आकस्मिक बाढीपहिरो आउन सक्ने भएकाले जोखिमयुक्त ठाउँमा राति गाडी नचलाउन प्राधिकरणले आग्रह गरेको छ ।
What you should know
काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको चेतावनी दिएका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदीमा पानीको सतह बढ्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण मनसुन थप सक्रिय हुने विभागको भनाइ छ । विभागका अनुसार आज र आइतबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ । हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका एक–दुई स्थानमा अत्यधिक वर्षा हुन सक्ने विभागले जनाएको छ ।
विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। विभागका अनुसार मेलम्ची वर्षामापन केन्द्रमा १०५.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भन्दै अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिमयुक्त जिल्लामा रातिको सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन तथा आवश्यक परे रोक्न पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिँदै जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर र लोडर तयारी अवस्थामा राख्न तथा आवश्यक परे जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको बताइन् ।
विभागका प्रवक्ता विभूति पोखरेलले पनि हवाई, पर्यटन, कृषि र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले मौसमको अद्यावधिक जानकारी लिएर मात्रै यात्रा र अन्य गतिविधि सञ्चालन गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरिन् ।
