रुसविरुद्ध युक्रेनले  बढायो ड्रोन आक्रमण

युक्रेनले रुसविरुद्ध ड्रोन आक्रमण बढाएको छ । दुवै देशबीच बिहीबार भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

श्रावण १, २०८३

एजेन्सी

Ukraine escalates drone attacks against Russia

What you should know

किएभ — युक्रेनले रुसविरुद्ध ड्रोन आक्रमण बढाएको छ । दुवै देशबीच बिहीबार भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

पछिल्लो समय युक्रेनी गोलाबारीले रुसको पश्चिमी सीमा क्षेत्र ब्रायन्स्कको एउटा गाउँमा १५ वर्षीया बालिका र उनकी हजुरआमाको मृत्यु भएको कार्यवाहक गभर्नर येगोर कोभालचुकले बताएका छन् । त्यसैगरी मस्कोबाट करिब ३०० किलोमिटर उत्तरपूर्वमा रहेको रुसको यारोस्लाभल क्षेत्रमा भएको ड्रोन आक्रमणमा अर्का एक जना व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

रुसी क्षेप्यास्त्रले युक्रेनको राजधानी किएभमा रातभर प्रहार गर्दा दुई जनाको ज्यान गएको र एक बालकसहित पाँच जना घाइते भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ । मस्कोले ब्यालेस्टिक हतियारको आक्रमण जारी राखेकाले हवाई सुरक्षा प्रणाली अब्बल बनाउनुपर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । 

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसहित उच्च पदस्थ व्यक्तिहरूको भ्रमणको केही समयमै किएभमा आक्रमण भएको हो । बेलायतका प्रधानमन्त्री किअर स्टार्मर र टर्कीका विदेशमन्त्री हाकान फिदान दुवै बिहीबार युक्रेनको राजधानीमा थिए । जुलाईमा मात्रै किएभमा भएको यो छैटौं ब्यालेस्टिक आक्रमण रहेको जेलेन्स्कीले बताएका छन् । किएभले गत महिनादेखि नियमित रुसी ब्यालेस्टिक मिसाइल आक्रमणको सामना गरिरहेको जनाएको छ । 

यस्तै, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई अप्रत्याशित रूपमा बर्खास्त गरेपछि त्यसको विरोधमा युक्रेनका विभिन्न सहरमा प्रदर्शन भएका छन् । राजधानी किएभमा मुख्यतया युवाहरूको ठूलो समूह भेला भई ‘फेडोरोभमाथि हात नहाल्,’ ‘जितलाई कमजोर बनाउने काम बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरे । जेलेन्स्कीले आफ्नो यस निर्णयको कारण स्पष्ट पारेका छैनन् । विश्लेषकहरू, सैन्य अधिकारीहरू र नागरिक समाजका विभिन्न क्षेत्रहरूमा यस निर्णयले ठूलो असन्तुष्टि पैदा भएको छ । 

३५ वर्षीय फेडोरोभ गत जनवरीमा मात्र रक्षामन्त्री नियुक्त भएका थिए । तर, छोटो समयमै मन्त्रालयमा नयाँ ऊर्जा भर्न, भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्व गर्ने र युद्धको अग्रपंक्तिमा सेनाको प्रदर्शन सुधारका लागि तथ्यांकहरूको विश्लेषण तथा प्रयोग गर्न उनले खेलेको भूमिकाको उच्च प्रशंसा भइरहेको छ । युक्रेनमा साताको सुरुमा युलिया स्विरिदेन्कोले प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन् । त्यसपछि संसद्ले सरकारी तेल तथा ग्यास कम्पनीका पूर्वप्रमुख सेर्ही कोरेत्स्कीलाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गर्न स्वीकृति दिइसकेको छ ।

यसअघि सेना प्रमुख ओलेक्सान्डर सिर्सकीसँगको तनावका कारण पनि फेडोरोभ बर्खास्त भएको हल्ला युक्रेनमा चलेको थियो । बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा, फेडोरोभले आफूले राष्ट्रपति जेलेन्स्कीलाई सिर्सकी र अर्का एक वरिष्ठ सैन्य कमान्डर फेर्न सुझाव दिएको बताउँदै हल्लाको पुष्टि गरेका छन् ।

‘जब राष्ट्रपतिले सिर्सकीलाई बदल्ने आफ्नो कुनै योजना नभएको बताए । तब मैले उनीसँगै मिलेर काम गर्छु भनेको थिएँ,’ फेडोरोभले भने, ‘तर हाम्रा सबै प्रस्ताव रोकियो ।’

सिर्सकीका बारेमा बोल्दै फेडोरोभले भने, ‘रुसलाई हराउने उपाय खोज्नुको सट्टा सिर्सकीले हाम्रो देशलाई विभाजित गर्ने बाटो रोजेका छन् ।’ राष्ट्रपति जेलेन्स्कीले आफूलाई सल्लाहकारका रूपमा टोलीमा बस्न प्रस्ताव गरे पनि अस्वीकार गरेको फेडोरोभले बताए ।

गत फेब्रुअरीमा फेडोरोभ रक्षामन्त्री बनेपछि ड्रोन र युद्धमा प्रयोग हुने अत्याधुनिक हतियारको खरिद प्रक्रिया अघि बढाएका थिए । उनले प्रशासनिक झमेलालाई चिर्दै रक्षा मन्त्रालयलाई चुस्त बनाएका थिए । युक्रेनले पछिल्ला केही महिना युद्ध मोर्चामा रुसमाथि ठूलो दबाब सिर्जना गरेको थियो ।

एजेन्सी

Link copied successfully