राप्रपा सांसद सरस्वती लामाले सुधारगृहमा खटिने कर्मचारी वा अभिभावक शारीरिक र मानसिक रूपमा सक्षम हुनुका साथै बाल मनोविज्ञान बुझ्ने हुनुपर्ने बताइन् ।
काठमाडौँ — प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले बाल सुधार गृहहरूलाई थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्तिको व्यवस्थापन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएकी छन् ।
आइतबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसद लामाले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवअधिकार र सुधारका पक्षमा आफ्ना धारणा राखिन् । बाल सुधारगृहमा रहेका बालबालिकाहरूको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलमा उनले सुधारगृहको व्यवस्थापन र बालबालिकाको आचरण सुधारका लागि विभिन्न सुझाव दिइन् ।
सांसद लामाले सुधारगृहमा खटिने कर्मचारी वा अभिभावक शारीरिक र मानसिक रूपमा सक्षम हुनुका साथै बाल मनोविज्ञान बुझ्ने हुनुपर्ने बताइन् । बालबालिकालाई अनुशासित र नैतिकवान् बनाउन ध्यान (मेडिटेसन) का साथै उनीहरूको धार्मिक आस्था अनुसारको प्रार्थना वा प्रवचनको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । सांसद लामाले सुधारगृहभित्र कायम रहेको ‘नाइके प्रथा’प्रति आपत्ति जनाइन् ।
'बाल सुधारगृहमा नाइके वा अन्य बालबालिकामाथि प्रभाव जमाउने व्यक्ति राख्ने व्यवस्था उचित हुँदैन । यसले शक्ति दुरुपयोग र गलत प्रभावको जोखिम बढाउन सक्छ । सुरक्षा र अनुशासन कायम गर्ने जिम्मेवारी प्रशिक्षित सुरक्षाकर्मी तथा जिम्मेवार कर्मचारीले नै लिनुपर्छ,’ उनले भनिन् ।
अपराधको प्रकृति हेरेर सजायको व्यवस्था गर्न र सामान्य गल्ती गर्नेहरूलाई सम्झाइबुझाइ सुधारको मौका दिनुपर्नेमा पनि उनले जोड दिइन् । सांसद लामाले बालबालिकाले गरेको गल्तीले समाज र पीडितलाई परेको असरबारे उनीहरूलाई बुझाउनसके मात्र वास्तविक सुधार सम्भव हुने धारणा व्यक्त गरिन् ।
