करिब ११ अर्ब नेपाली रुपैयाँ (७ करोड ५० लाख डलर) को पुरस्कार राशि
What you should know
काठमाडौँ — विश्वव्यापी ईस्पोटर््स उद्योगको आम्दानी यस वर्ष २ अर्ब अमेरिकी डलर नाघ्ने अनुमानबीच फ्रान्सको पेरिसमा ७ करोड ५० लाख डलर (करिब ११ अर्ब नेपाली रुपैयाँ) कुल पुरस्कार राशिको ईस्पोटर््स विश्वकप चलिरहेको छ । पश्चिम एसियामा बढ्दो तनाव र इरानमा जारी युद्धका कारण रियादमा हुने तयारी भएको यो विश्वकप हाल पेरिसमा सारिएको हो । यसमा नेपालबाट फ्री फायर विधामा द रियल सोल्जर्स (डीआरएस) गेमिङ र पबजी मोबाइलमा होरा ईस्पोटर््स छानिएका छन् ।
अमेरिका, क्यानडा र मेक्सिकोमा चलिरहेको फुटबल विश्वकपको रौनकबीच गत साता पेरिसमा ईस्पोर्ट्स विश्वकप सुरु भएको हो । तेस्रो संस्करणको प्रतियोगितामा अहिले १०० भन्दा बढी देशका २ सयभन्दा बढी क्लब र २ हजारभन्दा बढी खेलाडी सहभागी हुँदै छन् । सात सातासम्म चल्ने प्रतियोगितामा २४ खेलका २५ विधामा प्रतिस्पर्धा भइरहेको छ । विश्व ईस्पोटर््स इतिहासमा यो अहिलेसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगिता हो ।
फ्री फायर विधामा क्षेत्रीय छनोट प्रतिस्पर्धा पार गर्दै विश्वकपमा स्थान बनाएको डीआरएस ईस्पोर्ट्स विश्वकपमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो टोली बन्न सफल भएको छ । कुल २४ टोली सहभागी फ्री फायर प्रतिस्पर्धामा डीआरएसले यस सातादेखि विश्वका स्थापित टोलीसँग प्रतिस्पर्धा सुरु गरेको छ । पहिलो केही चरणमा उत्कृष्ट १० मा अटाउन सफल भएको छ । हाल डीआरएस सातौं स्थानमा छ ।
नेपालको फ्री फायर गेमबारे जानकार विशाल सापकोटाका अनुसार पेरिसमा नेपाली खेलाडी निकै आत्मविश्वाससाथ प्रस्तुत भइरहेका छन् । ‘उनीहरूले आइडल मान्दै आएका विश्वका चर्चित टिमविरुद्ध पनि नर्भस नभई उत्कृष्ट प्रदर्शन गरिरहेका छन्,’ विशालले भने, ‘पहिलो पटक यो स्तरको ग्लोबल स्टेजमा पुगेकाले फाइनलमा पुग्ने र पोडियम फिनिस गर्ने (उत्कृष्ट तीनभित्र पर्ने) लक्ष्य छ । अहिले हामी सातौं स्थानमा छौं र सर्भाइभल स्टेजका लागि आफ्नो ठाउँ सुरक्षित गर्नेमा आशावादी छौं ।’
पब्जी मोबाइलमा दक्षिण एसियाबाट नेपालको होरा ईस्पोटर््स र पाकिस्तानको फोरथ्राइभ्स ईस्पोटर््स छनोट भएका छन् । होरा टिम अगस्ट ३ मा पेरिस प्रस्थान गर्ने तयारीमा छ । यस टिममा सुवास राना ‘नो फियर’, आकाश सोताङ राई ‘स्काई’, शीतल राई ‘स्लिपी’, सुप्रिम अधिकारी ‘जिगल’, प्रवेश गुरुङ ‘हैट दामी’ र उजेन लामा ‘निन्जा होरा’ खेलाडी समावेश छन् । टिमको प्रशिक्षण दिनेश रोका मगरले सम्हालिरहेका छन् । गत वर्ष साउदीमा भएको प्रतियोगितामा नवौं स्थान हासिल गर्दै होरा स्पोर्ट्सले १ लाख २७ हजार ५ सय अमेरिकी डलर (करिब १ करोड ७८ लाख रुपैयाँ) पुरस्कार जितेको थियो ।
होरा स्पोर्ट्सका संस्थापक एवं सञ्चालक सीआर सेभेन होरा (सञ्जन गौतम) का अनुसार दक्षिण एसियाली छनोटबाट छानिएर विश्वकप पुग्नु निकै मिहिनेतको काम हो । ‘यस पटक हामीले सकेसम्म जितिछाड्ने, जित्न नसके पनि पोडियम फिनिस गर्ने अठोट लिएका छौं,’ उनले भने, ‘हाम्रो टिमले दैनिक रूपमा विश्वका उत्कृष्ट टिमहरूसँग अभ्यास गरिरहेको हुँदा हामी नभर्स छैनौं । हामीले अन्तर्राष्ट्रिय खेलबाट जितेर ल्याएको पुरस्कारमा सरकारले २५ प्रतिशत कर काट्छ तर खेलको विकासका लागि अहिलेसम्म केही गरेको छैन ।’
ईस्पोर्ट्स फाउन्डेसनले आयोजना गरेको विश्वकप अगस्ट २३ सम्म चल्नेछ । फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र चेस लिजेन्ड म्याग्नस कार्लसन यस प्रतियोगिताका ग्लोबल एम्बासडर (दूत) रहेका छन् । फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत राल्फ राइखर्टले पेरिसमा आयोजना गरिएको यस संस्करणले ईस्पोटर््स विश्वकपलाई साउदी अरेबियाबाहिर विस्तार गर्ने नयाँ अध्याय सुरु भएको बताएका छन् । यस वर्ष प्रतियोगितामा लिग अफ लेजेन्ड्स, काउन्टर–स्ट्राइक टु, डोटा टु, भ्यालोरान्ट, मोबाइल लेजेन्ड्स ः ब्याङ ब्याङ, पब्जी मोबाइल, फ्री फायर र चेसलगायतका लोकप्रिय खेल समावेश छन् ।
केही विधाका प्रतिस्पर्धा सम्पन्न भइसकेका छन् भने क्लब च्याम्पियनसिपको अंक तालिकामा विश्वका चर्चित ईस्पोटर््स क्लबहरूले प्रारम्भिक अग्रता बनाएको देखिन्छ । विश्वव्यापी ईस्पोटर््स उद्योगको आम्दानी यस वर्ष २ अर्ब अमेरिकी डलर नाघ्ने अनुमान छ । प्रतियोगिताले प्रतिस्पर्धात्मक अनलाइन गेमिङको बढ्दो व्यावसायिक विस्तारलाई देखाउने बीबीसीले जनाएको छ ।
ईस्पोटर््स एसोसिएसन नेपाल (ईशान) का वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसीले नेपाली टिमहरू विश्वकपमा पुग्नुलाई नेपालको अन्तर्राष्ट्रिय उपस्थितिको एउटा बलियो प्रमाणका रूपमा लिएका छन् । उनका अनुसार यसले विश्व खेल मञ्चमा नेपाली खेलाडी सक्षम छन् र नेपालमा ईस्पोटर््सको ठूलो सम्भावना छ भन्ने पुष्टि गर्छ ।
‘डीआरएसजस्ता टिमले विगतमा करोडौं रुपैयाँ पुरस्कार जितेर ल्याउँदा यसको व्यावसायिक मूल्य स्थापित भएको र यसले गर्दा नै सरकार र अन्य निकायको चासो बढेको थियो,’ उनले भने, ‘टिमहरूले अन्तर्राष्ट्रिय मञ्चमा देखाएको सफलताले ईस्पोटर््सलाई व्यवस्थित प्रणालीमा ल्याउन दबाब र प्रेरणा दुवै दिएको छ ।’
सन् २०२३ मा इन्डोनेसियाको जकार्तामा भएको ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप’ को ग्रान्ड फाइनल्समा डीआरएस गेमिङले दोस्रो स्थान हासिल गर्दै २ करोड रुपैयाँभन्दा बढी पुरस्कार भित्र्याएपछि नेपालमा ईस्पोर्ट्सप्रति ठूलो चासो बढेको थियो । सोही सफलतापछि सरकारले यस क्षेत्रलाई प्रोत्साहन गर्ने संकेत दिँदै ईशान र नेसाजस्ता नियामक निकायहरू गठन गरेको हो । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटमा ईस्पोटर््स प्रवर्द्धनका लागि १ करोड रुपैयाँ नै विनियोजन गरेको थियो । तर उक्त बजेट कार्यान्वयनको चरणमा विवादरहित रहन सकेन ।
तत्कालीन मेयर (हालका प्रधानमन्त्री) वालेन्द्र शाहले आफ्ना मित्र भिक्टर पौडेल आबद्ध समूह ‘डीआरएस’ लाई लक्षित गरेर उक्त रकम छुट्याएको आरोपसमेत लाग्यो । पछिल्लो समय प्रधानमन्त्री शाहले ईस्पोटर््स वा गेमिङका बारेमा सामाजिक सञ्जालमा खासै चर्चा नगरे पनि उनी स्वयं मोबाइल गेमिङमा रुचि राख्ने र यस क्षेत्रलाई कानुनी रूपमै व्यवस्थित बनाउनुपर्ने मान्यता राख्ने व्यक्ति भएको उनीनिकटका व्यक्तिहरू बताउँछन् ।
ईस्पोर्ट्समा आबद्ध भएकाहरू पछिल्लो समय ईस्पोटर््सको घरेलु गतिविधि शून्यप्रायः रहेको औंल्याउँछन् । यो क्षेत्रलाई कुनै सुविधा उपलब्ध नभएको र प्रतियोगिता पनि नहुने हुँदा खेलाडी पलायन हुने अवस्था रहेको सीआर सेभेन होराले बताए । ‘ईशानलगायत निकायमार्फत सरकारले कम्तीमा दुई–तीन महिनामा ३/४ लाख रुपैयाँ पुरस्कार राशिका टुर्नामेन्ट गरिदिए हुन्थ्यो,’ उनले भने, ‘त्यसले गर्दा टिमहरू पाल्न र खेलाडीलाई तलब दिन हामीलाई सजिलो हुन्थ्यो ।’ यस्तो वातावरण नभए खेलाडीहरूले गेम खेल्न छोड्ने र ह्वात्तै मौलाउन सक्ने सम्भावना रहेको नेपालको ईस्पोटर््स क्षेत्र नै मर्ने जोखिम रहेको उनको भनाइ छ ।
घण्टा गेमिङका प्रदीप अधिकारीले पनि सीमित टिमले अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहे पनि नेपालमा ईस्पोटर््सको माहोल खस्कँदै गएको बताए । नयाँ सरकार आएपछि यो क्षेत्र झन् ओझेलमा परेको उनको बुझाइ छ । ‘पहिलेको तुलनामा अहिले ईस्पोर्ट्सका गतिविधि निकै कम भएका छन् र भएका इभेन्टहरू पनि धेरै साना र मानिसहरूलाई थाहै नहुने खालका छन्,’ प्रदीपले भने, ‘सरकारी निकायहरू मौन रहे पनि अहिले स्कुल र कलेजहरूले गर्ने स–साना इभेन्टहरूका कारण मात्र यो क्षेत्र थोरै चलायमान देखिएको छ ।’
