बर्खा सुरु भएसँगै पहिरो हटाउन देशभर राजमार्गका विभिन्न खण्डमा १ सय ५५ वटा उपकरण परिचालन गरिएको छ । थप १ सय २२ उपकरण तैनाथ राखिएको छ ।
What you should know
काठमाडौँ — बर्खायाम सुरु भएसँगै देशभरका ८० वटा राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा दैनिकजस्तो पहिरो खसिरहेको छ । पहिरो गएपछि मेसिन र प्राविधिकको सहायतामा पन्छाएर सवारी सञ्चालन गर्ने गरिएको सडक विभागले जनाएको छ ।
यस खण्डमा पहिरोको जोखिम बढिरहेकाले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर जिल्ला प्रशासन कार्यालय चितवनले रातको समयमा सवारी आवागमन रोक्ने गरेको छ । शनिबार
राति र आइतबार पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार नारायणगढ–मुग्लिन र नागढुंगा–मुग्लिन सडकमा राति सवारी आवागनमा रोक लगाइएको छ ।
सधैंको बर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुंगा–मुग्लिन सडक, कोशी, कर्णाली, कालीगण्डकी करिडोर, साँफे–मार्तडी सडक, भालुबाङ–प्यूठान सडक, सुर्खेत–नेपालगन्ज सडक, मेची राजमार्ग, नारायणगढ–मुग्लिन सडक, गल्छी–त्रिशूली–स्याफ्रुबेंसी–रसुवागढी सडकका विभिन्न खण्डमा पहिरोको जोखिम बढ्ने गरेको छ ।
विस्तार भइरहेको नागढुंगा–मुग्लिन सडकअन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला, १३ किमि, चारकिलो, रातमाटे, शीतलबजार नजिक, विशाल बजार नजिक, ज्यामिरेघाट, जवाङ खोला, मौवा खोला र घोप्टेभीर छन् । नागढुंगा–नौबिसे सडकअन्तर्गत झ्याप्ले खोलामा असोज २०८१ मा रोकिइराखेका माइक्रो बस र यात्रु बस पहिरोले पुर्दा ३५ जनाको मृत्यु भएको थियो । अहिले यस क्षेत्रमा पहिरो रोकथामको काम भएको र पन्छाउन उपकरण तयारी अवस्थामा रहेको विभागले जनायो ।
नागढुंगा–मुग्लिन सडक निर्माणाधीन अवस्थामा रहेकाले पहिचान गरिएको ठाउँमा भन्दा पनि नयाँ–नयाँ ठाउँबाट पहिरो खस्ने समस्या रहेको सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सौजन्य नेपालले बताए । ‘बर्खाले राजमार्गहरूमा केही–केही खण्डमा मात्र पहिरो खसेर समस्या भएको छ, त्यस्तो ठाउँमा पहिरो पन्छाउने मेसिनको व्यवस्था गरिएको छ,’ उनले भने, ‘अहिलेसम्म त्यति समस्या आएको छैन, पानी रोकिनासाथ पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गरिएको छ ।’ ठूलो पानी परेका बेलामा भने समस्या आउन सक्ने आकलन गरेर त्यहीअनुसार मेसिन र जनशक्ति तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।
कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुंगा–मुग्लिन सडक, कोशी, कर्णाली, कालीगण्डकी करिडोर, सााफे–मार्तडी सडक, भालुबाङ–प्यूठान सडक, सुर्खेत–नेपालगन्ज सडक, मेची राजमार्ग, नारायणगढ–मुग्लिन सडक, गल्छी–त्रिशूली–स्याफ्रुबेंसी–रसुवागढी सडकका विभिन्न खण्डमा बढी जोखिम ‘अहिलेसम्म पहिरोकै कारण धेरै समय सडक अवरुद्ध भएको छैन,’ उनले भने, ‘लामो समयसम्म पानी परिरहे पन्छाउन समय लाग्ने हो, नत्र पहिरो पन्छाउने मेसिन ठाउँ–ठाउँमा राखिएकाले धेरै समय सवारी रोकिने गरेका छैनन् ।’
यस्तै अरनिको राजमार्गअन्तर्गत तातोपानी नाका जोड्ने कोदारी खण्डमा पहिरो खसेर सवारी आवागमन ठप्प हुने गरेको छ । कान्ति राजमार्गको ललितपुर र मकवानपुर जिल्लाको दुवैतर्फ पहिरोको समस्या छ । यस राजमार्गमा पानी पर्नासाथ दैनिकजसो पहिरो खसेर सवारी रोकिन्छन् । यो राजमार्गबाट विशेष गरी दूध र तरकारी बोकेका सवारीसाधन राजधानी भित्रने गरेका छन् ।
दैनिक ५ सयभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्ने यस राजमार्गमा दैनिकजसो पहिरो खसेर समस्या आउने गरेको कान्ति राजमार्ग सडक योजना कार्यालयका इन्जिनियर राजन पाण्डेले बताए । ‘ललितपुरतर्फ काल्चे, टाकुचे, भैंसे र भालुखोलामा समस्या छ,’ उनले भने, ‘मकवानपुरतर्फ भट्टेपाखा, सिमात, ठिंगनमा पहिरोको समस्या बढी छ ।
यस खण्डमा पहिरो खसेको १५ देखि २० मिनेटभित्रमा बाटो खोल्ने गरिएको उनको भनाइ छ । दिनकै पहिरो खस्ने गरे पनि त्यहीअनुसार मेसिन परिचालन गरेर सवारी सञ्चालन गर्ने गरिएको उनले सुनाए । असोज ०८१ मा आएको बाढीले राजमार्गमा डेढ दर्जन बढी स्थानमा पहिरो खसेर समस्या भएको थियो । अहिले यस राजमार्गमा पहिरो व्यवस्थापन र सडक स्तरोन्नतिको काम भइरहेको छ ।
मेची राजमार्गअन्तर्गत राजदुवाली खण्डमा पहिरो खसेर एक सातादेखि सवारी आवागमन ठप्प रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताए । ‘राजदुवाली खण्डमा ठेक्का भएर निर्माणको काम जारी छ, तत्काल खुल्ने अवस्था छैन,’ उनले भने, ‘सार्वजनिक बिदाका दिन पनि सबैजना खटिएर काम गरिरहेका छौं, यो खण्ड खुल्न अझै एक साता लाग्छ ।’ अहिले वैकल्पिक मार्गबाट सवारीसाधन चलाइएको उनले सुनाए ।
‘तिल्केनी–सिमलगोलाई सडकलाई वैकल्पिक मार्गका रूपमा चलाइएको छ,’ उनले भने, ‘यसलाई मर्मत गरेर सवारीसाधन चलाइएको हो, अर्को मेची करिडोरअन्तर्गत केचना–कञ्चनजंघा सडकमा पनि पहिरोको समस्या छ, समग्रमा इलाममा बढी वर्षात् भएकाले पहिरो खसेर सडक हिलो हुने गरेको छ ।’ यो सडकमा मर्मतको काम पनि भइरहेको उनले सुनाए । बर्खा सुरु भएसँगै पहिरो हटाउन देशभर राजमार्गका विभिन्न खण्डमा १ सय ५५ वटा उपकरण परिचालन गरिएको छ । थप १ सय २२ उपकरण तैनाथ राखिएको छ । सडक विभागअन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्नासाथ पन्छाउन मिल्ने गरी उपकरणको व्यवस्था गरेको हो । शाखाअन्तर्गत समग्रमा २ सय ७७ उपकरण छन् ।
पहिरो खस्ने जोखिम रहेका राजमार्गमा मेसिनको व्यवस्था गरिसकिएको सडक विभागका उपमहानिर्देशक एवं यान्त्रिक महाशाखा प्रमुख भुवन अधिकारीले बताए । देशभर हेभी इक्विपमेन्ट डिभिजन र यान्त्रिक कार्यालय १६ वटा छन् । यिनै कार्यालयअन्तर्गतका राजमार्गका विभिन्न सडक खण्डमा उपकरण पठाइएको हो ।
‘त्यस्ता ठाउँमा आवश्यकअनुसार एक्स्काभेटर, टिपर र ट्रक पठाइसकिएको छ,’ उनले भने, ‘अहिले बढी समस्या अरनिको राजमार्गको कोदारी खण्डमा छ, सडक नै भासिएकाले समस्या भएको हो ।’ पानी परेर पहिरो झरिरहँदा काम गर्न नसकिने र पानी रोकिएपछि पन्छाउने गरिएको उनले बताए । अहिलेसम्म कतैपनि हटाउनै नसक्ने खालको पहिरो भने नगएको उनको भनाइ छ ।
तर लगातार वर्षात् भइरहे पहिरोका कारण राजमार्गमा जोखिम बढ्ने उनले बताए । राजमार्गका विभिन्न सडक खण्डका लागि १ सय ५५ मेसिनको व्यवस्था गरिएको उनले जानकारी दिए । ‘पहिरोको बढी जोखिम रहेका कुनै–कुनै ठाउँमा लोडर र टिपर दुई–दुई वटा पठाइएको छ,’ अधिकारीले भने ।
०००
पहिरो पन्छाउन उपकरण र जनशक्ति राखिएका मुख्य केही सडक खण्ड :
– बीपी राजमार्गको नेपालथोक–भिमान
– खुर्कोट–रामेछाप
– किरनटार–रामेछाप
– अरनिको राजमार्गका विभिन्न खण्ड
– कालीगण्डकी करिडोर
– बल्खु–दक्षिणकाली
– नौबिसे–गजुरी
– मलेखु–मुग्लिन
– छहरे–गुर्जुभन्ज्याङ
– नारायणगढ–मुग्लिन
– हिलेपानी–हलेसी दिक्तेल
– जयरामघाट–हलेसी
– धरान–भेडेटार
– चतरा–बराहक्षेत्र
– भेडेटार–मूलघाट
– कोशी राजमार्गको संखुवासभा
– मेची राजमार्गको फिक्कल–पशुपतिनगर
– दमक–चिसापानी
– खाँदबारी–नुमखण्ड
– फिदिम–बसन्तपुर
– लहान–कदमाहा–गाईघाट
– मिर्चैया–कटारी–घुर्मी
– साउने–गाईघाट–दिक्तेल
– सिद्धार्थ राजमार्गको वालिङ–क्यामी खण्ड
– नौडाँडा–नयाँपुल–कुस्मा
– पुतलीबजार–वालिङ
– मालढुंगा–बागलुङ
– बागलुङ–बेनी
– डुम्रे–लमजुङ–बेंसीसहर
– आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल
– आँबुखैरेनी–मुग्लिन
– बेंसीसहर–चामे
– गोरुसिंगे–सन्धिखर्क
– तानसेन–तम्घास
– दाउन्ने–बुटवल
– पिली–कालीकोट
– नाग्मा–भुलभुले–गमगढी
– खुलालु–सलिसल्ला
– राप्ती राजमार्गका विभिन्न खण्ड
– भालुवाङ–चकचके–लिबाङ
– हिल्सा–सिमकोट
– हुम्ला–कालिकोट
– सहजपुर–फल्टुडे
– साँफेबगर–अछाम
– छेडा–मटेला–जाजरकोट
– जाजरकोट–डोल्पा
– भीमदत्त राजमार्गको भासुको भीरखण्ड
– मध्यपहाडी राजमार्गका विभिन्न खण्ड
– कोशी राजमार्गका विभिन्न खण्ड
– मदन भण्डारी राजमार्गका विभिन्न खण्ड
