विमानस्थलबाट हुने निर्यात व्यापार खुलाउन दुई बुँदे सहमति

भन्सार विमानस्थलका प्रहरीले सुरक्षाको नाममा कार्गोका कामदारहरुलाई प्रवेशमा रोक लगाएको र काममा बाधा पुर्‍याएको भन्दै निर्यात व्यापार ठप्प बनाइएको थियो ।

श्रावण १, २०८३

ऋषिराम पौड्याल

Two-point agreement reached to open up export trade from the airport

What you should know

काठमाडौँ — दुई दिनदेखि बन्द त्रिभुवन विमानस्थलबाट हुने निर्यात व्यापार खुलाउन शुक्रबार दुई बुँदे सहमति भएको छ ।

सहमतिपछि निर्यात व्यापार सञ्चालन हुने भएको छ । भन्सार विमानस्थलका प्रहरीले सुरक्षाको नाममा कार्गोका कामदारहरुलाई प्रवेशमा रोक लगाएको र काममा बाधा पुर्‍याएको भन्दै निर्यात व्यापार ठप्प बनाइएको थियो ।

बिहीबार दिनभर सरोकारवालाहरुबीच भएको वार्ताबाट भएको सहमति कार्यान्वयन नभएपछि निर्यात खुल्न सकेको थिएन । कार्गो व्यवस्थापनका लागि आगामी दिनमा सुधारको योजना ल्याउने र तत्काललाई पहिलेकै व्यवस्था अनुसार मालबस्तुको मार्किङ र लेबलिङ गर्ने सहमति गरिएको छ । 

प्रहरीले एक्स–रेमा सामान जाँच गरेपछि गार्कोका प्रतिनिधिलाई पुनः प्रवेश दिने कि नदिने विषय सबैभन्दा विवादमा थियो । प्रहरीले आफूहरुले मालवस्तु जाँच गरेपछि कार्गोका प्रतिनिधिहरु पुनः भन्सार क्षेत्रमा प्रवेश गर्न पाउने सहमति भएको छ । त्यसका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको सिफारिसमा उपलब्ध गराइएको पासका आधारमा प्रवेश गर्न दिइनेछ ।

भन्सार हाताभित्र जानका लागि नेपाल फ्रेट फरवार्डरस एसोसिएसन, नेपाल भन्सार एजेन्ट संघ, नेपाल निर्यात परिषद्, नेपाल कुरियर संघ, अन्तर्राष्ट्रिय कुरियर संघका प्रतिनिधिलाई पास उपलब्ध गराइनेछ । प्रहरीले आफूले सामान जाँच गरेपछि कार्गोका प्रतिनिधिहरुलाई पुनः जिम्मेवारी दिन नमिल्ने अडान राख्दै आएको थियो । तर कार्गो व्यवसायीले त्यस्तो मालवस्तु विदेश निर्यात गर्न आफूहरुले लेबलिङ र मार्किङ गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

उक्त मागलाई तत्काल पूरा भएको छ । विमानस्थल भन्सार कार्यालय, कार्गो व्यवसायीका प्रतिनिधिहरु, सुरक्षा अधिकारीसहितको छलफलपछि निर्यात खुलाउने सहमति भएको हो । सहमतिमा निर्यात यार्ड विस्तार गर्ने उल्लेख छ । नेपालमा उत्पादन भएको गलैंचा, गार्मेन्ट, हयाण्डीक्राफ्ट, तरकारी, जडीबुटीलगायतका करोडौं मूल्यका मालवस्तु युरोप, अमेरिकालगायतका मुलुकमा निकासी गर्न प्याकिङ गरेर ‘एरबिल’ बनिसकेको अवस्थामा निर्यात रोकिएको थियो । दुई दिनमा मुलुक बाहिर पठाउने तयारीमा रहेको डेढ सय टन भन्दा बढी मालवस्तु विभानस्थलमा रोकिएको छ । विदेश पठाउन तयारी हालमा रहेको सामान लैजान नपाएपछि जहाजहरु पेसेन्जर मात्र लिएर फर्केका थिए । यस अवधिमा सामान पठाउन नपाएका कारण कार्गो व्यवसायीले लाखौं रुपैयाँ नोक्सान बेहोर्नुपरेको दाबी गरिएको छ ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully