बागमती सरकारबाट एमालेका मन्त्रीले तत्काल राजीनामा नदिने

बागमती प्रदेशमा रहेका एमालेका मन्त्रीहरुले पार्टी केन्द्रीय नेतृत्वको स्पष्ट निर्देशन नआएसम्म सरकार नछाड्ने निर्णय गरेका छन् ।

श्रावण ४, २०८३

प्रताप विष्ट

UML minister from Bagmati government will not resign immediately

What you should know

हेटौंडा — बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । एमाले बागमती प्रदेशको सोमबार बसेको संसदीय दलको बैठकले तत्काल सरकारबाट नबाहिरिने र पार्टी केन्द्रीय नेतृत्वको स्पष्ट निर्देशन आएपछि मात्रै थप निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीलाई सामूहिक राजीनामा दिन निर्देशन दिएको थियो । 

काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले केन्द्रको निर्णय नआएसम्म सरकार नछाड्ने निष्कर्ष निकालेको हो । बैठकमा सहभागी बागमती प्रदेशका विना विभागीय मन्त्री किरण थापाले अहिले सञ्चारमाध्यममा आएका राजीनामाका समाचारमा सत्यता नभएको र पार्टीको आधिकारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने स्पष्ट पारे । ‘पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन । निर्देशन जे आउँछ, त्यही गरिन्छ । सञ्चारमाध्यममा आएका राजीनामाका समाचार केवल हल्ला मात्र हुन्,’ मन्त्री थापाले भने । 

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बद्लिदो राष्ट्रिय राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै हतारमा निर्णय नगर्ने निष्कर्ष निकालिएको बताए । उनका अनुसार केन्द्रको निर्देशन, अन्य राजनीतिक दलसँगको संवाद तथा विकसित राजनीतिक अवस्थाको मूल्यांकनपछि मात्रै सरकारमा रहने वा बाहिरिनेबारे निर्णय हुनेछ । ‘हरेक दिन राजनीतिक परिस्थिति बदलिइरहेको छ । त्यसैले तत्काल सरकार छाड्ने निर्णय गरिएको छैन । केन्द्र र अन्य दलसंगको संवादपछि मात्रै अन्तिम निर्णय हुन्छ,’ उनले भने । 

बागमती सरकारमा एमालेका ६ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको नेतृत्वमा हाल प्रदेशमा रहेका १४ मन्त्रालयलाई ८ कायम गरिएको छ । साउन १ बाट उक्त निर्णय कार्यान्वयन गर्दै ८ मन्त्रीलाई जिम्मेवारी दिइएको छ भने ६ मन्त्रीलाई विनाविभागीय राखिएको छ । 

बागमती सरकारमा एमालेबाट कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा रहेका छन् भने विना विभागीय तर्फ किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी मन्त्री रहेका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully