्ने नै हुँदा प्रस्तुत निवेदन मागबमोजिम हाल मुलतबी राख्न मिलेन। कानुनबमोजिम गर्नू,’ आदेशमा भनिएको छ।
यसअघि अदालतले अस्पतालसँग स्वास्थ्य जाँचको प्रतिवेदन माग गरेको थियो।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री महतसहित ५ जना मन्त्रीहरू र १० जना पूर्वसचिवसहित ५५ जना र एक कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।
अन्य प्रतिवादीहरु विशेष अदालतमा उपस्थित भएर थुनछेक आदेश भए पनि महत भने स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसक्ने भएकाले मुद्दा मुलतबीमा राख्न माग गरिएको थियो। महतकी पत्नी रोशना महतले निवेदन दिएकी थिइन्। तर अदालतले उनको निवेदनबमोजिम आदेश दिन अस्वीकार गरेको हो।
रामशरण महत विगत २ वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याको कारण होस ठेगानमा नरहेको कारण अदालतमा उपस्थित भई प्रतिरक्षासमेत गर्न नसक्ने अवस्थामा रहेको निवेदकको दाबी छ।
